सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली राजनीतिको ब्ल्याक एण्ड ह्वाइट परिदृश्य

1.78K
shares

 

नेपाली राजनीतिमा धमाकेदार र चटकीपाराका परिवर्तन भइरहेका छन् । अशान्ति, अराजकता, अपराधिक घटनाक्रम अपवादमा छैनन् र शासक प्रशासकका नैतिकहीन कृयाकलाप, नीतिगत र खुलेआम अनियमितता पनि नयाँ होइनन् । यिनै रोग महारोग बनेकाले हो असन्तुष्टि व्याप्त छ । असन्तुष्टि गुम्सिएर उकुस मुकुस बन्दै गएको थियो, जुन जेनजी आन्दोलन र बिद्रोह हुनपुगेको हो । अस्थिरतामा अपराधीमात्र खेल्दैनन्, विदेशी ताकत पनि खेल्छन्, खेले र नेपालको पद्धति र नेतृत्व मात्र होइन, राष्ट्रिय र व्यक्तिगत सम्पत्ति, सम्पदा खरानी बन्नपुग्यो । नेपाली मानसिकता भयग्रस्त हुनपुग्यो । यो भय लामो समय समाजमा कायमै रहनेछ ।
एमालेको अधिवेशनमा एमालेले नेशनल भोलेन्टियर फोर्सको घोषणा गरेको छ । यो फोर्सले सुरुदेखि नै लड्ने र बिरोधीलाई बाँकी नराख्ने हिंसात्मक कुरा गरेको सुनियो । रवि लामिछाने, कूलमान घिसिङ् र बालेन साहलाई रास्वपामा एकीकृत गराएपछि मुख्य भूमिका निभाउने ‘द काउन्सिल अफ जेनजी’ का संयोजक सुदन गुरुङले घोषणा गरेका छन्– रवि, बालेन र कुलमान मिलाएँ, हप्ता दिनभित्रै सिभिलियन फोर्स गठन गर्छु । यो फोर्सले नेपाललाई डिजिटल रुपमा जोड्ने र टोलदेखि गाउँसम्मका समस्याहरू केन्द्रमा पु¥याउने योजनामा कार्य गर्ने पनि स्पष्ट पारेका छन् ।
त्यसै पनि नेपाली शासन प्रशासनमा अनीति र नेपाली राजनीतिमा अस्थिरता नियमित आकस्मितता हो । आवरणमा जुन अराजकता अस्थायी लाग्छ, यथार्थमा त्यो व्यवस्थापन गरिएको अस्थिर प्र(णाली हो जहाँ स्थापित अभिजात नेता, तिनका परिवार, समर्थक, सहयोगी रहेका बाह्यपात्र, बाहिरी शक्तिका लागि काम गर्ने भाडावाल–आइएनजीओहरुले लगातार अस्थिर प्रणालीमा मलजल गर्दै आएका छन् । तिनका चिप्ला भ्रमहरुमा नेपाली जनमानस पर्दै आएको ०४६ सालदेखि नै हो । ०६३ सालपछि त भ्रमको जालो माकुरे जालो कै रुपमा बढेको हो । यसैको दबदबाले गर्दा नेपालमा शान्ति उदाउन खोज्छ, छिटै अशान्तिको अँध्यारो बढ्ने गरेको छ ।
एकैहप्ता अमेरिका र चीनले नेपालमा कार्यरत राजदूतद्वय डीन थम्पसन र चेन सोङलाई फिर्ता बोलायो । भारतका राजदूत नविन श्रीवास्तव पनि बिमारीको बहानामा भारत फर्केका छन् । यही समयमा पूर्वराजा भारत भ्रमणमा जान्छन् । राजतन्त्रका पक्षधर दुर्गा प्रसाई पनि दिल्ली पुगेर फर्कन्छन् । त्यसपछि सडकहरुमा भीड र नाराबाजी बढेका छन् । न्यायिक निर्णयहरु बाइपास भएर रवि लामिछाने धरौटीमा छुट्छन्, उनको तुफानी दौडले एकाएक चुनावी माहोल बन्छ, राष्ट्रपतिले ठूला दल र प्रधानमन्त्रीलाई एकै ठाउँमा राखेर छलफल गराउँछन्, राजनीतिक दलहरु निर्वाचन आयोग पुग्छन् र निर्वाचनको माहोल बन्दैजान्छ । बहस गर्नसक्ने पात्र रवि लामिछानेले त्याग गर्दै मेयर वालेन साहलाई प्रधानमन्त्रीको उमेदवार घोषणा गर्छन्, त्यसमा उज्यालोको धरोहर मानिएका कुलमान घिसिङ उपाध्यक्ष बन्न पुग्छन् । स्थापित कांग्रेस, एमाले, १७ पार्टी मिलेर बनेको नेकपावीच फागुन २१ को चुनाव अघि नै काँटोका टक्करको स्थिति विकास भइसकेको छ ।
चीनका लागि नेपालको एकचीन नीति र तिब्बतको सुरक्षा चासो अत्यधिक महत्वको छ भने भारतका लागि नेपाल परम्परागत खुला सीमा र खुला प्रभाव क्षेत्र हो । अमेरिकाका लागि नेपाल इण्डो प्यासिफिक स्ट्राटेजीको केन्द्रविन्दु हो । यसरी नेपाल एक, दोस्रा र तेस्राका लागि प्रभाव सिमित गर्ने उद्देश्यक्षेत्र बन्नपुगेको छ । नेपाल तीनघुम्तीमा छ, स्थिति फुकी फुकी कदम चाल्नुपर्ने अत्यधिक जोखिममा छ ।
कूटनीतिक रुपमा नेपाल भूराजनीतिको गोलचक्करमा देखिन्छ, राजनीतिक रुपमा नेपाल राष्ट्रिय–अन्तर्राष्ट्रिय मल्लयुद्धको झैं मैदान बनिसकेको छ । नेपाललाई रणनीतिक र आफ्नो प्रभावमा राखिराख्न चाहने विश्वशक्ति र अभिजात बर्गको निगरानीमा परिसकेको छ ।
गत भदौ २३ को जेनजी आन्दोलनको नेता को हो, अभिष्ट के हो, शक्ति कुन हो ? अझै स्पष्ट छैन । तर घातक रुपमा नेपालको राष्ट्रियता घाइते भएको छ । त्यसपछि शक्तिशाली भनिएका पार्टी, नेताहरु लुखुरे बनेका छन् भने चुनावको दौडमा अनेक लोखर्के, ब्वाँसा र बाघहरु प्रतिस्पर्धामा छन् । भूराजनीतिको खेल खेल्नेहरुले अनेक विकल्पहरु खुला राखेका छन् । संसद पुनस्र्थापना हुनसक्छ, चुनाव हुनसक्छ, राजतन्त्र र हिन्दुराष्ट्र पुनस्र्थापना हुनसक्छ, सर्वदलीय सरकार बन्नसक्छ । दृश्य अदृश्य खेल खेल्नेहरुले सांकेतिक रुपमा गणना र अवलोकन गरिरहेका छन् ।
पुराना दल छन्, नयाँ जेनजहरु छन् । छिमेकी भारत र चीन, प्रजातान्त्रिक तर विश्वशक्तिको रणनीति पनि नेपालमा छ । यसैवीच नजाँनिदो तबरले रुससमेत नेपाल मैदानमा देखिन्छ । हस्तक्षेप कसैको देखिदैन तथापि मिहिनतरिकाले सबैको उपस्थिति अनुभव गर्न सकिन्छ । शासन, सत्ता, प्रशासन, प्रशासक, नागरिक समाज, थिङ्कटैंक, बुद्धिजीवीहरु अनेक तरिकाले स्वचालित, परिचालित छन् । यिनैले राजनीतिक मार्ग र नीति निर्धारणमा प्रभाव पारिरहेका छन् । यो दबाबलाई थेग्नसक्ने अर्गानिक सोच नेपाली राजनीतिमा भएजस्तो लाग्छ तर त्यो निराधार हो । किनकि वर्तमान कालखण्डमा न त ०३३ सालपछिको वीपी छन्, न ०४६ पछिको मदन भण्डारी अथवा न त कुनै सक्कली सर्वहारावादी ।
भदौ २७ मा संविधान मास्ने बाध्यता थियो, पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा ६ महिने अन्तरिम सरकार बन्यो । यो सरकारले फागुन २१ मा चुनाव गराउने म्याण्डेट पाएको छ । किस्ता किस्तामा मन्त्रिपरिषद बिस्तार भइरह्यो र अवधि २ महिना बाँकी हुँदा ७० वर्षे सेवानिवृत्त जनरल बलानन्द शर्मालाई परराष्ट्र मन्त्री बनाइएको छ । किन ? अन्य थुप्रै कूटनीतिक क्षमतावानलाई नजरअन्दाज गरेर उनलाई नियुक्त गरियो ? बालानन्द कूटनीतिक क्षमताका होइनन् र उनीमाथि हतियार बेचेको, हतियारको तस्करी गरेको, अमेरिकी लविका लागि सकृय रहेको आक्षेपहरु छन् । जेनजी नाममा अन्तरिम सरकार बन्यो, जेनजीलाई सहभागिता गराइएन र बुढापुराना र बिबादितलाई जिम्मेवारी दिनुले अनेक प्रश्नहरु उठेका छन् । अन्तरिम सरकारका अनुहार र क्षमताले आन्तरिक रुपमा गौण पार्न सकिए पनि अन्तर्राष्ट्रिय कूटनीतिक अनुभवीका साथमा सवलता देखिन सक्नेछैन । नेपालको क्षीण बन्दै गएको विश्वसनीयता र नैतिक शक्तिलाई उचाल्ने छैन ।
भुइँमान्छेहरु भुइँक्रान्तिमा छन् । तिनको आवाज सुन्ने ताकत र ल्याकत कुनै पार्टीले गर्न सकेनन् । प्रजातान्त्रिक, राष्ट्रवादी–राजतन्त्रवादी र कम्युनिष्ट तीन विचारको बाहुल्यता छ , यसैभित्र जातजाति, लिङ्ग, क्षेत्रीयता घुसेका छन् । तीन विचार प्रधान भए पनि सयौं पार्टी चुनावमा जान दर्ता भएका छन् । यसले राजनीति झन क्लिष्ट र राष्ट्रिय आवाज बिभाजित र जटिल बनाएको छ । राजनीति भनेको अवसर, शक्ति, सत्ताको साधन हो भन्ने हरेकलाई लागेको छ । राजनीति भनेको समाज बदल्ने र सभ्य बनाउने साधन कसैलाई नलाग्नु हो । यही नै अस्थिरताको महारोग हो । जसले देश जनआकांक्षा पूरा गर्ने स्पष्ट एजेण्डालाई छायाँमा पारेको छ । केही चुनावी गठबन्धन र धेरै प्रतिवद्धताहरुले पनि भुइँमान्छेको प्रतिनिधित्व कमजोर देखिएको छ । देखावटी प्रजातन्त्र सधैं थियो, प्रभावशाली प्रजातन्त्र नेपाली राजनीतिबाट अझै कोसौं टाढिएको देखिन्छ । यसबाट भोलिका दिनमा पनि अस्थिरता बढ्ने र असन्तुष्टिले शान्ति खलबल्याइरहनेछ भन्ने ठाउँ दिन्छ ।
सरकारका विकल्प देखिएका छन्, पद्धति र प्रणालीगत त्रुटी सच्याउने बलियो एजेण्डा देखिदैन । भदौ २३ को आन्दोलनमा जेनजी पुस्ता जो रुपान्तरणकारी देखियो, त्यो पुस्ताले २७ घण्टामा लोकतान्त्रिक गणतन्त्र ढालिदियो, तिनीहरु स्खलित हुन त्यसपछिको केही घण्टा पनि लागेन । जेनजी पुस्ता यसरी बिचलित छन् कि २६ धारमा बिभाजित छन् । आम देशवासीको आशा र विश्वास कसरी फुल्छ र झर्छ भन्ने उदाहरण जेनजी पुस्ता हुन् । यद्यपि जेनजीका अगुवा सुदन गुरुङले राम्रो कामको सुरुआत र सुत्रपात गरेको देखिन्छ । नतिजाका लागि फागुन २१ सम्म कुर्नैपर्ला ?
बडामहाराजाधिरा पृथ्वीनारायण शाहले नेपाल निर्माण गरे । नेपालीत्वप्रति गर्व गर्न सकेनन् बहुदल र लोकतन्त्रवादी हुँ भन्नेहरुले । जेनजी पुस्ताको दृष्टिकोण र मान्यता देखिन बाँकी नै छ । यदि राष्ट्रियनीति ‘पृथ्वीपथ’ बन्न सकेन, ‘दिव्योपदेश’लाई समयानुकूलको गायत्रीमन्त्र बनाइएन भने भाँडिएको विधिको शासन, लथालिङ्ग भएको प्रजातान्त्रिक राष्ट्रवादसहितको सुशासनयुक्त नेपाल र नेपालीत्व मटियामेट हुँदैजाने खतरा टड्कारो देखिन्छ ।
गर्विलो नेपाल, स्थिरता, प्रभावकारी सुशासनयुक्त व्यवस्था, उच्चनैतिकता, इमान र जवाफदेहीताको गर्भगृह भनेकै पृथ्वीपथमा आधारित प्रजातान्त्रिक राष्ट्रवाद हो । यही तत्वज्ञानको बुझाइ हुनलागेको घटनाक्रमको सूर्योदय दिशा हुनसक्छ । नेपालको ब्ल्याक एण्ड ह्वाइट राजनीतिक परिदृश्य र परिपक्व दिशानिर्देश यही हो । यही नै नेपालको सुदूर भविष्यको पूर्वानुमान र परिणाम हुनेछ ।
इतिहासमा बदनाम हुने, हराउने कि इतिहास पुरुष बन्ने ? यसको निर्णय राजनीति गर्नेहरुले गरुन्, समयले परीक्षा लिइरहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports