राजनीतिक महाभारत जारी छ, यदुवंशी हुँदैछौं
वि.सं.२०८२ कात्तिक २७ बिहीवार १२:३३
shares

महाभारतको युद्ध १८ दिन चलेको थियो । यो युद्धमा रक्तपातबाहेक केही थिएन, युद्धकारीहरुलाई रक्तपातबाहेक केही प्राप्त भएन । यो युद्धमा कौरवकूलको नास भयो, पाँचपाण्डवबाहेक अधिकांशको मृत्यु भयो । यही युद्धका कारण श्रीकृष्णको बंश अर्थात युदवंश पनि बिनास हुनपुग्यो ।
पाण्डवले युद्ध त जिते, कौरव बंशकी माता गान्धारीले वंश बिनासको कारण श्रीकृष्णलाई ठह¥याइन् । युधिष्ठिरको राजतिलक हुँदै थियो, गान्धारीले सराप दिइन्– जसरी कौरव वंशको बिनास भयो, ठिक त्यसैगरी यदुवंशको पनि नाश होस् । सरापका कारण विनाशकाल आयो । सात्यकी र कृतवर्माजस्ता गुरुहरुवीच महाभारतका विषयमा विवाद बढ्यो, सात्याकीले कृतवर्माको शीर काटिदिए । युद्ध भड्कियो, एकदोस्रावीच काटामार चल्यो । सात्याकी समेत सबै युदवंशी मारिए ।
महाभारतको यो कथा र नेपाली राजनीतिको महाभारत मिल्दोजुल्दो छ । महाभारत १८ दिन चलेको थियो, नेपाली राजनीतिको महाभारत १८ वर्ष चल्यो । गत भदौ २३ र २४ पछि रक्तपात सुरु भएको छ । नरसंहार चलेको छ । नेपाली राजनीतिको महाभारतमा मै नही तो तु भि नही भन्ने कहावत झैं एकदोस्रालाई खुइल्याउने, सिध्याउने क्रम बढेको छ ।
चुनाव त घोषणा भएको छ । चुनाव हुने कि नहुने विवाद छ । संसद, सरकार समाप्त भयो, पुनस्र्थापना हुने कि नहुने भन्ने विवाद छ । फेरि सहमति, सहकार्य, संवाद छाडेर सडक प्रदर्शन सुरु भएको छ । अर्थात् कुरुवंशले हारे पनि यदुवंशीको विनासलीला चर्केको छ ।
विश्लेषकहरु भन्छन्– खरानी भइसकेको सत्ता, सम्पत्ति, लोकतान्त्रिक गणतन्त्रका विषय विवादमा छन् । यो विवाद हिंसात्मक हुन कत्ति समय नलाग्ने खतरा सन्निकट छ । राजनीतिक दल र दलका पुराना नेताहरु हार खाने, हार मान्ने र विश्राम लिने पक्षमा छैनन् । अहंकार र युवापुस्ता, भ्रष्टाचार र सुशासनको माग, अनैतिकता र नैतिकताको आवश्यकतावीच भिडन्त सुरु भइसकेको छ ।
लाग्छ, नेपाललाई सतीले सरापेको भनिन्थ्यो । सरापको अन्त्य भइसकेको छैन ।
राजनीतिक अत्याचारीहरुले आत्मसमीक्षा नगर्दा र राष्ट्रिय अस्तित्वको रक्षाका लागि अविवेकी बन्दाको परिणाम गत भदौ २३ र २४ गते कौरववंशको विनास त भयो, अब यदुवंशीझैं हाम्रो विनासलीला हुनेवाला छ । विनासलीलाको आहट सुन्नेहरु भन्छन्– देशमा विवेक किन यसरी मरेको होला ?
झगडाको वीउ बनेको छ, असंवैधानिक अन्तरिम सरकार, फागुन २१ को चुनाव ।
सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेसले चुनावमा सहभागी हुने निर्णय गर्न सकेन । महिनादिनसम्म बैठकपछि बैठक गरिरहेको छ, अधिवेशन पुस, माघ कि बैशाखमा गर्ने ? यत्ति निर्णय सकस परेको छ कांग्रेसलाई । ५५ प्रतिशत सदस्यले विशेष अधिवेशनको माग गरिसकेपछि विधानअनुसार अधिवेशन अनिवार्य रुपमा गर्नैपर्छ । जेनजी आन्दोलनमा हातपात र अपमानित भएपछि कांग्रेस सभापति शेरबहादुर देउवा दम्पत्ति उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएर सिंगापुर हिडेका छन् । सिंगापुरमा के खिचडी पाकिरहेको छ थाहा छैन । पूर्णबहादुर खड्का सम्पर्क गरिरहेका छन्, न त उताबाट कुनै निर्णयको निकास आएको छ, न यता खड्काले नै निर्णय गर्न सकिरहेका छन् ।
चुनावको अगुवाई प्रजातान्त्रिक भनिने कांग्रेसले गर्न सकेन । प्रजातन्त्रको बिडा उठाएको भनेर नाक फुलाउने नेपाली कांग्रेस र हुरीको काग उस्तै उस्तै हालत देखिन्छ । संस्थापन पक्ष जसरी पनि फागुन २१को निर्धारित चुनावपछि अधिवेशन सार्न चाहन्छ । तर ५५ प्रतिशत सदस्यको माग खारेज गर्ने आधार पनि छैन । यसैले कांग्रेस रणभुल्लमा छ । राजनीतिक अन्यौल बढेको छ ।
प्रजातन्त्रका लागि गर्नुपर्ने धेरै छ । कांग्रेसका सामु पार्टीभित्र र देशका अनेकन जिम्मेवारीहरु छन् । जेनजी पुस्ताले उठाएका आपत्तिको संवोधन गर्नुछ । लगाएको आरोप धुनुछ । कांग्रेस पार्टी प्रजातान्त्रिक पार्टी हो भनेर सिद्ध गर्नुछ । यक्ष प्रश्नका सूलीमुनी पुगिसकेको कांग्रेसी बैठक गम्भीरतापूर्वक निर्णय गर्नसक्दैन । चलिरहेको कांग्रेसको केन्द्रिय समितिको बैठकले कांग्रेस कति सक्षम, कति सवल देखाउन सकेन । कहिले माओवादी, कहिले एमालेको पुच्छर समातेर सत्ताको रस चुस्दाचुस्दा कांग्रेसले आफ्नो परिचय नै कम्युनिष्टजस्तै अविश्वसनीय बनाइसकेको छ । कांग्रेसले प्रजातान्त्रिक मार्ग छोड्दा धेरै कुरा गुम्दै गएको छ ।
अहंकारी एमाले बनेको छ । एमाले चुनाव हुनैसक्दैन, चुनाव होइन संसद पुनस्र्थापना हुनुपर्छ भनेर सडक संघर्षमा उत्रिएको छ । कांग्रेस चुनावमा जाने कि नजाने, दोमन दोमन गरिरहेको छ । १० पार्टी मिलाएर नेकपा बनाएका प्रचण्ड भ्रष्टाचारका फाइलहरु नखुलोस् भनेरमात्र चुनावमा जाने भनिरहेको बहस छ । यसकारण पनि फागुन २१ को चुनाव हुन्छ कि हुँदैन, स्पष्ट छैन ।
नयाँ नयाँ पार्टी बनेका छन् । चुनावका लागि पार्टीहरु गठन हुने, पार्टीका कृयाकलाप बढेका छन् । तथापि सुरक्षा निकायसँग स्रोत साधन र मनोवल नभएकोले चुनाव हुन गाह्रो छ भन्ने भाष्य सबैतिर छताछुल्ल छ । हुन पनि प्रहरीका बन्दुक, लाखौं गोलीको खतरा छ । खतरा जेलबाट भागेका अपराधीक मानसिकताका कैदीहरुको पनि छ । चुनावमा सहभागी हुने निश्चय सबै दलले गरिसकेका छैनन् । यसकारण चुनावमाथि शंका र गृहयुद्ध हुने जोखिम बढी देखिदैछ । राष्ट्र राजनीतिको पाइला पाइलामा हिंसाको खतरा छ ।
बुद्ध जन्मेको देशमा हिंसाको भय । बुद्धको देश, शान्तिको देश भन्न मुस्किल हुनथाल्यो । १७ वर्षमा १४ सरकार बन्यो, न शान्ति स्थापित हुनसक्यो, न अराजकता कम भयो । स्थापित पद्धति र नेताहरूप्रति जनघृणा यसरी बढ्यो कि गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनले देशैभरि परिवर्तन मागको आँधीबेहरी चल्यो । आगजनी भयो, हिंसा बढ्यो, ७६ भन्दा बढी मानिसहरूको हत्या भयो । स्थापित लोकतन्त्रका सबै स्तम्भहरु खरानी हुनपुगे ।
गत ०४६ सालमा बहुदल स्थापना गरियो । यसको कार्यकाललाई कालरात्रि बनाउने यिनै नेताहरू थिए । तिनै नेताहरू मिलेर २०६३ को आन्दोलन गरे, त्यो आन्दोलनपछि लोकतन्त्र आयो । संविधानसभाको चुनाव भयो, धर्मनिरपेक्षता, संघीयता र गणतन्त्र चलाइयो । यसै अनुसार संविधान पनि बन्यो । आवधिक चुनाव भयो । दुईपल्टको आवधिक निर्वाचन र निर्वाचित सरकारको कार्यकालमा केही पनि सुधार हुनसकेन । जनताको हक खोसियो, राष्ट्रिय ढुकुटीमा लखनौं लूट मच्चाइयो । नेपोटिजम र नेपोबेबीइजम यसरी बढ्यो कि आमनागरिक र आम युवाले असन्तोष प्रकट गरे । तर भ्रष्टाचार मच्चाउने पद्धतिका पृष्ठपोषक सबै मिलेर जनअसन्तोषलाई जबरजस्ती दबाउने प्रयत्न हुँदै गयो । युवासहितका आमनागरिकमा यसरी उकुसमुकुस बढेको थियो कि अन्ततः त्यो असन्तोष आन्दोलनका रूपमा फुट्यो । आन्दोलन बिद्रोहमा परिणत भयो र बिद्रोहले स्थापित पद्धति, पद्धतिको नेतृत्व सबै खरानी बनाइयो । वर्तमान स्थितिमा देशको अनुहार हेर्ने हो भने धुवाँ, खरानीमात्र देखिन्छ । अराजकता र कुशासनमात्र बाँकी छ । बुद्धको देश हो भन्न सकिन्न । यसको सम्पूर्ण जिम्मेवारी स्थापित नेता र तिनको अपराधिक राजनीतिले लिनुपर्छ । यिनै नेतृत्व चुनावमा जाने साहस गरिरहेका छैनन् ।
भदौ २३ र २४ पछि देशमा धुवा र खरानी मात्र छ । राजनीतिमा नीति, नैतिकता, सिद्धान्त, जवाफदेहीता भन्ने केही बाँकी रहेन । सत्तापिपासु नेतृत्वको नैतिकहीन चरित्र मख्खन दलेको पाउरोटीजस्तो लाग्छ । अझै यिनीहरू आफ्नै कार्यशैली थोपर्न खोजिरहेका छन् । यिनको १७ वर्षे कार्यकालमा चिप्ला भाषण, चिल्लो आश्वासन, खाएपछि पेट फुलेर झाडाबान्ताको प्रकोप चल्ने खतरा अझै बिद्यमान छ । शान्ति र संविधान सबैको प्राथमिकता हो भने यो प्राथमिक कार्यले महत्व पाएको छैन । सुशासन र जवाफदेहीता यो पद्धतिको खासियत थियो भने त्यसअनुसारको चरित्र, व्यवहार नेताहरुमा छैन । छ भने स्वार्थ छ, स्वार्थन्धता छ । इमान छैन । जवाफदेहीता छैन । यो देश कसरी बाँच्छ, नेतृत्व मौन छ, अहंकारमा झुल्सिएको छ ।
युवा अर्थात् जेनजी पुस्ताले खोजेको के हो ? आमनागरिकले कुन खालको परिवर्तन खोजिरहेका हुन् ? पार्टीहरुले अब कुन मार्ग पछ््याउने हुन्, तिनका एजेण्डा के के छन् ? केही पनि स्पष्ट छैन । सबैतिर राजनीतिक तुवाँलोमात्र छ । राजनीतिक र कूटनीतिक बृत्तसमेत चुनाव हुन्छ भन्न सक्ने स्थितिमा छैनन् । समस्या संकट बनिसक्यो । संकटको निवारण सबै राजनीतिक शक्तिहरुवीच गोलमेच सम्मेलन हुन जरुरी छ । संवाद, सहमति, सहकार्यबाट मात्र देशको विद्यमान अन्यौल हट्नसक्छ । यो विचार प्रवाह गर्न थिङ्कटेंकहरु असफल भएका छन् । यही असफलताले हामी यदुवंशीझैं समाप्त हुँदैछौं ।
सबैमा हेक्का रहोस् । पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।


































