सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

लोकतन्त्रमा स्वाभिमान पानी बगेझैं बग्दैछ

468
shares

 

राजन कार्की
लोकतान्त्रिक गणतन्त्रमा स्वाभिमान पानी बगेझैं बग्दैछ । स्खलित हुँदैछ । कहिल्यै सत्तामा नगएको नेमकिपाको निष्कर्ष हो यो । हामीले देखे भोगेको यथार्थ पनि यही हो ।
पहिचानको कुरा गर्ने हो भने भेटिकनदेखि भुटानसम्म, बंगलादेशदेखि बर्मासम्म विश्वसमुदायमा समान छन् । नेपालमात्र भारतको सामु मुखले बोल्न सक्दैन, नाकले सुघ्छ र पुच्छर हल्लाईरहन्छ । अर्थात आत्मशक्ति गुमाएर घ्राणशक्तिमा पुगेको छ नेपाल ।
अमेरिकामा रकफेलरदेखि बिल गेट्ससम्मका खर्बपतिहरु सत्तामा पुगेनन् । भारतमा लक्ष्मी मित्तलदेखि रतन टाटासम्म सत्तामा उक्लने इच्छा राख्दैनन् । नेपालमा राजनीति– मुनाफाको ग्यारेण्टी भएको भारतीय अनुदान र गरिब नेपालीले तिरेको करको सब्सिडीसमेत पाइने साल्ट ट्रेडिङ्को नून व्यापार बनेको छ । धमिरा लागेपछि रुख त ढल्छ, देश खोक्रो हुनु स्वभाविक हो । भविष्यमा यो देशको बर्बादीको कस्ता–कस्ता परिदृश्य देख्नुपर्ने हो ? सम्झदा पनि कहाली लाग्छ ।
नेपाल राष्ट्रको चुकुल भनेको नेपाली जनतामा विद्यमान एकता र नेपाली सेना हो । कतिञ्जेल थामिएला, हेर्न बाँकी छ ।
ऐतिहासिक परिवर्तनका संवाहक बनेका नेताहरुका अनुहार लिङ्कनजस्ता लाग्छन् । किनकि यिनले परिवर्तन गर्ने आन्दोलनको नतृत्वकारी भूमिका सम्पन्न गरे तर तिनका वर्तमान व्यवहार हेर्ने हो भने लेण्डुपलाई बिर्साउँछन्, मुसोलिनी पो हुन् कि भन्ने लाग्छ । १० वर्षको जनयुध्दकाल, परिवर्तनको १५ वर्ष यसै भन्छ ।
पृथ्वीनारायण शाह, भक्ति थापा, बहादुर शाह, भीमसेन थापा, महेन्द्रको नाम उच्चारण ग¥यो भने प्रतिगामी भइन्छ । जबरजस्तीसहितका जतिसुकै असामाजिक, अमानवीय काम गरे पनि छातीमा ‘माओ र स्टालिन’को फोटो वा ‘मानवाधिकार’को स्टिकर टा“सेर ‘विदेशी दलाल मूर्दावाद’ ‘बिस्तारवाद मूर्दावाद’ ‘साम्राज्यवाद मूर्दावाद’ ‘लोकतन्त्र जिन्दावाद’ भन्यो भने अग्रगामी होइने देश बन्यो यो ।

कोशी, गण्डकी, महाकाली, कालापानी, सुस्तामात्र होइन, सीमाका चेलीमाथि बलात्कार हुँदा पनि चुप लाग्नुपर्छ, खाँटी लोकतन्त्रवादी भइन्छ । माटो के हो, महानता के हो ? स्वदेश के हो, स्वाधीनता के हो ? परिचय के हो, परचक्री को हो ? बिपन्नताको पहाडले थिचेका ४० प्रतिशत जनतालाई थाहा छैन । बाँकी ६० प्रतिशतमा ५७ प्रतिशत भ्रममा छन्, ३ प्रतिशतले सत्ताको घोडा दौडाइरहेको छ । यो ३ प्रतिशतमा अधिकांश विदेशीबाट निर्देशित छन्, स्वराजमुखी थोरै छन्, छायाँमा छन् । हाम्रा भविष्यद्रष्टा तिनै ३ प्रतिशत हुन्, जो सडक र सत्ताका नायक हुन् । तिनीहरुका लागि जनता केही होइनन् । नेपाली एकतालाई फूटबल बनाएर खेल्ने बिदेशपरस्त मालिकलाई जदौ ।
इतिहासको एउटा कालखण्डमा नजिबुल्लाहले काबुलमा सोभियत सेनालाई पालेर दास बनाएझैं वर्तमान कालखण्डमा विदेशीले हाम्रा नेताहरुलाई भाडाका गणतान्त्रिक सेना बनाएको छ । गणतन्त्रको कल्की भिरेको लोकतन्त्रमा लोक दयनीय अवस्था भोगिरहेका छन् । भारतका लागि २१औं शताव्दिका नेपाली नजिबुल्लाह शेरबहादुर देउवा, प्रचण्ड, माधव नेपाल, बाबुराम भट्टराई, केपी ओलीहरु हुन् जसले स्वदेशी राजनीतिमा विदेशी रङ् भरेका छन् । यसैले त सिंहदरवारदेखि सानेपा, पेरिसडाँडा, बालुवाटार दरवारभित्र अशोक मेहता, केभी राजन, अशोक सिंघल, जनरल बक्सी, रअका प्रमुख सामन्त गोयल, हुन्, राकेश सूद, श्यामशरणहरुको आदेश चल्ने गरेको छ । दासतामा गर्व गर्नेहरु सबैभन्दा बढी राजनीतिज्ञ, मानवाधिकारवादी र बुध्दिजिवी कित्ताका छन् । यिनीहरु सबै साउथब्लक र इण्डिया डक्ट्रिनको पोखरीमा पौडी खेल्न मन पराउँछन् । यो सुकेलुतो राज्य सञ्जालभरि सल्किसकेको छ । देशभक्तलाई दबाइँदा राष्ट्रका आधारहरु मैनबत्तीझैं बिस्तारै बिस्तारै पग्लदै गएका छन् । भारतको राष्ट्रिय गानका संगीतकार नेपाली रामसिंह ठकुरी पनि थिए, त्यही गान नेपालीको गलामा भिराइँदै छ । इतिहासमा स्वाभिमानको गीत गाएर नेपाली उर्जा प्रदर्शन गर्ने वीरका लालहरु बिदेशीपन चुसेर टाक्सिन थालेका छन् ।
शान्ति प्रकृया सुल्झाउन इयान मार्टिन आए, करिन लेन्डग्रेन आइन् । यी दुबै राज्यभन्दा पृथक विचार राख्दा महासचिव वान कि मुनले यिनका रिपोर्टमा नेपालमाथि खतरा देखेको समाचार पनि सार्वजनिक भएका थिए । मार्टिनकै अनुयायी बनेर उपमहासचिव बनेका कूलचन्द्र गौतमले सेवा निवृत्त हुनुअघि काठमाडौं पोष्टमा शान्ति सम्झौताअनुसार सेनाले संख्या घटाउनु पर्ने तर्क पेश गरे । राष्ट्रिय सेना र सेनाको ४ सय वर्ष पुरानो इतिहासमाथि चुनौति दिएर गौतमले कसको पृष्ठपोषण गर्न खोजेका हुन् ? के राष्ट्रसंघको पदाधिकारीले आचारसंहिता मिच्न मिल्छ ? यो रहस्य आज पनि रहस्य नै छ । कसैले बोलेनन्– छापामारको उपयोगिताको कदर गर्दा अर्को संस्थामा पहिरो ल्याउनु राष्ट्रघात हो ।
अर्का बिभिषण देखापरेः दीपकप्रकाश भट्ट । यिनले जवाहरलाल नेहरु विश्वविद्यालयबाट नेपालको राष्ट्रिय सुरक्षा विषयमा पीएचडी उपाधि प्राप्त गरेका छन् । यिनले लेखेको सोधपत्रमा भारतीय सेनाको तारिफ गरिएको छ भने नेपाली सेनाको अपहेलना । किन यस्तो भयो ? पीएचडी भनेको विदेशी सेनाको तारिफ गर्ने प्रमाणपत्र हो ? यो सब देखेपछि पीएडी दीपक प्रकाश भट्ट ‘र’ का सल्लाहकार अशोक मेहताको खेताला भएका रहेछन् भन्नु गलत हुन्छ र ?
पीएचडी भट्टले नेपाली सेनालाई राजनीतिक स्वार्थमा प्रयोग गरिएको गम्भीर आरोप लगाएका छन् । के सेनाको सत्य यही हो त ? इतिहास साक्षी छ ः १९०३ को कोतपर्व, २००७ साल, २०१७ साल, २०३६ साल, २०४६ साल र २०६३ सालको परिवर्तनलाई सेनाले सहज रुपमा नस्वीकारेको भए सैनिक शासन आउन सक्ने थिएन ? कति मर्थे, कति मारिन्थे ? २०७८ मा राजनीतिक खिचलो यति बढेको छ कि सबैले सेना सेना भनिरहेका छन् । सेनाले अघि स¥यो भने के हुन्छ ?
सेनाको भूमिकामा अन्याय नगर्ने हो भने हरेक परिवर्तनमा नेपाली सेना जनताको आकांक्षाको साँचोमा ढालिएको छ । जनआन्दोलनको चाहनालाई सेनाले आत्मसात ग¥यो । गिरिजाप्रसाद कोइराला राष्ट्राध्यक्षको भूमिकामा आउँदा अथवा प्रचण्ड प्रधानमन्त्री हुँदा पनि सेनाको प्रतिवध्दतामा शंका गर्ने ठाउँ देखिएन । संविधानसभाले डा. रामबरण यादवलाई राष्ट्राध्यक्ष निर्वाचित गरेपछि शपथग्रहण समारोहमा सबैले देख्ने, सुन्ने र बुझ्ने भाषामा नेपाली सेनाका प्रधानसेनापतिले राष्ट्रिय अखण्डताप्रति नेपाली सेना कहिल्यै नझुक्ने र जनादेशको सदैव पालना गर्ने प्रतिबध्दता नै व्यक्त गरेर राष्ट्रिय सेना राजनीतिमा छैन भन्ने धारणा नै प्रष्ट पारियो । यसबाट पनि नेपाली सेना शुद्ध व्यवसायिक सेना हो भन्ने प्रमाणित गर्छ ।
राष्ट्रिय नाचघरको रङ्गमञ्चजस्तो बनाइएको राजनीतिमा नेताहरुले आफूलाई अग्लो देखाउने प्रतिस्पर्धात्मक हास्यव्यङ्ग हो । यो त्रासदीपूर्ण रमाइलोका उत्प्रेरक र एम्पायर बनेका विदेशीहरु मज्जाले नेपालको संवेदनशील अङ्गप्रत्यङ्ग सुमसुम्याएर आनन्द लिइरहेका छन् ।
ओलिभर नर्थ, इरान गेट काण्डमा सिनेटलाई झुक्याएको अपराध काण्डले ७ लाख डलर जरीवाना तिरेर ९ वर्षको कालकोठरीमा पुगे । ४० प्रतिशत विपन्न बर्गको पहाडले किचिएको र अधिकांश बुध्दिजिवी बर्ग बिदेशी पैसाले थिचिएको नेपालमा दिनदिनै जनता झुक्याउने र जनादेशको उल्लंघन भइरहेको छ । यिनलाई दण्डित गर्ने कहिले, कसले ? ठूला नेताहरु आफूलाई तीसमार खाँ सम्झन्छन््, कोही कोही त आफूलाई लोकतन्त्रको ‘दादा’ भन्ठान्छन् । धर्म राजनीतिमा पनि हुन्छ । राजनीतिकर्मीमा न धर्म देखियो, न लोकाचार बाँकी रह्यो ।
नेपाली सेनाको इतिहास पढ्दा थाहा हुन्छ ः गोरखकालीमा नाल निसान पूजा गरेर संगठित गरेको गोर्खा सेना नै आजको सैनिक संगठन हो । ९६ हजार संख्याको फौज र लाखौंलाख भूपू सेनाको यो संगठन नै नेपालको अन्तिम सुरक्षा कवच पनि हो । कहिले–कहिले प्रश्न उठ्ने गर्छ, किन नेपाली सेनामा अर्को ‘बहादुर शाह’ जन्मेन ? बहादुर शाहको नायबीकालमा नेपाली सीमालाई पूर्वमा टिस्टादेखि पश्चिममा सतलज काँगडासम्म बिस्तार गरिएको थियो । मर्नु अघिसम्म पनि शिर ठाडो पारेर मर्ने बहादुर शाह भनेको अदम्य साहस, धैर्य र रणकौशलका प्रतिमूर्ति थिए । जसको हरेक नयाँ दिन माटोको तिलक लगाएर उदाउँथ्यो भने हरेक रात माटोको सिरान हालेर निदाउँथ्यो ।
पछि मुख्तियार भीमसेन थापाको पालामा अंगे्रजले षडयन्त्र गरेर नेपाललाई युध्दमा होम्यो र पानीको मुहान थुनेर प्याकप्याकी पार्दै १८१६ को सुगौली सन्धि गर्न बाध्य पा¥यो । आजको मेची–महाकाली यही हो । बाँकी यत्ति भूभागमा समेत भारतीय अतिक्रमण र हस्तक्षेप बढ्दैछ किन ?यत्ति कुरामा पनि हामीले बहस नगर्ने ?

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports