प्रचण्डले ब्रह्मलुट गरेको स्वीकार गरी सके फेरी लुट्न अयोग्य लडाकुलाई रकम दिने किन ? : कमल थापा
वि.सं.२०८० वैशाख १५ शुक्रवार १२:४७
shares

काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाले करिब ७ हजार संख्यामा रहेका माओवादी लडाकुलाई ३४ हजार संख्या पुर्याएर ब्रह्मलुट गरेको प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै स्विकारेको बताएका छन् ।
सरकारले माओवादीका अयोग्य लडाकुलाई ८० करोड रुपैयाँ बाँड्ने तयारी गरिरहेको बेला थापाले सामाजिक सञ्जालमा लेख्दै यस्तो बताएका हुन् । उनले नक्कली लडाकुको नाममा अर्बौं रुपैयाँ लुटेको पनि सार्वजनिक भैसकेको बेला अयोग्य लडाकुको नाममा फेरि लुट्ने प्रयास भइरहेको बताएका छन् । थापाले यसको मतियार नेपाली कांग्रेस बनेको दाबी गरेका छन् ।
‘करिब ७ हजार संख्यामा रहेका माओवादी लडाकुलाई ३४ हजार संख्या पुर्याएर ब्रह्मलुट गरेको त स्वयं प्रचण्डले नै स्विकार गर्नुभएको छ । नक्कली लडाकुको नाममा अर्बौं रुपैयाँ लुटेको पनि सार्वजनिक भैसकेको छ । अब अयोग्य लडाकुको नाममा फेरि लुट्ने प्रयास भइरहेको छ ।’ अध्यक्ष थापाले भनेका छन्, ‘कांग्रेस त मतियार नै भयो । रास्वपा, राप्रपा जस्ता भ्रष्टाचार विरोधी भन्ने पार्टीहरु किन बोल्दैनन् ? यसबारे संसदमा किन बहस हुँदैन ?’






































