पाँच देशमाथि १०० प्रतिशतसम्म ट्यारिफ कर लगाउने विधेयक अमेरिकी सिनेटबाट पारित
वि.सं.२०८३ साउन २४ आइतवार ०९:०७
shares

काठमाडौं । अमेरिकी सिनेटले चीन र भारतसहित पाँच देशमाथि १०० प्रतिशतसम्मको ट्यारिफ लगाउन सकिने विधेयक ८६–११ को बहुमतले पारित गरेको छ । विधेयकमा रुसबाट तेल खरिद गर्ने देशहरूलाई लक्षित गर्दै भारत, चीन, स्लोभाकिया, हंगेरी र अजरबैजानमाथि अतिरिक्त ट्यारिफ लगाउन सकिने व्यवस्था गरिएको छ ।
रुसबाट हुने तेल खरिदबाट प्राप्त आम्दानी घटाएर उसको युद्ध सञ्चालन गर्ने क्षमता कमजोर बनाउने उद्देश्यले यो विधेयक ल्याइएको हो । विधेयकलाई रिपब्लिकन र डेमोक्रेट दुवै दलका सांसदले समर्थन गरेका छन् ।
जुलाई २३ मा रुसबाट तेल तथा ग्यास खरिद गर्ने देशमाथि १०० प्रतिशतसम्म अतिरिक्त ट्यारिफ लगाउने प्रस्ताव अघि सारिएको थियो । यसको प्रारम्भिक मस्यौदामा ५०० प्रतिशतसम्म ट्यारिफ लगाउने प्रस्ताव थियो । पछि त्यसलाई घटाएर अधिकतम १०० प्रतिशत बनाइएको हो ।
तर, यो विधेयक अहिलेसम्म कानुन बनिसकेको छैन । अब यसलाई अमेरिकी संसद्को तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’मा पठाइनेछ । त्यहाँबाट पनि पारित भएमा विधेयक स्वीकृतिका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष पुग्नेछ । राष्ट्रपतिले स्वीकृति दिएपछि मात्र यो कानुन बन्नेछ ।
अमेरिकाले विभिन्न देशबाट आयात हुने वस्तुमा फरक–फरक दरमा ट्यारिफ लगाउँदै आएको छ । हाल चीनमा ३४ प्रतिशत र भारतमा १८ प्रतिशत ट्यारिफ लागु रहेको बताइएको छ । त्यस्तै, स्लोभाकिया, हंगेरी र अजरबैजानमा १०–१० प्रतिशत ट्यारिफ दर तोकिएको छ ।
नयाँ कानुन लागु भएमा यी देशमाथि अतिरिक्त ट्यारिफ लगाउने बाटो खुल्नेछ । यसले विशेषगरी रुसबाट ठूलो मात्रामा तेल आयात गर्ने भारत र चीनजस्ता देशको व्यापारमा ठूलो असर पार्न सक्ने अनुमान गरिएको छ ।
इरानसँग व्यापार गर्ने कम्पनीमाथि पनि प्रतिबन्ध
विधेयक कानुन बनेमा सन् १९९६ मा लागु गरिएको ‘इरान प्रतिबन्ध कानुन’लाई सन् २०३१ सम्म विस्तार गरिनेछ । उक्त कानुनअन्तर्गत इरानसँग व्यापार गर्ने गैर–अमेरिकी कम्पनीमाथि पनि प्रतिबन्ध लगाउन सकिन्छ । हाल यो कानुनको अवधि समाप्त हुने अवस्थामा थियो ।
विधेयकले अमेरिकी राष्ट्रपतिलाई देशमा आयात हुने रुसी सामानमा ५०० प्रतिशतसम्म ट्यारिफ लगाउने अधिकारसमेत दिनेछ । यो अधिकार पाँच वर्षसम्म प्रयोग गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ ।
अमेरिकी सरकारले यसअघि पनि रुसमाथि थप प्रतिबन्ध लगाउने प्रयास गर्दै आएको थियो । तर, इरानसँगको युद्धका क्रममा होर्मुज जलमार्ग बन्द हुँदा विश्व बजारमा तेल आपूर्तिको संकट उत्पन्न भयो । त्यसपछि अमेरिकी प्रशासनले तेलको आपूर्तिमा असर नपरोस् भनेर केही प्रतिबन्धमा अस्थायी छुट दिनुपरेको थियो ।




































