linktrix Long Ad
Salt Trading Long Ad

ठीकै छ, ४ गते हेर्ने, तपाईंले पनि हेर्नुहुन्छ, हामी पनि हेर्छौं : प्रचण्ड

1.17K
shares

काठमाडौं ।प्रतिनिधिसभाको सुरुका वर्षहरुमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको जोडी खुबै जम्यो । वाम गठबन्धन बनाएर चुनाव लडेका उनीहरुले मिलेर सरकार मात्र बनाएनन्, पार्टी एकता नै गरे । प्रतिनिधिसभामा पनि एकअर्काको तारिफ गर्न पछि परेनन् ।प्रतिनिधिसभाको अन्तिम बैठकमा भने एक अर्का प्रति तीतो पोखेर छुट्टिएका छन् । ५ पुस २०७७ मा ओलीले प्रतिनिधिसभा विघटन गरे सँगै अलगअलग बाटो डिँडेका दुई नेताले सार्वजनिक मञ्चहरुमा झैं शनिबार प्रतिनिधिसभा बैठकमा आरोप प्रत्यारोप गरे ।

एमाले अध्यक्ष ओलीले संसद विघटनको बचाउ गरे । उनले आफूले घोषणा गरेको चुनाव भएको भए नयाँ संसद आइसक्थ्यो भन्दै सोधे, ‘प्रतिगमन कहाँ बाट हुन्थ्यो ?’ प्रधानमन्त्री छान्ने र हटाउने अधिकार अन्यत्रै प्रयोग गर्नुपर्छ भन्ने संविधानमा नभएको भन्दै उनले यो चाहिँ संविधानको उल्लंघन भएको बताए । सत्तारुढ गठबन्धनले नीति, विधि मिचेर परमादेश बाट सरकार ल्याएको भन्दै ओलीले भने, ‘निर्वाचन हुनुलाई प्रतिगमन भनिँदैन । आवश्यकता अनुसार र समयभित्र निर्वाचन भएन भने प्रतिगमन हुन्छ । हामी निर्वाचनतर्फ जाँदैछौं । म यसलाई प्रतिगमन मान्दिन । परमादेशबाट नक्कली सरकार गठन गर्नु चाहिँ प्रतिमगन हो ।’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने ओलीले लोकतन्त्र र प्रतिगमनको अपव्याख्या गरेको बताए । ओलीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गर्नु प्रतिगमन भएको भन्दै उनले भने, ‘उहाँले कताकता तुलना गरिदिनुभयो अहिले निर्वाचन गरेको पनि प्रतिगमन हो त ?’ उनले अगाडि भने, ‘तुलना गर्नुको पनि एउटा हद हुन्छ नि ! यहाँ बसेका हामी सबै केही नै नबुझ्ने छन् भन्ने ठान्नुभएको हो कि प्रतिपक्ष दलको नेताले ? नेपाली जनताले केही जान्दैनन्, भेडा नै छन् भन्ने ठान्नुभएको हो कि ?’

आफूले निर्वाचन घोषणा गर्नुलाई होइन, संविधानले नदिएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गर्नु र मुलुकलाई अँध्यारो सुरुङ तिर लैजाने खोज्नुलाई प्रतिगमन भनेको प्रचण्डले बताए । ओलीले यो सरकारलाई परमादेशको सरकार भन्दै आएका छन् । शनिबार संबोधनका क्रममा पनि त्यही भने । माओवादी अध्यक्ष प्रचण्डले भने महाअभियोग सिफारिस समितिमा भएको सुनुवाइले तत्कालीन सरकार र त्यसको नेतृत्वले अदालतलाई गलत ढंगले प्रभावमा पार्ने काम गरेको रहेछ भन्ने पुष्टि भएको बताए । उनले अघि भने, ‘अनि उहाँलाई परमादेश भनेर नकारात्मक टिप्पणी गर्ने अधिकार कहाँबाट प्राप्त भयो ?’

सम्बोधनका क्रममा ओलीले संसदले सुरुमा राम्रो काम गरेको, तर पछिल्लो समय राज्यका सबै अंग निष्प्रभावी भएको बताए । उनले भने, ‘सरकारको बारेमा केही केही भन्नुपर्दैन, मंसिर ४ गते जनताले सरकार र गठबन्धनलाई जवाफ दिनेछन् ।’ माओवादी अध्यक्ष प्रचण्डले त्यसको पनि प्रतिवाद गरे । ‘हाम्रो प्रतिपक्षी दलको नेताले भन्नुभयो, ४ गते थाहा हुन्छ को के रहेछ,’ प्रचण्डले भने, ‘म विनम्रतापूर्वक स्मरण गराउन चाहन्छु, राष्ट्रियसभा निर्वाचनले सन्देश दिएको होइन र ? बारको चुनावले सन्देश दिएको होइन । सथानीय तहको निर्वाचनले देशव्यापी सन्देश दिएको होइन र ?’

प्रतिनिधिसभा विघटन गर्नु कमजोरी भयो भन्ने स्वीकार गरेको होला भन्ने लागेको भएपनि ओलीले अझै अहंकार देखाएको भन्दै प्रचण्ड ठीकै छ, ४ गते हेर्ने  । तपाईंले पनि हेर्नुहुन्छ, हामी पनि हेर्छौं । जनताको फैसला स्वीकार नगर्ने नै हो ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports