किशोर श्रेष्ठको पक्राउबारे के भन्यो प्रेस काउन्सिलले ?
वि.सं.२०८३ साउन २८ बिहीवार १६:००
shares

काठमाडौं । प्रेस काउन्सिल नेपालले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको पक्राउबारे धारणा सार्वजनिक गरेको छ । काउन्सिलका प्रवक्ता दीपक खनालले बिहीबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै पत्रकार श्रेष्ठको पक्राउ र जनआस्था साप्ताहिकको कार्यालय खानतलासीबारे गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
‘आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई २०८३ साउन २७ गते बुधबार राति पक्राउ गरी उहाँको निजी निवास खानतलासी भएको र आज बिहानै उक्त सञ्चार माध्यमको कार्यालयमा हातहतियारसहित प्रवेश गरी कम्प्युटरलगायत सामग्री जफत गरिएको घटनाप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।नागरिकको सूचनाको हकको प्रत्याभूति प्रेस स्वतन्त्रताबाटै हुने भएकाले प्रेसको मर्यादा कायम राख्नु सम्बद्ध सबैको कर्तव्य रहेको र प्रेस स्वतन्त्रताको सदुपयोग र सम्मान हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
‘काउन्सिल सञ्चारकर्मको क्रममा पत्रकार/सञ्चारकर्मीद्वारा प्रस्तुत कार्यशैली, व्यवहार तथा पेसागत मर्यादा एवं आचरणप्रति पनि उत्तिकै चिन्तित छ,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रेस स्वतन्त्रताको प्रयोग गर्ने नाममा हुनसक्ने स्वच्छन्दतातर्फ सबै पत्रकार/सञ्चारकर्मी सचेत हुनैपर्दछ ।’सत्य, तथ्य र सन्तुलित एवं विश्वसनीय पत्रकारिताको माध्यमबाट यसको व्यावसायिक अभ्यासलाई उच्च पेसागत मर्यादित, जवाफदेही एवं उत्तरदायी बनाउँदै प्रेस स्वतन्त्रताको दुरूपयोग हुन नदिनेतर्फ सजगता अपनाउनै पर्ने विज्ञप्तिमा अगाडि उल्लेख छ ।
‘अत: काउन्सिलले आफ्नो क्षेत्राधिकारभित्र रहेर दुवै दृष्टिकोणबाट पत्रकार र सञ्चारमाध्यमको अनुगमन गर्दै आएको विषयलाई मध्यनजर गरी कुनै समाचारको विषयमा चित्त नबुझे काउन्सिलमा उजुरी दिन सरोकारवाला सबै पक्षमा विनम्र अनुरोध गर्दछ,’ काउन्सिलले भनेको छ ।




































