जलवायु परिवर्तनको असरबारे बुझ्न अमेरिकी सिनेटरको टोली काठमाडौं नजिकै पदयात्रामा जाने
वि.सं.२०७९ वैशाख ९ शुक्रवार १६:४३
shares

काठमाडौं ।चार जना अमेरिकी सिनेटर र एक जना सांसदले शनिबार काठमाडौं नजिकै पदयात्रा गर्ने भएका छन्। काठमाडौं स्थित अमेरिकी दूतावासका अनुसार उनीहरू शनिबार जलवायु परिवर्तनको असर बारे बुझ्न पदयात्रामा भाग लिने जनाएको छ।
सिनेटर किर्स्टन जिलिब्रान्ड (न्युयोर्क) को नेतृत्वमा रहेको टोलीमा सिनेटरहरू सेल्डन ह्वाइटहाउस (रोड आइल्याण्ड), कोरी बुकर (न्यु जर्सी), मार्क केली (एरिजोना) र प्रतिनिधि सभा सदस्य मोन्डेयर जोन्स (१७औं कङ्ग्रेसनल डिस्ट्रिक्ट, न्यूयोर्क) छन्। उनीहरू शुक्रबार साँझ साढे ६ बजे तिर काठमाडौं आइपुग्ने कार्यक्रम छ।
औपचारिक भ्रमणमा आउन लागेको अमेरिकी संसदीय टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य सरकारी अधिकारी तथा राजनीतिक नेतृत्व सँग भेटघाट गरेर विभिन्न विषयमा छलफल गर्नेछ। उनीहरूको समूह हिमालय क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव माथि समेत केन्द्रित छ। यस गम्भीर सङ्कटका बारेमा थप बुझ्नका लागि उनीहरूले शनिबार दिउँसो एक पदयात्रामा भाग लिने योजना बनाएको दूतावासले जनाएको छ।
‘उहाँहरू पोल्यान्ड र भारत लगायतका देशहरूको लामो भ्रमणको सिलसिलामा नेपाल आउन लाग्नुभएको हो। रूसको नाजायज र अन्यायपूर्ण युद्धका विरूद्ध अमेरिकाले युक्रेन र नेटो गठबन्धन प्रतिको आफ्नो सहयोगलाई कसरी जारी राख्न सक्छ भन्नेबारे बुझ्नका लागि संसदीय टोलीले पोल्यान्डको यात्रा गरेको थियो,’ दूतावासले भनेको छ। अमेरिकी सिनेटरको टोली आइतबार फर्किने कार्यक्रम छ।






































