सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संविधानले काम गरेन, यसरी कहिलेसम्म चल्छ ?

494
shares
  • राजन कार्की

संविधानले कामा गरेन, यसरी कहिलेसम्म चल्छ ? डा.प्रकाशचन्द्र लोहनीले भनेजस्तो लथालिङ्ग देशको भताभुङ्ग चाल, जसजसले सक्ला उसउसले खाला । ठूला दलहरु लखनौं लूट अभियानमा छन् । उनीहरुलाई भ्रष्ट, अनैतिक, अपराधिक समूहले सञ्चालन गरिरहेका छन् । यति ठूलो परिवर्तन हलो काटेर मुङ्ग्रो बन्यो । नेतृत्वको सवलता र नैतिक उच्चता भ्रष्टाचारको दलदलमा नराम्ररी फसिसकेको छ । देश र जनताप्रतिको जवाफदेहीता र उत्तरदायित्वपन शासन र प्रशासन कतै पनि देखिन्न । बुद्धिजीवी समुदायसमेत यही बाढीमा बगेका छन् ।

यसकारण त नागरिकहरु पार्टी पार्टीमा बिभाजित छन् । नागरिक समाज र बुद्धिजीवीहरु पनि पार्टी पार्टीमा समाहित छन्, बाँडिएका छन् । आ–आफ्ना पार्टीका तन्त्र मन्त्र बोक्छन् र अरिङ्गाल, छौँडा बनेका छन् । आमनारिक जो पार्टीमा छैनन्, ती पीडामा छन्, छटपटीमा छन्, तिनको कुरा सुन्ने र तिनका अपेक्षा पूरा गर्ने कोही छैनन् ।

संविधानले देश सम्हाल्नुपर्ने हो । सरकार र पार्टीहरुले संविधानको घाँटी अँठ्याएर संविधानलाई ‘बिचरो’ बनाएका छन् । संविधान आदर्श होला, सरकार संवैधानिक आदर्शलाई दिनदिनै उल्लंघन गरिरहेको छ । संविधानको ब्याख्या गर्ने र असंवैधानिक क्रियाकलापलाई निगरानी र नियमन गर्ने अदालत सर्वोच्च होइन, सर्वदलीय बनेको छ । जब अदालतका न्यायाधीशहरु संविधानप्रति होइन, सर्वदलप्रति आस्था राख्छन्, विश्वास गर्छन् र उत्तरदायी बन्छन्, संविधान दुर्घटनामा पर्छ । यो समय संविधान रगतपच्छे भएको बेला हो । सर्वोच्चका प्रधानन्यायाधीश र न्यायाधीशमाथि महाभियोग लगाउनु पर्ने माँग उठेको छ, सडकमा सर्वोच्चको सवोर््च्च सम्मान धुवाँ बनेर उडिरहेको छ । आमनागरिकको विश्वास सरकार, पार्टीहरु र अदालतले गुमाएको अवस्था छ ।

जब पद्धतिमा यसरी कानुनव्यवस्था बिग्रन जान्छ, बिथोलिन जान्छ, तव पद्धतिमाथि नै सङ्कट पर्छ । यो समय जतिसुकै उत्तम व्यवस्था भए पनि व्यक्तिका, पार्टीका, नेता–नेतृत्वका, शासक–प्रशासकका अनुशासनहीन, मर्यादाहीन, अलोकतान्त्रिक क्रियालापका कारण संक्रमण बढेको छ । यो संक्रमण महामारी हो । कोभिड–१९, कोरोना भाइरसभन्दा खतरनाक छ राष्ट्रका लागि यो सङ्क्रमण । प्रश्न छ, सम्हाल्ने कसले ? राजनेता कोही छैनन् । जो छन्, गुटका नेता छन् । जो छन्, अहंकारी छन् । जो छन्, राष्ट्र र जनताप्रति इमानदार छैनन् । नेपालका सामु डरलाग्दा दिनहरु देखिदैछन् ।

यही मौकामा सीमामा अतिक्रमण बढेका छन् । यही समयमा ठूला छिमेकी र विश्वशक्तिहरुसँग सम्बन्ध चिस्सिएको छ । राजनीति टुक्रिएको छ, क्षमताहीन बनेको छ । कूटनीति असफल छ । खियाले खाएको फलामजस्तो प्रशासन अनियमितताले खाइरहेको छ । आफ्नै घोषणापत्र बिर्सेका पार्टी र आफ्नै कबुल भुल्ने नेता, संविधानको सपथ खाएर संविधान मिच्ने, आगो लगाउनेहरुले देशको छानो बालेर स्वार्थको व्यापार गरिरहेका छन् । यसकारण यक्ष प्रश्न उठेको हो– यो देश सम्भाल्ने कसले ?

कुबेरको घरमा तेलको दुःख । बुद्धको देशमा अराजकता र अशान्ति । जनताले मिलिजुली चलाउ भन्दा पनि चलाउन सकेनन् । एकलौटी चलाउ भनेर दुई तिहाइ दिँदा पनि चलाउन सकेनन् । देश रुनु अर्थात द्रोपदीले आँसु झार्नुर भीमले किचक मार्नु उस्तै पो भयो । लोकतन्त्र आखिर बाँदरको हातमा नरिवल नै भयो ।
जनताले खोजेकै हुन् भनेर राजाले सर्लक्क पन्छिदिए । जनताको नासो जनतालँई नै दिए । जनताको नासो चलाउन खेलाउन पाएका नेताहरुले यतिबिघ्न दुरुपयोग गरे कि लोकतन्त्र ओल्लो किनार न पल्लो तीर पो हुनपुग्यो । लोकतन्त्र राजदरवार परिसरमा उभ्याइएको लोकतान्त्रिक मोनमेन्टमा सिमित हुनपुगेको छ । लोकतन्त्र लोकजीवन बन्नसकेन । लोकतन्त्र त केही पार्टीहरुको मौजा बन्यो । मण्डी ओढेर घ्यू खाने शाहूकारीमा सिमित हुनपुग्यो ।

ठूला साना पार्टीभित्र नेतृत्वको यतिबिघ्न बिबाद छ कि उनीहरुलाई राष्ट्रिय समस्या, जनताको अपेक्षा हेर्ने सुन्ने र केही गर्ने फुर्सद नै छैन । जे छ, सत्ता छ, सम्पत्ति छ, सत्ताको दुरुपयोग छ । हुँदा हुँदा अदालतलाई समेत सडकमा घिसारेर ल्याए नैतिकहीनहरुले । शक्ति सन्तुलनका सिद्धान्तहरु जो थिए, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका । यी तिनै अङ्ग सडकमा मूर्दावादका विषय बनेका छन् । इनफ इज इनफका नारा बनेका छन् ।

सरकारले सुनेन, प्रशासकले सुनेनन्, बाहुबलीले हेपेपछि कमजोरले न्याय माँग्न जाने अदालतमा हो । अदालतलाई कार्यपालिका र व्यवस्थापिकाले अपराधशाला बनाएपछि जनताले कहाँ जाने, कोसँग गुहार माग्ने ? जनता यतिबेला बिलखबन्दमा परेका छन् । संविधान छ, कागजको खोस्टोमा सिमित छ । लोकतन्त्र छ, भ्रष्टाचारको दलदल बनेको छ । इमानको खडेरीले जनताको मन र संविधानको मर्म चरचरी चिरिएको छ ।

राजनीति भ्रष्ट भयो, नैतिकहीन भयो । शासक र प्रशासक भ्रष्ट भए, भ्रष्टाचारको दलदलमा भैँसी आहाल बसेजसरी बसेका छन् । नियमन र नियन्त्रण निकायहरु सबै सरकारले लगाम कसेर राखेको छ । व्यभिचार र बेइमानीले हद नाघेको छ, संवैधानिक पदहरु बिक्रीमा राखिएका छन् । अव मुलुक कृष्णभीरमा पुग्यो, असफल मुलुकका सबै अवगुणहरुले देशलाई कूशासनले चाइरहेको छ ।

साबुत नक्सा छापियो भनेर भन्नेहरु त्यसको जस लिन र सत्तामा पुग्न, टिक्न मारामार गरिरहेका छन् । देशहित, जनहित, विकास र परिवर्तनका लागि कुनै प्रतिस्पर्धा छैन । लडाइँ सत्ताका लागि छ, अहंतुष्टिमा सिमित छ । भारतले नेपाली भूमि दावी गरेको कालापानी, लिम्पियाधुरा, लिपुलेकमा नेपालीलाई आवतजावत गर्नसमेत बन्देज लगाइदियो । नेपाल सरकारलाई चिठी नै लेखेर बन्देज लगाइदियो । यो अवस्थामा नेपाली एकताले हरप्रकारका अतिक्रमण परास्त गर्नुपर्नेमा आफू आफूमै खुट्टा तानातानको खेल चलिरहेको छ । को बलियो, को पहलमान भन्ने साँढे जुधाई व्यापक बन्दै गएको छ ।

अर्थात संविधान दुर्घटनाग्रस्त भयो ।
अर्थात कानुन व्यवस्था चरमरायो ।
अर्थात लोकतन्त्र मनलागीतन्त्र हुनपुग्यो ।
अर्थात जनता र देश विदेशी खेल मैदान बन्यो ।

फेरि पनि प्रश्न उठ्छ– यो अवस्थामा सम्हाल्ने कसले ? वर्तमान कालखण्डमा नेपालका सामु सबैभन्दा महत्वपूर्ण प्रश्न हो यो । सवालको जवाफ खोज्नै पर्छ र जवाफ सिंहदरवार भित्र र बाहिरका सबै प्रकारका लोकतान्त्रिक शक्तिहरुवीच गोलमेच सम्मेलन गरेर निस्कने निकासमा निर्भर छ । जब स्थापित कुनै पनि पार्टी र नेताप्रति जनताको विश्वास रहँदैन, स्थापित पार्टीहरुले देश र जनतालाई संवोधन गर्न सक्दैनन् र संविधान सडकको मूर्दावादमा अनुवाद हुनपुग्छ, तव जनताले सडकबाट चिच्याउँछ, चिच्याइरहेको छ– न्याय चाहियो । न्याय दिन र देशप्रति न्याय गर्न सबै शक्तिहरुको चिन्तन मनन र सर्वग्राह्य सहमति जरुरी हुन्छ । अन्यथा पराधीन चाहनेहरुको हस्तक्षेप सफल हुँदैजानेछ ।
आजको प्रश्न के पनि छ भने स्वतन्त्र र स्वाधीन नेपाल स्वराज, स्वाभिमान र स्वतन्त्र रहिरहने कि नरहने ? भन्ने हो । चीन, भारत, अमेरिकादेखि अनेक शक्तिहरु सलबलाएका छन् नेपाली माटोमाथि, तिनलाई सीमामा राखेर स्वाभिमान बचाउन खुट्टा दह्रो पार्ने समय यही हो ।

जसले यो देश निर्माण गरे, त्यो शक्ति पनि तमासा हेरेर बस्न सक्दैन । राष्ट्रिय सहमति र सहकार्यमा भूमिगत शक्ति पनि वक्तव्य दिएर बस्ने होइन । यदि यही स्थितिमा देशलाई छाडिदिने हो भने निधारमा लोकतान्त्रिक ठाडो टिका लगाएका जाली नेताहरुले देशको अस्तित्वलाई नगरबधु बनाएर छाडिदिने भए । न आन्तरिक नीति साबुत छ, न बाह्यनीति नै बलियो छ । देशका सबै आधारहरु खस्किदै गएका छन् । थामहरु ढलिरहेका छन्, मूलथाम भनेर ल्याएको लोकतन्त्र पनि ढल्ने स्थितिमा छ । मूलथाम नढल्दै सतिसाल शक्तिहरुले आड दिनुप¥यो । देश बचे बाँकी लेनदेन, तेरोमेरो झगडा जति गरे पनि भयो ।

हुलमूलमा जीउ जोगाउनु, अनिकालमा बीउ जोगाउनु भन्ने बुढापुरानाको कथन छ । हाम्रो कमजोरीको लाभ उठाएर विदेशीहरु हुलहुज्जत गरिरहेका छन् । यो हमलाबाट कसरी नेपाललाई बचाउने ? हाम्रा सामु तत्कालको चुनौती यही हो । यो चुनौति अव धोती खुस्किसकेको संविधान र संसदीय शक्तिबाटमात्र सम्भव छैन । जनता र सबै राजनीतिक शक्तिहरुको पुनर्ताजकीकरण एकता जरुरी छ । देशवाद छातीमा छ भने त्यो नयाँ जागरण, एकता असम्भव छैन । १९७५ मा सिक्किममा विदेशीले जे गरे, संवैधानिक शक्ति जसरी विदेशीका सामु नतमस्तक भयो, त्यस्तो घटना नेपालमा नहोस् । नेपाली जन जनमा नेपाल भक्तिको कुनै कमी छैन । कमी छ त नेताहरुमा नैतिकताको कमी हो । स्वार्थन्धतामा घेरिएका र सत्तालिप्सामा बेरिएकाहरुलाई झकझक्याउने काम जनताले सडकबाट गरिरहेका छन् ।
त्यो आवाज अहिले नसुने कहिले सुन्ने ?

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports