फेरी प्रजातन्त्रले सर्वहाराका सामु शिर झुकायो
वि.सं.२०८२ पुस २४ बिहीवार ११:५१
shares

राजन कार्की
कांग्रेसले एमाले, नेकपा (माओवादी) सँग चुनावी गठबन्धन गर्न चोचोमोचो मिलाउँदैछ । एउटा नेता अथवा प्रशासकलाई शक्ति कति चाहिन्छ ? सम्पत्तिको लालसा कति हुन्छ ? सत्ता किन उसको श्वास हुन्जेलको सपना हुन्छ ?
राजनीतिमा विवेक हुनुपर्छ कि पर्दैन ? विवेकहीन भएर राजनीति गर्नेले राजनीतिको दुरुपयोगमात्र गरिरहन्छ । यस्तो दुरुपयोगलाई रोक्ने कसले ? आत्मसम्मानलाई हरेक दिन मारेर राजनीति गर्नेहरु किन दिनदिनै मरिरहेका छन् ।
राजनीतिमा सम्मान आर्जन गर्नुपर्छ, सम्मानित भएर मर्नुपर्छ भन्ने चाल नपाउनेलाई शिक्षा दिने कसले ?
जुन देशमा नागरिक समाज, थिंक टेंक र बुद्धिजीवीहरु स्वार्थलम्पट हुन्छन् र व्यक्तिगत स्वार्थका लागि विवेकलाई मारेर चुपचाप बस्छन्, त्यो देशको हालत बंगलादेश, श्रीलंका त हुन्छ, हुन्छ, अब भेनेज्वेलाजस्तो हुने खतरा बढेको छ ।
पराईले घरमै घुसेर राष्ट्राध्यक्षलाई अपहरण गरेर लैजान्छ र पराईकै घरमा मुद्दा चलाउँछ भने त्यो देशको बर्बादीको जिम्मा राजनीतिमा लाग्नेहरुले लिनुपर्छ ।
नेपालको सन्दर्भमा सत्तालिप्सा, शक्ति तिर्खा जति खाए, जति पाए पनि नमेटिने रहेछ । गयो इलाम, खायो सिलाम, कांग्रेस लिलाम । नेपाली कांग्रेसजस्तो प्रजातन्त्रवादी पार्टी कम्युनिष्टको ढोकामा शिर झुकाएर मर्नेभो । फेरि जुट्नेभो कांग्रेस–कम्युनिष्टको गठजोड । यही गठजोड मिलाउन देउवा, ओली र प्रचण्ड गोप्य भेटघाट गर्दैछन् । प्रचण्ड र देउवापत्नी दिल्ली भ्रमणमा दौडिरहेका छन् ।
नयाँ नेपाल बनाउँछु भन्नेहरु नेपाल सिध्याउँदैछन् । कहाँ प्रजातन्त्रवादी, कहाँ सर्वहारावादी । एउटा पूर्व अर्को पश्चिम । एउटा उदारवादी अर्को निरंकूश । कम्युनिष्टको पछि लाग्दा लाग्दै नेपाली कांग्रेस कमजोर बन्दाबन्दै दयनीय र टुक्रिने अवस्थामा पुगिसक्यो, फेरि पनि प्रजातन्त्रको बिडा उठाएको भनेर नथाक्ने कांग्रेस कम्युनिष्टकै पछि लाग्ने गठजोडको बाटो लागेको छ ।
बामपन्थी र प्रजातन्त्रवादीले भ्रष्टाचारको पछि लाग्दा जेनजी आन्दोलन बेहोर्नुप¥यो । सभापति दम्पत्तिले रगतपच्छे भएर कुटिनुप¥यो, भ्रष्टाचारीको आरोप खेप्नुपरेको मात्र होइन, नागरिक समाजमा मुखै देखाउन नहुने गरी नैतिक संकटमा पुगिसकेको छ । अझै पनि चेत खुलेन र कांग्रेस कम्युनिष्टकै पछि लाग्न वार्तामा जुटेको छ ।
आवरण फेरेको नेकपाका संयोजक प्रचण्ड, एमाले अर्थात् जेनजीको भयले हेलिकोप्टरमा भागेर अपदस्त भएका पूर्व शासक, नेपाली कांग्रेसका अर्थात् ठूलो पार्टी भएर पनि सत्ता हाँक्न नसकेको र आफ्नै पार्टीको नियमित कि विशेष अधिवेशन गर्ने भनेर निर्णयसमेत गर्न नसक्ने असक्षम भएर पार्टीलाई टुक्रिने जोखिममा हालेका सभापति शेरबहादुर देउवा ।
तीन नेताको तीनचम्के गठबन्धन फागुन २१ को निर्वाचनमा रास्वपाको रवि, बालेन र कुलमानको एकतालाई हराउन हुनलागेको हो । २०६३ सालपछि आलोपालो १७ वर्ष शासन चलाउने शासक हुन् देउवा, प्रचण्ड र ओली । आज यिनले यस्तो दिन पनि भोग्नुप¥यो कि ४ महिनामा २१ सिट जित्ने रास्वपको शक्तिसँग लड्न छद्मयुद्ध गर्नुपर्ने भयो । छद्म यसकारण कि प्रजातन्त्रवादीले कम्युनिष्टलाई र कम्युनिष्टले प्रजातन्त्रवादीलाई मतदान गरेर प्रतिपक्षीलाई हराउनु पर्ने भयो । योभन्दा लाजमर्दो नेपाली कांग्रेसको अनुहार अर्को कुन हुनसक्छ ?
राजनीतिमा अदालतमा ठगी मुद्दा खेपिरहेका रवि लामिछानेको रास्वपाले आँधी नै ल्याइदिएको छ । स्थापित कांग्रेस, एमाले, माओवादी (नेकपा) का लागि फागुन २१ को निर्वाचन फलामको च्यूरा भएको देखिन्छ । कम्युनिष्टको के कुरा गर्नु, न जनयुद्धको औचित्य सावित भयो, न जनआन्दोलनको । नेपालका कम्युनिष्टमा जति भ्रष्ट, सम्भ्रान्त, नेपोटिजम र अपराधिक सोच र व्यवहार अरु नेता र पार्टीको भन्दा धेरै छ ।
उखानै छ– नहुनेकी छोरी हुनेमा परी, नुनको फाँको हाली भुतुक्कै मरी भन्नु र नेपाली कांग्रेसको गतिमति उस्तै छ ।
भदौ २३ र २४ को जेनजी आन्दोलनको सुनामीमा फसेका देउवा, ओली, प्रचण्डहरुले राजनीतिबाट सन्यास लेलान्, अर्को पुस्तालाई पार्टीनेतृत्व हस्तान्तरण गर्लान् भन्ने सबैलाई लागेको थियो । तर ओली नेशनल भोलिन्टियर फोर्स नै गठन गरेर त्यही फोर्सको बलमा पार्टी अध्यक्ष बनिसकेका छन् । प्रचण्डले १६ पार्टीलाई मिलाएर संयोजक भइसके भने कांग्रेसका सभापतिले नेतृत्व नछाड्ने र चुनावपछिमात्र अधिवेशन गर्ने अड्डी कस्दै आठौंपल्ट चुनाव लड्ने घोषणा गर्न पुगेका छन् ।
नेपालको लोकतान्त्रिक, गणतान्त्रिक ठूला र प्रभावशाली रहेका दलभित्र नैतिकताको धरातल खाल्डै हुनेगरी धस्सिन पुगेको छ ।
गजब त के छ भने २०६३ को परिवर्तनपछि एकछत्र सत्ताको साम्राज्य चलाएका यी तीनथरि पार्टी नेताहरुको भ्रष्टाचारको स्रोत बन्द भएको छ । यिनको ओठमुख सुक्नु र खरी घसाइले जेल जानुपर्ने जोखिम त छँदैछ, यिनका वरिपरि धूपध्वाँर गर्नेहरु पनि यतिबेला चिन्तित देखिन्छन् । तैपनि यी तीन नेताहरुले जनताका सामु माफी माग्ने बुद्धि देखाएका छैनन् । आफूले मच्चाएको कुकर्मप्रति पश्चातापको भाव यिनमा आएकै छैन ।
आलोचना गर्ने विश्लेषकहरु यी तीन नेतालाई राजनीतिक मिटरब्याजी भनिरहेका छन् ।
जसरी पनि चुनाव जितेर नेता जसरी सत्तामा पु¥याउँछ, जेनजी पुस्ताले सुशीला कार्कीलाई त्यही सत्तामा पु¥याइदिएको छ । प्रष्ट छ– परिवर्तनपछिका यी नेताहरुको असफलताको योभन्दा कुरुप दृश्य अरु के हुनसक्छ ? यी नेता र बंगलादेशकी शेख हसिना, श्रीलंकाका राजापाक्षमा अन्तर छैन । जितेर हस्तिनापुरको राज गर्नेहरु, नैतिक र जिम्मेवारीको युद्ध हार्दा कसरी चपरीमुनी पुग्ने रहेछन् ? यी तिनै नेतामा विवेकहीन उत्तेजना र लज्जाहीन अभिव्यक्तिबाहेक सम्मानको आम्दानी केही छैन । देउवालाई २४ वर्षअघि नै असक्षम सावित गरिदिएका थिए, प्रचण्ड र ओलीलाई जनताले भदौ २४ गते असक्षम भनेर डामिदिएका छन् । यी तीन नेताले जनताका सामु मिसिन र जनतासँग आँखामा आँखा जुधाउने साहस कहिल्यै गर्नसक्लान् ? घोसेमुण्टो लगाउने र आफ्ना फोर्सको घेरामा चर्का भाषण गर्नु यिनको आगामी नियति हुनेछ । जनतासँग यी तीन नेताको दूरी कहालीलाग्दो बनिसकेको छ । अझै यिनमा ‘मबाद’को अहंकार घटेको छैन । हुटिट्याउँहरु अझै फुइँकी लगाउँदै छन् । तैपनि, सत्ता, शक्ति र सम्पत्तिको यो कस्तो मोह हो, वानप्रस्थ उमेरमा, असफलता र जनघृणाको भीरमा पुगिसक्दा पनि मोहभङ्ग नहुनेरहेछ । सर्पको मुखमा परिसकेको भ्यागुतोलाई आफ्नो जीवनको चिन्ताभन्दा पनि आफ्नो मुखमा आएको किरा खाने लोभ जागेको देखिन्छ । नेपाली राजनीतिको परिदृश्य त्यस्तै देखिन्छ ।
लामो इतिहास बोकेको प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेस तरवारको धारमा उभिन पुगेको छ । यसको जिम्मेवार अरु कोही होइन, सभापति शेरबहादुर देउवा हुन्, जसले वीपीका सबै स्थापित मान्यताहरु अवमान्ना गर्दैगए । छोरी, स्वास्नी, बुहारी, सासुससुरा, ब्रिफकेस बोक्दा बोक्दा न सर्वहारावादी सर्वहारा रहे, न प्रजातन्त्रवादी समाजवादी रहे । आफू भए लोकतान्त्रिक गणतन्त्र, नभए प्रतिगमनकारी देख्ने फुलो परेको यिनका आँखाका कारण यिनीहरु राजनीतिका खोटासिक्का सावित हुनपुगेका छन् ।
जता पनि सेटिङ, भाग शान्ति जय नेपाल, कांग्रेस–कम्युनिष्टको सर्वाधिक चर्चित नीति हो । राजतन्त्र किनारा लगाइदिएपछि लोकतान्त्रिक गणतन्त्र उभिने, अघि बढ्ने रोडम्याप १७ वर्षसम्म बनाउन सकेनन्, आफै म्याद नाघेको ओखतीजस्तो विषादी बन्नपुगेका छन् । यिनीहरु यतिसम्म विषालु निस्किए कि राजाका सम्पत्तिमा भ्रष्टाचार गर्नपुगे, हुँदा हुँदा नागरिकलाई भुटानी शरणार्थी बनाएर निकासी गरेर समेत घूस खाए ।
कस्तो संसद, सांसद होलान्, कानुन बनाउँदा कुलिङ पिरियड राख्ने कि नराख्ने भन्नेमा गर्न पुगे । सांसद सबैले पढ्दै नपढी सही गरे । यदि त्यो कागजमा देश अरुकै हिल्ला लगाउने भनेर लेखिएको भए पनि पास हुनेरहेछ । धन्न नेपाल १९७५ को सिक्किम बन्नबाट बच्यो ।
वीपीले भनेका थिए– द्विविधा भएको बेलामा हातमा माटो लिनु र निर्णय गर्नु । वीपीका अनुयायीहरुले हातमा नोट लिए र निर्णय गर्नपुगे ।
वीपीले भनेका थिए– नेतृत्वले गलत गर्दा पनि टुलुटुलु हेरेर बस्ने कार्यकर्ता दास हुन्छ । कम्युनिष्ट, कांग्रेसभित्र दासता व्याप्त छ । दास भएर बाँच्ने कि स्वाधीन भएर । स्वराजका लागि विवेक गुमाउनु भनेको मृत्यु हो, सबैमा चेतना भया ।































