आउँदो फागुन २१ गते हुने भनिएको संसदको निर्वाचन हुनेमा अझै आंशका रहेको छ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

फेरी प्रजातन्त्रले सर्वहाराका सामु शिर झुकायो

299
shares

 

राजन कार्की
कांग्रेसले एमाले, नेकपा (माओवादी) सँग चुनावी गठबन्धन गर्न चोचोमोचो मिलाउँदैछ । एउटा नेता अथवा प्रशासकलाई शक्ति कति चाहिन्छ ? सम्पत्तिको लालसा कति हुन्छ ? सत्ता किन उसको श्वास हुन्जेलको सपना हुन्छ ?
राजनीतिमा विवेक हुनुपर्छ कि पर्दैन ? विवेकहीन भएर राजनीति गर्नेले राजनीतिको दुरुपयोगमात्र गरिरहन्छ । यस्तो दुरुपयोगलाई रोक्ने कसले ? आत्मसम्मानलाई हरेक दिन मारेर राजनीति गर्नेहरु किन दिनदिनै मरिरहेका छन् ।
राजनीतिमा सम्मान आर्जन गर्नुपर्छ, सम्मानित भएर मर्नुपर्छ भन्ने चाल नपाउनेलाई शिक्षा दिने कसले ?
जुन देशमा नागरिक समाज, थिंक टेंक र बुद्धिजीवीहरु स्वार्थलम्पट हुन्छन् र व्यक्तिगत स्वार्थका लागि विवेकलाई मारेर चुपचाप बस्छन्, त्यो देशको हालत बंगलादेश, श्रीलंका त हुन्छ, हुन्छ, अब भेनेज्वेलाजस्तो हुने खतरा बढेको छ ।
पराईले घरमै घुसेर राष्ट्राध्यक्षलाई अपहरण गरेर लैजान्छ र पराईकै घरमा मुद्दा चलाउँछ भने त्यो देशको बर्बादीको जिम्मा राजनीतिमा लाग्नेहरुले लिनुपर्छ ।
नेपालको सन्दर्भमा सत्तालिप्सा, शक्ति तिर्खा जति खाए, जति पाए पनि नमेटिने रहेछ । गयो इलाम, खायो सिलाम, कांग्रेस लिलाम । नेपाली कांग्रेसजस्तो प्रजातन्त्रवादी पार्टी कम्युनिष्टको ढोकामा शिर झुकाएर मर्नेभो । फेरि जुट्नेभो कांग्रेस–कम्युनिष्टको गठजोड । यही गठजोड मिलाउन देउवा, ओली र प्रचण्ड गोप्य भेटघाट गर्दैछन् । प्रचण्ड र देउवापत्नी दिल्ली भ्रमणमा दौडिरहेका छन् ।
नयाँ नेपाल बनाउँछु भन्नेहरु नेपाल सिध्याउँदैछन् । कहाँ प्रजातन्त्रवादी, कहाँ सर्वहारावादी । एउटा पूर्व अर्को पश्चिम । एउटा उदारवादी अर्को निरंकूश । कम्युनिष्टको पछि लाग्दा लाग्दै नेपाली कांग्रेस कमजोर बन्दाबन्दै दयनीय र टुक्रिने अवस्थामा पुगिसक्यो, फेरि पनि प्रजातन्त्रको बिडा उठाएको भनेर नथाक्ने कांग्रेस कम्युनिष्टकै पछि लाग्ने गठजोडको बाटो लागेको छ ।
बामपन्थी र प्रजातन्त्रवादीले भ्रष्टाचारको पछि लाग्दा जेनजी आन्दोलन बेहोर्नुप¥यो । सभापति दम्पत्तिले रगतपच्छे भएर कुटिनुप¥यो, भ्रष्टाचारीको आरोप खेप्नुपरेको मात्र होइन, नागरिक समाजमा मुखै देखाउन नहुने गरी नैतिक संकटमा पुगिसकेको छ । अझै पनि चेत खुलेन र कांग्रेस कम्युनिष्टकै पछि लाग्न वार्तामा जुटेको छ ।
आवरण फेरेको नेकपाका संयोजक प्रचण्ड, एमाले अर्थात् जेनजीको भयले हेलिकोप्टरमा भागेर अपदस्त भएका पूर्व शासक, नेपाली कांग्रेसका अर्थात् ठूलो पार्टी भएर पनि सत्ता हाँक्न नसकेको र आफ्नै पार्टीको नियमित कि विशेष अधिवेशन गर्ने भनेर निर्णयसमेत गर्न नसक्ने असक्षम भएर पार्टीलाई टुक्रिने जोखिममा हालेका सभापति शेरबहादुर देउवा ।
तीन नेताको तीनचम्के गठबन्धन फागुन २१ को निर्वाचनमा रास्वपाको रवि, बालेन र कुलमानको एकतालाई हराउन हुनलागेको हो । २०६३ सालपछि आलोपालो १७ वर्ष शासन चलाउने शासक हुन् देउवा, प्रचण्ड र ओली । आज यिनले यस्तो दिन पनि भोग्नुप¥यो कि ४ महिनामा २१ सिट जित्ने रास्वपको शक्तिसँग लड्न छद्मयुद्ध गर्नुपर्ने भयो । छद्म यसकारण कि प्रजातन्त्रवादीले कम्युनिष्टलाई र कम्युनिष्टले प्रजातन्त्रवादीलाई मतदान गरेर प्रतिपक्षीलाई हराउनु पर्ने भयो । योभन्दा लाजमर्दो नेपाली कांग्रेसको अनुहार अर्को कुन हुनसक्छ ?
राजनीतिमा अदालतमा ठगी मुद्दा खेपिरहेका रवि लामिछानेको रास्वपाले आँधी नै ल्याइदिएको छ । स्थापित कांग्रेस, एमाले, माओवादी (नेकपा) का लागि फागुन २१ को निर्वाचन फलामको च्यूरा भएको देखिन्छ । कम्युनिष्टको के कुरा गर्नु, न जनयुद्धको औचित्य सावित भयो, न जनआन्दोलनको । नेपालका कम्युनिष्टमा जति भ्रष्ट, सम्भ्रान्त, नेपोटिजम र अपराधिक सोच र व्यवहार अरु नेता र पार्टीको भन्दा धेरै छ ।
उखानै छ– नहुनेकी छोरी हुनेमा परी, नुनको फाँको हाली भुतुक्कै मरी भन्नु र नेपाली कांग्रेसको गतिमति उस्तै छ ।
भदौ २३ र २४ को जेनजी आन्दोलनको सुनामीमा फसेका देउवा, ओली, प्रचण्डहरुले राजनीतिबाट सन्यास लेलान्, अर्को पुस्तालाई पार्टीनेतृत्व हस्तान्तरण गर्लान् भन्ने सबैलाई लागेको थियो । तर ओली नेशनल भोलिन्टियर फोर्स नै गठन गरेर त्यही फोर्सको बलमा पार्टी अध्यक्ष बनिसकेका छन् । प्रचण्डले १६ पार्टीलाई मिलाएर संयोजक भइसके भने कांग्रेसका सभापतिले नेतृत्व नछाड्ने र चुनावपछिमात्र अधिवेशन गर्ने अड्डी कस्दै आठौंपल्ट चुनाव लड्ने घोषणा गर्न पुगेका छन् ।
नेपालको लोकतान्त्रिक, गणतान्त्रिक ठूला र प्रभावशाली रहेका दलभित्र नैतिकताको धरातल खाल्डै हुनेगरी धस्सिन पुगेको छ ।
गजब त के छ भने २०६३ को परिवर्तनपछि एकछत्र सत्ताको साम्राज्य चलाएका यी तीनथरि पार्टी नेताहरुको भ्रष्टाचारको स्रोत बन्द भएको छ । यिनको ओठमुख सुक्नु र खरी घसाइले जेल जानुपर्ने जोखिम त छँदैछ, यिनका वरिपरि धूपध्वाँर गर्नेहरु पनि यतिबेला चिन्तित देखिन्छन् । तैपनि यी तीन नेताहरुले जनताका सामु माफी माग्ने बुद्धि देखाएका छैनन् । आफूले मच्चाएको कुकर्मप्रति पश्चातापको भाव यिनमा आएकै छैन ।
आलोचना गर्ने विश्लेषकहरु यी तीन नेतालाई राजनीतिक मिटरब्याजी भनिरहेका छन् ।
जसरी पनि चुनाव जितेर नेता जसरी सत्तामा पु¥याउँछ, जेनजी पुस्ताले सुशीला कार्कीलाई त्यही सत्तामा पु¥याइदिएको छ । प्रष्ट छ– परिवर्तनपछिका यी नेताहरुको असफलताको योभन्दा कुरुप दृश्य अरु के हुनसक्छ ? यी नेता र बंगलादेशकी शेख हसिना, श्रीलंकाका राजापाक्षमा अन्तर छैन । जितेर हस्तिनापुरको राज गर्नेहरु, नैतिक र जिम्मेवारीको युद्ध हार्दा कसरी चपरीमुनी पुग्ने रहेछन् ? यी तिनै नेतामा विवेकहीन उत्तेजना र लज्जाहीन अभिव्यक्तिबाहेक सम्मानको आम्दानी केही छैन । देउवालाई २४ वर्षअघि नै असक्षम सावित गरिदिएका थिए, प्रचण्ड र ओलीलाई जनताले भदौ २४ गते असक्षम भनेर डामिदिएका छन् । यी तीन नेताले जनताका सामु मिसिन र जनतासँग आँखामा आँखा जुधाउने साहस कहिल्यै गर्नसक्लान् ? घोसेमुण्टो लगाउने र आफ्ना फोर्सको घेरामा चर्का भाषण गर्नु यिनको आगामी नियति हुनेछ । जनतासँग यी तीन नेताको दूरी कहालीलाग्दो बनिसकेको छ । अझै यिनमा ‘मबाद’को अहंकार घटेको छैन । हुटिट्याउँहरु अझै फुइँकी लगाउँदै छन् । तैपनि, सत्ता, शक्ति र सम्पत्तिको यो कस्तो मोह हो, वानप्रस्थ उमेरमा, असफलता र जनघृणाको भीरमा पुगिसक्दा पनि मोहभङ्ग नहुनेरहेछ । सर्पको मुखमा परिसकेको भ्यागुतोलाई आफ्नो जीवनको चिन्ताभन्दा पनि आफ्नो मुखमा आएको किरा खाने लोभ जागेको देखिन्छ । नेपाली राजनीतिको परिदृश्य त्यस्तै देखिन्छ ।
लामो इतिहास बोकेको प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेस तरवारको धारमा उभिन पुगेको छ । यसको जिम्मेवार अरु कोही होइन, सभापति शेरबहादुर देउवा हुन्, जसले वीपीका सबै स्थापित मान्यताहरु अवमान्ना गर्दैगए । छोरी, स्वास्नी, बुहारी, सासुससुरा, ब्रिफकेस बोक्दा बोक्दा न सर्वहारावादी सर्वहारा रहे, न प्रजातन्त्रवादी समाजवादी रहे । आफू भए लोकतान्त्रिक गणतन्त्र, नभए प्रतिगमनकारी देख्ने फुलो परेको यिनका आँखाका कारण यिनीहरु राजनीतिका खोटासिक्का सावित हुनपुगेका छन् ।
जता पनि सेटिङ, भाग शान्ति जय नेपाल, कांग्रेस–कम्युनिष्टको सर्वाधिक चर्चित नीति हो । राजतन्त्र किनारा लगाइदिएपछि लोकतान्त्रिक गणतन्त्र उभिने, अघि बढ्ने रोडम्याप १७ वर्षसम्म बनाउन सकेनन्, आफै म्याद नाघेको ओखतीजस्तो विषादी बन्नपुगेका छन् । यिनीहरु यतिसम्म विषालु निस्किए कि राजाका सम्पत्तिमा भ्रष्टाचार गर्नपुगे, हुँदा हुँदा नागरिकलाई भुटानी शरणार्थी बनाएर निकासी गरेर समेत घूस खाए ।
कस्तो संसद, सांसद होलान्, कानुन बनाउँदा कुलिङ पिरियड राख्ने कि नराख्ने भन्नेमा गर्न पुगे । सांसद सबैले पढ्दै नपढी सही गरे । यदि त्यो कागजमा देश अरुकै हिल्ला लगाउने भनेर लेखिएको भए पनि पास हुनेरहेछ । धन्न नेपाल १९७५ को सिक्किम बन्नबाट बच्यो ।
वीपीले भनेका थिए– द्विविधा भएको बेलामा हातमा माटो लिनु र निर्णय गर्नु । वीपीका अनुयायीहरुले हातमा नोट लिए र निर्णय गर्नपुगे ।
वीपीले भनेका थिए– नेतृत्वले गलत गर्दा पनि टुलुटुलु हेरेर बस्ने कार्यकर्ता दास हुन्छ । कम्युनिष्ट, कांग्रेसभित्र दासता व्याप्त छ । दास भएर बाँच्ने कि स्वाधीन भएर । स्वराजका लागि विवेक गुमाउनु भनेको मृत्यु हो, सबैमा चेतना भया ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports