सभापति नसच्चिए धर्ना, अनशन र बहिष्कारको चेतावनी
वि.सं.२०७९ असोज १३ बिहीवार १९:१७
shares

काठमाडौ । पाँच दलीय गठबन्धनभित्र सिट बाँडफाँडमा सकस परिरहेको बेला सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसभित्र भने संस्थापन पक्षले संस्थापनइतर पक्षलाई वेवास्ता गरेको भन्दै संस्थापनइतर पक्षका शेखर कोइराला पक्ष आक्रोशित भएको छ ।
उनीहरुका अनुसार पार्टी सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनका नेताहरुसँग दैनिक १८ घण्टासम्म छलफल गरेपनि संस्थापनइतर पक्षलाई भने १८ मिनेटको समयसम्म नदिएको आरोप लगाउँदै आएका छन् ।
समानुपातिक तर्फका उम्मेदवारहरुको छनोटमा समेत संस्थापन पक्षले एकलौटी गरेको भन्दै उनीहरुले पार्टीभित्रै विद्रोह गर्न सक्ने सम्मको चेतावनी समेत दिएका छन् ।
समानुपातिकतर्फका उम्मेदवारहरुको छनोटमा आफ्नो समूहका नेता तथा कार्यकर्ताहरुमाथि अन्याय गरिएको र प्रत्यक्षतर्फको उम्मेदवारी चयनमा समेत सभापतिले एकलौटी गर्न खोजेको भन्दै कोइराला पक्षले आन्दोलन र निर्वाचन बहिष्कार गर्ने सम्मको चेतावनी समेत दिएका छन् ।
आन्दोलन र निर्वाचन बहिष्कार सम्मको योजना अघि सारेर नेतृत्वमाथि दबाब बढाएपछि सत्ता गठबन्धनमा रहेका अन्य दलहरु समेत झस्किएका छन् । कांग्रेसभित्रको समस्याले विद्रोह असन्तुष्टि बढेमा गठबन्धनलाई नै असर पर्ने भन्दै माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सभापति देउवाको ध्यानाकर्षण समेत गराएका छन् ।
शेखर समूहले प्रत्यक्षतर्फ मात्र नभई असोज ३ गते निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूची समेत सच्चाउनुपर्ने माग संस्थापनपक्षसँग गरेको छ । निर्वाचन आयोगले असोज १६ गते सम्मको समयसीमामा संस्थापनइतर समूहबाट ४० प्रतिशतको हाराहारीमा उम्मेदवार राख्नपर्ने माग गरेको छ । शनिबार गरिएको संस्थापनइतर पक्षको भेलामा शेखर कोइराला लगायत उनी पक्षीय पदाधिकारीहरु उपस्थित भएनन् ।
भेलामा आयोजक नेता जगदीशनरसिंह केसीले आफ्नो समूहको नेता तथा पदाधिकारीहरु र पूर्व पदाधिकारीहरुलाई भेलामा नबोलाइएको भन्दै दोस्रो तहका नेताहरुले सो भेलामा अनशन, धर्ना र निर्वाचन नै बहिष्कारसम्म कार्यक्रम अघि बढाउने भन्दै तत्काल नेतृत्वलाई सच्चिनका लागि दबाब दिएका छन् ।
कांग्रेसका सभापति देउवा भने मंसिर ४ गते पछि पनि प्रधानमन्त्री बन्ने दाउँमा रहेको र गठबन्धनमा रहेका दलहरुलाई नै बढी प्राथमिकतामा राखेर अघि बढेका हुनाले कांग्रेस भित्रको संघर्षले गर्दा गठबन्धनकारी दलहरु अहिले नै संकटमा परेका छन् । शेरबहादुर देउवा केही वर्ष पहिला संस्थापनइतर पक्षमा रहँदा उनी नै भागवण्डाको सूत्रधार रहेका थिए ।
अहिले उनी आफैँ सभापति रहेका बेला इतरपक्षलाई वेवास्ता गर्दै अघि बढेको हुनाले संस्थापनइतर पक्षले अनशन, धर्ना र बहिष्कारसम्मका योजना अघि सारेको हुनाले गठबन्धनको बैठक समेत तरंगित भएको र गठबन्धनमा रहेका दलहरु समेत झस्किएका हुनाले गठबन्धनको भविष्य नै संकटमा पर्न सक्छ ।





































