दुई बैक बाहेक सबै बैंकले घटाए निक्षेपको ब्याज दर
वि.सं.२०८० पुस २९ आइतवार १०:२७
shares

काठमाडौं । एनएमबि र एभरेष्ट बैंकबाहेक सबै वाणिज्य बैंकहरुले निक्षेपको अधिकतम ब्याज दर घटाएका छन्। ६०.७ प्रतिशत हिस्सा रहेको मुद्दतीका साथै २६.३ प्रतिशत हिस्सा रहेको बचतको ब्याज बैंकहरुले घटाएका हुन्। अधिक तरलता भए पनि ऋण दिन नसक्ने अवस्था भएपछि बैंकहरुले खर्च कम गर्न निक्षेपको लागत घटाएका हुन्। साउनदेखि निरन्तर रुपमा बैंकहरुले निक्षेपको ब्याज घटाउँदै आएका छन्।
एनएमबिले ९ प्रतिशत र एभरेष्टले ८ प्रतिशत ब्याज यथावत राखेका छन्। बाँकी अन्य सबै बैंकले ब्याज घटाएका छन्। सरकारी बैंकहरु अझ उत्साहित भएर ब्याज घटाउने प्रतिस्पर्धामा लागेका छन्। नेपाल राष्ट्र बैंकले असोजमा मौद्रिक समीक्षा गर्दै नीतिगत तथा बैंक दर घटाएको थियो। त्यसपछि वाणिज्य बैंकहरुले पनि ब्याज घटाउँदै आएका थिए। माघ १ गतेदेखि लागू हुनेगरि बैंकहरुले थप ब्याज दर घटाएका हुन्।
‘बैंकहरुले देखाएको ‘एग्रेसन’ले राष्ट्र बैंकले नीतिगत दरहरु अझ घटाउनु पर्छ भन्ने संकेत गरेको छ,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, ‘ऋणको माग बढेर अनुत्पादक क्षेत्रमा गएको भए एउटा कुरा हुन्थ्यो। यहाँ त ऋण नबढ्ने तर तरलतामा सुधार हुने हुँदा त्यसबाट अनुत्पादक क्षेत्रमा पैसा जाला भन्ने चिन्ता भएन। त्यसैले अर्धवार्षिक समीक्षाबाट घटाउनुपर्ने नै देखिन्छ।’





































