चरीत्रहीन नारी र नैतिकहीन नेता
वि.सं.२०८२ भदौ ५ बिहीवार १२:०६
shares

राजन कार्की
चरीत्रहीन नारी आफूमात्र चरीत्रहीन हुन्छे, नैतिकहीन नेताले त देशलाई नै बर्बाद गर्ने रहेछन् । यसको ताजा दृष्टान्त नेपालको लोकतान्त्रिक गणतन्त्र हेरे हुन्छ ।
पहिले सिंहदरवार नैतिकहीन थियो, अहिले त ७६१ सरकार छन् र सबै सरकारमा सिंहदरवार छन्, सिंहदरवारका चरीत्रहीनताले देशलाई नै बर्बाद पारिरहेका छन् । कसरी ठिक पार्ने भन्ने चिन्ता कुनै नेतामा पनि छैन । स्मरणीय छ, जापान अथवा कोरियामा पनि चरीत्रको महत्व सर्वाधिक छ । यसकारण त आफ्नो भ्रष्टाचारको खुलासा र आलोचना भयो भने समाजको डरले उनीहरू हाराकिरी गर्छन् । नेपालको सम्बन्धमा त जति धेरै चरीत्रहीन भयो, उति उसको जयजयकार गर्ने कार्यकर्ता देखिन्छन् । भेटिन्छन् । फलतः कानुनव्यवस्था लथालिङ्ग हुनपुग्छ ।
लोकतन्त्रमा चाहिने चरीत्र हो । नैतिकता हो । राजनीतिमा सिद्धान्त हुनैपर्ने हो । केही पनि बाँकी रहेन । चरीत्र सुध्रिन नसकेर विवेकहीन बन्दै गएका नेता, नागरिक समाज, बौद्धिक बर्ग, शासक र प्रशासकका कारण यो पद्धति विधिबिहीन, अपराधमुखी र भ्रष्टाचारको फोहर पोखरीमा आहाल बस्ने भैंसी संस्कृतिको विकास भएको छ । यस्तो प्रदूषित चरीत्रका कारण लोकतन्त्र विकसितका नजरमा फ्रड हुनपुगेको छ । विश्वसमुदायमा ग्रेलिष्टवाला देखिन थालेको छ ।
हरेक नागरिक भन्छन्– यस्तो पनि लोकतान्त्रिक गणतन्त्र हुन्छ ? जुन तन्त्रमा न लोक छन्, न गण । जे छ, भ्रष्टाचार, अनैतिकता, अनियमितता, सिद्धान्तहीनतामात्र छ । राज्यसंयन्त्रको बलमा चल्ने लोकतन्त्र यथार्थमा निरंकूशतन्त्र हो ।
७६१ सरकार, जताततै भ्रष्टाचारमात्र छ राज्यकोषमा ब्रम्हलूट चलेको छ । लूटको धन फुपुको श्राद्ध भइरहेको छ । यसकारण भन्न सकिन्छ, एच जी वेल्सले लेखेको द वल्र्ड सेट फ्री नामक पुस्तकमा परमाणु बमको नाम उल्लेख गरेका थिए, त्यही नामबाटपछि खतरनाक परमाणु बम निर्माण गरियो । नेपालका सन्दर्भमा लोकतान्त्रिक गणतन्त्र नेपाल सिध्याउने बमतन्त्र हो । लोकतन्त्र नामको बलमे हरेक दिन नेपाललाई शनैः शनैः मार्दै गएको छ ।
यो पद्धति श्लो प्वाइजन भयो । छिमेकीले समेत यसरी हेपे कि नेपालको लिपुलेक भूमिबाट उनीहरुले हाक्काहाक्की व्यापार गर्ने सहमति गरिसके । नेपाल बक्तव्यमा चिच्याएर बसेको छ । प्रमाणसहित राष्ट्रसंघ अथवा अन्तर्राष्ट्रिय अदालत पुग्न सक्दैन ।
नक्समा चुच्चेनक्सा छ, भूमि नेपालको अधिकारमा छैन । नेपाली भूमिबाट ठूला दुई छिमेकीले ब्यापार सन्धि गर्दा नेपाल टोलाएर बसेको छ । चिनमा अर्को हप्ता हुने संघाई कोअपरेशनको बैठकमा दुवै छिमेकीका राष्ट्राध्यक्ष, सरकार प्रमुखसँग भेट हुन्छ, नेपालले आफ्नो पक्ष राख्न सक्ला ? प्रश्न उठेको छ ।
