पछिल्लो समयमा देखिएका धार्मिक र साम्प्रदायिक केही घटनाका कारण सुरक्षा चुनौती थपियो : गृहमन्त्री अर्याल
वि.सं.२०८२ असोज ३१ शुक्रवार ११:५३
shares

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले पछिल्लो समयमा देखिएका धार्मिक र साम्प्रदायिक केही घटनाका कारण सुरक्षा चुनौती थपिएको बताएका छन् ।
७० औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री अर्यालले उक्त कुरा बताएका हुन् ।‘पछिल्लो समय यता केही जिल्लाहरूमा देखिएको धार्मिक तथा साम्प्रदायिक विरोधका घटनाहरूले नेपाली समाजको विशेषता को रूपमा रहेको आपसी सद्भाव सहिष्णुता तथा भाइचारामा खलल पुर्याउने दुष्प्रयास गरेको देखिन्छ । यसले समग्र राष्ट्रको सुरक्षा व्यवस्थामा चुनौती थपेको छ’ मन्त्री अर्यालले भने ।
जसकारण यस्ता गतिविधिलाई रोक्ने बेलैमा लाग्न सुरक्षा निकायलाई निर्देशन समेत दिएका छन् ।‘यस्ता गतिविधिलाई बेलैमा इन्टरभेन्ट गरी भविष्यमा पुनरावृत्ति हुन नदिन गम्भीरतापूर्वक लाग्न समेत निर्देशित गर्न चाहन्छु,’ मन्त्री अर्यालले भने ।विगत केहि समय यता नागरिकमा बढेको असन्तुष्टि निराशाका कारण भाद्र २३ र २४ गते जेनजी युवा समूहद्वारा आयोजित विरोध प्रदर्शन र आन्दोलन अपेक्षा गरिए भन्दा फरक बन्न पुगेको पनि उनले बताए ।
समाजका हरेक घटनामा प्रहरीले नै फर्स्ट रेस्पोन्डरको रुपमा काम गर्ने र कानुन कार्यान्वयनमा प्रहरी नै अग्रपंक्तिमा रहने कारणले प्रहरीको काम कारबाहीको सम्बन्धमा मात्रै नभई सरकार प्रतिको धारणा त्यसको प्रतिक्रियामा समेत प्रहरी निशानामा पर्ने उनले बताए ।२३ र २४ भदौको विरोध प्रदर्शन र आन्दोलन यसैको प्रतिबिम्ब रहेको उल्लेख गर्दै मन्त्री अर्यालले नेपाल प्रहरीका हुनहार तीन जना प्रहरी कर्मचारीले जीवन उत्सर्ग गरेको बताए ।
साथै प्रहरीका सांगठनिक देखि व्यक्तिगत सामानहरू पनि लुटपाट र आगजनी भएका छन् ।त्यसैको अभाव झन् त्यसमा पनि यस किसिमको क्षतिले केवल नेपाल प्रहरीलाई मात्र हैन आम नागरिक जीवनमा समेत प्रभाव पारेको उनले बताए ।न्यून साधन स्रोतबाट कार्यसम्पादन गर्दै आइरहेको नेपाल प्रहरीलाई यस आन्दोलनले निकै ठूलो क्षति पुर्याएको मन्त्री अर्यालले उल्लेख गरे ।



































