लोकतन्त्रको नाममा देशलाई अपराधशाला बनाइयो
वि.सं.२०८२ कात्तिक १३ बिहीवार १०:५०
shares

गत भदौ २३ र २४ को जेनजी पुस्ताको आन्दोलन, आन्दोलनपछिको बिध्वंश रोक्न ३७ वर्षे बहुदल र १७ वर्षे लोकतन्त्रका एकजना नेता पनि उभिन सकेनन् । प्रधानमन्त्रीदेखि सांसदसम्म, संवैधानिक निकायका प्रमुखदेखि आयुक्तसम्म, राज्यका पदासीन हाकिम कोही पनि आन्दोलन रोक्न र बिध्वंश हुन नदिने अगाडि आएनन् ।
केही दिन ज्यान जोगाएर लुकेकाहरु शनै शनै जेनजी पुस्तामा दरार ल्याएर सार्वजनिक हुन थालेका छन् । यद्यपि सार्वजनिक कार्यक्रममा जान कोही पनि तैयार छैनन् । अहिलेपनि लोकतन्त्रवादी हुँ भन्नेहरु खुलेआम जनताका सामु जान सकेका छैनन् ।
संसद पुनस्र्थापना गर्नुपर्छ भनेर मुद्दा हालेर कोठाबाट कराउनेहरुले अन्तरिम आदेश पाएनन् । संवैधानिक इजलासले सोधेका केही प्रश्नहरुको जवाफ समेत दिन सकेका छैनन् ।
अर्थात् अराजकता बढ्दो छ, शान्ति र स्थिरता कायम हुनेछ, फागुन २१ मा चुनाव हुनसक्छ भन्ने विश्वासको वातावरण निर्माण हुनसकेको छैन । कोठाभित्र पार्टीहरु आन्तरिक एकता र गठबन्धनका कुरा मिलाउँदैछन् । यो सरकारलाई असंवैधानिक भन्नेहरुको स्वर सुकेर गएको छ । यद्यपि संविधानको सीमा बाहिरबाट बनेको यो सरकार चुनाव गराउने मूडमा छ भने जेनजी पुस्ता र पार्टीहरुसँग पनि चुनावका लागि सहजता कायम गर्ने प्रयत्न सरकार र निर्वाचन आयोगले गरिरहेको छ ।
पार्टीहरुभित्र नेतृत्व फेर्नुपर्ने आवाज बुलन्द भइरहेकै छ । देशभित्र जेनजी पुस्ताको केही घटकले भ्रष्टाचारको अन्त्य र सुशासन हुन्छ भने चुनाव गर्न आपत्ति छैन पनि भनेका छन् । यद्यपि चुनावका लागि पार्टीहरुको मनस्थिति सङ्ग्लीएको देखिदैन । पार्टीहरु आफ्ना स्वकीय, सुरक्षा, सुविधा खोसिएको आक्रोसित छन् । कम्बल ओढेर घ्यू खानेहरुको ओठमुख सुक्न थालेको छ । भन्न सकिन्न राजनीतिले कतातिर कोल्टो फेर्ने हो ?
विश्लेषकहरु भन्छन्– यो सरकार ढल्नेवाला छ । भ्रष्टाचारी र अपराधिक मानसिकताकाहरु सरकार फेर्ने र आफ्नो भ्रष्टाचारको साम्राज्य कायम गराउने दाउमा लोकतन्त्र, संविधान भनिरहेका छन् ।
राजनीति यू टर्न लिनसक्ने भूराजनीतिका विज्ञहरु बताइरहेका छन् ।
आन्तरिक रुपमा देशका ठूलो र प्रजातान्त्रिक पार्टी कांग्रेसका सभापति शेरबहादुर देउवाले हात उठाए, राजनीतिबाट सन्यास लिने सन्देश दिएर उपचारको बहानामा सिंगापुरतिर उडे । महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा कांग्रेसलाई सम्हाल्ने प्रयत्न गर्दैछ । भावी कांग्रेस कस्तो होला ? भन्ने सवालमा कांग्रेसी नेताहरु नै भन्छन्– कुहिराको कागको हालत छ ।
प्रजातन्त्रको अभ्यास गर्दै कम्युनिजमलाई कम्युन्यालिस्ट, कमाउनिष्ट बनाएर देशलाई रक्तपातको स्थितिमा पु¥याउने र कुनै पनि जिम्मेवारी र जवाफदेहीता नलिने एमालेका अध्यक्ष केपी ओली दाँत फुक्ले पनि गर्जन र तर्साउन छाडेका छैनन् । ७६ जना जेनजीहरुको रक्तपात हुँदा पनि पानीमाथिको ओभानो बनेर यो हा हु को सरकारसँग डराइन्न भन्दैछन् । पासपोर्ट रोक्का गरेर चुनाव हुनसक्दैन भनेर महेश बस्नेत र अन्य हनुमानबाट बोलाउन लगाउँदैछन् । ओलीके मुखबाट सुनियो– चुनाव हुनसक्दैन । अर्थात् एमाले भिडन्त, भीडतन्त्र र रक्तपात निम्त्याउने कारक बनेपछि पनि नचेतेर अर्को रक्तपातलाई निम्तो दिंदैछ ।
जनयुद्धकारी माओवादीका अध्यक्ष प्रचण्ड चुनावमा सहभागी हुनखोज्दा पार्टीमाथि हमला बोल्ने भनेर प्रश्न गरिरहेका छन् । माओवादीमाथि कुनै पनि छानबिन नगर्ने शर्तमा माओवादी चुनावमा सहभागी हुन खोजेको प्रष्ट भइसक्यो । चुनावकै लागि नेकपा स अर्थात अध्यक्ष माधवकुमार नेपाललाई मनाउन पुगेका प्रचण्डका नीतिविरुद्ध ब्राण्ड तलमाथि नहोस् भनेर नेता कार्यकर्ताले खबरदारी गरिसकेका छन् । प्रचण्डको अनुहार डुब्न लागेको घामजस्तो देखिदैछ । समाजवादी मोर्चा पनि भिजेको कागज गलेझैं गलेको देखिन्छ ।
राजतन्त्र र हिन्दुराष्ट्र पुनस्र्थापना गर्छु भन्ने राप्रपा बोल बोल मछली, मुखभरि पानीको अवस्थामा छ । अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपाका अध्यक्ष कमल थापा पनि के गर्ने, के नगर्ने मनस्थितिमा देखिन्छन् । गत भदौ २३ र २४ को जेनजी आन्दोलनपछि संविधान, सरकार, संसद, सर्वोच्च अदालत ढलेपछि देशैभरि हरेक पार्टीका नेताहरुको मन भयभित छ । हरेक ठूला साना नेता हैसियत अनुसारको प्रहरी, सशस्त्र, सेनाको सम्पर्कमा रहेर सुरक्षित अनुभूति गरिरहेका छन् ।
मधेशवादी पार्टीले चुनावमा सहभागी हुने बचन दिएका छन् । निर्वाचन आयोगमा धरानका मेयर हर्क साम्पाङ देखि जेनजी लगायतका थुप्रै नयाँ पार्टी दर्ता भएका छन्, दर्ताको प्रकृयामा रहेका छन् । रवि लामिछानेको रास्वपा ओल्लो तीर न पल्लो किनारको दुविधामा छ ।
चुनाव फागुन २१ गते तय भएको छ । तर हरेक नेता, हरेक पार्टी चुनाव हुन्छ र ? भन्ने गोलमाल मनस्थितिमा देखिन्छन् । जेनजी पुस्ता असंगठित थियो यसकारण जेनजीको जीत हाइज्याक भयो । सत्तामा पुगेकामाथि ९० प्रतिशत अमेरिकी रहेको आरोप लगाइँदैछ । कतिका घर जले भन्ने विषयमा इसाईकरणका लागि पैसा खाने कनकमणि दीक्षितले लामो लेख सार्वजनिक गरेका छन् । यो लेखमा निर्मल निवास र राजदरवारमा किन आगो लागेन ? भनेर मनैदेखिको खिन्नताका साथ प्रश्न उठाएका छन् ।
अर्को महिना आन्दोलनको शंखघोष गर्ने दुर्गा प्रसाईको चर्चा बढेको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ राष्ट्रिय अभियानका संयोजक हुन् उनी । उनले हिन्दुराष्ट्र २०४७ को संविधान पुनर्जीवित गर्नुपर्छ भन्ने माग राख्दै अनिश्चितकालीन बिरोध प्रदर्शनको घोषणा गरिसकेका छन् । जेनजी नामको सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले वार्ताका लागि बोलाएका छन् । प्रसाईलाई बोलाउनु अघि जेनजीले माइतीघरमा गर्न खोजेको सहितहरुप्रतिको श्रद्धाञ्जली सभामा उपस्थित २ सय भन्दा बढी युवालाई पक्राउ गरेर आइन्दा प्रदर्शनको अनुमति नदिने र प्रदर्शनकारीमाथि दमन हुने संकेत गरेका छन् । यो सबै दृश्य देखेका दुर्गा प्रसाईले बारबारा, समता फाउण्डेशनमाथि आफ्ना सूट लगाउने मन्त्री बनाउन जेनजी आन्दोलनको जित अपहरण गरेको आरोप लगाइसकेका छन् । अहिले नै जेनजी नामक यो सुशीला कार्की सरकारमाथि निरंकूशतन्त्रको आरोप लागिसकेको छ । पार्टीहरुले विश्वास गरेका छैनन्, जेनजीका केही घटकले समेत अर्को आन्दोलन गर्ने र नछाड्ने जनाउ दिएका छन् ।
भूमिगत जनयुद्धकारी विप्लव संसदीय मोर्चामा खुला भएका छन् । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले कात्तिक २० गते काठमाडौंबाट १० दिने जनसंघर्ष कार्यक्रम गर्ने भएको छ । बिप्लवको नेकपाले १५ गते मसाल देशव्यापी जुलुसबाट जनता तताएर २० गते बृहद जनसभा हुने भएकाले स्वाधीनता र समाजवादको पक्षमा जो छन्, ती सबैलाई सहभागी हुन निम्तो गरेको छ । यसबाट थाहा हुन्छ, माओवादीका प्रचण्डलाई पनि उछिनेर बिप्लव अगाडि बढ्न खोजिरहेका छन् ।
नेकपा बिप्लवले भनेको छ– सर्वपक्षीय अन्तरिम सरकार गठन गर, अग्राधिकारसहितको समाजवाद निर्माण गर, जेनजीमाथि भएको दमनको निष्पक्ष छानबिन गर, युवालाई स्वदेशमै रोजगारीको ग्यारेन्टी गर, भ्रष्टाचारको निष्पक्ष छानबिन गर, दलाल प्रकृतिका गैरसरकारी संस्थाहरू खारेज गर । नेपाललाई अरूले होइन हामी आफैंले फेर्ने हो । भ्रष्ट, कमिसनखोर, तस्कर, दलाल, परजीवीहरू समाप्त पार्ने हो ।
विश्लेषकहरुको ठहर छ– भ्रष्टाचार, नेपोटिजम, नेपाबेबीइजम, अपराधिकरणले धमिलिएको राजनीति सङ्लिने सम्भाबना कम छ । दुबै क्षिमेकी सतर्क देखिन्छन्, विश्वशक्तिहरु नेपाल प्रवेश गरिसकेका छन् । यो स्थितिमा अभिभावकीय भूमिका निभाउने कोही छैन । बहुदल र लोकतन्त्रपछिका ३७ वर्ष शासन गरेका दल र नेताहरु जिम्मेवारीबाट भागेका छन् । म सम्हाल्छु भन्ने एकजना पनि नेता छैनन् । ठूला पार्टी र ठूला नेताहरु अमिलोले दही फाटेझैं चिरा चिरामा बिभक्त भएका छन् ।
बिग्रदो देशको स्थितिमा विश्वकै जेठो मुलुक नेपालको अस्तित्व बचाउन अभिभावकको दायित्व निर्वाह गर्न राजालाई गुहार्नुको बिकल्प छैन । सहमति, संवाद र सहकार्य गर्न राजनीतिक नेताहरुमा किन चेत फिरिरहेको छैन ? यो आश्चर्यपूर्ण प्रश्न हो ।































