प्रश्न राष्ट्र जित्छ कि हार्छ भन्ने हो ?
वि.सं.२०८२ फागुन १४ बिहीवार ०९:५०
shares

राजन कार्की
चुनाव पञ्चायतमा भयो, बहुदलमा पनि भयो । चुनाव दुईपल्ट संविधानसभाको पनि भयो । संविधान बनेपछि पनि ०७४ र ०७९ मा चुनाव भएकै हो । चुनाव हुँदैमा देश जित्ने रहेनछ, जनताका आशा र अपेक्षा पनि हार्ने चुनाव हुनेरहेछ । अहिलेसम्मको चुनावी अभ्यासले देश जितेको उदाहरण छैन । जनताले जितेको अनुभूति पनि भएन ।
यहीकारण त २०६३ को परिवर्तन हातलाग्यो शून्य भयो । २०६५ को संविधानसभाले राजतन्त्र किनारा लगायो, धर्मनिरपेक्षता ल्यायो । केही दल र दलका नेताहरुले चुनाव परिवर्तन जिते । संविधान जारी भयो, सिंहदरवारको शक्ति विदेश पु¥याइयो, देश हा¥यो । संविधान जारी भएपछि पनि दुईपल्ट चुनाव भयो, नेताहरुले जिते, जनताले हारे ।
यही हारको आक्रोशले भदौरे वर्षाजस्तो आश्चर्यजनक परिवर्तन ल्यायो । परिवर्तन ल्याउने जेनजी पुस्ताका ७६ जना मारिए, जेनजीका आमा, हजुरबाउहरु सत्तामा पुगे । जेनजीको मागहरु असरल्ल छरिए, जेनजीले हारे । अब जेनजीकै नाममा बनेको सरकारले फागुन २१ मा चुनाव गराउने निधो गरेको छ । यो चुनावले जनता जित्छन् कि देश जित्छ कि ? आशा छ, भरोसा छैन । फेरि पनि विदेशीले जित्ने, नेताले जित्ने, पार्टीले जित्ने, भ्रष्टाचारले जित्ने, कुशासनले जित्ने, अपराधले जित्ने, अन्यायले जित्ने जोखिम बढी छ ।
यसकारण फागुन २१ को चुनाव हुनुपर्छ, प्रश्न यत्ति छ कि यो चुनावले राष्ट्र जित्ला कि हार्ला ?
चुनावको माहोला तीब्र गतिमा अघि बढेको छ । यो प्रजातान्त्रिक अभ्यास हो, सबैले स्वीकारेका पनि छन् । तर निर्वाचन देश र जनताले अपनत्व लिनेखालको हुनुपर्छ । देश र जनताले जितेको अनुभूति हुनुपर्छ । चुनावका लागि चुनावमात्र हुनुहुन्न ।
हुन त यो चुनाव कुन संविधानअनुसार हुँदैछ, उद्देश्य के हो ? प्राप्ति हुने के के हो, निर्वाचनले कुन खालको परिवर्तन ल्याउने हो ? ०८४ मा हुनुपर्ने निर्वाचन ०८२ मा हुँदैछ, तर संविधान खरानी भएको अवस्थामा । यसकारण यो निर्वाचनले देश र जनताले जित्छ कि अरु कसैले प्रश्न उठेको हो ।
नेपालीले धेरैपटक चुनाव देखे, ३७ वर्षमा ३० खालका सरकार पनि देखेकै हो । लोकतन्त्रकै कुरा गर्ने हो भने १७ वर्षमा १५ सरकार फेरियो, लाभ पार्टीका नेता र तिनका आसेपासेलाई भयो, देश र जनता ठगिए, लुटिए । यसैलाई लोकतन्त्र भनियो ।
यो चुनाव परिवर्तनका लागि हो कि भ्रम हो ? परिवर्तनका लागि हो भने मुहारमात्र फेरिने हुन् कि व्यवहार पनि फेरिने हो ? सपना वा भ्रम हो भने त नेपाल र नेपालीले लामो समय सपना र भ्रममा बाँचेर थाकिसकेको स्थिति छ ।
चाहिएको राष्ट्रिय समस्याको समाधान हो । यसकारण चुनाव यथार्थ हुनुपर्छ र राष्ट्रिय समस्याको समाधान हुनुपर्छ । समाधान गर्न चुनावी मैदानमा देखिएका ६८ पार्टीहरु र ३४०६ उमेदवारहरुले राष्ट्रिय सहमति गरेको देखिदैन । हरेक नेता अर्कोलाई खुइल्याउने अग्रसर छ, एकले अर्कोलाई लछार्नपछार्न सकृय छ । एकले अर्कोको घृणा फैलाइरहेको देखिन्छ, सुनिन्छ । घृणा फैलाउनु भनेको अराजकता हो । चुनाव संसदका लागि भइरहेको छ, व्यवहार असंसदीय देखिन्छ । यसकारण पनि प्रश्न छ, यो चुनावले देश जित्छ कि विदेश ? जनता जित्छन् कि पराई ?
फागुन २१ को चुनाव संघारैमा आयसक्यो । हामी छौं चाहिं कता ? चौरस्तामा उभिएर चुनावको अर्थ र औचित्य कसरी पुष्टि हुन्छ ? यो गम्भीर परिस्थिति हो । देशको अस्तित्वको संकट हो । हरेक पार्टी झूठ बोलिरहेका छन्, हरेक नेता सपना बाँडिरहेका छन् । सत्यमा कोही उभिएका देखिदैनन्, सत्य कोही बोलिरहेका छैनन् ।
समस्या समाजमा छ, समस्या आर्थिक, राजनीतिक, सांस्कृतिक, धार्मिक सबैतिर छ । समस्या विविधतामा एकता कायम गर्ने छ । समस्या विकास र निर्माणमा छ । समस्या सुशासन किन भएन भन्ने छ ? समस्या राष्ट्रिय नीति, परराष्ट्र विश्वसनीयतामा छ । तर राजनीतिक शक्तिहरु छरिएका छन्, मुखैपिच्छे अलग अलग कुरा लिएर हिडेका छन् । ३ करोड जनता भएको मुलुकमा ८० लाख विदेशीएका छन्, बालबृद्धको संख्या उत्तिकै छ । यति सानो मुलुकमा ६८ दल चुनावी मैदानमा छन् । १६५ सिटका लागि ३४०६ उमेदवार चुनाव लडिरहेका छन् । यी सबै देश बनाउन अग्रसर छन् कि सांसद भएपछि लुट्न पाइन्छ भनेर आकर्षित भएका हुन् ? केही गर्छु भनेका हुन् भने तिनको ठोस् योजना किन सार्वजनिक हुँदैन ?
आज देशमा हरेक यौटा व्यक्ति अर्कोसँग सशंकित छ । यसको अर्थ सुरक्षा प्रत्याभूतिको स्थिति खलबलिएको छ । सुरक्षा नै छैन भने चुनावले सुरक्षा दिन्छ ? चुनाव पछि सुरक्षित वातावरण आउँछ ? कतै देश प्रयोगशाला त भइरहेको छैन । पटक पटक चुनाव भयो, परिवर्तन आयो, देश र जनताको अवस्था किन खस्कदै गयो ? यसको अर्थ हो प्रणाली असल भए पनि अगुवा कमसल प¥यो । नीति, नैतिकता नेतामा बाँकी रहेन ।
साँच्चै भन्ने हो भने १९०३ को कोतपर्व र अहिलेको राजनीतिमा खासै फरक छैन । यो चुनाव पनि भदौ २३ को कोतपर्वपछि नै हुनलागेको छ । न त्यतिबेला कसैमाथि दण्ड दिइयो, न अहिले ७६ जना मारिदा पनि कोही दण्डित भए । नेपालको सत्ता राजनीति नै खुकुरी, हत्या, हिंसाबाट अघि बढेको छ ।
यथार्थमा २०६५ सालको संविधानसभाले राजतन्त्र र हिन्दुराष्ट्र फाल्नु पनि कोतपर्व नै थियो ।
समस्या पद्धति थिएन, समस्या संविधान थियो । संविधानमा देशका सबै राजनीतिक शक्तिहरुलाई समेटेको भए समस्या आउने नै थिएन । जनताका सन्तानले ज्यान गुमाउनु पर्ने थिएन । संवैधानिक संरचना खरानी हुने थिएनन् । अझै पनि संवाद, सहमति र सहकार्य गरेर देश निर्माणमा अग्रसर हुने हो भने राष्ट्रिय अस्तित्व जगर्ना गर्न सकिन्छ । शान्ति, समृद्धि ल्याउन सकिन्छ । देशले जित्न सक्छ, जनताले जित्न सक्छन् ।
यसका लागि बुद्धिजीवी, थिङ्क टेंकदेखि चेतनशील सबैले विवेकशील हुनुप¥यो । विवेकी हुनासाथ दूध र पानी छुट्याउन, गलत र सही खुट्याउन सकिन्छ । आफ्ना भनेपछि जे पनि सहने र अर्को भनेपछि जसरी पनि दुत्कार्ने, आलोचना गर्ने गलत प्रवृत्तिले प्रश्रय पाउँदा नै वास्तावमा देशमा राजनीतिक विकृति र बिसंगति बढेको हो । राजनीति मूल हो, मूल प्रदूषित भएपछि नदी स्वच्छ हुनैसक्दैन । यही कारण हो शासन सत्तामा कानुनव्यवस्था बिथोलिएको । कानुन व्यवस्था बिथोलिएपछि जनतामा नैराश्यता बढ्छ, असन्तुष्टि चुलिन्छ र सडकमा पोखिन थाल्छ । समयमै जनआवाज सुन्न सकियो र असन्तुष्टि संवोधन गर्न सकियो भने सच्चिन सकिन्छ, सच्याउन सकिन्छ । यही नहुँदा भदौरे आन्दोलन भयो र बनिबनाउ सबै ध्वस्त हुनपुगे, खरानी हुनपुगे । सक्किने दिन आयो, सक्कियो ।
फागुन २१ को चुनावले संविधान निर्माण गर्नुछ, खरानीमाथि शासनसत्ता खडा गर्नुछ । जनताको आशा र अपेक्षा परिपूर्ति गर्नुछ । राष्ट्रिय समस्या र द्वन्द्वहरु समाधान गर्नुछ । यी सबै कार्य अहंकारबाट सम्भव छैन । सबैले अहंकार त्यागेर संवाद, सहमति र सहकार्य गर्ने हो भने निषेध र विभेदको अन्त्य र राजनीतिक स्थिति संग्लिन सक्छ । यसतिर राजनीतिक दलहरुको ध्यान जाने हो भने प्रजातान्त्रिक राष्ट्रवादको शिर उठाउन सकिन्छ ।
यो चुनावमा राष्ट्र र जनताले जित्नुपर्छ । यसका लागि सबैको सामुहिक प्रयास अनिवार्य छ ।





























