भ्रष्टतन्त्र खरानी भयो, खरानीमाथि लोकतन्त्र ठडिएला ?
वि.सं.२०८२ भदौ २९ आइतवार १४:१२
shares

राजन कार्की
बहुदलको ३७ वर्ष र लोकतन्त्रको १८ वर्षमा खडा भएका भ्रष्टतन्त्र खरानी भयो । जेन जी पुस्ताको बिद्रोहले २७ घण्टामा भ्रष्टतन्त्रको महललाई बालुवाको महल बनाइदिए । अब जेन जी– नवयुवापुस्ताका सामु बिध्वंशपछिको निर्माणको चुनौती आएको छ ।
बुढो रुख ढल्यो, पुराना पात झरे । नयाँ पालुवा पलायो । नयाँ पालुवा अर्थात् नयाँ युग देखाउने जिम्मा जेनजीको काँधमा आयो ।
लोकतन्त्रमा स्वाभिमान पानी बगेझैं बगेको थियो, स्थिति तरल छ, सबै सम्हाल्ने जिम्मा युवा पिँढीको हो । अब जिन्दावाद, मूर्दावाद होइन, समानता, अवसर र न्यायपूर्ण स्थितिको निर्माण हो । भत्कनु भत्किसक्यो, बिग्रिनु बिग्रीसक्यो, अब बनाउने समय आयो ।
पद्धति ढल्यो, राज्यसत्ता ढल्यो, भ्रष्टाचारको सिंहदरवार जल्यो, सरकार हट्यो, जता हेरे पनि खरानी खरानी छ । हरेक भ्रष्टहरु लुकेका छन्, तिनलाई खोतल्दै निकाल्ने, भत्केका बनाउने, सुशासन ठड्याउने जिम्मेवारी आयो । नयाँ इतिहासको थालनी गर्ने बेला आयो ।
अचम्म, संसद छेन, सरकार छैन, जनप्रतिनिधि छैनन्, अब जनताका आशा र अपेक्षा छन् । त्यसलाई पूरा गर्ने गुरुत्तर दायित्व छ । जेनजीको काँधमा । जेनजीले लत्तो छाड्यो भने देश भत्किन्छ, देशको स्वराज सकिन्छ । अस्तित्व मटियामेट हुन्छ ।
यो कस्ता नयाँ पुस्ताको बिद्रोह हो । जुन बिद्रोहले आगो ओकल्यो । मृत्यु घण्ट बजायो । कुनै पनि स्थापित र निर्वाचित नामधारी भ्रष्ट वडाअध्यक्षसम्म लुक्न बाध्य भए । यो बिद्रोहपछि खुला रुपमा कुनै पनि नेताले म कांग्रेस, म एमाले, म माओवादी भन्न सक्ने स्थितिसमेत रहेन ।
देश सेनाले सम्हालेको छ । अराजकतालाई सेनाले रोकेको छ । बिदेशी हस्तक्षेपलाई सेनाले छेकेको छ । सेना छ र देशको अस्तित्व छ । यो खालीपन, यो शुन्यता छिटोभन्दा छिटो पुरिनुपर्छ । कानुनव्यवस्था सम्हाल्ने जेनजी पुस्ता, जेनजी सरकार, जेनजी परिवर्तनको खाँवो देशमा गाडिनुपर्छ । कहालीलाग्दो आतंक जेनजीको बिद्रोहमा सुरु भयो । शान्ति, समृद्धि, सुशासन जेनजीको प्रतिवद्धतामा देखिनुपर्छ ।
ठूलो जनआन्दोलन भयो, बहुदल आयो । जनयुद्ध भयो, १९ दिने जनआन्दोलनपछि लोकतन्त्र आयो । लोकतन्त्रले भ्रष्टाचार र राजनीतिक अपराधिकरणको जगजगी मच्चायो । यही अपराधिकरणको नाम थियो, नेपोटिजम, नेपोबेबी । यो कुप्रवृत्ति, असामाजिक, अराष्ट्रिय र असैद्धान्तिक फोहर बढार्न जेनजी आन्दोलन भएको थियो, बढारियो । तर सफाइ गर्न धेरै बाँकी छ । त्यो सफाइ गर्ने दायित्व जेनजी पुस्ताको हो ।
अवसर आयो, अवसर सिर्जना भयो । यो चुनौतीको पहाड लाघ्न नयाँ पुस्ताले हिम्मत, क्षमता, ल्याकत र अक्किल देखाउनुपर्छ । सिङ्गो मुलुक साथमा छ, मुलुक बनाउनुपर्छ ।
अकल्पनीय चमत्कार भएको छ । असामान्य स्थिति छ । सबै जेन जीले सम्हाल्नुपर्छ । जेनजीले बुढोपुस्तालाई नयाँ पुस्ताको रौनक, तेज, बुद्धि देखाउनुपर्छ । नयाँ पुस्ताको चाहना के रहेछ ? प्रष्ट पार्नुपर्छ ।
जेनजी पुस्तालाई रोक्ने कोही छैन, केही छैन । देश बोकेका जेनजीहरुले देश जुरुक्कै उठाउनु पर्छ । तिम्रा छोरा गाडीमा, जनताका छोरा खाडीमा भन्ने नारा लागेको थियो, यो नाराको अन्तर्य के हो ? नेपालका नवयुवाले विश्वलाई देखाइदिनुपर्छ ।
नेपाली नवयुवा बहादुर रहेछन्, बहादुरी के हो ? त्यो पनि विश्वलाई प्रष्ट पारिदिनुपर्छ ।
नेता खराव भयो भने देश कसरी बर्बाद हुनेरहेछ, नेपाल र नेपालीले भोगेका छन् । नवयुवा जागेपछि देश जटिलता र अस्थिरता, अराजकता र असजिलोबाट कसरी सकुसल अवतरण गर्छ, नवयुवाले विश्वलाई प्रमाणित गर्ने अवसर खोजेका छन् । उनीहरुको सफलतामा पुर्षाको साना दुःखले आर्जेको मुलुक होइन भन्ने प्रमाणित हुनसक्छ ।
नवयुवाले १८ वर्षदेखि काउसो बनेर रहेको हिन्दुराष्ट्र, राजसंस्थाको राजनीतिक मुद्दाको छिनोफानो गराउनुपर्छ । जति पनि राजनीतिक शक्ति छन्, तिनलाई स्थान दिन चुक्नु हुन्न । २०६५ साल जेठ १५ गते जुन चुकुल फुस्काइएको थियो, जसका कारणले राजनीति छाडा भयो, राजनीति अपराधमा मिसियो, त्यो अवस्थाको निर्मलीकरण हुनुपर्छ । हिन्दुराष्ट्र र राजसंस्था रहँदा देशको गौरव बढ्छ, घट्दैन । नवयुवाका लागि मौलो मिल्नेछ ।
ऐतिहासिक परिवर्तनका संवाहक बनेका जेनजीहरुका अनुहार लिङ्कनजस्ता लाग्छन् । किनकि यिनले परिवर्तन गर्ने ऐतिहासिक जनविद्रोहको नतृत्वकारी भूमिका सम्पन्न गरे तर तिनका व्यवहार बदलिनु हुन्न । लेण्डुपलाई बिर्साउने, हिटलर, मुसोलिनीलाई माथ गर्ने पूर्व शासकहरुलाई कानुनी कारवाही गर्न अग्रसर हुनुपर्छ । जेनजीहरु असफल भ एभने ससाना कोपिलाजस्ता नवयुवाहरु मारिए, तिनको सहादतले माफी दिनेछैन ।
लोकतन्त्रको परिस्थिति यस्तो थियो कि पृथ्वीनारायण शाह, भक्ति थापा, बहादुर शाह, भीमसेन थापा, महेन्द्रको नाम उच्चारण ग¥यो भने प्रतिगामी भइन्थ्यो । जबरजस्तीसहितका जतिसुकै असामाजिक, अमानवीय काम गरे पनि छातीमा ‘माओ र स्टालिन’को फोटो वा ‘मानवाधिकार’को स्टिकर टाँसेर ‘विदेशी दलाल मूर्दावाद’ ‘बिस्तारवाद मूर्दावाद’ ‘साम्राज्यवाद मूर्दावाद’ ‘लोकतन्त्र जिन्दावाद’ भन्यो भने अग्रगामी बनिने स्थिति थियो । कोशी, गण्डकी, महाकाली, कालापानी, सुस्तामात्र होइन, सीमाका चेलीमाथि बलात्कार हुँदा पनि चुप लाग्नुपथ्र्यो, खाँटी लोकतन्त्रवादी हुन । माटो के हो, महानता के हो ? स्वदेश के हो, स्वाधीनता के हो ? परिचय के हो, परचक्री को हो ? बिपन्नताको पहाडले थिचेका ४० प्रतिशत जनतालाई थाहा थिएन । बाँकी ६० प्रतिशतमा ५७ प्रतिशत भ्रममा छन्, ३ प्रतिशतले सत्ताको घोडा दौडाइरहेका थिए । यो ३ प्रतिशतमा अधिकांश विदेशीबाट निर्देशित छन्, स्वराजमुखी थोरै छन् । हाम्रा भविष्यद्रष्टा तिनै ३ प्रतिशत थिए, जो सडक र सत्ताका नायक बने । तिनीहरुका लागि जनता केही थिएनन् । भुइँमान्छेको मूल्य थिएन । नेपाली एकतालाई फूटबल बनाएर खेल्ने बिदेशपरस्त मालिक बन्नेहरुलाई जेनजीले नोज डाइभ गराइदिएका छन् । नवसम्भ्रान्त, राजनीतिलाई व्यवसाय बनाउनेहरु यतिबेला दुलाभित्र लुकेका छन् । तिनलाई कानुनी कठघरमा उभ्याउनु जेनजीको पहिलो काम हुनेछ ।
आजसम्म नेपालको अवस्था कस्तो थियो भने इतिहासको एउटा कालखण्डमा नजिबुल्लाहले काबुलमा सोभियत सेनालाई पालेर दास बनाएझैं वर्तमान कालखण्डमा विदेशीले हाम्रा नेताहरुलाई भाडाका गणतान्त्रिक सेना बनाएको छ । गणतन्त्रको कल्की भिरेको लोकतन्त्रमा लोक दयनीय अवस्था भोगिरहेका छन् । भारतका लागि २१औं शताव्दिका नेपाली नजिबुल्लाह शेरबहादुर देउवा, प्रचण्ड, माधव नेपाल, केपी ओलीहरु हुन् जसले स्वदेशी राजनीतिमा विदेशी रङ् भरेका छन् । यसैले त सिंहदरवारदेखि सानेपा, पेरिसडाँडा, बालुवाटार दरवारभित्र विदेशीहरुको आदेश चल्ने गरेको छ । दासतामा गर्व गर्नेहरु सबैभन्दा बढी राजनीतिज्ञ, मानवाधिकारवादी र बुध्दिजिवी कित्ताका छन् । यिनीहरु सबै विदेशी डक्ट्रिनको पोखरीमा पौडी खेल्न मन पराउँछन् । यो सुकेलुतो लोकतान्त्रिक गणतन्त्ररुपी राज्य सञ्जालभरि सल्किसकेको छ । देशभक्तलाई दबाइँदा राष्ट्रका आधारहरु मैनबत्तीझैं बिस्तारै बिस्तारै पग्लदै गएका छन् । भारतको राष्ट्रिय गानका संगीतकार नेपाली रामसिंह ठकुरी पनि थिए, त्यही गान नेपालीको गलामा भिराइँदै छ । इतिहासमा स्वाभिमानको गीत गाएर नेपाली उर्जा प्रदर्शन गर्ने वीरका लालहरु बिदेशीपन चुसेर टाक्सिन थालेका छन् । भूराजनीतिका कारण चीन, अमेरिका, रुस, इयुहरु झन बढी प्रभाव र दबाबसहित भित्रिएका छन् ।
हो, यो पराधीनता चिर्ने जिम्मेवारी जेनजीको हो । स्वाधीनता र सार्वभौमिकता के हो ? भूमिको महत्व, राष्ट्रिय अस्तित्व कसरी जोगाउने राजनीतिक र कूटनीतिक परीक्षामा पनि जेनजी नै परेका छन् । देशलाई विश्वास छ, नयाँ पुस्ता खरो उत्रनेछ, विजयी हुनेछ ।
बिभिषणहरु छरपस्ट छन्, दलाल यत्रतत्र छन् । अवसरवादी त पाइला पाइलामा छन् । सबैसँग सचेत हुनु जेनजीको पहिलो कार्य हो । फुकी फुकी निर्णय गर्नुपर्छ, बिध्वंश भएको मुलुक निर्माणदेखि सुशासन दिने र दण्डहीनताबाट मुक्ति खोज्ने काममा कमजोरी हुनुहुन्न ।
बहुदलको ३७ र लोकतन्त्रको १८ वर्षमा भ्रम छरेर राजनीति गर्ने, राजनीतिलाई व्यवसाय बनाएर नेपोटिजम र नेपोबेबीतन्त्र चलाउनेहरुले देश र जनतामाथि अन्याय गरेका रहेछन् । अब अन्यायबाट मुक्ति देश र जनताको अपेक्षा हो । यो कुरो जेनजीले बुझेका छन् ।
ओलिभर नर्थ, इरान गेट काण्डमा सिनेटलाई झुक्याएको अपराध काण्डले ७ लाख डलर जरीवाना तिरेर ९ वर्षको कालकोठरीमा पुगे । ४० प्रतिशत विपन्न बर्गको पहाडले किचिएको र २७ खर्ब बिदेशी ऋणले थिचिएको नेपालका लुटेराहरुलाई ओलिभर नर्थकोजस्तो दण्ड सजाय होला कि नहोला ? सुशासनको सुरुआत होला कि नहोला ? नेपाली भूमिमा स्वराज स्थापित होला कि नहोला ? आजको यक्ष प्रश्न यही हो ।
































