प्रधानमन्त्रीको भारत भ्रमणको कार्यतालिका सार्वजनिक
वि.सं.२०८० जेठ १३ शनिवार १५:१४
shares

काठमाडौँ । जेठ १७ गतेदेखि हुने प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्डको भारत भ्रमणको कार्यक्रम तालिका सार्वजनिक भएको छ । शनिबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको कार्यक्रम तालिका सार्वजनिक गरेको हो ।कार्यक्रम तालिका अनुसार प्रधानमन्त्री प्रचण्डले जेठ १८ गते भारतीय समकक्षी नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डल सँग हैदरावाद हाउसमा वार्ता गर्नेछन् । वार्तापछि दुई प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको छ । त्यसलगत्तै भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री प्रचण्ड र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रोपदी मुर्मु, उपराष्ट्रपति जनदीप धनखरसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) ले संयुक्त रुपमा आयोजना गरेको नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।प्रधानमन्त्रीले भारतका लागि नेपाली राजदूत शंकर प्रसाद शर्माले आयोजना गरेको स्वागत समारोहमा भारतमा रहेका नेपाली समुदायसँग पनि कुराकानी गर्नेछन् । प्रधानमन्त्री दाहाल जेठ २० मा काठमाडौँ फर्कनुअघि मध्य प्रदेशको उज्जैन र इन्दोरको पनि भ्रमण गर्ने कार्यक्रम छ ।
नेपालको प्रधानमन्त्रीका रुपमा प्रधानमन्त्री ‘प्रचण्ड’को यो चौथो भारत भ्रमण हो । यस भ्रमणले नेपाल र भारत बीचको सदियौं पुरानो, बहुआयामिक र सौहार्दपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने मन्त्रालयले आशा व्यक्त गरेको छ ।





































