नेपाल बार एसोसिएनले पत्रकार किशोर श्रेष्ठको पक्राउमा जनायो आपति, निशर्त रिहा गर्न माग
वि.सं.२०८३ साउन २८ बिहीवार १७:२७
shares

काठमाडौं । नेपाल बार एसोसिएसनले पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति आपत्ति जनाएको छ । बारको मानव अधिकार तथा जनसरोकार समितिले एक विज्ञप्ति जारी गर्दै श्रेष्ठलाई तत्काल र निशर्त रिहा गर्न सरकारसँग माग गरेको छ ।
समितिका सह-संयोजक अधिवक्ता डा. राजेन्द्र घिमिरे र सदस्य सचिव अधिवक्ता किरण न्यौपानेद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तिमा समाचारको विषयमा कुनै गुनासो भए प्रचलित कानूनी प्रक्रियामार्फत समाधान खोजिनुपर्ने विश्वव्यापी मान्यतालाई लत्याएर प्रहरीले धरपकड गरेकोमा चिन्ता व्यक्त गरिएको छ ।विज्ञप्तिमा भनिएको छ, ‘समाचार लेखेकै आधारमा सञ्चारकर्मीलाई पक्राउ गरिनु, सञ्चार गृह बन्द गराउनु र परिवारका सदस्यहरूलाई मानसिक यातना दिने कार्य आधुनिक समयमा पटक्कै सुहाउँदैन ।’
नेपालको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र स्वतन्त्र पत्रकारिता लोकतान्त्रिक व्यवस्थाका मुख्य गहना भएको स्मरण गराउँदै समितिले यस्ता क्रियाकलापले लोकतन्त्रलाई नै कमजोर बनाउने बारले जनाएको छ ।हिरासतमै रहेको अवस्थामा पनि सम्पादक श्रेष्ठलाई उनका परिवार र कानून व्यवसायीसँग भेट्न नदिनु संविधानप्रदत्त मौलिक हकको विरुद्ध रहेको बारको ठहर छ।
‘हिरासतमै रहेको अवस्थामा निजका परिवार तथा कानून व्यवसायीहरूलाई समेत भेट्न नदिएको भन्ने समाचार प्राप्त भएको हुँदा यस विषयमा समेत सरोकार दर्साई निजलाई संविधान प्रदत्त अधिकार प्रदान गर्नका लागि सम्बन्धित सुरक्षा निकायहरूको ध्यानाकर्षण गराउँछौँ,’ विज्ञप्तिमा भनिएको छ।श्रेष्ठको पक्राउले सञ्चार क्षेत्रमा त्रास सिर्जना गरिएको भन्दै त्रासदीपूर्ण वातावरणको अन्त्य गर्न र नागरिकको सुसूचित हुन पाउने हकलाई कुनै पनि बहानामा अङ्कुश नलगाउन सरकारको ध्यानाकर्षण गराइएको छ ।





































