सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेस टुक्रियो, ७ दिनमै राजनीतिले यू टर्न लिने सम्भाबना

1.09K
shares

 

राजन कार्की
कांग्रेस टुक्रियो, नेकपा र एमालेभित्र असन्तुष्टि बढेको छ । सडक आन्दोलनमय छ, सरकार चुनाव हुन्छ भन्छ, चुनावप्रति संशय बढ्दो छ, चुनाव हुन दिइन्न भन्नेहरु पनि कुर्लिएकै छन् । बढीमा ७ दिनमा नयाँ चमत्कारिक घटना हुने भनिदैछ, के हुन्छ ? राजनीतिले कुन कोल्टे फेर्छ, प्रतिक्षा गरौं ।
हुन त रगतको नाता भएका वीपी र मातृका प्रसाद कोइराला त मिल्न सकेनन्, वीपीका अनुयायी हुँ भन्ने सभापति शेरबहादुर देउवाले राजनीतिक अगस्तीपना देखाउँदा सिंगो कांग्रेस फेरि दुई फ्याक हुनपुगेको छ ।
उखानै छ, हिराको मोल किराले जान्दैन, सिपाहीको काम छैन, जर्नेलको मान । कांग्रेसका सिपाहीहरुमाथि अन्याय गरेर आफ्नो कोटरी चलाउनाले र भदौ २३, २४ को जेनजी पुस्ताले रगताम्मे हुनेगरी कुट्दा समेत सभापति देउवाले समय परिवर्तन भएको चालै पाएनन् । पार्टीका महामन्त्रीद्वय विश्वप्रकाश र गगन थापाले लाख प्रयत्न गर्दासमेत सकृय राजनीति छाड्न र पार्टी एकताका लागि त्याग गर्न नचाहेपछि गगन र विश्वप्रकाशको काँधमा बहुमत कांग्रेसीको भार सरेको छ । रुख र सानेपाको पार्टी अफिस मेरै हो भनेर सभापति देउवा गुट ‘किन चाउरिस मरीच, आफ्नै पीरले’ भन्ने स्थितिमा पुगेका छन् ।
कांग्रेस टुक्रियो, पछुताउमा पुगेका सभापति देउवा नाक काटे स्वर्ग देखिन्छ भनेझैं अवस्थामा पुगेका छन् । सभापति देउवाले पार्टीभित्रको दोस्रो र युवा पुस्ताको आवाज सुनेर पुस्तान्तरण नगर्दा फागुन २१ को चुनावको डेढ महिनाअघि पार्टी ऐना फुटेझैं चकनाचुर बन्नपुगेको छ ।
कांग्रेस पुरानो प्रजातान्त्रिक पार्टी हो तर यो पार्टीभित्र शीर्ष नेताहरुको महत्वाकांक्षा, विश्वासघात, नैतिकहीनता र गुमेका अवसरहरूको इतिहास त हो नै, फेरि एकपल्ट झगडाको कथा बन्नपुगेको छ । पटक पटक परिवर्तनको बाहक बनेको कांग्रेसले राजनीतिलाई समाज परिवर्तनको औजार बनाउन २०६३ पछि जुन मौका पाएको थियो, त्यसलाई ५ पल्ट प्रधानमन्त्री बनिसकेका सभापति शेरवहादुर देउवाले फेरि ‘कालरात्रि’मा धकेल्ने प्रयास गरेका छन् ।
यतिबेला नेपाली कांग्रेस देशको भाग्य र भविष्य बदल्ने गगन थापा र विश्वप्रकाशको सामुहिक अठोट र यथास्थितिमै चलाउने शेरबहादुर देउवा गुटको व्यक्तिगत स्वार्थको मुद्दामा फस्न पुगेको छ ।
वीपीले जुन सपना देखेका थिए, जुन नीति तर्जुमा गरेका थिए, त्यसले कांग्रेसलाई शिखरमा पु¥यायो । गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाले आफ्नो महत्वाकांक्ष, निष्ठा र नीतिहीनताको अयोग्यताका कारण कांग्रेस फुट्यो र फेरि एकपल्ट निकै कमजोर अवस्थामा पु¥यायो । कांग्रेस बलियो हुनका लागि फेरि निकै समय लाग्ने समस्यामा पा¥यो ।
२०१५ सालमा कांग्रेसले दुई तिहाइ मत जितेको थियो, वीपीको सरकार बनेको पनि हो । वीपीलाई नेता कार्यकर्ताले साथ दिनुभन्दा पनि देश लुट्नेतिर ध्यान दिंदा नेपाली कांग्रेस जनजनको जिब्रोमा सराप बन्नपुग्यो । ‘तेरा घरमा कांग्रेस पसोस्’ भन्नेजस्तो सराप दिएको सुनिन थाल्यो, जसको प्रत्युत्तर थियो, २०१७ सालको परिवर्तन र पञ्चायतको जन्म । २०३३ सालमा वीपी प्रवासबाट स्वदेश फर्केर मेलमिलापको नीतिका साथ आएपछि कांग्रेस बौरियो, जुधारु बन्यो र २०३६ सालको जनमत संग्रह भयो ।
अधिकांश कांग्रेसले धाँधलीबाट पञ्चायतले जितेको भन्दै परिणाम नस्वीकार्ने भनेपछि वीपी कोइरालाले वक्तव्य प्रकाशित गरेरै सुधारसहितको पञ्चायतको जित स्वीकार गरे । वीपीले भनेका थिए– पञ्चायतले जित्यो स्वीकार छ तर छिटै देशमा प्रजातन्त्र आउने छ, जनताको जागरुकतालाई पञ्चायतले दबाउन सक्नेछैन । वीपी बिते तर १० वर्षमै जनता फेरि आन्दोलनमा उत्रिए । गणेशमान सिंहको चाक्सीबारीमा भारतीय नेताहरु आएर नेपालमाथि विष बमन पनि गरे । भारतले राजाका सामु सुरक्षा, जलस्रोत र परराष्ट्रनीति भारतले भनेअनुसार चल्ने भए आन्दोलन रोकिदिने च्याँखे थापेकै हो तर राजाले जनताका सामु झुक्छु, भारतका सामु झुक्दिन भनेपछि २०४६ सालमा बहुदल आयो । यो परिवर्तनलाई सुशासित, स्थिर बनाउने जिम्मेवारी कांग्रेसको थियो । आन्तरिक झगडा, बेमेल र शेरबहादुर देउवाकै नैतिकहीन राजनीतिका कारण त्यो अवधिलाई कालरात्रि भनियो । राजाले समेत देउवालाई अयोग्य भन्नुपर्ने दिन थियो ।
२०८२ सालमा आइपुग्दा, तिनै शेरबहादुर देउवा कांग्रेसका सभापति छन् र उनले आफ्नो अहं, सत्ता र शक्तिको लालचमा फसेर कांग्रेसलाई फेरि अराजक, अस्थिर, कुशासनको भवचक्करमा होमिदिएका छन् । कांग्रेस स्वयम् संकटमा परेको छ, यो संकटको दुस्प्रभावमा देशको शान्ति सुरक्षा, आसन्न निर्वाचन, राजनीतिक परिदृश्यमा दूरगामी असर पार्ने पक्का छ ।
वीपीले नेपाली कांग्रेसलाई राजतन्त्रसहितको प्रजातन्त्रको नीतिमा ढालेका थिए । २०६३ को परिवर्तनपछि माओवादीले कांग्रेसको नीतिमा अमिलो निचोरी दियो । गणतन्त्रको पहिलो राष्ट्रपतिको चास्नी चटाइदियो । वीपी नीति बिर्सेर तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कार्यवाहक राष्ट्राध्यक्ष चलाए, कांग्रेस कम्युनिष्टकरण हुँदै गयो ।
गिरिजा बिते, सुशील आए, सुशील बिते शेरबहादुरको हालीमुहालीमा कांग्रेस चल्न थाल्यो । कांग्रेस सत्तास्वार्थ र भ्रष्टाचारमा यसरी डुब्न थाल्यो कि कांग्रेसले कम्युनिष्टको चुनावचिन्हमा भोट हाल्न आदेश दियो, कैयौं चुनावी क्षेत्रमा कम्युनिष्टलाई जितायो । यहाँसम्म कि आफू ठूलो पार्टी हुँदा पनि कहिले माओवादी, कहिले एमालेको सरकार बनाउन सघायो, भाग शान्ति जय नेपाल स्वार्थपूर्ति रमायो । प्रजातन्त्रको बिडा उठाएको भनिने कांग्रेसले प्रजातन्त्रको अगुवा हुँ भन्यो, तत्अनुसारको चरित्र र व्यवहार कहिल्यै देखाएन ।
गत भदौ २३, २४ को जेनजी आन्दोलन, बिस्फोटनमा कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका खरानी भयो । राष्ट्रपति, प्रधानमन्त्री हेलिकोप्टर चढेर भाग्नुप¥यो । लोकतान्त्रिक गणतन्त्रवादी सबै नेता भूमिगत हुनपुगे । कांग्रेस सभापति शेरबहादुर देउवा र तत्कालीन स्थितिमा परराष्ट्रमन्त्री रहेकी देउवा पत्नी आरजु देउवामाथि हातपात भयो, रगतपच्छे हुनेगरी कुटियो । उनीहरुको घरमा आगो लगाइँदो अरवौं नगद जलेका प्रमाण अनुसन्धानले प्रमाणित गरिसकेको छ । अन्य धेरै नेताका घर जले, धनमाल खरानी हुनपुग्यो । यसको सन्देश एउटै थियो– अब बेइमानी शासन चल्दैन । परिवर्तन, पुस्तान्तरण, समानता, न्यायपूर्ण समाज स्थापित हुनैपर्छ । संविधान खारेज भएको स्पष्ट सन्देश थियो– अन्तरिम सरकार ।
यहीँनेर ठूला दलहरु चुकेका छन् । एमालेका केपी ओलीले आफैलाई नेता बरण गरे । माओवादीका प्रचण्डले २० दल मिलाएर नेकपा बनाएर आफै नेतृत्वमा ढसमस्स बने । त्यो देखेका कांग्रेस सभापति शेरबहादुर देउवाले पनि ¥याल काढे । ५४ प्रतिशतको माग लत्याएर नियमित वा विशेष अधिवेशन दुबै बोलाएनन् । यसको उद्देश्य एउटै थियो– पार्टीमा बिद्रोह हुनसक्दैन, फागुन २१ को चुनावमा आफू, आफ्नी पत्नी, आफूले चाहेकाहरुलाई चुनावमा उठाउने र जिताउने ।
कांग्रेसभित्रको नेतृत्वको स्वार्थ र सीमाहीन गुटवाजीका बिरुद्ध स्वयम् महामन्त्रीद्वयले हिम्मत गरे र विशेष अधिवेशन गराइछाडे । यो देखेर केही माओवादी र एमाले नेताहरुले प्रतिकृया दिएको देखियो– हामीले सकेनौं, तपाईहरुले बिद्रोह गर्नुभयो, बधाई छ ।
अर्थात् जेनजी आन्दोलनपछि ठूला पार्टीहरुमा जेहादको शंखघोष भएको छ । अलिकति पनि पक्षपात, तलमाथि भयो र युवापुस्ताको आवाज सुनिएन भने पहिरो जानसक्नेछ ।
समयले नेपाली राजनीतिमा नैतिकताको ढाँचा जरुरी छ भन्ने देखाइदिएको छ । योग्य, युवा र दूरदर्शीहरुले अवसर पाउनैपर्छ भन्ने प्रष्ट भएको छ । यही प्रष्टताले शेरबहादुर देउवाको राजनीतिक यात्रालाई किनारामा पु¥याइदिएको छ । नेपोटिजम, नेपोबेबीइजम, अवसरवाद, भ्रष्टाचार असह्य हुने आहट सबैले सुनेका छन् । कम्युनिष्टको पछि लाग्दा र वीपीको नीति व्यवहारमा नउतार्दा दुई फ्याक भएको कांग्रेसको घाउ कति चह¥याएको छ, त्यो कांग्रेसीहरुले अनुभव गरेका छन् ।
ठेकेदारी, बिचौलिया, अपराधीकरण र चाकडीको नेटवर्कले पार्टी चल्ने दिन सकिए भन्ने कुरा कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपाका प्रचण्ड र एमालेका ओलीले राम्ररी बुझे होलान् । देउवा राजनीतिको ओल्लो किनार न पल्लो तीर बन्नपुगेका छन् भने प्रचण्ड चितवनबाट गोरखा र गोरखाबाट रुकुम भाग्नुपरेको छ । केपी ओलीको सुरक्षित झापा ५ मा काठमाडौंका मेयर जो मधेसी मूलका हुन्, उनले प्रतिस्पर्धा गर्न जान्छु, ब्याक हुन्न भनेपछि राजनीतिले कोल्टे फेर्न लाग्यो भन्ने बुझ्नुपर्छ ।
नयाँ नयाँ दल र पुस्ता निर्वाचनमा होमिन थालेका छन् । कम्युनिष्टका लागि खतरा त छँदैछ, प्रजातन्त्रवादी हुँ भन्ने कांग्रेस वीपी नीतिअनुसारको लोकतन्त्र, नागरिक स्वतन्त्रता र सामाजिक न्यायमा नउभिने हो भने यो मोड कांग्रेसका लागि दुर्घटनामा परिणत हुनसक्नेछ ।
गगन थापा र विश्वप्रकाशहरुले वीपी नीतिमा कांग्रेसलाई उभ्याउने, उठाउने प्रयास गरे भने कांग्रेस पुनः नेपालको प्रजातन्त्रको अगुवा बन्नसक्नेछ । टुक्रिने दुर्घटनाबाट घाइते कांग्रेसको सही उपचार हुनसक्नेछ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports