सरकारकै कारण मुलुकमा संकट बढ्दै
वि.सं.२०८२ असोज ३० बिहीवार ११:२५
shares

काठमाडौ । भाद्र २३ गतेको विरोध प्रदर्शनपछि देखा परेका जेन–जी समूह अहिले विभिन्न गुटमा रहेकाले त्यो समूहलाई आ आफ्नो स्वार्थ अनुसार प्रयोग गर्न विभिन्न समूहहरु र व्यक्तिहरु सक्रिय रहेका छन् । पूर्व प्रधानन्यायाधिश सुशिला कार्की, प्रधानमनत्रीमा नियुक्त भएको एक महिना भन्दा बढी भएपनि कार्की सरकारले जेन–जीका विभिन्न समूहलाई एकै ठाउँमा ल्याउने प्रयास गरेको जस्तो देखिएपनि विभिन्न समूह र व्यक्तिहरुले जेन–जीलाई एकै ठाउँमा ल्याउन अवरोध सिर्जना गरिरहेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीसँग वार्ता गर्न जाने जेन–जीहरुका प्रतिनिधिहरु अलग अलग समूहका भएकाले कुन समूहसँग वार्ता गर्ने भनेर नत राष्ट्रपतिले नै निर्णय गर्न सकेका छन् नत प्रधानमन्त्री कार्कीले नै ।
तत्कालिन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गर्नुपर्ने पक्षमा एक समूह लागि परेको छ भने अन्य समूहहरु आउँदो फागुन २१ गते निर्वाचन गर्नुपर्ने कार्की सरकारको बाध्यता रहेकाले उनीहरुलाई पक्राउ गरिए निर्वाचन हुन नसक्ने भन्दै सबै समूहलाई मिलाउन लागि परेका छन् ।
जेन–जी समूहका योजनाकार तथा काठमाडौ महानगरपालिकाका मेयर बालेन साह प्रष्ट रुपमा बाहिर नदेखिएपनि आफ्ना कानुनी सल्लाहकार गृहमन्त्री ओम प्रकाश अर्यालमार्फत आफ्ना सबै काम गरिरहेका छन् । सिंहदरबारमा आगो लगाई दिन्छु भन्दै स्टाटस लेखेका साहको लोकप्रियता सिंहदरबार, सर्बोच्च अदालत, प्रधानमन्त्रीको सरकारी निवास, राष्ट्रपति कार्यालय, संसद भवन लगायत धेरै सरकारी भवनहरुमा आगजनी भएपछि उनको लोकप्रियता ह्वात्तै घटेको मात्र छैन हिजो उनलाई समर्थन गर्नेहरुले आज उनको विरोध गर्न थालेका छन् ।
भाद्र २४ गते काठमाडौ उपत्यका सहित मुलुकका विभिन्न ठाउँमा सरकारी भवनहरु र शिर्ष नेताका निजी निवासमा आगजनी भएकाले राजनीतिक दलहरुले त्यस्तो आगजनीमा संलग्न भएकाहरुलाई कानुनी दायरामा ल्याउनुपर्ने बताउँदै आएका भएपनि प्रहरीले प्रमाणसहित पक्राउ गरेका व्यक्तिहरुलाई सरकारको आदेशमा रिहा गरेकै हुनाले कार्की सरकार नियम, कानुन बहाली गराउन असफल सावित हुँदै गएको जस्तो देखिएको छ । प्रधानमन्त्री कार्कीले आफूलाई जेन–जीहरुकै बलमा प्रधानमन्त्री बनाएको भन्दै जेन–जीहरुको मात्र कुरा सुन्ने गरेको हुनाले पनि संकट बढ्दै गएको छ ।



































