खु्रश्चेव, घानी, राजापाक्ष, हसिना झैं लखेटिनु पर्ला
वि.सं.२०८२ असोज ३० बिहीवार ११:२१
shares

राजन कार्की
कुनै दिन ख्रुश्चेव लखेटिएका थिए, केही वर्ष अघि निर्वाचित अफगानिस्तानका राष्ट्रपति असरफ घानी भागेका थिए । ३ वर्षअघि श्रीलंकाका महेन्द्र राजापाक्षका परिवारले ज्यान जोगाएर भागेकै हुन् । २ वर्ष हुनलाग्यो, बंगलादेशकी निर्वाचित राष्ट्रपति शेख हसिना सेनाको सहयोगमा ज्यान जोगाएर भारतमा भागिन् ।
महिनादिन अघि भदौ २३ र २४ गते नेपालमा जेनजी पुस्ताले आन्दोलन गरेका थिए, दुई तिहाईको सरकार ढल्यो, प्रधानमन्त्री, गृहमन्त्री भागाभाग भए । सेनाले राजनीतिक नेताहरुलाई बचाइदियो । सत्ता कतिसम्म क्रुर र निरंकूश हुने रहेछ भने १० वर्षे बालबालिकालाई समेत गोली ठोकेर मारिदियो । सुरुको दिनमा १९ जना मारिएका थिए, दोस्रोदिनदेखि मर्नेको संख्या ७६ नाघिसकेको छ । घाइते र अपाङ्ग कति छन्, गन्ती गर्न पनि छाडिएको छ ।
विद्रोह सफल भयो । तर विद्रोहीले सत्ता चलाउन पाएनन् । बिद्रोही जेनजी पुस्ताको सफलतालाई अपहरण गरियो । सत्तामा जो पुगे, यही असफल संविधानवादी पुगे । तिनले यही संविधानको सपथ खाए । यही संविधानअनुसार चुनाव गर्छु भने ।
आश्चर्य, बिद्रोही सफल भएपछि संविधान मरेकै हो । बिद्रोहीको समर्थनमा निर्माण भएको अन्तरिम सरकारले संविधान खारेज नगर्नुका कारणले संविधान ब्रम्हनालबाट बचाउन खोजिएको छ । जितेका जेनजी पुस्ता सुशासन दिन्छु भन्छन् । भ्रष्टाचारको अन्त गर्छु भन्छन् । जबकि सत्तामा जेनजी पुस्ता छैन । अर्को आन्दोलन गर्ने कुरा गर्छन्, भ्रष्ट र नैतिकहीन नेताहरु जेनजी पुस्तालाई दण्ड दिने मूडमा अग्रसर भएका छन् ।
संविधान म¥यो । पुरानो सत्ता ढल्यो । ढलेकाहरु उठ्छौं भन्छन् । ढाल्नेहरु सुधार गर्न नसके अर्को आन्दोलन गर्ने भनेर सुरसार गर्न थालिसके ।
के अब फेरि अराजकता ? फेरि रक्तपात ? अन्तरिम संविधान घोषणा गर्न नसक्दा, यही संविधानअनुसार सपथ खान्न भन्न नसक्दा प्रधानमन्त्री सुशीला कार्की चक्रव्यूहमा फस्न पुगेकी छिन् । नयाँ पुस्ता उपलब्धिहीन भएका छन् । जेनजी पुस्ताले ज्यान गुमाए, व्यर्थमा गुमाएछन् भन्न थालिएको छ ।
अर्थात् देशको भविष्य धुमिल थियो, अन्धकार बन्नपुगेको छ । जेनजी पुस्तामा उत्साह छ तर तिनले पाउनुपर्ने, तिनले चलाउनु पर्ने सरकार अरुले नै चलाउन थालेकाले जेनजी पुस्ता र तिनको त्याग र तपस्या, बलिदान खेर जाने र अर्को आन्दोलन गर्नुपर्ने आवश्यकता टड्कारो देखिन थालेको छ ।
इतिहासका घटनाक्रमबाट रगत चुस्न पल्केका राजनीतिमा लागेकाहरु चेतेनन् । देशलाई रक्तकुण्ड बनाउन हौसिएका देखिन्छन् । कांग्रेस सभापतिले नेतृत्व पुस्तान्तरण गर्न अग्रसर भएका छन् तर माओवादी र एमाले अर्को अवसरको ताकमा देखिनु दुर्भाग्य हो । तिनले जेनजी पुस्ताको माग र अपेक्षामा सहयोग गर्छु भन्न नसक्नु आगामी दिन अरु भययुक्त हुनेछ भन्ने संकेत हो ।
नेपालको भविष्य अनिश्चित छ । आँधी आउनु अघिको शान्तिजस्तो छ । सुनामी आउने सुसाहट अनुभवीहरुले सुन्न थालेका छन् । कम्युनिष्ट निकिता ख्रुस्चेभ र असरफ घानी, राजापाक्ष, शेख हसिना लखेटिएझैं लखेटिने को को होलान् नेपालमा ? ७६ जना जेनजी पुस्ता मारिएझैं कति बालबालिकाले ज्यान गुमाउनु पर्ने हो आउने दिनमा ? कतै यो अराजकताको कारण, नेपालले अस्तव्यस्तबाट ध्वस्त हुने र अस्तित्व नै गुमाउनु पर्ने त होइन ?
खु्रस्चेभ रेड आर्मीका नेता थिए, असरफ घानी दुईपल्ट राष्ट्रपति जित्ने प्रजातान्त्रिक निरंकूश थिए । राजापाक्ष वर्षौंदेखि एकछत्र परिवारवाद चलाइरहेका थिए । शेख हसिनाले बहुमतका नाममा देश लुटिरहेकी थिइन् । ती सबैप्रति जनताको आक्रोश थियो, जनआँधी आयो, बढारिए । भागम्भाग गरेर ज्यान बचाएका हुन् ।
जनताको नजरमा यी सबै विदेशीको दलाल र गरेको कारण ‘लाल गद्धार’ थिए ।
नेपाली नेतामाथि विदेशीको दलाली गरेको र स्वदेशमा भ्रष्टाचारको साम्राज्य खडा गरेको आरोप थियो । त्यसकारण नेपोटिजम, भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले आन्दोलन ग¥यो । आन्दोलनले २७ घण्टामा सत्ता पल्टायो, संविधान मारिदियो, नेताहरुको मुटु हल्लाइदियो । अब नेपाल नेताहरु भाग्नुपर्ने मोडमा पुगेको छ । हाम्रा नेताहरु ‘लाल गद्धार’भन्दा कम छैनन् । यिनले एउटा पनि देशभक्तिपूर्ण काम गरेको नागरिकलाई सम्झना छैन । यिनले जे गरे, देशलाई लुटे । जनता यसकारण जेनजी पुस्ताको पक्षमा एक छन् ।
नपाली कांग्रेस एमाले, माओवादी र राप्रपा, रास्वपा, जसपा तथा यिनीहरुबाट टुटे फुटेका पार्टी नेताहरुको राजनीति जनताको सर्वाधिकारमाथि, जनताको आकांक्षा र अपेक्षामाथि तुषारापात गर्ने कित्ताको भएकाले यिनीहरुप्रति जनताको मनको घृणाभावको डिग्री बढ्दै गएको हो । एउटा बिन्दुमा पुगेपछि जसरी पानी उम्लन्छ, त्यसैगरी जनआक्रोश पनि उम्लने विन्दुमा पुग्यो, जनताले सकेनन्, जेनजीपुस्ताले आन्दोलन छेड्यो ।
०४६ सालपछि हेरौं, ०६३ सालपछि हेरौं, पार्टी र पार्टी नेता तथा प्रशासकका कृयाकलाप हेर्दा कठपुतली र कठमूल्ला भन्दा फरक पर्दैन । यिनीहरु विदेशी कठपुतलीजसरी चल्छन् र जब चल्छन्, बोल्छन्, हाउभाउ गर्छन् ः कठमूल्लाको अनुहारमा देखिन्छन् । यी सबै स्वार्थका सामु लम्पसारवादी हुन् । यिनको प्राथमिकता स्वार्थ हो, देश र जनता होइनन् ।
०४६ साल पछिका अधिकांश नेता सबै अर्काले चलाए चल्ने, नचाए नाच्ने ब्याट्रीबाट चलाउन मिल्ने टेलिभिजन जस्ता छन् । झट्ट हेर्दा यी सबै नेपाली जनताका नायक हुन् । जब एउटा राजदूतले दूतावासको कोठाबाट, एउटा विदेशी नेताले विदेश उठबस गराउँछ अनि लाग्छ, यिनीहरु कठपुतली हुन् । यिनीहरु आआफ्नै अहंमा जब पागल उफ्रे झैं उफ्रिन्छन् र आआफै बीच भागबण्डाको अहंकारमा लडन्त भिडन्त गरेर भुइँमा बजारिन्छन्, अनि यिनीहरु कठमूल्लाजस्ता लाग्छन् । स्पष्ट भन्ने हो भने आत्मनिर्णयको अधिकार हाम्रो नेतृत्व बर्गले गुमाईसकेका छन् । नेपोटिजम र नेपोबेबीइजम यिनको उद्देश्य हो ।
इतिहासको एउटा घटना साक्षी छ, जनताको समर्थन र लोकप्रियताको गलत प्रयोग गर्ने खु्रश्चेव अन्ततः नूनखानीमा लखेटिएका थिए । राजापाक्ष, शेख हसिना अथवा घानी सबै सत्ताको दुरुपयोग गर्नाले जनताको घृणाका सिकार भएका हुन् ।
जेनजी पुस्ताले गरेको आन्दोलन पनि नेता र प्रशासकप्रतिको घृणा नै हो ।
स्वार्थका लागि मरिहत्ते गर्ने राजनीति र प्रशासन चलाउनेका कारण विदेशीले हाम्रा नेताको मानसिकतामा साम्राज्यवाद, बिस्तारवाद र हैकमवादको विष घोल्न सफलता पाए । नेपाल सामरिक महत्वको स्थलमा बाह्य मुकाम बन्न थालेका छन् । बाह्य आधारभूमि बन्न दिनुपर्छ भन्नेहरु हाम्रा लोकतान्त्रिक नेता बनेका छन् । नेपाल बिस्तारै बिस्तारै संक्रमणबाट संकटतिर उन्मुख हुँदैछ । नेपालले स्वाधीनता गुमाउँदै गएकोमात्र होइन, निर्णायक शक्ति पनि क्षीण बन्दै गएको देखिन्छ । देश बचाउने र जनशक्तिलाई निर्णायक बनाउने हो भने जेनजी पुस्ताले स्वार्थको फोहर बढार्नैपर्छ । अर्को आन्दोलन जरुरी देखिन्छ ।
प्रशासक र राजनीतिज्ञको नङ्गा नाचले सीमा नाघिसक्यो ।
बिहारीले देखाउने हातको सफाया खेलजस्तै गणतन्त्र देखाएर विदेशीतन्त्र चलाउने, स्वार्थपूर्ति गरेर नेपोटिजम र नेपोबेबीइजम निरन्तर चलाउने यिनको भ्रममा अब कोही पनि पर्नुहुन्न ।
नेपाली जनताको छोरो राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, संवैधानिक निकायको जिम्मेवारीमा पु¥याए भनेको त, विदेशी मट्याङ्ग्रा र जुकापो रहेछन् । हाम्रा नेताहरुको ०४६ साल पछि अझ २०६३ सालपछिको चरित्र भनेको अवसरवादीता हो । अवसरबाद सधै धोखाधडीमात्र गर्छ । सहाराको मरुभूमिमा बेडोइन्स जातिका फिरन्ते मानिसहरु बस्छन् । उनीहरु घर बनाउँदैनन् । त्यो जाति र हाम्रा नेताहरु उस्तै उस्तै काँटका अथवा एउटै बर्गका प्राणी हुन् । यिनीहरुमा चेतना र स्वाभिमान भएको भए राष्ट्रलाई यसरी बिचल्ली र हरिबिजोकमा पार्ने थिएनन् । के छ सुरक्षित ? को छ सुरक्षित ? कहाँ छ न्याय, बिधिको शासन ? बाहुबली र अपराधतन्त्रले देश घाइते भइसक्यो । स्वार्वभौमिकताको द्रौपदीको चीर हरण भएझैं दिनदिनै बलात्कार भइरहेको छ । यिनीहरु र सहाराको मरुभूमिका घुमन्ते बेडोइन्स जातिमा के भिन्नता रह्यो र ? न तिनको पहिचान थियो, न यिनको पहिचान छ । भतुवालाई बिगौती । यी शासक प्रशासकहरु दूध विदेशीलाई खुवाएर बिगौतीमा मख्ख परिरहेका छन् । देश र जनतालाई अझै जोखिममा पारिरहने ?
हिजो नयाँ नेपाल बनाउँछु भन्थे, आज साबुत नेपाललाई संकटमा फसाए । प्रजातन्त्रबाट उज्यालो दिन्छु भन्थे, आफू उज्यालोमा बसे जनतालाई अन्धकारमा धकेले । राजनीतिलाई व्यवसाय बनाइदिए । प्रशासक दलाल बने । नीति, नैतिकता, सिद्धान्त सबै सत्ता र स्वार्थसँग साटिसके ।
यी नेताहरुलाई स्मरणरहोस्, माओ र च्याङ्काईसेकबीच डरलाग्दो बैचारिक व्दन्व्द थियो तर यी दुबै नेता चीनको राष्ट्रिय अखण्डतामाथि जापानले धावा बोल्दा एउटै मोर्चामा बसेर देशका लागि लडे । देश संकटमा छ, जेनजी पुस्तालाई अवसर दिएर देशको मुहार फेर्ने र अस्तित्वरक्षाको गुरुतर दायित्व दिनुपर्ने बेलामा बुद्धि आएन भने लखेटिने दिन पर छैन ।
शासन, प्रशासनका सुतुरमुर्गहरुलाई चेतना रहोस् ।































