देउवा पक्षलाई समेटेर महाधिवेशन गर्न तयार छु तर तर्साएर तर्सिन्न : सभपति थापा
वि.सं.२०८३ साउन २५ सोमवार ०९:११
shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी विधानबारे आफू पूर्ण जानकार रहेको भन्दै कसैको डर वा धम्कीले आफ्नो बाटो नफेर्ने बताएका छन् ।
आइतबार केन्द्रीय कार्य समिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतले दिएको पुनरवलोकन आदेशबारे बोल्दै थापाले कांग्रेस डराउनुपर्ने कुनै कारण नरहेको बताए ।
थापाले विशेष महाधिवेशन विधानसम्मत भएको र निर्वाचन आयोगले पनि त्यसलाई सदर गरिसकेको उल्लेख गर्दे पार्टीको वैधानिकता र विशेष महाधिवेशनका सम्बन्धमा सर्वोच्च अदालतले दिएको पुनरवलोकन आदेशलाई सहज रूपमा लिँदै त्यसको सामना गर्ने स्पष्ट पारे ।
सभापति थापाले शेरबहादुर देउवा पक्षलाई समेटेर निष्पक्ष महाधिवेशन गर्न तयार रहेको तर, अर्को पक्षले तर्साएको भरमा आफू नतर्सिने समेत प्रष्ट पारे । उनले विशेष महाधिवेशनमा सहभागी नभएका कांग्रेसका नेता तथा कार्यकर्तालाई समेत नेतृत्वको पक्षमा उभिन आग्रह गर्दै पार्टीभित्र कसैलाई पहिलो वा दोस्रो दर्जाको व्यवहार नगर्ने बताए ।सभापति थापाले कांग्रेसको आन्तरिक विवाद अब राजनीतिक मात्र नभई न्यायिक र कानुनी लडाइँका रूपमा समेत अघि बढ्ने संकेत गरे । थापाले अहिलेको अवस्थामा नेपालको राजनीति कता जान्छ भन्ने विषयमा आम नागरिकमा आज पनि उस्तै अन्यौलता रहेको टिप्पणी गरे ।
सभापति थापाले नागरिकहरुमा बढ्दै गएको असन्तुष्टिलाई नजरअन्दाज गर्दा दलहरुले भदौ २३ र २४ को सामना गर्नुपरेको बताउँदै पार्टी र सरकारको कार्यशैलीप्रति असन्तुष्टि छ भनेर जानकारी दिँदा तत्कालीन नेतृत्वले नसुन्दा अहिलेको यो अवस्था आएको उल्लेख गरे । उनले नेपालमा पटकपटक एउटा राजनितिक दलले मौका पाए पनि दलहरुको असक्षमताका कारण पाएको मौकालाई ठिक ढंगले प्रयोग गर्न नसक्दा नागरिकहरुमा तीव्र आक्रोश फैलिएको र त्यो आक्रोश एउटा दलमा मात्र नभई सिंगो प्रणालीमा पोखिएको धारणा व्यक्त गरे ।
सभापति थापाले आज फेरि नागरिक हतास भइरहेको बेला कांग्रेस चुप लागेर नबस्ने बताए । थापाले सरकाप्रति टिप्पणी गर्दै सरकारलाई विधि मिचेर हिँड्ने छुट नभएको बताए । उनले कार्यापालिका न्यापालिका र संसदमाथि पनि हावी हुन खोजेको भन्दै खबरदारी गरे ।
सभापति थापाले सरकारका मन्त्रीहरूको सम्पत्तिमाथि भएको छानबिनको प्रतिवेदन सार्वजनिक नभएको भन्दै प्रश्न उठाए । उनले प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तो स्वतन्त्र निकायमाथि हस्तक्षेप भएको आरोप समेत लगाए ।





































