सरकार र नेतृत्वले जनताको विशवास जित्न सक्नुपर्दछ
वि.सं.२०८२ भदौ ५ बिहीवार १२:०५
shares

दलहरुप्रति जनताको विश्वास घट्दै जानुको पछाडि ति दलका नेताहरुको चरित्र नै प्रमुख कारण रहेको छ । पुराना भनिएका राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपाा एमाले र माओवादी केन्द्र नै भएपनि यी दलहरु भित्र समेत एक मत हुन नसक्दा जनतामा वितृष्ण बढ्दै गएको छ । राजनीतिज्ञहरुले जनतालाई आशा एवं भरोसा दिलाउन सक्नु पर्दछ तर हामीकहाँ त्यस्तो हुन सकेको छैन । नेतृत्व गर्ने व्यक्तिले जनतामा आशा एवं भरोास दिलाउनुको सट्टा गलत भाष्य बोलेर जनतामा नैराश्यता फैलाउँदै आएको देखिन्छ । राजनीतिक परिवर्तनपछि तिनै तीन दलले सरकारको नेतृत्व गर्दै आएका भएपनि यी दलको नेतृत्व गर्ने व्यक्तिले नै सरकारको नेतृत्वमा रहँदा सबै ठीक देख्ने तर सरकारबाट हट्नु परेको खण्डमा अन्धकार देख्ने प्रवृत्तिले गर्दा जनतामा गलत सन्देश गएको छ । माओवादी केन्द्रले पनि ३ पटक पटक सम्म सरकारको नेतृत्व गरिसकेको छ । त्यसबेला माओवादी नेतृत्वले सरकारमै रहेर आफूलाई प्रधानमन्त्रीबाट हटाएर देखाउन त्यतिबेलाको प्रतिपक्षी र सरकारमा सहभागि भएको दललाई ठाडो चुनौती दिएको थियो । त्यही चुनौतीलाई कांग्रेस–एमालेले स्वीकार गरेर २०८१ असार १७ गते ७ बुँदे सहमति गर्दै कांग्रेस–एमालेको संयुक्त सरकार बनाएका हुन् ।
नेपालका राजनीति दलका नेताहरुलाई एक प्रकारको रोग नै लागेको छ । आफू सरकारको नेतृत्वमा रहन पाउँदै सबै ठीक देख्ने तर बाहिर बस्नुपर्दा देश नै समाप्त हुन्छ जस्तै गरी जनतालाई गलत सन्देश दिने प्रवृत्ति नै अहिले घातक सावित भएको छ । मुलुकका ठुला भनिएका दलहरु कुनैले पनि निर्वाचनको बेला एक्लै बहुमत ल्याउन सक्ने सम्भावना नरहेकाले गर्दा संयुक्त सरकार निर्माण गर्नुपर्ने बाध्यतामा दलहरु रहेका छन् । नेपालमा एउटै पार्टीको बहुमतको सरकार रहेको भएपनि त्यो सरकार समेत पाँच वर्ष टिक्न नसकेको इतिहास साँक्षी रहेको छ । एउटै पार्टीभित्र पनि पक्ष र विपक्ष जस्तो व्यवहार देखिने गरेको हुनाले एउटै दलको सरकार भएपनि त्यसलाई टिकाई राख्न नेतृत्वलाई फलामको च्यूरा चपाउनु सरह हुने देखिन्छ । अहिले सबै राजनीतिक दलहरु मिलेर अहिले व्यापक रुपमा देखिने र सुनिने नकारात्मकताको अन्त्य गर्न जरुरी रहेको छ । यसका लागि सरकारले आप्mनो प्राथमिकता तोकी तिव्र रुपमा विकास निर्माणका कार्यलाई अघि बढाउनु आवश्यक छ । सबै राजनीतिक दलहरु नै जनताको भावना र चाहना बुझेर नकारात्मक होइन सकारात्मक सन्देश प्रवाह गर्न जरुरी रहेको छ ।
दलहरु फुट्ने र मिलीजुली सरकार बन्ने स्थिति सँधैै चलिरहन्छ । वर्तमान मिश्रित चुनाव प्रणाली भएपनि एउटै दलको सरकार पाँच वर्ष सम्म चल्न सक्छ भन्ने ग्यारेन्टी देखिँदैन । विगतमा नेपाली कांग्रेसले बहुमत पाएको अवस्थामा पनि उसले सरकार चलाउन सकेन भने एमाले, माओवादी मिलेर गठन भएको सरकार पनि दलहरुकै कारण विघटन भएको इतिहास साक्षी रहेको छ । त्यही कारणले गर्दा एउटै दलको बहुमतको सरकार टिकिरहन्छ भन्ने गलत सावित भएको छ । अब नयाँ विकल्प खोज्नुपर्ने आवश्यकता देखिएको छ । नयाँ भनिएका राजनीतिक दलहरुले समेत जनतालाई विश्वासमा लिन सकेको देखिएन । मधेशवादी दलहरु जुट्दै र फुट्दै आएका छन् । उनीहरुको प्रभाव निश्चित क्षेत्रमा मात्र रहेकाले उनीहरुले पुरै मुलुकको प्रतिनिधित्व गर्न सक्ने सम्भावन नै देखिँदैन ।
राष्ट्रिय स्वतन्त्र पार्टीको थालनी आशा लाग्दो भएपनि भविष्यको एकिन गर्न सकिने अवस्था अहिले देखिँदैन । यस दलका मुख्य नेता जसको लोकप्रियताको बलमा दल जन्मिएको थियो अब उनको छवी त्यस्तो नरहला भन्नुपर्ने अवस्था सिर्जना भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी पनि विभिन्न पटक विभाजित हुँदै पुन एकीकृत हुँदै आएको भएपनि अहिले पनि उसको हालतमा खासै सुधार हुन सकेको छैन । पूर्व राजा समर्थकहरु विभिन्त्र टुक्रा विभाजित भएर आ आफ्नो डम्फु बजाईरहेकाले गर्दा उनीहरुबाट जनताले ठुलो आशा गर्ने ठाउँ देखिएको छैन । केही राजनीतिक दलहरु कुनै न कुनै पार्टीबाट विभाजित भएर गठन भएका हुनाले उनीहरुले पुरै मुलुकको नेतृत्व लिन सक्ने सम्भावना अहिले देखिएको छैन भने नेकपा एमालेबाट विभाजित भएर गठन भएको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले त एमालेबाट विभाजित भएको पुष्टि गर्न नसकेको र नेतृत्वकर्ता माधव नेपाल नै भ्रष्टाचार काण्डमा मुछिएका हुनाले भ्रष्टाचारीले नेतृत्व गरेको पार्टीले के गर्न सक्छ भन्ने प्रश्न समेत उठेको हुनाले अब मुलुकका पुराना दुई पार्टी कांग्रेस र एमालेले आफ्नो व्यवहार सुधार गर्दै सरकारको नेतृत्व पनि उनीहरुले गरेका हुनाले जनताको विश्वास जगाउने कार्य गर्न सक्नुपर्दछ भन्ने हामीले ठानेका छौँ ।
































