यी हुन रास्वपाका उम्मेदवार सँग पराजित भएका एमाले अध्यक्ष सहितका अध्यक्ष र सभापति
वि.सं.२०८२ फागुन २५ सोमवार १०:२७
shares

कैलाली । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । अहिलेसम्म तीन दलका सभापति र प्रमुख निर्वाचित हुँदा आधा दर्जन पार्टी सभापति र अध्यक्षको संसद् प्रवेशको बाटो तत्काललाई बन्द भएको छ ।
अहिलेसम्म रास्वपा सभापति रवि लामिछाने, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्ड र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ निर्वाचित भइसकेका छन् ।एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपा वरिष्ठ नेता बालेन शाहसँग झापा ५ मा ४९ हजार ६ सय १४ मतको अन्तरले हारे । ६८ हजार ३ सय ४८ मतसहित बालेन निर्वाचित हुँदा ओलीले १८ हजार ७ सय ३४ मत मात्रै प्राप्त गरेका थिए ।
कांग्रेस सभापति गगन थापा सर्लाही–४ मा रास्वपाकै अमरेश सिंहसँग १२ हजार ८ सय ५७ मतले पराजित भए । ३५ हजार ६ सय ८८ मत ल्याएर अमरेश विजयी हुँदा थापाले २२ हजार ८ सय ३१ मत मात्रै ल्याउन सके ।झापा–३ मा रास्वपाकै प्रकाश पाठकसँग २१ हजार ३ सय ८० मतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन पराजित भए ।पाठकले ३८ हजार ६ सय ७४ मत ल्याएर विजयी हुँदा लिङ्देनले १७ हजार २ सय ९४ मत मात्रै ल्याउन सके ।
त्यस्तै उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौँ–३ मा रास्वपाका राजुनाथ पाण्डेसँग हारे । १८ हजार ७ सय ५७ मत ल्याएर पाण्डे विजयी हुँदा घिसिङले ११ हजार १ सय ७१ मत ल्याए ।जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो र जनमत पार्टीका अध्यक्ष सीके राउत पनि रास्वपाकै उम्मेदवारसँग पराजित भए ।सप्तरी–३ बाट रास्वपाका अमरकान्त चौधरीले ३२ हजार ८ सय ७५ मत प्राप्त गरेर निर्वाचित हुँदा जसपा अध्यक्ष यादवले जम्मा १५ हजार २ सय ३९ मत पाए ।
राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष महतो सर्लाही–२ मा रास्वपाका रविन महतोसँग पराजित भए । ४२ हजार ५ सय १२ मत ल्याएर रविन निर्वाचित हुँदा राजेन्द्रले जम्मा ५ हजार ९ सय ९२ मत मात्रै पाए ।सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष सीके राउतलाई रास्वपाकै रामजी यादवले हराए । २८ हजार ४ सय ४ मत ल्याएर रामजीले चुनाव जित्दा सिके राउत तेस्रो भए ।
एमाले कांग्रेसहितका सात दलका अध्यक्ष तथा सभापति रास्वपाकै उम्मेदवारहरूसँगै पराजित भएका हुन् ।