छिमेकीले हेपे । नेपाल हेपियो । आफ्नै भूमि आफ्नो भन्न नसक्ने स्थिति आयो ।
यति हुँदा पनि संसदमा बहस हुँदैन । उही गुह्यधन्दा, स्वार्थको चलखेलमा ठूला साना पार्टी व्यस्त छन् ।
यस्ता पनि राजनीतिक नेता हुन्छन् ? नेपालमा बहुदल, लोकतन्त्र नामक ऐतिहासिक आन्दोलन भए, तर आन्दोलनबाट प्राप्त परिवर्तनलाई नेताहरूले यतिबिघ्न घृणायोग्य बनाइदिए कि नेपाल असफल मुलुक हुने खतरा उत्पन्न भएको छ ।
हाम्रा नेताहरु सिक्किमभन्दा तल झरेर देशघात गरिरहेको देख्दा यिनीहरू लेण्डुपजस्ता हुन् भन्ने लाग्छ । यिनले पटक पटक अवसर पाए, जनविश्वास गुमाए । जनविश्वास गुमेपछि कसरी नेपाल समृद्ध बन्छ ? अधिनायकवादी बनेपछि कसरी नेपाल सुशासनयुक्त हुन्छ ? नेताप्रति जनताको घृणा बढ्दो छ । जनघृणाबाट कुनै नेता डराउँदैनन् । यसकारण देशमा चरम कुशासन छ ।
राजनीति भाँडनीति बनेको छ । विचारमा, सिद्धान्तमा, योजनामा, करनी र कथनी सबैतिर यिनीहरू प्रष्ट छैनन् । स्वार्थ पूरा हुने भयो कि यिनीहरू लत्रिन तैयार छन् । लोकतन्त्र नेतातन्त्रको अन्यौलमा फसेको छ । अर्थतन्त्र कमिशनमुखी छ, जसका कारण उत्पादन शून्यतातिर झर्दो छ । पुरानोभन्दा पनि गैबार ढर्रा ढाँचाले मुलुक बन्दैन, बिग्रन्छ मात्र । दिनदिनै बिग्रिरहेको छ । आधा भाँडो पानी बढी छचल्किन्छ भन्ने उखान र यो पद्धतिका अगुवा उस्तै छन् । बिग्रदै गएको छ देश ।
१८ वर्षे लोकतन्त्रे शासनकाल भनेको भ्रष्टाचार, कमिशन, अनियमितता, ढिलासुस्ती, पार्टीकरण, आफन्तबादको ज्वलन्त नमूना बनेको छ । अपराधीलाई संरक्षण दिन यो सरकार सधैं तमतैयार रहनु र जातीय तथा धार्मिक बिभेद र हिंसा भड्काउने काममा लाग्नुले यिनीहरू सम्भावित रक्तपातको सिर्जनाकार हुन थालेको संशय बढेको छ ।
आइएनजीओ सिंहदरवार, शितलनिवास, सर्वोच्च अदालतसम्म घुस्यो । प्रदेश सरकारको रखवाली नै आइएनजीओले गरिरहेको छ । संघीयता चलाउन र राजनीतिक कार्यकर्तारूपी पसले पाल्न जनता करमाथि थप कर तिर्न बाध्य छन् । कर देश विकासका लागि तिर्न‘पर्ने हो, नेता विकासको मलका रूपमा करको प्रयोग भइरहेको छ । संविधान भद्रगोलको भूमरीमा देशलाई फनफनी घुमाउने यन्त्र बन्न पुगेको छ । हामी संवैधानिक शासन खोजिरहदा संविधानले संवोधन गर्न सकेन । नेताको नैतिकता, सक्षमता, सिद्धान्त र इमान केहीले काम गरेको छैन । जता हेरे पनि बेइमानीमात्र देखिन्छ । कानुन मिच्नु यिनको विशेषता हो, जसले गर्दा देश बनेन, नागरिक दुःखित पीडित हुन बाध्य छन् । देश प्रताडित अवस्थामा छ । विधिको शासनको चीरहरण भएको छ ।
































