linktrix Long Ad
Salt Trading Long Ad

आज उपराष्ट्रपतिको निर्वाचन हुदै, आजै परिणाम आउने

1.63K
shares

काठमाडौँ ।उपराष्ट्रपति चयनका लागि आज मतदान हुँदै छ । निर्वाचन अधिकृतको कार्यालयले सम्पूर्ण तयारी पूरा भएको र बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म नयाँ बानेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मतदान हुने जनाएको छ । उपराष्ट्रपति पदका लागि चार जना उम्मेदवार छन् । नेकपा (एमाले)बाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा तथा जनता समाजवादी पार्टीबाट प्रमीला कुमारी यादव र रामसहायप्रसाद यादव उम्मेदवार छन् । प्रमिलाकुमारी उम्मेदवार नरहेको उक्त दलले जनाए पनि निर्वाचन अधिकृतको कार्यालयको समयसीमा भित्र उम्मेदवारी फिर्ता नलिएकोले मतपत्रमा उनको नाम समेत राखिएको छ।

जनता समाजवादी पार्टीका उम्मेदवार रामसहायप्रसाद यादव नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का सांसदको समर्थन छ। जनमत पार्टीकी झालाई भने लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका सांसदले समर्थन गरेका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उपराष्ट्रपतिको निर्वाचनका लागि ९८० थान मतपत्र छापिएको जानकारी दिए। राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा सङ्घीय संसद्का दुवै सदनका सदस्य र प्रदेश सभाका सदस्य रहने निर्वाचक मण्डलले मतदान गर्ने कानुनी व्यवस्था छ। सो व्यवस्था बमोजिम ८८२ सदस्य मतदान गर्न योग्य छन्।

सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले सङ्घीय संसद्का सदस्यले मतदान गर्ने केन्द्रका लागि कृष्णशरण लामिछाने र प्रदेश सभा सदस्यले मतदान गर्ने केन्द्रका लागि मन्दिरा शाहीलाई मतदान अधिकृत नियुक्त गरिएको जानकारी दिइन्। आयोगले सार्वजनिक गरेको नमुना मतपत्रबमोजिम सङ्घीय संसद्का सदस्यका लागि सेतो पृष्ठभूमिमा रातो अक्षरले लेखिएको मतपत्र छापिएका छन्। प्रदेश सभा सदस्यका लागि सेतो पृष्ठभूमिमा हरियो अक्षरले लेखिएको मतपत्र छापिएको प्रवक्ता पौडेलले जानकारी दिए। मतपत्रमा पहिलो क्रममा नेकपा एमाले बाट उम्मेदवारी दिएका शाक्य, दोस्रो क्रममा जसपा बाट उम्मेदवारी दर्ता गराएकी प्रमिलाकुमारी, तेस्रोमा जनमत पार्टीका ममता झा र चौथोमा जसपाकै रामसहायप्रसाद यादवको नाम उल्लेख छ।

निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार नै मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी गरिएको जनाएको छ। सहायक निर्वाचन अधिकृत शर्माले भने, “मतदान सम्पन्न भएलगत्तै निर्वाचन प्रतिनिधिको सहमतिमा मतगणना सुरु हुनेछ। साँझ ६ बजेभित्र मतपरिणाम आउने अपेक्षा गरेका छौँ।” राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ बमोजिम कुनै उम्मेदवारले प्राप्त गरेको कुल मत निर्वाचक मण्डलको तत्काल कायम रहेको कुल मतको बहुमत भएमा निर्वाचन अधिकृतले त्यस्तो उम्मेदवार निर्वाचित भएको घोषणा गर्नुपर्नेछ। उक्त व्यवस्था अनुसार निर्वाचक मण्डलको कुल मतभार ५२ हजार ६२८ रहेकोमा निर्वाचित हुन २६ हजार ३१४ मत आवश्यक पर्नेछ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports