पूर्वमन्त्री जोशी अब जेल बस्नु नपर्ने
वि.सं.२०८३ साउन २५ सोमवार ०९:१०
shares

काठमाडौं । पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीले जेल बस्न नपर्ने भएको छ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएर कैद र जरिवाना तोकिए पनि उनले जेल भने बस्नु नपर्ने भएको हो ।
सर्वोच्च अदालतबाट समेत दुई वर्षपहिले नै भ्रष्टाचार मुद्दामा दोषी ठहर भई कैद र जरिवाना तोकिएको थियो । तर, जोशी शुक्रबार कैद छुटको मागसहित विशेष अदालतमा उपस्थित भएका थिए ।विशेष अदालतका तीन न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले जोशीले जेल बस्न नपर्ने आदेश भएको हो । ज्येष्ठ नागरिकले पाउने कैद छुटको मागसहित उनले असार २४ गते निवेदन दिएका थिए ।
७५ वर्षमाथिका ज्येष्ठ नागरिकले ७५ प्रतिशत कैद छुट पाउने कानुनी व्यवस्था छ । अख्तियारको अनुसन्धानका क्रममा पहिल्यै ३ महिना १७ दिन थुनामा बसिसकेकाले बाँकी कैद छुटको माग गर्दै निवेदन दिएका थिए ।तर यस्तो छुट कारागारमा रहेकाले निवेदन दिएपछि दिने कि कारागार नबस्दै निवेदन दिनेले पनि पाउने भन्नेमा न्यायाधीशबीच राय बाझिएको थियो ।
न्यायाधीश पौडेल र कोइरालाले कारागार नबसे पनि कैद छुटको सुविधा पाउनसक्ने राय दिएसँगै बहुमतबाट निर्णय भएको हो । रावलले भने कारागारमा बसेर मात्रै निवेदन दिनुपर्ने राय राखेका थिए ।




































