जसरी पनि निर्वाचन गराइन्छ भन्नुको अर्थ के ?
जसरी पनि निर्वाचन गराइन्छ भन्नुको अर्थ के ?
वि.सं.२०८२ फागुन १४ बिहीवार ०९:४७
shares

निर्वाचनको दिन आउन अब एक हप्ता मात्र बाँकी रहँदा प्रायः सबै राजनीतिक दलहरु निर्वाचनको प्रचार प्रसारमा लागेका छन् । तर आजसम्मा पनि जनताले साँच्चीकै निर्वाचन हुन्छन् त भन्ने विश्वास गर्न सकिरहेका छैनन् आखिरी किन ? त्यसको एउटै कारण हो मुलुकमा उत्पन्न भएका सबै जटिल समस्याको समाधान नगरी गरिएको निर्वाचनले समस्याको समाधान गर्न सक्दैन भनेर नै हो । गत भाद्र २३ गते जेनजीहरुले गरेको विरोध प्रदर्शनलाई हाइज्याक गरेर आफ्नो पार्टीगत स्वार्थ पूरा गर्न रास्वपा लागि रहेको छ । सिंहदरबार जलाउनेहरु सबै रास्वपाका उम्मेदवार बनेका छन् भने कुनै अँध्यरो कोठामा बसेर नसाका सुरमा स्टाट लेख्दै मुलुकलाई ध्वस्त बनाउन आदेश दिने व्यक्ति बालेन साहलाई रास्वपाले भावि प्रधानमन्त्रीको उम्मेदवार भन्दै झापा क्षेत्र नं. ५ बाट संसदको उमेदवार बनाएको छ ।
बालेन साह काठमाडौ महानगरका मेयर रहेका व्यक्ति हुन् । उनको ५ वर्षे कार्यकालको करिब १५ महिना बाँकी रहँदै उनी महानगरबाट भागेर झापा पुगेका छन् । साह मेयर पदमा निर्वाचन लड्दा काठमाडाबासीलाई दिएको अधिकांश आश्वासनहरु पूरा भएका छैनन् भने काठमाडौबासीले मेयर साहलाई प्रत्यक्ष रुपमा कहिल्यै पनि भेट गर्न पाएनन् आखिर किन ? अहिले त्यसको रहस्य खुलेको छ । उनी जनताको सेवाका लागि होइन कुनै अमूक व्यक्तिको सेवाका लागि काठमाडौका मेयर बनेको र त्यो काम पुरा गरेकाले अब उनलाई झापा पठाइएको हो । झापा ५ निर्वाचन क्षेत्रबाट नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओली निर्वाचित हुँदै आएको क्षेत्र हो । अहिले बालेनलाई त्यही क्षत्रमा पठाउनुको उदेश्य उदेश्य भनेको केपी ओलीलाई पराजित गरेर राष्ट्रवादलाई नै पराजित गराउन खोज्नु हो ।
भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शनलाई रास्वपाले प्रयोग गरेर आफ्नो स्वार्थमात्र पूरा गर्ने प्रयास गरेको छैन । रास्वपा र बालेन साहलाई एकै ठाउँमा ल्याउने अदृश्य शक्तिको समेत स्वार्थ पुरा गर्ने उदेश्य नै रहेको छ । जेनजीहरुको विरोध प्रदर्शनमा पानी बाँड्न आएको बताउने सुदन गुरुङ देखि आन्दोलनलाई प्रयोग गर्ने बालेनलाई त्यही अदृश्य शक्तिले एकै ठाउँमा ल्याएको विस्तारै प्रमाणित हुँदैछ । यसै कारणले गर्दा प्रष्ट हुन्छ । रास्वपाको स्वार्थ के हो भनेर । भाद्र २३ गते जेलमा रहेका रवि लामिछानेलाई जेल मुक्त गरेर भिडतन्त्रले प्रधानमन्त्रीको घोषणा गर्दै र सोही दिन राति बालेनले अब नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग वार्ता गर भनेर स्टाटस मार्फत निर्देशन दिनुको अर्थ के थियो ? त्यो निर्देशन कसको लागि थियो ?
भाद्र २३ गतेको घटना घटाउनेहरु प्राय सबै अहिले रास्वपाका उम्मेदवार बनेका छन् । बालेन र रविबीचमा भएको सहमतिमा भाद्र २३ र २४ गतेको विरोध प्रदर्शनको स्वामित्व लिने सहमति गरेका हुनाले के संकेत गर्दछ ? विरोध प्रदर्शनमा रास्वपाका प्रायः सबै नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । सिंहदरबारमा आगजनी गरेपछि रास्वपाका नेताहरु बल्ल प¥यो माकुरी जालैमा भन्दै नाँचगान गरिरहेका भिडियोहरु सार्वजनिक भएका भएपनि उनीहरुमाथि कुनै अनुसन्धान समेत भएन । भाद्र २७ गते बालेनकै सहमतिमा र जेनजीहरुको एक गुटको सहमतिमा सर्बोच्च अदालतकी पूर्व प्रधानन्यायाधिश समेत रहिसकेकी सुशिला कार्कीलाई संविधानको उल्लंघन गर्दै प्रधानमन्त्रीमा नियुक्त गरियो भने उनको मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरु समेत बालेनकै सहमतिमा नियुक्त गरिनु र बालेनले आफ्नै कानुनी सल्लाहकारलाई गृहमन्त्री बनाउनुको रहस्य अहिले खुल्दै गएको छ । त्यसैले सिंहदरबार सहित अन्य सबै सरकारी भवन जलाउनेहरुलाई कुनै कारबाही नगरिने मन्त्रिपरिषद्को बैठकले निर्णय गर्नु । यी सबै तथ्यहरुले प्रष्ट हुन्छ तत्कालिन केपी ओली नेतृत्वको सरकारलाई ढाल्न बैधानिक रुपले नसकिने अवस्था देखिएपछि षड्यन्त्रमुलक ढँगले सरकार ढाल्नका लागि नै स्कुले भाइबहिनीलाई हतियार बनाइएको थियो भनेर ।
मुलुकलाई ध्वस्त बनाउनेहरुप्रति कार्की सरकार उदार मात्र रहेको छैन, प्रधानमन्त्री कार्कीले नै सार्वजनिक रुपमा मुलुकलाई ध्वस्त बनाउन लागि परेका सुदन गुरुङलाई आफ्नो कान्छो छोरा भएको घोषणा गरेकी र त्यही कान्छो छोरा रास्वपाको तर्फबाट गोरखामा उम्मेदवार रहेकाले जसरी भएपनि उनलाई जिताउन लागि परेकी छन् । कान्छो छोरा पराजित भएमा आन्दोलनको रहस्य खुल्न सक्ने र आन्दोलनको समयमा प्रधानमन्त्री कार्कीको भूमिका के थियो ? सो समेत बाहिर आउन सक्ने भएकाले सरकार नै गुरुङलाई जिताउन लागि परेको आशंका समेत गर्न थालिएको छ । तिनै गुरुङ मार्फत रवि लामिछानेसँग कुराकानी भएको र रवि र बालेन साहलाई समेत एकै ठाउँमा उभ्याईएको रहस्य खुल्दै गएको छ ।
रवि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा संलग्न रहेको भन्दै विभिन्न अदालतमा मुद्दा विचाराधिन रहेको व्यक्ति हुन् । रविले आफूलाई तत्कालिन केपी ओली सरकारले प्रतिशोध लिएर मुद्दा लगाएको बताउँदै आएका थिए । कार्की सरकारले रवि सहित करिब ५० जना माथि लागेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधका मुद्दा फिर्ता लिन सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता सविता भण्डारीमार्फत मुद्दा फिर्ता लिने निर्णय गराउनुले प्रष्ट हुन्छ भाद्र २३ र २४ गते भएको विरोध प्रदर्शनमा वर्तमान प्रधानमनत्री कार्की सहितका अहिले मन्त्रिपरिषद्मा रहेका केही व्यक्तिहरु र रास्वपाका उम्मेदवारहरु प्रायः सबैको संलग्नता रहेको थियो भनेर ।
प्रधानमन्त्री कार्कीले पछिल्लो समयमा जसरी भएपनि निर्वाचन गराएरै छोड्ने बताउँदै आएकी छन् । जसरी पनि भनेको के हो ? रास्वपा बाहेकका अन्य सबै दल त्यसमा पनि नेकपा एमालेका अध्यक्ष र नेकपा एमालेका उम्मेदवारहरुलाई पराजित गराउनु त होइन ? जसरी पनि निर्वाचन गराउनुको अर्थ के ? यसरी जसरी पनि गराइएको निर्वाचनले कुनै समस्याको समाधान दिन सक्दैन । जनताले आफुँखुसी मदतान गर्न पाउनुपर्दछ । अहिले मुलुकमा देखिएका समस्याहरुको समाधान गरेर मात्र निर्वाचन गराइएको खण्डमा मात्र मुलुकले निकास पाउन सक्छ । त्यसैले जसरी पनि भन्ने शब्द नै षड्यन्त्रपूर्वक रहेको र रवि र बालेनलाई एकै ठाउँमा ल्याएर आफ्नो स्वार्थ पुरा गर्नेहरुको षड्यन्त्रको भण्डाफोर हुनैपर्दछ भन्ने हामीले ठानेका छौँ ।


































