सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चुनाव अघि नै राजनीतिक मुद्दाको छिनोफानो होस्

3.09K
shares

 

राजनीति समाज परिवर्तनको साँचो हो । पञ्चायत न बहुदल, बहुदल न लोकतान्त्रिक गणतन्त्र, कुनै पद्धतिले पनि राजनीतिक मुद्दाको छिनोफानो गर्न सकेन । पद्धति परिवर्तन भइरहे, आन्दोलन भइरह्यो, संविधानसभाबाट संविधान, संविधानपछि चुनाव पनि भइरह्यो तर राजनीतिक मुद्धाको छिनोफानो नहुँदा भदौ २३ र २४ को जेनजी आन्दोलन र बिद्रोह, हिंसा र आगजनी हुनपुग्यो ।
अझै त्यो गल्ती दोहो¥याउने कि राजनीतिक डाइग्नोसिस गरेर मुद्धाको हल निकाल्ने ? वर्तमान नेपालका सामु तेर्सिएको प्रश्न यही हो । यो सवालको जवाफ चुनाव होइन । पहिले राजनीतिक मुद्धाको पहिचान, पहिचानपछि निदान र अन्तमा चुनाव हो । अन्तबाट सुरु गर्दा न ०३६ सालको जनमत संग्रह, न २०४६ को बहुदल, न दरवार हत्याकाण्डपछिको राजतन्त्र अथवा न २०६३ सालको परिवर्तन र २०६५ सालको गणतन्त्रको कार्यान्वयन । अन्तबाट सुरु गरियो, मुद्धा जहीँको तहीँ रह्यो र असन्तोष बढ्दै गएर भदौ २३ र २४ मा ज्वालामुखी फुट्यो । केही बाँकी रहेन ।
नेपाल शून्यबाट उठ्नु छ । नेपाल खरानीबाट बन्नु छ । बन्नका लागि थाँती रहेका राजनीतिक मुद्दाको पहिचान पहिले हुनैपर्छ । पिलो रोगको खिल ननिकालेसम्म पिलो बल्झिरहनसक्छ । पिलो बल्झिनु भनेको पीडा हो । पीडावोध भइरहनेछ । हो, केही समयका लागि न्यानो अनुभूति होला, त्यो न्यानो क्षणिक हो । जसरी जनयुद्ध, जनआन्दोलनपछिका १९ वर्षमा असन्तुष्टि बढ्दै गयो र बिस्फोट भयो । यस खालका बिस्फोट, हिंसा, नरसंहार र आगजनी निम्त्याउने कि सदाका लागि राजनीतिक मुद्धाको अन्त गर्ने ? यो विषय यक्ष प्रश्न हो ।
राजाले जनताको नासो जनतालाई बुझाएका थिए । जनताले राजतन्त्र हटाएका होइनन् । हटाउने कुनै जनादेश थिएन । धर्मनिरपेक्षता र संघीयता जनताले मन नपराएका विषय थिए, थोपरियो । समानुपातिकका नाममा राजनीतिक व्यभिचार भयो, नेपोटिजम र नेपोबेबीइजम मात्र होइन, श्रीमती, छोरी, बुहारी, नातापाताले दुरुपयोग गर्ने विषय बन्यो । राजनीतिमा जवाफदेहीता र नेतामा इमानदारिताको अन्त्य भयो । भ्रष्टाचार सदाचार बन्यो, राजनीतिको अपराधिकरण गरियो । विधिका शासनका नाममा राजनीति लादियो । फलतः असन्तुष्टि उकुसमुकुस, सकस हुनपुग्यो र जेनजीको ज्वालामुखी फुट्यो । कुनै पनि नेता जनताका सामु उभिन सक्ने स्थितिमा रहेनन् । अझै पनि नालीमै हेलिन खोज्ने हो भने चुनावमा जाऔं, एकाधबाहेक उही भ्रष्ट, बदनाम नेताले चुनाव जित्छन् र फेरि असन्तुष्टिको ग्यास चेम्बर बन्नेछ देश ।
हामीले निकास खोजेको कि ग्यास चेम्बरमा निसास्सिन खोजेको ? राजनीति गर्नेहरुले पहिले निर्णय गरुन् ।
सबैले प्रष्ट बुझुन्– फागुन २१ मा चुनाव चुनाव हुनु वा नहुनुले शान्ति, समृद्धि र स्थिरता आउँदैन । शान्ति, समृद्धि, स्थिरता र सुशासन आउने भए दुईपल्ट संविधानसभाको निर्वाचन भयो, दुईपल्ट आवधि निर्वाचन पनि भयो तर राजनीतिक मुद्दाको किनारा लागेन । राजनीतिक द्वन्द्वको समाधान नभए अराजकता हुने रहेछ भन्ने ०६३ देखि ०८२ सम्मको १९ वर्षले प्रष्ट भइसक्यो । हामीले फेरि त्यही भेलमा पस्ने अथवा स्वच्छ राजनीति खोज्ने ?
परिसकेपछि चेत्नु जाति, फेरि पुर्पुरोमा हात राखेर पछुताउनु भनेको मुर्खता हो ।
चुनाव हुनु वा नहुनले अराजकताको अन्त्य नहुने रहेछ । स्थिरता र सुशासनका लागि राजनीतिक मुद्दाको अन्त्य हुनैपर्नेरहेछ । पहिले मुद्धाहरुलाई संवोधन गरौं अथवा एकमुष्ट उपचार गरौं ।
हामीले देख्यौं, भोग्यौं, राजतन्त्रविरुद्ध जनयुद्ध, जनआन्दोलन भयो । राजाले सर्लक्क जनताको नासो जनतालाई बुझाएर पन्छिएका हुन् । जनताले राजतन्त्र हटाएका होइनन्, जनतालाई राजतन्त्र र हिन्दुराष्ट्र चाहिन्छ कि चाहिदैन भनेर सोधिएको पनि होइन । हिजो न आज, राजतन्त्र राजनीतिक शक्ति हो भन्नेमा कुनै विवाद छैन । राजतन्त्र राजनीतिक शक्ति हो भने यो शक्तिलाई निषेध, विभेद किन गरियो ? राजतन्त्रलाई उचित स्थान, स्पेश किन दिइएन ? सबै समस्याको जड राजतन्त्र भन्नेहरुले २०६३ पछि शान्ति, स्थिरता, सुशासन किन दिन सकेनन् ? राष्ट्रलाई भ्रष्टाचार, व्यभिचार र अपराधिकरण किन बनाए ? आज प्रत्येक दल, नेता किन जनताको आँखाको कसिङ्गर बन्नुको मुख्य कारण जनता र देशप्रति जवाफदेही नहुनु नै हो । गैरजिम्मेवारी भनेको लोकतन्त्र होइन, निरंकूशता हो ।
निरंकूशताको परिणाम हो भदौ २३ र २४ को जेनजी पुस्ताको आन्दोलन, विद्रोह । ७६ जनामाथि गणतन्त्र हाँक्ने सत्ताले गोली दागे, हजारौंलाई अंगभंग पारे । यसको जिम्मेवारी लिन गणतन्त्रे शासकहरु तैयार छैनन् । यहाँसम्म कि जनयुद्ध र जनआन्दोलनमा मारिएका, बेपत्ता पारिएकाहरुको जिम्मेवार पनि कोही देखिएनन् । गणतन्त्रको शासनकालमा जे जति नागरिक मारिए, भ्रष्टाचार र दुराचार भयो, नेपोटिजम र नेपोबेबीइजम चम्कियो, यसको जिम्मेवार पनि यिनै शासक थिए, तिनीहरुमाथि कुनै छानबिन र अनुसन्धान हुनसकेको छैन ।
मूल मुद्धा राजतन्त्र, हिन्दुअधिराज्य र संघीयताको छ । मुद्दा राजनीतिक अपराधिकरण र भ्रष्टाचारको छ, मुद्दा संघीयता र कुशासनको छ, मुद्दा नेपोटिजमको छ । यी मुद्दाहरुको निक्र्यौल गर्न फागुन २१ को चुनावले मात्र सम्भव छैन ।
चुनाव यिनैले जित्ने हो, चुनावपछि यिनैले शासन गर्ने हो । जो २०६३ पछि असफल भए, अयोग्य र अकर्मण्य सावित भए, तिनकै हातमा शासन गएर सुशासन आउन सक्दैन ।
सुशासन, स्थिरता, शान्ति र समृद्धिका लागि असफल भइसकेको वर्तमान कालखण्डको ग्रहणबाट देश र जनतालाई मुक्त पार्नका लागि सबै राजनीतिक शक्तिहरुवीच गोलमेच सम्मेलन गर्नुपर्छ, आवश्यक परे जनमत संग्रहमा जानुपर्छ ।
राजनीतिक महारोग क्रोनिक भइसक्यो, राष्ट्र राज्यविहीन अवस्थामा पुगिसक्यो । विद्यमान राजनीतिक मुद्दालाई किनारा नलगाएसम्म देशमा शान्ति र स्थिरता कायम हुनसक्दैन । निर्विवाद सत्य यही हो । यो सत्यको निरुपण राजनीतिक मुद्दामा जनादेश लिने र जनादेशअनुसारको संविधान निर्माणबाट मात्र सम्भव छ ।
बढ्दो समस्याले स्थिति झन जटिल हुनसक्ने कारण संसद विघटन र राष्ट्रपतिद्वारा असंवैधानिक रुपमा गठित सरकार पनि हुनसक्छ । पुरानो नजिरअनुसार सर्वोच्च अदालतले अन्तरिम आदेश नदिए पनि , यी निर्णय उल्टाइदियो भने कुन हदसम्मको अराजकता फैलिएला, कहालीलाग्ने आहट सुन्न सकिन्छ । चुनावै भयो भने पनि प्रहरीका लाखौं राउण्ड गोली र हजारौं जेलका भगौडा अपराधीले के सम्म गर्लान् भन्ने संशय पनि छ । त्यसमाथि फ्रण्ट लाइनमै सेना परिचालनबाट भएको चुनाव पनि आफैमा अचम्म लाग्दो हुनसक्छ ।
चुनावका लागि होइन, आत्मरक्षा र प्रतिरक्षाका लागि नेकपाले दस्ता खोलेको छ, माओवादी र अन्य दलले पनि दस्ता खोलेका छन् । एमालेले गठन गरेको नेशनल भोलेन्टियर फोर्स झन ठूलो खतरा हो । आलोपालो झण्डै दुई दशक शासन गर्नेहरुले समानान्तर राज्यप्रवृत्ति भावी दिनका थेग्नै नसकिने चुनौती र विकराल अराजकताको मूल बन्नसक्ने देखिन्छ । दस्ता अर्थात हिंसाको पूर्वानुमान भन्दा फरक पर्दैन ।
तत्कालका लागि पार्टीहरुको मनोविज्ञान आमसुरक्षामा अराजक देखिन्छ । स्थापित दलहरुको दिमागमा अझै गणतान्त्रिक लोकतन्त्रभन्दा बाहुबलीतन्त्र हावी देखिन्छ । विधिको शासन स्थापित हुननसक्नुको कारण पार्टीहरुमा १९ वर्षदेखि पन्पिएको यही जंगली मानसिकता हो ।
जेनजी पुस्ता र आमनागरिकले यति ठूलो बिद्रोह गरिसक्दा पनि स्थापित नेताहरुले गल्ती कमजोरी स्वीकार गरेर शीर झुकाएर माफी नमाग्नु निरंकूशताको पराकाष्ठा हो । यसकारण यिनीहरु संदीग्न छन्, खतरा सूचक छन् ।
निष्कर्षमा लिनुपर्नेले लिए भने दिने सुझाव हो– जेनजी पुस्ता सहितका राजनीतिक शक्तिहरुवीच गोलमेच सम्मेलन गरेर समाधान खोज्नुपर्छ । विद्यमान राजनीतिक मुद्दाहरुको फरफारकका लागि जनमत संग्रह गर्नुपर्ने फागुन २१ मै गर्दा पनि हुन्छ । दुई दशक खेर गइसक्यो, विधिको शासनको उपहास भइसक्यो । यो पद्धति र यी नेताहरु म्याद सकिएका औषधिसमान प्रमाणित भइसकेका छन् । जनताले मन पराएनन् भनेपछि किन पुरानै नेताहरु जनताको टाउकोमा घिरिङ खेल्न अग्रसर भएका होलान् । यो त हलाले विष बनाएर आफैमाथि प्रयोग गरेको र आत्महत्या गरेको घटना अर्थात् हलाहलको कथाजस्तो हुँदैन र ?
यसकारण थप राष्ट्रिय क्षति रोक्न र नेपालीतत्व सहितको जनआकाङ्क्षा पूरा गर्न चुनाव अघि नै राजनीतिक मुद्दाहरु खुट्याएर त्यसको निदान गर्नु बुद्धिमानी हुनेछ । राजनीति गर्नेहरुको बुद्धि बंगारो बेलैमा पलाओस् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports