लोकतन्त्रमा स्वाभिमान पानी बगेझैं बग्दैछ
वि.सं.२०७८ भदौ २४ बिहीवार १५:११
shares

राजन कार्की
लोकतान्त्रिक गणतन्त्रमा स्वाभिमान पानी बगेझैं बग्दैछ । स्खलित हुँदैछ । कहिल्यै सत्तामा नगएको नेमकिपाको निष्कर्ष हो यो । हामीले देखे भोगेको यथार्थ पनि यही हो ।
पहिचानको कुरा गर्ने हो भने भेटिकनदेखि भुटानसम्म, बंगलादेशदेखि बर्मासम्म विश्वसमुदायमा समान छन् । नेपालमात्र भारतको सामु मुखले बोल्न सक्दैन, नाकले सुघ्छ र पुच्छर हल्लाईरहन्छ । अर्थात आत्मशक्ति गुमाएर घ्राणशक्तिमा पुगेको छ नेपाल ।
अमेरिकामा रकफेलरदेखि बिल गेट्ससम्मका खर्बपतिहरु सत्तामा पुगेनन् । भारतमा लक्ष्मी मित्तलदेखि रतन टाटासम्म सत्तामा उक्लने इच्छा राख्दैनन् । नेपालमा राजनीति– मुनाफाको ग्यारेण्टी भएको भारतीय अनुदान र गरिब नेपालीले तिरेको करको सब्सिडीसमेत पाइने साल्ट ट्रेडिङ्को नून व्यापार बनेको छ । धमिरा लागेपछि रुख त ढल्छ, देश खोक्रो हुनु स्वभाविक हो । भविष्यमा यो देशको बर्बादीको कस्ता–कस्ता परिदृश्य देख्नुपर्ने हो ? सम्झदा पनि कहाली लाग्छ ।
नेपाल राष्ट्रको चुकुल भनेको नेपाली जनतामा विद्यमान एकता र नेपाली सेना हो । कतिञ्जेल थामिएला, हेर्न बाँकी छ ।
ऐतिहासिक परिवर्तनका संवाहक बनेका नेताहरुका अनुहार लिङ्कनजस्ता लाग्छन् । किनकि यिनले परिवर्तन गर्ने आन्दोलनको नतृत्वकारी भूमिका सम्पन्न गरे तर तिनका वर्तमान व्यवहार हेर्ने हो भने लेण्डुपलाई बिर्साउँछन्, मुसोलिनी पो हुन् कि भन्ने लाग्छ । १० वर्षको जनयुध्दकाल, परिवर्तनको १५ वर्ष यसै भन्छ ।
पृथ्वीनारायण शाह, भक्ति थापा, बहादुर शाह, भीमसेन थापा, महेन्द्रको नाम उच्चारण ग¥यो भने प्रतिगामी भइन्छ । जबरजस्तीसहितका जतिसुकै असामाजिक, अमानवीय काम गरे पनि छातीमा ‘माओ र स्टालिन’को फोटो वा ‘मानवाधिकार’को स्टिकर टा“सेर ‘विदेशी दलाल मूर्दावाद’ ‘बिस्तारवाद मूर्दावाद’ ‘साम्राज्यवाद मूर्दावाद’ ‘लोकतन्त्र जिन्दावाद’ भन्यो भने अग्रगामी होइने देश बन्यो यो ।
कोशी, गण्डकी, महाकाली, कालापानी, सुस्तामात्र होइन, सीमाका चेलीमाथि बलात्कार हुँदा पनि चुप लाग्नुपर्छ, खाँटी लोकतन्त्रवादी भइन्छ । माटो के हो, महानता के हो ? स्वदेश के हो, स्वाधीनता के हो ? परिचय के हो, परचक्री को हो ? बिपन्नताको पहाडले थिचेका ४० प्रतिशत जनतालाई थाहा छैन । बाँकी ६० प्रतिशतमा ५७ प्रतिशत भ्रममा छन्, ३ प्रतिशतले सत्ताको घोडा दौडाइरहेको छ । यो ३ प्रतिशतमा अधिकांश विदेशीबाट निर्देशित छन्, स्वराजमुखी थोरै छन्, छायाँमा छन् । हाम्रा भविष्यद्रष्टा तिनै ३ प्रतिशत हुन्, जो सडक र सत्ताका नायक हुन् । तिनीहरुका लागि जनता केही होइनन् । नेपाली एकतालाई फूटबल बनाएर खेल्ने बिदेशपरस्त मालिकलाई जदौ ।
इतिहासको एउटा कालखण्डमा नजिबुल्लाहले काबुलमा सोभियत सेनालाई पालेर दास बनाएझैं वर्तमान कालखण्डमा विदेशीले हाम्रा नेताहरुलाई भाडाका गणतान्त्रिक सेना बनाएको छ । गणतन्त्रको कल्की भिरेको लोकतन्त्रमा लोक दयनीय अवस्था भोगिरहेका छन् । भारतका लागि २१औं शताव्दिका नेपाली नजिबुल्लाह शेरबहादुर देउवा, प्रचण्ड, माधव नेपाल, बाबुराम भट्टराई, केपी ओलीहरु हुन् जसले स्वदेशी राजनीतिमा विदेशी रङ् भरेका छन् । यसैले त सिंहदरवारदेखि सानेपा, पेरिसडाँडा, बालुवाटार दरवारभित्र अशोक मेहता, केभी राजन, अशोक सिंघल, जनरल बक्सी, रअका प्रमुख सामन्त गोयल, हुन्, राकेश सूद, श्यामशरणहरुको आदेश चल्ने गरेको छ । दासतामा गर्व गर्नेहरु सबैभन्दा बढी राजनीतिज्ञ, मानवाधिकारवादी र बुध्दिजिवी कित्ताका छन् । यिनीहरु सबै साउथब्लक र इण्डिया डक्ट्रिनको पोखरीमा पौडी खेल्न मन पराउँछन् । यो सुकेलुतो राज्य सञ्जालभरि सल्किसकेको छ । देशभक्तलाई दबाइँदा राष्ट्रका आधारहरु मैनबत्तीझैं बिस्तारै बिस्तारै पग्लदै गएका छन् । भारतको राष्ट्रिय गानका संगीतकार नेपाली रामसिंह ठकुरी पनि थिए, त्यही गान नेपालीको गलामा भिराइँदै छ । इतिहासमा स्वाभिमानको गीत गाएर नेपाली उर्जा प्रदर्शन गर्ने वीरका लालहरु बिदेशीपन चुसेर टाक्सिन थालेका छन् ।
शान्ति प्रकृया सुल्झाउन इयान मार्टिन आए, करिन लेन्डग्रेन आइन् । यी दुबै राज्यभन्दा पृथक विचार राख्दा महासचिव वान कि मुनले यिनका रिपोर्टमा नेपालमाथि खतरा देखेको समाचार पनि सार्वजनिक भएका थिए । मार्टिनकै अनुयायी बनेर उपमहासचिव बनेका कूलचन्द्र गौतमले सेवा निवृत्त हुनुअघि काठमाडौं पोष्टमा शान्ति सम्झौताअनुसार सेनाले संख्या घटाउनु पर्ने तर्क पेश गरे । राष्ट्रिय सेना र सेनाको ४ सय वर्ष पुरानो इतिहासमाथि चुनौति दिएर गौतमले कसको पृष्ठपोषण गर्न खोजेका हुन् ? के राष्ट्रसंघको पदाधिकारीले आचारसंहिता मिच्न मिल्छ ? यो रहस्य आज पनि रहस्य नै छ । कसैले बोलेनन्– छापामारको उपयोगिताको कदर गर्दा अर्को संस्थामा पहिरो ल्याउनु राष्ट्रघात हो ।
अर्का बिभिषण देखापरेः दीपकप्रकाश भट्ट । यिनले जवाहरलाल नेहरु विश्वविद्यालयबाट नेपालको राष्ट्रिय सुरक्षा विषयमा पीएचडी उपाधि प्राप्त गरेका छन् । यिनले लेखेको सोधपत्रमा भारतीय सेनाको तारिफ गरिएको छ भने नेपाली सेनाको अपहेलना । किन यस्तो भयो ? पीएचडी भनेको विदेशी सेनाको तारिफ गर्ने प्रमाणपत्र हो ? यो सब देखेपछि पीएडी दीपक प्रकाश भट्ट ‘र’ का सल्लाहकार अशोक मेहताको खेताला भएका रहेछन् भन्नु गलत हुन्छ र ?
पीएचडी भट्टले नेपाली सेनालाई राजनीतिक स्वार्थमा प्रयोग गरिएको गम्भीर आरोप लगाएका छन् । के सेनाको सत्य यही हो त ? इतिहास साक्षी छ ः १९०३ को कोतपर्व, २००७ साल, २०१७ साल, २०३६ साल, २०४६ साल र २०६३ सालको परिवर्तनलाई सेनाले सहज रुपमा नस्वीकारेको भए सैनिक शासन आउन सक्ने थिएन ? कति मर्थे, कति मारिन्थे ? २०७८ मा राजनीतिक खिचलो यति बढेको छ कि सबैले सेना सेना भनिरहेका छन् । सेनाले अघि स¥यो भने के हुन्छ ?
सेनाको भूमिकामा अन्याय नगर्ने हो भने हरेक परिवर्तनमा नेपाली सेना जनताको आकांक्षाको साँचोमा ढालिएको छ । जनआन्दोलनको चाहनालाई सेनाले आत्मसात ग¥यो । गिरिजाप्रसाद कोइराला राष्ट्राध्यक्षको भूमिकामा आउँदा अथवा प्रचण्ड प्रधानमन्त्री हुँदा पनि सेनाको प्रतिवध्दतामा शंका गर्ने ठाउँ देखिएन । संविधानसभाले डा. रामबरण यादवलाई राष्ट्राध्यक्ष निर्वाचित गरेपछि शपथग्रहण समारोहमा सबैले देख्ने, सुन्ने र बुझ्ने भाषामा नेपाली सेनाका प्रधानसेनापतिले राष्ट्रिय अखण्डताप्रति नेपाली सेना कहिल्यै नझुक्ने र जनादेशको सदैव पालना गर्ने प्रतिबध्दता नै व्यक्त गरेर राष्ट्रिय सेना राजनीतिमा छैन भन्ने धारणा नै प्रष्ट पारियो । यसबाट पनि नेपाली सेना शुद्ध व्यवसायिक सेना हो भन्ने प्रमाणित गर्छ ।
राष्ट्रिय नाचघरको रङ्गमञ्चजस्तो बनाइएको राजनीतिमा नेताहरुले आफूलाई अग्लो देखाउने प्रतिस्पर्धात्मक हास्यव्यङ्ग हो । यो त्रासदीपूर्ण रमाइलोका उत्प्रेरक र एम्पायर बनेका विदेशीहरु मज्जाले नेपालको संवेदनशील अङ्गप्रत्यङ्ग सुमसुम्याएर आनन्द लिइरहेका छन् ।
ओलिभर नर्थ, इरान गेट काण्डमा सिनेटलाई झुक्याएको अपराध काण्डले ७ लाख डलर जरीवाना तिरेर ९ वर्षको कालकोठरीमा पुगे । ४० प्रतिशत विपन्न बर्गको पहाडले किचिएको र अधिकांश बुध्दिजिवी बर्ग बिदेशी पैसाले थिचिएको नेपालमा दिनदिनै जनता झुक्याउने र जनादेशको उल्लंघन भइरहेको छ । यिनलाई दण्डित गर्ने कहिले, कसले ? ठूला नेताहरु आफूलाई तीसमार खाँ सम्झन्छन््, कोही कोही त आफूलाई लोकतन्त्रको ‘दादा’ भन्ठान्छन् । धर्म राजनीतिमा पनि हुन्छ । राजनीतिकर्मीमा न धर्म देखियो, न लोकाचार बाँकी रह्यो ।
नेपाली सेनाको इतिहास पढ्दा थाहा हुन्छ ः गोरखकालीमा नाल निसान पूजा गरेर संगठित गरेको गोर्खा सेना नै आजको सैनिक संगठन हो । ९६ हजार संख्याको फौज र लाखौंलाख भूपू सेनाको यो संगठन नै नेपालको अन्तिम सुरक्षा कवच पनि हो । कहिले–कहिले प्रश्न उठ्ने गर्छ, किन नेपाली सेनामा अर्को ‘बहादुर शाह’ जन्मेन ? बहादुर शाहको नायबीकालमा नेपाली सीमालाई पूर्वमा टिस्टादेखि पश्चिममा सतलज काँगडासम्म बिस्तार गरिएको थियो । मर्नु अघिसम्म पनि शिर ठाडो पारेर मर्ने बहादुर शाह भनेको अदम्य साहस, धैर्य र रणकौशलका प्रतिमूर्ति थिए । जसको हरेक नयाँ दिन माटोको तिलक लगाएर उदाउँथ्यो भने हरेक रात माटोको सिरान हालेर निदाउँथ्यो ।
पछि मुख्तियार भीमसेन थापाको पालामा अंगे्रजले षडयन्त्र गरेर नेपाललाई युध्दमा होम्यो र पानीको मुहान थुनेर प्याकप्याकी पार्दै १८१६ को सुगौली सन्धि गर्न बाध्य पा¥यो । आजको मेची–महाकाली यही हो । बाँकी यत्ति भूभागमा समेत भारतीय अतिक्रमण र हस्तक्षेप बढ्दैछ किन ?यत्ति कुरामा पनि हामीले बहस नगर्ने ?

































