linktrix Long Ad
Salt Trading Long Ad

विराटनगरको मुख्य बजारमा रहेको कवाडी गोदाममा भएको आगलागीमा परी घाइते भएकाहरुलाई उपचारका लागि काठमाडौं पठाउने तयारी

858
shares

विराटनगर । विराटनगरको मुख्य बजारमा रहेको कवाडी गोदाममा भएको आगलागीमा परी घाइते भएकाहरुलाई उपचारका लागि काठमाडौं पठाउने तयारी भएको छ । विराटनगर महानगरपालिका–७ सातघुम्तीमा रहेको कवाडी गोदाममा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ ।

घाइते चारै जनालाई उपचारका लागि काठमाडौँ लैजाने तयारी भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । ‘घाइते चारमध्ये दुई जनाको अवस्था गम्भीर छ’, उनले भने, ‘चारैजना घाइतेलाई थप उपचारका लागि काठमाडौ पठाउने प्रयास गर्दैछौं ।’ आगलागीमा परी विराटनगर–६ की अन्दाजी ६० वर्षीया रीता सरदार, विराटनगर–६ की अन्दाजी ६५ वर्षीय सुशीला पासवान, मोरङको कटहरी गाउँपालिका–६ की अन्दाजी ३० वर्षीया पिंकी कामत र विराटनगर–६ का अन्दाजी ५८ वर्षीय किशोर कामत घाइते भएका छन् । प्रहरीका अनुसार रीता र सुशीलाको अवस्था गम्भीर छ ।

विराटनगरको मुख्य बजार क्षेत्र सातघुम्तीमा रहेको कवाडी पसलमा बुधबार दिउँसो २ :१५ बजेतिर एक्कासी आगलागी भएको थियो । गोदामभित्र काम गरिरहेको अवस्थामा बाहिर निस्कने गेटबाट आगो लागेका कारण कामदारहरु सहजै भाग्न पाएनन् । आगलागीमा परी मृत्यु हुने महिलाको नाम ठेगाना खुलेको छैन । अर्का मृतक भने विराटनगर महानगरपालिका-६ का ४० वर्षीय दीपक मण्डल हुन् । उनको उपचारका क्रममा न्यूरो अस्पतालमा मृत्यु भएको हो ।

डीएसपी दाहालका अनुसार आगलागी नियन्त्रण गर्न दुई घण्टा भन्दा बढी समय लागेको थियो । आगलागीको कारण र क्षतिको विवरण आइनसकेको उनले बताए । ‘प्रारम्भिक सूचना अनुसार मृतक दीपक मण्डल नै कवाडी पसलको सञ्चालक रहेको कुरा आएको छ’, उनले भने, ‘थप अनुसन्धान गर्दैछौं ।’ कवाडी गोदाममा एक्कासी आगलागी हुँदा छेउछाउका स्थानीय त्रसित भएका थिए । आगलागीबाट निस्किएको धुवाका कारण छेउछाउका विद्यालयको पढाइ केही समय प्रभावित भएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports