नेपाललाई समृद्ध बनाएरमात्र नेपालीले सुख पाउँने बाटो खुल्छ : अध्यक्ष ओली
वि.सं.२०८३ साउन २४ आइतवार १०:५१
shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आदिवासी समुदायको हक, अधिकार, संस्कृति र विशिष्ट पहिचानको संरक्षण गर्दै नेपालको विविधतालाई राष्ट्रिय एकता र शक्तिका रूपमा सुदृढ गर्दै लैजानुपर्ने बताएका छन् ।
आज ३२ औं विश्व आदिवासी दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आदिवासी समुदायमा शुभकामना व्यक्त गरेका हुन् ।
अध्यक्ष ओलीले नेपाल जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त मुलुक भएकाले यस विविधतालाई भिन्नताका रूपमा नभई राष्ट्रिय सौन्दर्य, एकता र शक्तिका रूपमा आत्मसात् गर्नुपर्ने बताए । उनले सदियौँदेखि कायम रहेको आपसी मेलमिलाप, भाइचारा र सहअस्तित्वको परम्परालाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिए । उनले जल, जंगल, जमिन तथा प्रकृतिको संरक्षणमा आदिवासी समुदायले पुर्याउँदै आएको परम्परागत योगदानको प्रशंसा गर्दै मौलिक भाषा, भेषभूषा, रीतिरिवाज तथा लोकसंस्कृति नेपालको अमूल्य साझा सम्पत्ति भएको उल्लेख गरेका छन् ।
अध्यक्ष ओलीले सबै समुदायको समान अधिकार सुनिश्चित गर्दै राज्यका हरेक अंगमा समावेशी तथा सहभागितामूलक प्रतिनिधित्वको संवैधानिक व्यवस्था गरिएको र त्यसको कार्यान्वयन हुँदै आएको बताए । दशकौं लामो संघर्ष र बलिदानबाट स्थापित समावेशी प्रतिनिधित्व, न्याय तथा समानतामा आधारित संविधानको रक्षा र सुदृढीकरण गर्नु सबैको दायित्व भएको उनको भनाइ छ ।
नेपाललाई समृद्ध बनाएर मात्रै नेपाली जनताले सुख प्राप्त गर्ने बाटो खुल्ने उल्लेख गर्दै अध्यक्ष ओलीले राष्ट्रिय समृद्धिको यात्रामा केही समय अवरोध आए पनि लामो समयसम्म यस्तो अवस्था रहन नसक्ने बताए । त्यसका लागि सबै नागरिकको जागरूकता र साझा प्रयास आवश्यक रहेको उनले बताए ।
अध्यक्ष ओलीले राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक संविधान तथा संविधानले सुनिश्चित गरेका अधिकारहरूको रक्षा गर्न सम्पूर्ण समुदायको एकता आवश्यक रहेको पनि बताए ।
अध्यक्ष ओलीले विविधतालाई शक्तिका रूपमा अङ्गीकार गर्दै एकताबद्ध हुन सबैलाई आह्वान गरेका छन् ।





































