संविधान किन सिनो गनाएजस्तो गनायो
वि.सं.२०७८ असार १० बिहीवार १७:१३
shares

राजन कार्की
राजनीति भनेको हरेक विवादको निकास हो । संविधान भनेको विधि र प्रक्रिया हो । अनुशासन हो । झगडामात्र गर्ने राजनीति र विधि र प्रक्रिया निर्धारित गर्न नसक्ने संविधान हुनु र नहुनुको कुनै अर्थ छैन ।
जुन देशमा लोकप्रतिको जिम्मेवारी र लोकलज्जा हुन्छ, त्यो देशमा संविधान नै चाहिन्न । जस्तो बेलायत । त्यहाँ लोकलज्जा र लोकतन्त्रप्रति जवाफदेहिता छ । नेपालमा लोकतन्त्र छ, लोकलज्जा छैन, जवाफदेहिता पनि छैन ।
यहीकारण हो, अराजक स्थितिको सिर्जना हुनपुग्यो । सम्पूर्ण सवालको जवाफ अदालतसँग खोज्ने र अदालतलाई प्रभाव पार्न सडकमा जुलुस निकाल्ने काम भइरहेको छ । अदालतमा भागबण्डामा नियुक्त भएका न्यायाधीश छन् भने सडकमा आफ्ना पार्टीका भातृसंगठनहरुलाई उतारिएको छ । यसको अर्थ राजनीतिलाई अराजक बनाएर सत्ता आफ्नो पक्षमा पार्ने प्रयास भइरहेको छ । यी परिदृश्यहरु भनेको संविधान असफल भएका क्रियाकलाप हुन् ।
हुन पनि आज सरकारप्रति विश्वास छैन । प्रतिपक्षी विश्वासिलो हुनसकेको छैन । अदालतप्रति जनता निराश छन् । नागरिक समाज यही निराशालाई मलजल गरिरहेका छन् । लोकतन्त्रमा यस प्रकारको छाडातन्त्र हावी भएको छ ।
प्रतिपक्षीहरुको आवाज सुनौं– अब ओली फालिन्छ, यो निरङ्कूशलाई ढालिन्छ भनेको २ वर्ष भयो, अहिले पनि प्रचण्ड, माधव नेपाल, बाबुराम, उपेन्द्र यादवहरु भनिरहेका छन् । अझ यिनको टेको लगाएर कांग्रेस सभापति शेरवहादुर देउवासमेत थपिएका छन् । तर यी नेता हुन् कि मानसिक सन्तुलन गुमाएका व्यक्ति हुन्, जो बर्बराइरहन्छन्, नतिजा केही दिन सक्दैनन् ।
राजनीति भनेको निकास दिने माध्यम हो, राजनीति आफैमा गुजुल्टिएको छ । ओली स्वेच्छाचारी बनेका छन्, उनलाई निरङ्कूश भनिरहेका छन् । संविधानको माला जप्नेहरु संवैधानिक र राजनीतिक मर्यादामा आफै बसेका देखिदैनन् ।
मानसिक असन्तुलन भएकाले सडकमा देखाएको ल्याङ्फ्याङ्गे चालढाल जस्तो बनिसकेको संविधान यतिबेला अदालतको शरणमा पुगेको छ । संविधान भनेको अदालतबाहेक केही पनि बाँकी छैन । अदालत पनि कस्तो, यिनै राजनीतिक नेताहरुको भागबण्डामा नियुक्त भएका न्यायाधीशहरुको । जसलाई आफ्नो स्वार्थ पूरा भएन भने भनेर दाह्रा किट्दै माइतीघर मण्डलाबाट भनेकै हुन्– अफगानिस्तानमा जस्तो न्यायाधीशलाई घिसारेर ल्याउन नपरोस् ।
पूर्व न्यायाधीशहरुले पनि यही बोलीमा बल पु¥याउन बक्तव्य दिएकै हुन्, फेरि पनि दिएकै छन् । अर्थात् संविधान दुर्घटनाग्रस्त भइसक्यो । लोकतन्त्र कुहिएको फर्सीजस्तो अनुभूत भइरहेको छ । यो लथालिङ्ग अवस्थाबाट कसरी सम्हालिने, आजको प्रश्न यो हो ।
प्रचण्ड–माधव–देउवा–जनमोर्चा–उपेन्द्र समूह भन्छ– ओलीको निरङ्कूशता फालिन्छ फालिन्छ । ओली फालिए भने आउने कुन अग्रगमन हो ? उनै देउवा र प्रचण्ड माधवका नेता न हुन् । कुन नेता जनताले पत्याएका नेता हुन् ? कुन नेता लोकतन्त्रका होनहार छन् ? जनताले आश गर्ने र विश्वास गर्न लायक कोही छैनन् भने ओली जानु र ओलीको ठाउँमा अर्को व्यक्ति आउनुले जनतालाई के फरक पर्छ ?
आजको पहिलो प्राथमिकता कोरोनाविरुद्धको युद्ध जित्नु र बचाउनु हो । सत्तामा जान लालायित कुन नेताले यस विषयमा बहस चलाएका छन्, प्रयास गरेका छन् ? छैनन् भने ओली फालिदैमा अथवा अर्को नेता सत्तामा जाँदैमा मृत्युको मुखबाट जनता कसरी बाँच्न सक्छन् ?
एकातिर भूकम्पबाट उठ्न नसकेका अझै धेरै छन् । अर्कोतिर कोरोनाले दपेटेर बाँचेकालाई पनि इन्तु न चिन्तु पारेको छ । त्यसमाथि बाढी पहिरोले पार्नु सखाप पारिसक्यो । यतिधेरै महाविपत झेलिरहेका जनतासँग उभिन न सरकार, न सांसद, न प्रतिपक्षी, न नागरिक समाज, न राजनीतिक कार्यकर्ता तैयार छन् भने यस्तो पनि संवैधानिक प्रणाली हुनसक्छ ? घाटे बैद्यको रुपमा अदालत छ । अदालतले एउटा पक्षलाई हराएर अर्को पक्षलाई जिताउँदा संविधानले कसरी जित्छ ? सामुहिक रुपमा आस्थाको लोकतन्त्रले कसरी जित्नसक्छ ?
परिवर्तनकारी लम्पसार नै परे त । स्वदेशी शक्तिहरूमा झगडा, मुद्दा, मारामार, खुट्टा तानातान, विदेशी शक्ति यिनलाई उछाल पछार गरेर अभिष्ठ पूरा गर्न चलखेल गरिरहेका छन् ।
सकियो, नेपालको परराष्ट्रनीति सकियो । राजनीति सकियो । सांस्कृतिक र सामाजिक सद्भाव पनि सकियो । राष्ट्रवादी दूरवीन लगाएर जसले हेरे पनि देखिने नाङ्गो सत्य भनेको नेपाल घरी घरी पहिरो गइरहने कृष्णभीर बन्यो ।
निरङ्कूश पञ्चायतले उठाएको राष्ट्रको शीर झुक्यो । बहुदल र लोकतन्त्रले बनाउने नयाँ नेपाल, नौलो समृद्धि, समानता र विधिको शासन पनि समाप्त भयो ।
आज कतै विश्वास छैन । एकले अर्कोलाई शंकाको दृष्टिले हेर्छ । यसको कारण राज्य सञ्जाल लेनदेन र नातावादमा चल्नाले हो । जहाँ पनि नेताकै आफन्त चाहिने, नेताकै मान्छे हुनुपर्छ । यहाँसम्म कि भूकम्पका बेलामा अभरमा परेका जनताले नेताको मुख ताक्नुप¥यो । नेताका मान्छे, सत्तासीन दलका मान्छे भए जहाँ पनि सुविधा पाइने, अन्यथा उसले भोकै, उपचार नपाएर मर्नुपर्ने ।
कोरोनाकालमा त नेता र सरकारमा बस्नेको मान्छे नहुनाले धेरैले अक्सिजन नपाएर श्वास रोकिएर मर्नुप¥यो । अस्पतालको बेड पाएनन्, डाक्टरको मुख देख्न सकेनन् । लोकतन्त्रको साइनबोर्ड झुण्ड्याएको पद्धतिले मान्छेलाई सुविधाबाट बन्चित गरेर मा¥यो । लोकतन्त्र संसारकै उत्कृष्ट व्यवस्था मानिन्छ । तर नेपालमा लोकतन्त्रजस्तो निकृष्ट बन्नपुग्यो । व्यवस्था खराव होइन, व्यवस्थाका सञ्चालक नेतृत्वतह तुहिएपछि, नैतिकहीन बनेपछि त्यसको असर पद्धतिमा पर्नेरहेछ, पद्धति अफाप, असफल हुनेरहेछ । यतिबेला नेपालमा सबैभन्दा अलोकप्रिय भनेकै लोकतन्त्र छ, लोक नेता छन् । लोक संसद, लोकका नागरिक समाज, लोकशासन बनेको छ ।
यसरी लोकतन्त्रका सारथीहरु स्वार्थ र विदेशीका सामु लम्पसार परेकाले देशभक्तहरु उठ्नुपर्छ । देश भनेको जनता हुन् । राष्ट्रियता भनेको जनता हुन् । जनतालाई बचाउन सकियो, जनतामा आडभरोसा दिन सकियो भने लोक बाँच्छन्, लोकतन्त्र बाँच्छ । यसकारण लोकतान्त्रिकताका लागि १५ वर्षदेखि जुन प्रकारको निषेध र विभेद गरिदै आएको छ, त्यसको अन्त् गर्नुपर्छ । अन्त गर्न राष्ट्रिय शक्तिहरु उठ्नुपर्छ ।
विप्लव, बैद्यले पटक पटक भनिसकेका छन्– देश संकटमा छ । देश बचाउन सकिन्छ भने राजतन्त्रलाई पनि साथ लिनुपर्छ । जोसँग जनताको साथ छ, त्यो राजनीतिक शक्ति हो । त्यस्तो राजनीतिक शक्ति बिना जनता बाँच्न सक्दैनन्, राष्ट्र बाँच्न सक्दैन ।
हो, राजतन्त्रवादी पनि शक्ति हुन् । पूर्वराजा सडकमा निस्कियो कि राजा आउ देश बचाउ भन्ने ठूलो जमान निस्कन्छ । ठूलो जमातले आमसभा, जुलुस निकालेर राजतन्त्रको वकालत गरिरहेकै छन् । लोकतन्त्रमा आज कुनै शक्ति लोकप्रिय छ भने त्यो राजतन्त्रवादी शक्ति हो । त्यो शक्तिलाई किनारा लगाएर लोकतन्त्र नेपालमा सफल नहुने निश्चित भइसक्यो ।
८ वर्ष लगाएर लेखिएको संविधान लगौंटी लगाएर इज्जत बचाइदिन प¥यो भनेर अदालत पुगेको छ । जनप्रतिनिधिहरूले नैतिकता गुमाए । संवैधानिक निकायहरू हाटबजारमा बिक्रीमा राखिएका हाँडाभाँडा बन्नपुगे । नचर्केको र नफुटेको कुनै दल छैनन् । हरेकलाई पार्टी र सत्तामा मुख्य पद चाहिएको छ । सुशासनको केही झल्का थिए, टुकी निभिसक्यो । एकप्रकारले लोकतान्त्रिक नेपाल अन्धकार बन्नपुगेको छ ।
अबको आशा भनेको सामुहिक प्रयत्नको हो । सामुहिक प्रयत्नका लागि सबै शक्तिहरुलाई एकीकृत पार्न सकिएन भने विश्वकै ५ जेठोमध्येको राष्ट्र नेपाल अस्तित्वको संकटमा पर्ने निश्चित छ ।
प्रत्येक देशभक्तहरूका लागि यो समय मृत्युघण्टको आवाज सुनेर उठ्ने समय हो ।































