विश्वभरि राष्ट्रवादको उछाल, नेपालमा चुनावी हाल
वि.सं.२०८२ माघ २९ बिहीवार १२:१२
shares

साने टकाइची, जापानकी प्रधानमन्त्री । उनले पद सम्हालेको ११० दिनमै आकस्मिक चुनावमा जाने ठूलो जोखिमपूर्ण निर्णय लिइन् । यो जोखिम सफल भयो— मतदाताले उनको आर्थिक नीतिहरू, कडा आप्रवासन नीति, र चीनतिर राखेको कडा धारणाप्रति जनताले बलियो समर्थन जनाए । साने टकाइचीको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) लाई दुई तिहाई बहुमतको जनादेश दिए । जापानी प्रतिनिधिसभाका ४६५ सिटमध्ये ३१६ सिट जितेको छ एलडीपीले । दोस्रो विश्वयुद्धपछि पहिलो पटक कुनै जापानी पार्टीले दुई तिहाईभन्दा बढी सिट जितेको यो पहिलो अवसर हो ।
यो जनादेशले ताकाइचीलाई रक्षा, सामाजिक मुद्दा र आप्रवासन सम्बन्धी आफ्नो रूढिवादी एजेन्डा अघि बढाउन मार्ग प्रशस्त गरेको छ । साथै, राष्ट्रपति ट्रम्पले दिएको समर्थनपछि उनको अन्तर्राष्ट्रिय राजनीतिक हैसियत मजबुत भएको छ । जापानको राष्ट्रवादी धार अझ धारिलो भएको विश्वभरि विश्लेषण भइरहेको छ ।
मेक अमेरिका ग्रेट अगेन भन्ने नारासहित अमेरिकामा राष्ट्रवादी धारसहित डोनाल्ड ट्रम्पले चुनाव जितेर राष्ट्रपति बनेका थिए । यसपछि भएका चुनावहरुमा हंगेरीलगायतका अनेक मुलुकमा स्थापित दलहरु पछाडि परेका छन् । परिवर्तनका पक्षमा चुनावी नतिजा आएको देखिन्छ ।
आगामी फागुन २१ गते नेपालमा प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । यो निर्वाचनमा स्थापित दलहरुभन्दा परिवर्तनका पक्षमा जनताको लहर बढेको देखिन्छ । प्रतिस्पर्धा स्थापित दलहरु र नयाँ अनुहारवीच नै हुनेछ । बिश्लेषण गरिदैछ कि विश्वभरि फैलिएको परिवर्तनको लहर नेपालमा पनि देखिएको छ र अनुमान गरिन्छ, राष्ट्रवादी धारले बलियो उपस्थिति देखाउनेछ ।
अब हेर्नुछ, दूध र पानी रजहाँसले छुट्याउन सके झैंं नेपाली मतदाताहरुले सही र गलत छुट्याएर सही जनप्रतिनिधिको चयन गर्नेछन् । देशवादी र देशद्रोही छुट्याउने आधार जनमत हो, जनता रजहाँस बनेर छुट्याउने छन् । यो अवसर भनेको जनाधार दिने जनताको हातमा छ । प्रजातन्त्रमा जनता नै निर्णायक हुनेगर्छन् ।
राजनीतिलाई समाज परिवर्तनको औजार हो भन्ने मान्यता राख्नेहरु भन्छन्– माहुरी पालकले माहुरीको बित्तपाते अबस्था र त्यसको पहिचान गर्छ । माहुरीको यो अबस्था जान्न सकेन भने माहुरीको घार नै नष्ट भएर जान्छ । यसै गरी कुनै मुलुकमा पनि नेतागणहरूमा यो बित्तपाते अबस्था आउँछ, यस अबस्थामा मुलुक नै नष्ट हुने खतरा हुनसक्छ । यहि कुरालाई महाभारतको शान्ति पर्वमा भिष्म पितामह युधिष्टिरलाई यसरी बताएका छन्– व्यक्तिले प्रथमत राजा चुनोस्, त्यस पछि भार्या (परिवार) अनि परिवार पाल्न धन कमाओस् । यदी राजा नै सही भएन भने न भार्या रहन्छ न धन । सबै कुरा अरूले नै लुटेर लान्छन् ।
घारमा समय नाघेको लार्भा छ भने शाही खुराक खुवाएर रानो बनाएपछि माहुरीको चाका सुरू हुनसक्छ । रानु बनाउन सकिएन भने हरेक माहुरीले खाना त खान्छ तर चाका बनाउन सक्दैन । घार बिनाको माहुरी पालन गर्नु भनेको बेकारको लगानी हुनेहो ।
राजतन्त्र किनारा लगाएपछि नेपाली राजनीतिमा रानो छैन । रानु नभएकै कारण जनता र देशप्रति जवाफदेहीपूर्ण राजनीतिको सुरुआत नै हुन सकेन । निषेध, विभेद र प्रतिषोधपूर्ण राजनीतिक नेतृत्वको अहंकारका कारणले रानो बनाउने प्रकृया पनि सुरू भएको छैन । रानो नभएपछि माहुरी नासिएझैं राजनीति नासवान बन्यो । पार्टी र नेताहरू सत्ता र शक्तिका वरिपरि घुमिरहेका छन्, जसका कारण जनता अन्यायमा परेका छन्, राष्ट्र दिनदिनै कमजोर बन्दै जाँदो छ । लोकतान्त्रिक गणतन्त्रले २० वर्ष खेर फालेपछि फागुन २१ मा परिवर्तनको साइत जुरेको छ । यो साइतलाई जनताले कसरी छोप्ने हुन्, विश्वभरि यो चुनावको चर्चामा उत्सुकता बढ्दै गएको छ ।
माहुरीको रानो नभएको घारमा अब्यबस्था पैmलन्छ, सबैले आपैmलाई रानो सम्झनाले आपसी द्वन्द चल्छ । रस बटुल्न कोही बाहिर निक्लदैन, घारमा खानाको कमी हुन्छ, झगडा गर्छन् । यो अबस्थालाई बित्तपाते माहुरी भनिन्छ । त्यो घारको विनास अबश्यांभावी छ । यस्तो स्थितिमा माहुरी पालकले पहिले रानोको व्यवस्था गर्छ । बित्तपाते माहुरीको हुललाई घारबाट हटाउँछ । जो बितपाते नभएका माहुरी छन्, ती फैलन्छन्, रानोले अन्य माहुरीहरू बटुल्छ र फेरि घारमा मह जम्मा गर्न थाल्छन् ।
अराजक अर्थात् माहुरीको घारको बितपाते अवस्था र नेपालको राजनीतिक व्यवस्था उस्तै उस्तै देखिन्छ । जो अपराधी थिए, जो जनताले घृणा गरेका पात्र थिए, तिनीहरू कानुन बनाउने, कानुन खेलाउने, राज्यसत्ता चलाउने केन्द्र केन्द्रमा पुगे । धर्मलाई अफिम भन्नेहरू धर्म संस्कृतिका पालनहार बन्ने ढोङ गर्दैछन्, जो विदेशीको रिमोटबाट चल्ने छन्, तिनीहरू चर्का भाषण गर्दैछन्, जो समाज र नेपाली एकताका भँडुवा हुन्, तिनीहरू एकताको नाटक गरिरहेका छन् । जो बाल्मिकीको नाटक गरिरहेका थिए, बाल्मिकी बनेर परिवर्तनका संवाहक बने, तिनीहरू रत्नाकरभन्दा पृथक प्रमाणित हुन सकेनन् । रत्नाकरहरूको आतंक, अराजकताबाट पीडित भएपछि असन्तुष्टि फैलियो र अर्को परिवर्तनको माग भयो ।
यही मागको अग्नि परीक्षा हो फागुन २१ गते । रत्नाकर विवेकशील बन्न सक्यो भने बाल्मिकी बन्न सक्छ । जसरी माहुरीको रानुको जन्म हुन्छ । विबगत २० वर्ष जनताले परिवर्तनको अनुभव गर्नै सकेनन् । आधुनिक रत्नाकरहरू बाल्मिकीको मुखुण्डोमात्र लगाउँछन् । त्यस्तै देखिए । जनताको असन्तुष्टि र गत भदौ २३, २४ को आन्दोलनपछि देशले बाल्मिकी खोजेको छ, परिवर्तन हुन नसकेका रत्नाकरहरू देशैभरि हावी भएका छन् । रत्नाकरका भजनेहरू आफूलाई बुद्धिजीवी, नागरिक अगुवा ठान्छन्, डाँकैतीका साझेदार बन्छन् । लोकतान्त्तिक गणतन्त्र उत्कृष्ण् व्यवस्था ल्याइयो भनेर जसजसले झ्याली पिटेका थिए, गत भदौ २३ र २४ मा ती जनअसन्तुष्टिबाट पिटिए । अझै पनि दुर्दान्त काम गर्न उक्सेकै छन्, जुन अर्को गल्ती हो । जसले अपराधलाई प्रश्रय दियो, ती गणतन्त्रका बाहक हुँ भन्छन्, यस्तो राजनीतिले बढाउने अपराध नै हो । राजनीतिक अपराधले देश दुःखित र पीडित छ ।
छलाङ हान्ने प्रजातन्त्रवादी, समाजवादी, सर्वहारा हुँ भन्नेहरूलाई जनताले बाल्मिकी भनेर विश्वास गरे । आज ती सबै बाल्मिकीहरू रत्नाकरभन्दा भिन्न देखिएनन् । नागरिक निकासी गरेर, राष्ट्रिय सम्पत्ति र सम्पदा दोहन गरेर, नेपोटिजम हुर्काएर जुन राजनीति चलाइरहेका छन्, ती सबै रत्नाकर नै हुन् । जनताले कुनै रत्नाकर स्वीकार छैन भनेर ल्याएका र पाएका नेताहरू फेरि पनि रत्नाकर नै सावित भए । परिवर्तन पटक पटक आयो, जनताका लागि कौवालाई बेल पाकेसरह सावित हुनपुग्यो । यसकारण देशले अर्को परिवर्तनको शंखघोष गरेको छ । परिवर्तन बिना अस्तित्व संकटमा छ ।
जनता के चाहन्छन्, नेतृत्व सच्चिन्छ कि सक्किन्छ, नयाँ नेतृत्व जन्मन्छ कि तुहिन्छ ? फागुन २१ गते जनाधिकारको परीक्षण हुनेछ । जनताले खोजेको परिवर्तन र चाहेको नेता कस्तो हो ? प्रष्ट देखिने छ । १६५ क्षेत्रको चुनावमा ३ हजारभन्दा बढी उमेदवार छन् । यो भनेको दूध र पानी मिसिएजस्तै धमिलो अवस्था हो । जनताले रजहाँस बनेर अधिकाधिक दूध छुट्याउनु पर्नेछ । आफ्नो प्रतिनिधि छान्नुपर्ने छ अर्थात् रत्नाकर र बाल्मिकी छुट्याउनु पर्नेछ र बाल्मिकीलाई प्रतिनिधि छान्नुपर्नेछ । यसपटक पनि जनताबाट चुक भयो भने लामो समय पछुताउनुपर्ने छ । जसरी २० वर्ष खेर गयो, लामो समय खेर जानेछ ।
गणतन्त्र आएको २० वर्ष भइसक्यो । यो समय जनताले अन्याय सहनुप¥यो, सकस बेहोर्नुप¥यो । आफ्नो परिवारसँग साथै बस्न पाएनन्, जनताका ससाना नानीहरू राज्यको गोलीको सिकार हुनुप¥यो । जेनजी विद्रोहले फागुन २१ को मौका दिएको छ । नेपालका बित्तपाते भईसकेका नेताहरू यसलाई अग्रगमन, प्रगती, नयाँ नेपाल र यस्तै यस्तै आगिन्ती भ्रम फैलाइरहेका छन् । यो भ्रमलाई चिर्ने र दूध पानी छुट्याउने जिम्मा जनताको हो । आफ्नो देशको अस्तित्व संकटमा परिसकेको छ । यो अस्तित्व बचाउने कार्य जनताको जिम्मेवारी हो ।
हरेक नागरिकले जनतालाई सचेत पार्नुपर्छ, जनाधिकारको महत्व बुझाउनु पर्छ । जब जनताले चुनावको महत्व बुझ्नेछन्, तव समानता, राष्ट्रिय एकता, विकास, स्थिरता र शान्ति सबै खोजेजसरी पाउन सक्नेछन् ।
देशको उज्यालो भनेको समयानुकूल परिवर्तन हो, जनतालाई परिवर्तनको अनुभूति र जिम्मेवारीबोध गराऔं ।





























