आज राष्ट्रपति भण्डारीले संसदको सयुत्त बैठकलाई विशेष सम्बोधन गर्ने
वि.सं.२०७९ माघ २७ शुक्रवार ०७:५७
shares

काठमाडौँ ।राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै छिन् । अपराह्न ३ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार राष्ट्रपतिले गर्ने विशेष सम्बोधनको प्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्नेछन्। त्यसपछि संयुक्त बैठकले धन्यवादको प्रस्ताव पारित गर्ने कार्यसूची तयार भएको जानकारी दिए।
नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले आज दिउँसो तीन बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेकी हुन । संविधानको धारा ९५ मा राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ भन्ने व्यवस्था छ। दुई कार्यकाल सम्म राष्ट्रपति भएकी भण्डारीको आज हुने विशेष सम्बोधनलाई ‘बिदाइ सम्बोधन’को रूपमा हेरिएको छ । नेपालको संविधानले एक व्यक्ति दुई पटक भन्दा राष्ट्रपति हुन नसक्ने प्रावधान राखेको छ । निर्वाचन आयोगले पनि मुलुकको तेस्रो राष्ट्रपतिका लागि आगामी २५ फागुनका लागि नयाँ निर्वाचनको कार्य तालिका सार्वजनिक गरिसकेको छ । जसअनुसार नयाँ राष्ट्रपतिको निर्वाचनका लागि तयारी सुरु गरिसकेको निर्वाचन आयोगले जनाएको छ ।
दुई कार्यकालको जिम्मेवारी सम्हालेकी राष्ट्रपति भण्डारीले शनिवार साँझका लागि साँझ रात्रि भोजको समेत आव्हान गरिसकेकी छिन । उक्त रात्रि भोजमा उपराष्ट्रपति, प्रधानमन्त्री, सर्वोच्च अदालतका प्रधानन्यायाधीश, मन्त्रीहरू, सुरक्षा निकायका तीनै प्रमुखहरू, मुख्यमन्त्री, सांसदहरू, संवैधानिक निकायका प्रमुख र उच्च अधिकारीहरू, कूटनीतिक नियोगका अधिकारीहरूलाई निम्तो गइसकेको छ । उनी नेपालको पहिलो महिला राष्ट्रपतिको रूपमा नाम दर्ज गरेर २५ फागुन बाट औपचारिक रूपमा बिदा हुँदै छिन् ।






































