सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संविधान किन सिनो गनाएजस्तो गनायो

520
shares

 

राजन कार्की

राजनीति भनेको हरेक विवादको निकास हो । संविधान भनेको विधि र प्रक्रिया हो । अनुशासन हो । झगडामात्र गर्ने राजनीति र विधि र प्रक्रिया निर्धारित गर्न नसक्ने संविधान हुनु र नहुनुको कुनै अर्थ छैन ।
जुन देशमा लोकप्रतिको जिम्मेवारी र लोकलज्जा हुन्छ, त्यो देशमा संविधान नै चाहिन्न । जस्तो बेलायत । त्यहाँ लोकलज्जा र लोकतन्त्रप्रति जवाफदेहिता छ । नेपालमा लोकतन्त्र छ, लोकलज्जा छैन, जवाफदेहिता पनि छैन ।
यहीकारण हो, अराजक स्थितिको सिर्जना हुनपुग्यो । सम्पूर्ण सवालको जवाफ अदालतसँग खोज्ने र अदालतलाई प्रभाव पार्न सडकमा जुलुस निकाल्ने काम भइरहेको छ । अदालतमा भागबण्डामा नियुक्त भएका न्यायाधीश छन् भने सडकमा आफ्ना पार्टीका भातृसंगठनहरुलाई उतारिएको छ । यसको अर्थ राजनीतिलाई अराजक बनाएर सत्ता आफ्नो पक्षमा पार्ने प्रयास भइरहेको छ । यी परिदृश्यहरु भनेको संविधान असफल भएका क्रियाकलाप हुन् ।
हुन पनि आज सरकारप्रति विश्वास छैन । प्रतिपक्षी विश्वासिलो हुनसकेको छैन । अदालतप्रति जनता निराश छन् । नागरिक समाज यही निराशालाई मलजल गरिरहेका छन् । लोकतन्त्रमा यस प्रकारको छाडातन्त्र हावी भएको छ ।
प्रतिपक्षीहरुको आवाज सुनौं– अब ओली फालिन्छ, यो निरङ्कूशलाई ढालिन्छ भनेको २ वर्ष भयो, अहिले पनि प्रचण्ड, माधव नेपाल, बाबुराम, उपेन्द्र यादवहरु भनिरहेका छन् । अझ यिनको टेको लगाएर कांग्रेस सभापति शेरवहादुर देउवासमेत थपिएका छन् । तर यी नेता हुन् कि मानसिक सन्तुलन गुमाएका व्यक्ति हुन्, जो बर्बराइरहन्छन्, नतिजा केही दिन सक्दैनन् ।
राजनीति भनेको निकास दिने माध्यम हो, राजनीति आफैमा गुजुल्टिएको छ । ओली स्वेच्छाचारी बनेका छन्, उनलाई निरङ्कूश भनिरहेका छन् । संविधानको माला जप्नेहरु संवैधानिक र राजनीतिक मर्यादामा आफै बसेका देखिदैनन् ।
मानसिक असन्तुलन भएकाले सडकमा देखाएको ल्याङ्फ्याङ्गे चालढाल जस्तो बनिसकेको संविधान यतिबेला अदालतको शरणमा पुगेको छ । संविधान भनेको अदालतबाहेक केही पनि बाँकी छैन । अदालत पनि कस्तो, यिनै राजनीतिक नेताहरुको भागबण्डामा नियुक्त भएका न्यायाधीशहरुको । जसलाई आफ्नो स्वार्थ पूरा भएन भने भनेर दाह्रा किट्दै माइतीघर मण्डलाबाट भनेकै हुन्– अफगानिस्तानमा जस्तो न्यायाधीशलाई घिसारेर ल्याउन नपरोस् ।
पूर्व न्यायाधीशहरुले पनि यही बोलीमा बल पु¥याउन बक्तव्य दिएकै हुन्, फेरि पनि दिएकै छन् । अर्थात् संविधान दुर्घटनाग्रस्त भइसक्यो । लोकतन्त्र कुहिएको फर्सीजस्तो अनुभूत भइरहेको छ । यो लथालिङ्ग अवस्थाबाट कसरी सम्हालिने, आजको प्रश्न यो हो ।
प्रचण्ड–माधव–देउवा–जनमोर्चा–उपेन्द्र समूह भन्छ– ओलीको निरङ्कूशता फालिन्छ फालिन्छ । ओली फालिए भने आउने कुन अग्रगमन हो ? उनै देउवा र प्रचण्ड माधवका नेता न हुन् । कुन नेता जनताले पत्याएका नेता हुन् ? कुन नेता लोकतन्त्रका होनहार छन् ? जनताले आश गर्ने र विश्वास गर्न लायक कोही छैनन् भने ओली जानु र ओलीको ठाउँमा अर्को व्यक्ति आउनुले जनतालाई के फरक पर्छ ?
आजको पहिलो प्राथमिकता कोरोनाविरुद्धको युद्ध जित्नु र बचाउनु हो । सत्तामा जान लालायित कुन नेताले यस विषयमा बहस चलाएका छन्, प्रयास गरेका छन् ? छैनन् भने ओली फालिदैमा अथवा अर्को नेता सत्तामा जाँदैमा मृत्युको मुखबाट जनता कसरी बाँच्न सक्छन् ?
एकातिर भूकम्पबाट उठ्न नसकेका अझै धेरै छन् । अर्कोतिर कोरोनाले दपेटेर बाँचेकालाई पनि इन्तु न चिन्तु पारेको छ । त्यसमाथि बाढी पहिरोले पार्नु सखाप पारिसक्यो । यतिधेरै महाविपत झेलिरहेका जनतासँग उभिन न सरकार, न सांसद, न प्रतिपक्षी, न नागरिक समाज, न राजनीतिक कार्यकर्ता तैयार छन् भने यस्तो पनि संवैधानिक प्रणाली हुनसक्छ ? घाटे बैद्यको रुपमा अदालत छ । अदालतले एउटा पक्षलाई हराएर अर्को पक्षलाई जिताउँदा संविधानले कसरी जित्छ ? सामुहिक रुपमा आस्थाको लोकतन्त्रले कसरी जित्नसक्छ ?
परिवर्तनकारी लम्पसार नै परे त । स्वदेशी शक्तिहरूमा झगडा, मुद्दा, मारामार, खुट्टा तानातान, विदेशी शक्ति यिनलाई उछाल पछार गरेर अभिष्ठ पूरा गर्न चलखेल गरिरहेका छन् ।
सकियो, नेपालको परराष्ट्रनीति सकियो । राजनीति सकियो । सांस्कृतिक र सामाजिक सद्भाव पनि सकियो । राष्ट्रवादी दूरवीन लगाएर जसले हेरे पनि देखिने नाङ्गो सत्य भनेको नेपाल घरी घरी पहिरो गइरहने कृष्णभीर बन्यो ।
निरङ्कूश पञ्चायतले उठाएको राष्ट्रको शीर झुक्यो । बहुदल र लोकतन्त्रले बनाउने नयाँ नेपाल, नौलो समृद्धि, समानता र विधिको शासन पनि समाप्त भयो ।
आज कतै विश्वास छैन । एकले अर्कोलाई शंकाको दृष्टिले हेर्छ । यसको कारण राज्य सञ्जाल लेनदेन र नातावादमा चल्नाले हो । जहाँ पनि नेताकै आफन्त चाहिने, नेताकै मान्छे हुनुपर्छ । यहाँसम्म कि भूकम्पका बेलामा अभरमा परेका जनताले नेताको मुख ताक्नुप¥यो । नेताका मान्छे, सत्तासीन दलका मान्छे भए जहाँ पनि सुविधा पाइने, अन्यथा उसले भोकै, उपचार नपाएर मर्नुपर्ने ।
कोरोनाकालमा त नेता र सरकारमा बस्नेको मान्छे नहुनाले धेरैले अक्सिजन नपाएर श्वास रोकिएर मर्नुप¥यो । अस्पतालको बेड पाएनन्, डाक्टरको मुख देख्न सकेनन् । लोकतन्त्रको साइनबोर्ड झुण्ड्याएको पद्धतिले मान्छेलाई सुविधाबाट बन्चित गरेर मा¥यो । लोकतन्त्र संसारकै उत्कृष्ट व्यवस्था मानिन्छ । तर नेपालमा लोकतन्त्रजस्तो निकृष्ट बन्नपुग्यो । व्यवस्था खराव होइन, व्यवस्थाका सञ्चालक नेतृत्वतह तुहिएपछि, नैतिकहीन बनेपछि त्यसको असर पद्धतिमा पर्नेरहेछ, पद्धति अफाप, असफल हुनेरहेछ । यतिबेला नेपालमा सबैभन्दा अलोकप्रिय भनेकै लोकतन्त्र छ, लोक नेता छन् । लोक संसद, लोकका नागरिक समाज, लोकशासन बनेको छ ।
यसरी लोकतन्त्रका सारथीहरु स्वार्थ र विदेशीका सामु लम्पसार परेकाले देशभक्तहरु उठ्नुपर्छ । देश भनेको जनता हुन् । राष्ट्रियता भनेको जनता हुन् । जनतालाई बचाउन सकियो, जनतामा आडभरोसा दिन सकियो भने लोक बाँच्छन्, लोकतन्त्र बाँच्छ । यसकारण लोकतान्त्रिकताका लागि १५ वर्षदेखि जुन प्रकारको निषेध र विभेद गरिदै आएको छ, त्यसको अन्त् गर्नुपर्छ । अन्त गर्न राष्ट्रिय शक्तिहरु उठ्नुपर्छ ।
विप्लव, बैद्यले पटक पटक भनिसकेका छन्– देश संकटमा छ । देश बचाउन सकिन्छ भने राजतन्त्रलाई पनि साथ लिनुपर्छ । जोसँग जनताको साथ छ, त्यो राजनीतिक शक्ति हो । त्यस्तो राजनीतिक शक्ति बिना जनता बाँच्न सक्दैनन्, राष्ट्र बाँच्न सक्दैन ।
हो, राजतन्त्रवादी पनि शक्ति हुन् । पूर्वराजा सडकमा निस्कियो कि राजा आउ देश बचाउ भन्ने ठूलो जमान निस्कन्छ । ठूलो जमातले आमसभा, जुलुस निकालेर राजतन्त्रको वकालत गरिरहेकै छन् । लोकतन्त्रमा आज कुनै शक्ति लोकप्रिय छ भने त्यो राजतन्त्रवादी शक्ति हो । त्यो शक्तिलाई किनारा लगाएर लोकतन्त्र नेपालमा सफल नहुने निश्चित भइसक्यो ।
८ वर्ष लगाएर लेखिएको संविधान लगौंटी लगाएर इज्जत बचाइदिन प¥यो भनेर अदालत पुगेको छ । जनप्रतिनिधिहरूले नैतिकता गुमाए । संवैधानिक निकायहरू हाटबजारमा बिक्रीमा राखिएका हाँडाभाँडा बन्नपुगे । नचर्केको र नफुटेको कुनै दल छैनन् । हरेकलाई पार्टी र सत्तामा मुख्य पद चाहिएको छ । सुशासनको केही झल्का थिए, टुकी निभिसक्यो । एकप्रकारले लोकतान्त्रिक नेपाल अन्धकार बन्नपुगेको छ ।
अबको आशा भनेको सामुहिक प्रयत्नको हो । सामुहिक प्रयत्नका लागि सबै शक्तिहरुलाई एकीकृत पार्न सकिएन भने विश्वकै ५ जेठोमध्येको राष्ट्र नेपाल अस्तित्वको संकटमा पर्ने निश्चित छ ।
प्रत्येक देशभक्तहरूका लागि यो समय मृत्युघण्टको आवाज सुनेर उठ्ने समय हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports