सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ज्यूँदै छ, बालबालिकाको रगत तनतनी पिएको गणतन्त्र

767
shares

 

राजन कार्की
नेपालको वर्तमान कालखण्ड शासन प्रशासनमा देवासुर सङ्ग्रामजस्तो छ ।
देवहरु नयाँ पुस्ता हुन् भने असुरहरु अनैतिकतामा उभिएका शासक प्रशासकहरु हुन् ।
२०८२ भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनलाई यसरी मथियो कि त्यो आन्दोलन समुन्द्र मन्थनजस्तो बन्यो । ७६ भन्दा बढी नवयुवाको खली खाएको, रगत पिएको सत्ता ढल्यो, संसद ढल्यो, संविधान ढल्यो, राष्ट्रपति ब्रम्हनालमा पुगेका छन् । त्यसपछि अमृत कसले पिउने भनेर असुरहरू सङ्ग्राममा उत्रिएका छन् । असुरहरुलाई आसुरी प्रवृत्तिले छाडेको छैन । मृत्युको मुखबाट बाँचेका असुरहरु जेनजी पुस्तालाई बिथोल्ने, विभाजन गरेर राज गर्ने अङ्ग्रेजनीतिमा असुरुहरु लागेका छन् । एकदोस्रालाई खुल्याएर, हातेमालो गरेर स्वार्थको राज गरी आएका असुरहरु एक हुने प्रयासमा छन् ।
भन्न सकिन्न, असुरले जित्छन् कि नयाँ पुस्ताले ? नयाँ पुस्ता आफ्नै, देशको भविष्य सुनिश्चित गर्न सक्छन् कि सक्दैनन्, झण्डै ४ दशकदेखि भ्रष्टाचारमा आहाल बसेका असुरहरुलाई सच्याउन अथवा दण्डित गर्न क्षमता राख्छन् कि राख्दैनन् ?
सङ्ग्राम सुरु भइसक्यो । यो राजनीतिक महाभारत हो, महाभारतमा नयाँ पुस्ताले कृष्णावतार लिन सक्लान् कि नसक्लान् ?
बहुदल कालरात्रि बनेको थियो । जनयुद्धले कहाली लगायो, जनआन्दोलनले परिवर्तन ले¥यायो । कसले सोचेको थियो, परिवर्तनले पनि देश र जनताको सातो खान्छ भनेर । बालबालिकाको रगत तनतनी पिउँछ भनेर ?
खरानी भइसक्यो देश । खरानीबाट बन्नुछ, उठ्नुछ, उठाउनु छ देश ।
देश बर्बादीको भीरमा पुगिसक्यो, जनता बेहाल अवस्थामा पुगिसक्यो, नेतृत्वपङ्ति अझै संविधान कार्यान्वयन ग¥यौं, संविधान बचायौं भन्दा भन्दै यही संविधानले बालबालिकाको रगत पियो, ज्यान लियो । संविधानले जनअपेक्षाको चीर हरण ग¥यो, जुन पद्धतिले विधिको शासन सिध्यायो, त्यही संविधान कायम राखेर हुन्छ के ? अझै बर्बादी निम्त्याउने ?
शासक प्रशासकको, पद्धतिको नाकले माटो खाइसक्यो, न्याय ढलमती बनेर बगिसक्यो, विपन्न र पिछडाबर्गको हक र अधिकारसमेत सम्भ्रान्तले दिउँसै लुटेका छन्, अझै नेताहरू अग्रगमनतिर लागेका छौं भन्न लाज मान्दैनन् । पुस्तान्तरण गर्न अटेर गरेर बसेका छन् । रजगज गरेको शासनसत्ता छाड्दैनौं भनेर संग्राम निकालिरहेका छन् ।
यो कस्तो नेतातन्त्र हो, नेपोटिजम, नेपाबेबीइजम हो, जसले नाली र जंगल पनि चिन्दैन । संसद भेडीगोठ कि जनप्रतिनिधि स्थल हो भनेर हिजो बुझिएन । आज तिनै भ्रष्टहरु कुर्लिन थालेका छन् । देशमा रक्तपात गरेर पनि चेतेका छैनन् । यसैलाई भनिन्छ, लोकतान्त्रिक भनिएका नेताहरू मुखमा ऋषिमन देखाउँछन्, व्यवहारमा असुरपनको कार्य गर्छन् । राजनीतिमा अपराधिकरण भएपछि बढ्ने अपराध नै हो ।
भारतमा नरेन्द्र मोदीको एकछत्र राज चलेको छ । तिनै मोदीले नेपालको जिवन्त लोकतान्त्रिक जीवनलाई यसरी निसास्सिने गरेर घाँटी निमोठ्छन् भन्ने ? हिन्दुराष्ट्रलाई धर्मनिरपेक्षता बनाइदा पनि सहन्छन् भन्ने ? भारतलाई त उसको स्वार्थ प्यारो रहेछ, हिन्दुराष्ट्र, राजतन्त्रसँग कुनै सरोकार नै रहेनछ । यसैवीच चीन व्यापारी बनेर अगाडि बढेको छ । नेपालको सार्वभौमिकतालाई सम्मान गर्ने चिप्लो कुरा गरेर नेपालकै भूमिबाट भारतसँग व्यापार बढाएको छ । मोदीले चीनमा पुगेर नेपालको लिपुलेकबाट व्यापार गर्ने सन्धि गरे, जर्मन र अमेरिका पुगेर बुद्ध भारतका हुन् भनिदिए । लुम्बिनी पारी नक्कली लुम्बिनी बनाएर आधुनिक एयरपोर्ट निर्माण गरेर सञ्चालनसमेत गरिसके । तर नेपालको लुम्बिनीमा बनेको अन्तर्राष्ट्रिय विमानस्थलमा आउने विदेशी जहाजलाई अनुमतिसमेत दिन मानेनन् । त्यो भारत, त्यो चीनलाई साइजमा ल्याउन अमेरिका अग्रसर भएको छ । नेपाल विश्वशक्तिको प्रवेशले भूराजनीतिको भूमरीमा परिसक्यो ।
लोकतन्त्र भन्ने नेता र पार्टीहरुले आफ्नो भूमि भारत सरकारले ७७ स्थानमा हजारौं हेक्टर सीमा मिच्दा बोलेनन् । लिपुलेक, लिम्पियाधुरा, कालापानी भारतको नक्सामा हालेर हजम गरिदिए । मौन छन् । हालैको वर्षामा नेपाल डुबानमा प¥यो, भारतले अन्तर्राष्ट्रिय कानुनविपरित बाँध बनाएको विषयमा समेत कुनै दल, नेता, शासक, प्रशासक बोलेनन्, बोल्दैनन् । नेपाल मानौं भारतको प्रान्त होजस्तो, नेपालका बारेमा भारतको मोदी सरकारले अन्तर्राष्ट्रिय नीति, नियम, मर्यादासमेत उल्लंघन गरिरहेका छन् । नेपाल कसैको मौजा थिएन, होइन । तर व्यवहारले नेपाल परजीवी बनिसकेको छ ।
नेपालका होनहार पार्टी, नेता, नयाँ चुनिएका युवासमेत भारतको ज्यादतिबारे बोल्दैनन् । अब जेनजी पुस्ताले बोल्नुपर्छ, देशका लागि केही गर्नुपर्छ । असुर मास्न आन्दोलन गर्नसक्ने जेनजी पुस्ता अस्तित्व रक्षा गर्न पछि पर्नेछैनन् भन्ने विश्वास गर्न सकिन्छ । मात्र आवश्यक छ, टुटाउने र फुटाउने चिन्नुपर्छ, एकढिक्का हुनसक्नुपर्छ ।
हस्तक्षेप बढ्दो छ । हरेक प्रकारका हस्तक्षेप हामीले सुन्यौं, भोग्यौं र चुपचाप हेरिह्यौं । हामी विभाजित भएकाले हाम्रो प्रतिवादको स्वर आवश्यकताजति बाक्लो हुनसकेन । भारतले नाकावन्दी गरे पनि, नगरे पनि भारत ‘एसेन्सियल इभिल’का रूपमा नेपालमा भारत गढेको छ । अब पश्चिमा र चीन पनि गढदो छ । जतिसुकै खराव भए पनि छिमेकी फेर्न सकिन्न । मित्रलाई दुश्मन बनाउन पनि सकिन्न । नेपालले परम्परागत नीतिमा बच्ने बचाउने काम गर्नुपर्छ । गरूढको छायाँ परेको सर्पजस्तो लाट्टिनु हुन्न कसैसँग ।
पश्चिमाले सहयोग गरिरहेका छन् । दुबै छिमेकीले पनि सहयोग दिइरहेका छन् । खरानी हामीमा छ, हाम्रो स्वार्थपनमा छ । खासगरी हाम्रो दक्षिणी छिमकी मुखले ऋषिमनको पवित्रता देखाउँछ र व्यवहारले असुरपन । उत्तरी छिमेकी नेपालको सार्वभौमिकताको कदर गर्छु भन्छ, साहस बढाउने सहयोग गर्दैन, पश्चिमा र युरोपियनहरू विश्वशक्ति बन्न र नेपाललाई इसाईकरण गर्न लागिपरेका छन् । यस्ता मित्रहरू डरलाग्दा हुन्छन्, बढी सतर्क हुनुपर्छ । यतिखेर नेपाल त्यही असुरपनको विषादी लागेर दीर्घरोग लागेको बिरामीजसरी छटपटिइरहेको छ । नेतृत्व निकास निकाल्न सक्षम छैन । राजनीतिमा समुन्द्र मन्थन भइरहेको छ, विष पन्छाएर अमृत ग्रहण गर्नुपर्ने बेलामा नेपाली समाजलाई गृहयुद्धतिर धर्केल्ने साजिस भइरहेको छ ।
बुद्धि पुगेन, राजनीतिक दलहरुको बुद्धि पुगेन । सहमति र सहकार्य, संवादबाट राजनीति अघि बढाउने अवसर छ, तर त्यो अवसर पनि गुमाएर देशलाई अशान्त पार्ने कार्य ठूला नेता र ठूलाहरुबाटै बढ्नु देशको दुर्भाग्य हो ।
चाहिएको सक्षम टेक्टिस हो, जुन अभाव छ । आन्तरिक न बाह्य, मल्लयुद्ध हाम्रो क्षमतामा छैन । इतिहास हेरौं, असुरचरित्रसँग असुर बनेर नेपालीले कहिल्यै बहादुरी देखाएनन् । युद्ध हारे, बहादुरी छाडेनन् । बहादुरीका साथ आफ्नो स्वतन्त्रतालाई वर्तमान कालखण्डसम्म अक्षुण्ण राखेका छन् । वर्तमान पुस्ताले भावीपुस्तालाई दिने उपहार पनि सिङ्गो र स्वतन्त्र नेपाल नै हो । नेपाली नेतृत्ववर्गले पहिलोपल्ट दह्रो खुट्टा टेक्नसक्नुपर्छ । जेनजी पुस्तालाई नेतृत्व गर्ने अवस्र दिनुपर्छ । नेपाल बफर स्टेट हो, बफर स्टेटकै रूपमा आफूलाई सगरमाथाजस्तै उभ्याइरहनुपर्छ । लाइट अफ एसियाकै रूपमा खडा राख्नुपर्छ । जडी उपाय अवलम्बन गरेर समस्याको जरो उखेल्ने र सबैसँग सम्बन्धलाई सामान्यीकरण गराउने सामुहिक यत्न थालिहाल्नुपर्छ । चरित्रहीनतामा डामिएकाहरु पन्छिनुको बिकल्प छैन ।
जति गर्नु शासन गरे, अब तिनीहरु सबैले जेनजी पुस्तामा नेतृत्व पुस्तान्तरण गर्नु उत्तम हुनेछ ।
नेपालको संसदमै प्रश्न उठ्यो– सत्यमेव जयते कि सिंहमय जयते ? चीनले नेपालको सार्वभौकितामा सम्मान गरेको हो भने लिपुलेक क्षेत्रबारे प्रष्ट बोल्नुपर्छ । तर नेपाललाई धमिलो पार्ने कार्य भइरह्यो, नेपाल विश्वशक्तिको अखडा बनिसक्यो । भ्रष्ट नेता र प्रशासकले नेपालको कूटनीति, राजनीति, आर्थिक, सामाजिक लगायतका हरेक क्षेत्रलाई प्रदूषित पारिसके ।
जनयुद्धको १० वर्षमा १७ हजार मारिए, जो बाँचे बाँच्नेहरू पीडकको त्रासदीमा पीडित भएर बाँचिरहेका छन् ।
चैत १५ होस् कि भदौ २३, २४ प्रष्ट छैन कति मरे मारिए । आमाहरुको आँखाको आँसु सुक्यो तर भ्रष्टाचारको निरन्तरता रोकिएन ।
जेनजी पुस्ता अघि स¥यो, तिनलाई गोलीले ठिक पार्नेहरु राजनीतिमा आफूलाई अब्बल सम्झन्छन् । आधुनिक युगमा मान्छेको ज्यान लिने मांसहारीहरु पनि लोककल्याणकारी राज्य चलाउन ल्याकत राख्ने प्राणी हुनसक्छन् र ?
जनआन्दोलन, जनयुद्ध, संविधान सभा, लोकतन्त्र, धर्मनिरपेक्षता, गणतन्त्र सबै घटनाक्रममा विदेशी ताकतले खेलेकै हो, पेलेकै हो । चैत १५ अथवा भदौ २३, २४ मा पनि नयाँ पुस्तालाई बदनाम गर्न रगतको होली खेल्नेहरु देशी विदेशी शक्तिहरु नै थिए ।
कहिल्यै पराधीन नभएको स्वतन्त्र नेपाल पराधीनताको पराकाष्ठा बेहोरिरहेको छ । यो सबै नेतृत्वको असक्षमता र अकर्मण्यताका कारणले हो । यसकारण पनि असुर भनेर दागी भइसकेका नेताहरुले नयाँ पुस्तालाई जिम्मेवारी दिनु उचित हुनेछ ।
बृटिशले ‘बिभाजन गर र हत्याउ’ भनेर सिकाएर गएको थियो, भारतले त्यसलाई दीव्यज्ञान मानेर नेपालमाथि त्यही नीति लादिरहेको छ । नेपालका नेताहरुले पनि भारतकै अनुकरण गरेर आन्तरिक रुपमा राजनीतिक स्वार्थ पूरा गरिरहेका छन् ।
भारत महाराज किन बिर्सेको– बागमतीमा रगत बग्दा गंगा पनि रगताम्मे हुन्छ ।
चीन किन बिर्सेको– नेपालले दुःख पाउँदा तिमी पनि अस्थिर र अराजक हुनेछौ ।
विश्वशक्ति किन बिर्सेको– नेपालको अशान्तिले विश्वयुद्ध निम्त्याउँछ ।
जेनजी पुस्ताले बुझ्नैपर्ने इतिहास–
खोटरहित नौवटी कन्याको नवयोनी पूजा गर्ने, तिनलाई नौ भैरवीको रूपमा उन्मत्त भैरव मैथुन गर्ने राजाले पनि नेपाल चलाएकै थिए । डेढवर्षका राजा गिर्वाणलाई सिंहासनमा राखेर स्वामी महाराज बनेका रणबहादुर शाहले नायवी बनेर सिक्किमदेखि गढवालसम्मको राज्य धानेकै थिए । १८१६ मा रसदपानी छेकेर युद्ध हारे पनि राणाहरूले पूर्वी नेपाल र नयाू मुलुक फिर्ता ल्याए, सीमामा जंगे पिलर गाडेर देशको रक्षा गरेकै हुन् । २०६३ साल वैशाख ११ को परिवर्तन, २०६५ साल जेठ १५ को गणतन्त्र कार्यान्वयन र २०७२ साल असोज ३ गतेको संविधान आधुनिक फ्रान्सको राज्यक्रान्तिजस्तै थियो, त्यो क्रान्ति २०७९ मंसिर ४ को दोस्रो आवधिक निर्वाचन परिणामबाट परास्त भएको थियो ।
अब नयाँ पुस्ता जागरुक बन्यो । अग्रसर भयो । नयाँ पुस्ताले संविधान, प्रधानमन्त्री, संसद, राष्ट्रपति भवन, सर्वोच्च अदालत सबै खरानी बनाउने गरी आन्दोलन गरिसकेको छ । हिंसामा उत्रने सत्तापक्ष हुन् कि घूसपैठ गरेर जेनजी पुस्तालाई बदनाम गर्नेहरु हुन्, सावधान…जेनजी पुस्ताले खरानीबाट देश उठाउने अभिभारा बोकेका छन् ।
यसकारण असुरहरु पछि हट । नयाँ पुस्तालाई देश हाँक्ने अवसर देउ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports