पदको लोभ लालचा नभए किन र केका लागि सक्रिय राजनीतिमा आउने त ?
वि.सं.२०८२ साउन १५ बिहीवार ११:२१
shares
गत शुक्रबार पूर्व राष्ट्रपति विद्या भण्डारीले पत्रकार सम्मेलन मार्फत आफूलाई नेकपा एमालेको उपाध्यक्षको हैसियतमा राख्नुले उनको ओज घटाउने प्रयास हो । राष्ट्रपति मुलुककै सर्वाधिक ठुलो पद हो । पूर्व राष्ट्रपतिको हैसियतमा नेकपा एमालेले उनलाई सम्मान दिएको थियो । तर उनी पूर्व राष्ट्रपति भन्दा एमालेको उपाध्यक्षमा प्रस्तुत हुनु भनेको राष्ट्रपति पदकै अपमान हो । ७ वर्ष मुलुकका राष्ट्रपति रहीसकेकी भण्डारी किन र केका लागि पुन पार्टीमा सक्रिय हुन चाहिरहेकी छन् अब त्यो विषयमा खोजविन हुनुपर्ने आवश्यकता प्रष्ट रुपमै देखिएको छ । राष्ट्रपति रहिसकेका व्यक्तिले सो पदको गरिमा राख्नुपर्ने कि नपर्ने ?
नेपालको संविधानले राष्ट्रपतिलाई संविधानको पालक संरक्षक र नेपाली सेनाको परमाधिपति भनेको छ । राष्ट्रपति रहँदा संसदले निर्माण गरेका कानुन र सरकारले गरेका कतिपय निर्णयहरु विवादित रहने गरेका भएपनि तीनलाई राष्ट्रपतिले प्रमाणिकरण र स्वीकृत्ति गर्ने गरेको भएपनि त्यसको दोष राष्ट्रपतिलाई नभएर संसद र सरकारलाई नै जाने सम्वैधानिक व्यवस्था रहेको छ । आफूले प्रमाणिकरण गरेका र स्वीकृत गरेका कतिपय विषयमा विवाद उत्पन्न हुने अवस्था आएको खण्डमा छिनोफानोको लागि त्यस्ता विषयहरु अदालतमा पुग्ने भएपनि अदालतले राष्ट्रपतिलाई दोषी ठहर गर्न सक्दैन । त्यसको सम्पूर्ण जिम्मेवारी संसद र सरकारले नै लिनुपर्ने हुन्छ त्यही कारणले गर्दा पनि पूर्व राष्ट्रपति फेरी सक्रिय राजनीतिमा आउनु हुँदैन भनिएको हो ।
राष्ट्रपति पद नै सम्वैधानिक पद रहने भएकाले राष्ट्रपतिबाट कुनै गल्ती हुँदैन भनिने गरिएको हो । तर राष्ट्रपति भैसकेका व्यक्ति पुन सक्रिय राजनीतिमा आएर एउटा पार्टीका नेताबन्दा एक राष्ट्रपति पदको ओज घट्ने र अर्को आफैँले स्वीकृत र प्रमाणिकरण गरेका कतिपय विषयका बारेमा बोल्नुपर्ने हुन्छ । अर्को भनेको मुलुककै सविधानको संरक्षक र पालक रहिसकेका व्यक्ति पार्टीगत राजनीतिमा आउँदा आफ्नो पार्टीको स्वार्थ अनुसार बोल्नुपर्ने हुन्छ त्यही कारणले गर्दा राष्ट्रपति भैसकेका व्यक्ति पार्टीगत स्वार्थभन्दा माथि उठेर मुलुकको अभिभावकीय भूमिकामा रहँदा उचित हुन्छ भनिएको हो । पूर्व राष्ट्रपति भण्डारीलाई एमालेले सम्मान दिएको छ । पूर्व राष्ट्रपतिको हैसियतमा उनलाई सबै पार्टीहरुले सम्मान दिएका छन् तर आफ्नो ओज घट्ने गरी र मुलुककै अभिभावकको भूमिका निभाउने छाडेर एउटा पार्टीको नेता बन्न आउनु भण्डारीकै लागि दुर्भाग्यको विषय हुन सक्छ ।
पूर्व राष्ट्रपति भण्डारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बाचन गरिएको विज्ञप्तिमा पूर्व राष्ट्रपति जस्तो महत्वपूर्ण पदमा रहिसकेका हुनाले आफूलाई कुनै पदको लोभ लाचना नभएको उल्लेख गरिएको छ । यदि कुनै पदको लोभ लालचा छैन भने के र केका लागि सक्रिय राजनीतिमा आउने त ? भण्डारी आफूँले अब आफूले इतिहास रचिसकेको बताइरहेका बेला फेरी पार्टीगत राजनीतिमा आउनुपर्ने आवश्यकता किन प¥यो ? राष्ट्रको अभिभावकको भूमिकामा रहनका लागि र गणतन्त्रको संरक्षक भन्दै भण्डारीलाई कांग्रेस–एमाले माओवादी लगायतका दलहरुले सम्मान गरिसकेका छन् । तर आफूले पाएको सम्मानमा चित्त नबुझाएर फेरी दलगत राजनीतिमा आउनु खोज्नु पूर्व राष्ट्रपतिको लागि नै दुर्भाग्यको सावित हुन सक्छ ।
केही स्वार्थ समूहको हितका लागि पूर्व राष्ट्रपतिले पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तिमा आफूलाई नेकपा एमालेका उपाध्यक्षको हैसियतमा राख्नु राष्ट्रपति पदको गरिमा र त्यो पदको ओज घटाउनु नै हो । पूर्व राष्ट्रपति रहिसकेकी हुनाले उनलाई पूर्व राष्ट्रपतिको हैसितयमा सुरक्षा दिएको छ । सो सुरक्षा एमालेको उपाध्यक्षलाई दिएको होइन । पूर्व राष्ट्रपतिलाई नेपाली सेनाले आफ्नो संगठनको परमाधिपति भएको नाताले मात्र दिएको हो । यदि भण्डारी एमालेको उपाध्यक्षकै हैसियतमा रहन चाहन्छिन् भने नेपाली सेनाले उनलाई सुरक्षा दिइरहन आवश्यक देखिँदैन । यी सबै कारणहरुले गर्दा पूर्व राष्ट्रपति भण्डारीले आफ्नो ओज घटाउँदै पार्टीको राजनीतिमा सक्रिय हुन खोज्नु भन्दा मदन भण्डारी फाउन्डेशनबाटै जनताको हितका लागि कुनै पदमा नरहे पनि जनताको सेवा गर्न सक्ने भएकाले भण्डारीले राष्ट्रपति पदको ओज घटाउने कार्य गर्न कुनै सत्र्तमा पनि उचित हुन सक्दैन भन्ने हाम्रो ठहर रहेको छ ।





































