बैकल्पिक राजनीतिमा भिडतन्त्रको समस्या
भिडतन्त्रले देश बनाएको इतिहास छैन ?
वि.सं.२०८२ माघ २२ बिहीवार १२:१४
shares

भाद्र २३ र २४ गते भएको विरोध प्रदर्शन र ध्वसात्मक काण्डपछि मुलुक फेरी संकटको घेराभित्र पर्दै गएको छ । पुराना भनिएका दलहरु नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दल र तिनका नेताहरुलाई गाली गलौज गर्नु नै नयाँ भनिएका दलहरुको उपलब्धि भएको जस्तो देखिएको छ । नयाँ भनिएका दलहरुमा देखिएको भिडले मुलुकको समस्या समाधान हुन सक्ने अवस्था देखिँदैन । पुराना भनिएका दलहरु भित्रै पनि असन्तुष्टि धेरै रहेका छन् । आन्तरिक सुधारको माग गर्दै उठेको स्वरहरु सम्बोधन हुन नसक्दा दलहरु विभाजित समेत भएका धेरै उदाहरण रहेका छन् । विभाजित भएका दलहरुले पनि बैकल्पिक राजनीति निर्माण गर्न सकेको देखिँदैन । यसबाट के प्रष्ट हुन्छ भने जना बदलेर मात्र बैकल्पिक शक्ति निर्माण गर्न सकिँदो रहेनछ भनेर प्रष्ट हुन्छ । त्यसैले सोँच, चिन्तन र प्रवृत्ति बदल्नु अनिवार्य रहेको छ ।
पछिल्लो समयमा बैकल्पिक राजनीतिका नाममा देखिएको अर्को गम्भीर समस्या भनेको व्यक्ति केन्द्रीत राजनीति हो । सूचना प्रविधिको अहिलेको अवस्थामा विचार भन्दा व्यक्तिलाई ठुलो बनाइयो । सुचना प्रविधिको युगमा व्यक्तिलाई नै देवत्वकरण गरियो । त्यस्ता व्यक्तिको लोकप्रियता घट्दै जाँदा संगठन कमजोर हुने निश्चित जस्तै रहेको छ । करिब ३ वर्ष अघि गठन भएको रास्वपाले पहिलो पटकमै संसदमा उपस्थित जनाउन सकेको थियो । सो पार्टीका अध्यक्ष रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै विभिन्न जिल्लामा उनी विरुद्ध मुद्दा परेपछि उनी पक्राउ परे । तर रास्वपाले आफ्ना सभापतिलाई तत्कालीन केपी ओली सरकारले प्रतिशोध लिएको भन्दै विरोध गरिरहेको थियो । रास्वपालाई पहिलो पटक सरकारमा सामेल गराउने तिनै केपी ओली थिए । सभापति लामिछोलाई उपप्रधानसहित गृहमन्त्री बनाइएको थियो । त्यसबेला लामिछानेका विभिन्न कसुरहरु बाहिरिए । दुई दुई वटा पासपोर्ट र नेपाली नागरिकता नलिई रद्द भैसकेको नेपाली नागरिकता नै प्रयोग गरेको उजुरी परेपछि उनी पदमुक्त भए, अब भन्नुहोस् ओली सरकारले कसरी रविमाथि प्रतिशोध लियो ?
अहिले पनि लामिछाने माथि ५ वटा जिल्लामा सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधका मुद्दा विचाराधिन रहिरहेको अवस्थामा रास्वपाले काठमाडौ महानगरका तत्कालिन मेयर बालेन साहलाई आफ्नो पार्टीको उम्मेदवार बनाएर भावि प्रधानमन्त्रीको रुपमा घोषणा गरेको छ । रास्वपाले बालेनको लोकप्रियतालाई भजाएर आफ्नो पार्टीको स्वार्थ पूरा गर्ने उदेश्य लिएको देखिन्छ । भाद्र २३ र २४ गते भएको विध्वसात्मक घटनामा बालेनको सहमति थियो भने भाद्र २३ गते विरोध प्रदर्शन गर्ने जेनजीहरुले नै बताइरहेका हुनाले बालेन समेत २३ गतेको घटनामा अप्रत्यक्ष रुपमा संलग्न रहेको देखिन्छ । रास्वपाले बालेनसँग गरेको सहमतिको ४ नम्वर बुँदामा जेनजीहरुले गरेको आन्दोलनको स्वामिव लिने सहमतिमा रास्वपा र बालेनले सही गरेको हुनाले भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेका व्यक्तिहरुले नै भाद्र २४ गते विध्वसात्मक घटना घटाएको प्रमाणित भएन र ?
राजनीति व्यक्तिमा सिमित भएपछि त्यसबेला असहमति देशद्रोह भन्ने लाग्छ । यस्तो अवस्थामा स्वास्थ्य राजनीति बहस हुन सक्दैन र संगठन भिडतन्त्रमा रुपान्तरण हुन्छ । अहिले रास्वपाप्रति देखिएको भिड त्यसैको प्रतिकमात्र हो । असन्तुष्टिहरु विकल्प बन्न नसक्नुको अर्को कारण हो सत्ता अभ्यासप्रतिको डर । सत्ता बाहिर बसेर आलोचना गर्नु जति सहज हुन्छ त्यति सत्ता सञ्चालन गर्न सहज हुँदैन । पछिल्लो समयमा बैकल्पिक भनिएका धेरै दलहरु सत्तातर्फ नजिकिँदा अन्योलग्रस्त देखिन्थ्यो । शासनको स्पष्ट विकल्प दिनुको सट्टा उनीहरु फेरी सत्तामै बसेर विरोधको भाषामै सिमित भए त्यसको प्रत्यक्ष प्रमाण हो रास्वपा । रास्वपा सत्तामै बसेर विरोधको भाषा बोल्ने र सत्तालाई आफ्नो पार्टी निर्माणका चस्मा अघि बढाउने खेलमा सिमित भएको विगतले देखाएको छ ।
देश सँधै संगठित, अनुशासित र बैचारिक राजनीति शक्तिले बनाएको इतिहास रहेको छ । असन्तुष्टिको झुण्डले देश बनाएको इतिहास छैन । असन्तुष्टिले परिवर्तनको ढोका खोल्न सक्छ तर त्यो ढोकाबाट देशलाई अघि बढाउने काम संगठित राजनीतिक शक्तिले मात्र गर्न सक्छ । अझैपनि नेपालमा बैकल्पिकराजनीतिक सम्भव छ तर त्यसका लागि त्यसैलाई आधार बनाएर अड्किनु हुँदैन । असन्तुष्टिलाई विचारमा विचारलाई नीतिमा र नीतिलाई संस्थागत अभ्यासमा रुपान्तरण गर्न सकिएका खण्डमा मात्र बैकल्पिक शक्ति बन्न सकिन्छ । अहिले नेपालको राजनीतिमा सबै भन्दा ठुलो आवश्यकता भनेको धैर्यता, स्पष्टता र इमान्दार राजनीतिक अभ्यास हो । विकल्पको सपना देखाउने मात्र होइन त्यसलाई कार्यान्वयन गर्ने क्षमता देखाउन सक्ने नेतृत्व अहिले चाहिएको छ ।
भिडले नेतृत्व होइन राष्ट्र निर्माणको जिम्मेवारी लिन सक्ने नेतृत्व आजको आवश्यकता हो । असन्तुष्टिमा अड्किनु घातक सावित हुन सक्छ । नेपालको अहिलेको समस्या भनेको विकल्पको अभाव होइन, विकल्पको नाममा फैल्याइएको भ्रम मात्र हो । कुनै एउटा नेतालाई देवत्वकरण गरेर नयाँ पार्टीको नाम दिँदैमा त्यसले समस्याको समाधान गर्न सक्ने सम्भावना नै देखिँदैन । नयाँ दलहरुमा अहिले देखिएको भिडतन्त्र हिजो अहिलेका पुराना दलहरुमा समेत देखिएको थियो । तर त्यो भिडतन्त्र पुराना दलहरुमा धेरै टिक्न सकेन । पुराना दलहरु व्यवस्थित र जनताप्रति उत्तरदायी हुन थालेपछि अवसर खोज्दै हिजोको भिडतन्त्र अहिले एउटा व्यक्तिलाई देवत्वकरण गर्दै उसैका पछि लागेको छ । यस्तो भिडतन्त्रले विश्वको कुनै मुलुक बनेको इतिहास आजसम्म छैन । भिडतन्त्रले होइन धैर्यता, स्वास्थ, संगठित, अनुशासित विचारले मात्र देश बन्न सक्छ । भिडतन्त्र आज आउँछ भोली जान्छ त्यो भिडतन्त्र बर्षामा आउने बाढीमात्र हो भन्ने हामीले ठानेका छौँ । जसको प्रमाण हो रास्वपा !































