सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

देश सङ्कटमा छ, सङ्कटका मुहान नेतृत्वबर्ग हुन्

546
shares

 

राजन कार्की

इतिहास वीरको लेखिन्छ, त्याग र तपस्याको लेखिन्छ । नामर्द त कलङ्कमात्र हुन् ।
कसले सम्झाइदिने हाम्रा नेतृत्वबर्गलाई यो यथार्थ ?
देश सङ्कटमा छ । यो सङ्कटबाट मुक्ति मौजुदा नेतृत्व तहबाट सम्भव छैन । किनकि यी सङ्कटका कारखाना हुन् । देशमा आगो लगाएर खरानीको व्यापार गर्नेबाट सङ्कटको समाधान खोज्ने सपना अझै किन देखिरहेका छौं, आश्चर्य लाग्छ ।
सुगौली सन्धिले नेपालको सिमाना खुम्च्यायो, यही सन्धिले नेपाली युवाशक्तिलाई बृटिश गोरखा बनाउने ढोका खोल्यो । बृटिश गोर्खा, भारतीय गोर्खादेखि यतिबेला अनेक देशहरुको निर्माण र सुरक्षामा नेपाली युवा जागीर खाइरहेका छन् । ३ करोड जनसंख्या भएको देशका ६२ लाख युवायुवती वैदेशिक रोजगारीमा जानु भनेको देश कमजोर हुनु हो । जो देशमा छन्, ती पनि पार्टीका कार्यकर्ता बनेका छन् र विवेकी बन्न सक्दैनन् भने देश कति कमजोर भइसकेको होला ?
गोर्खा ब्रिगेड एसोसियसनको वेभसाइटका अनुसार पहिलो र दोस्रो विश्वयुद्धमा २ लाख ३८ हजार नेपाली युवाले विदेशीका लागि लडेछन्, आजसम्म विदेशीको सार्वभौमिकता बचाउन युवाहरु आफ्नो छाती थापिरहेका छन् । तिनै नेपाली असमानता र विभेदको जाँचोमा पिसिएका छन् । वैदेशिक रोजगारीबाट आउने रेमिटान्सले राज्य चलाउने लोकतन्त्रवादी शासकहरु नेपाली युवायुवतीको शोषण किन भइरहेको छ भनेर मुद्दा उठाउनै सक्दैन ।
अर्थात देश सङ्कटमा छ । परिवर्तनले सङ्कट ल्यायो । संविधानसभा, संविधान र निर्वाचनले पनि सङ्कट ल्यायो । अग्रगमन भन्ने र समृद्ध नेपाल सुखी नेपालीको सपना देखाउने जो कोहीले सङ्कटमात्र सिर्जना गरे । राज्यले दिनैपर्ने कुनै पनि सुविधा नागरिकले पाएका छैनन्, यो गम्भीर सङ्कट हो । एकता भाँडिनु र भ्रष्टाचारमात्र बढ्नु, न्यायको प्रत्याभूति हराउने सबैभन्दा ठूलो मानवाधिकारको सङ्कट हो । त्यसमाथि दण्डहीनता, सक्किगो नि । देश छ, देशमा हुनुपर्ने कुनै पनि विशेषता छैन । अर्थात सङ्कटको भीमा छ देश ।
इण्टरनेशनल क्राइसिस ग्रुपको एसिया रिपोर्टको पेज १३२ मा प्रचण्डको एउटा कथन उल्लेख छ । उनले भनेका रहेछन्–‘राजासहितको देशभक्त शक्तिहरूलार्य एकताबद्ध पारेर भारतीय हस्तक्षेपको खतरा रोक्न सकिन्छ ।’ १० वर्षअघिको प्रचण्डको त्यो भावजस्तै सोच आज हरेक दलभित्र अपारदर्शी रुपमा देखिन्छ । त्यो सोच यथार्थमा सत्य हो तर बोल्न कोही सकिरहेका छैनन् । सबै नेतालाई थाहा छ, उनीहरु अक्षम भइसकेका छन् । यो त उनीहरुको भाग्य हो कि जनता सोझा छन्, सहिरहेका छन् । युवाशक्ति पलायन भएका छन् र विद्रोह हुनसकेको छैन । जो छन्, तिनीहरु पार्टीको घेरावन्दीमा परेका छन् । देशमा सङ्कट बाक्लिदो छ ।
देशबारे सोच्ने नेतृत्व, पार्टीले हो । जनप्रतिनिधि र विचारकहरूले हो । कोही बोल्दैनन्, सोच्दैनन्, बहस गर्दैनन् । नीति र नैतिकता, सौहाद्रता र लज्जालाई लिलाम गर्ने ठूला पार्टीहरू महाधिवेशनमा लागेका छन्, सम्मेलन गरिरहेका छन् । यिनले गरेको महाधिवेशन, सम्मेलनमा कहीं पनि आमनागरिकका मुद्दा छैनन् । देशको मुद्दा पनि छैन । यिनले जानेको व्यक्तिवाद हो, जताततै व्यक्तिवाद छ, स्वार्थ र सत्तावाद मात्र छ ।
देश अन्धकारमय बनेको छ । अन्धाहरूले चलाएको देश महाभारतको धृतराष्ट्रमय बनेको छ । जे छ, स्वार्थ र सेटिङ छ । जे छ, भ्रष्टाचार र कुशासन छ । यसरी देश सङ्कटमा फस्दैछ र लोकतन्त्र नामको पद्धति असफल भइरहेको छ । तैपनि यी अन्धाहरू लोकतन्त्रको गीत गाएर थाक्दैनन् ।
जनता निराश छन् । निराश जनता असन्तुष्टि व्यक्त गरिरहेका छन् । संगठित असन्तुष्टि नभएकाले भ्रष्टाचारीहरु भ्रष्टाचार छोपचाप पार्ने कसरत गरिरहेछन् । यिनले किन बिर्सेका हुन्, गनाउने चिज जेसुकै वस्तुले छोप न, हावा दुर्गन्धित हुन्छ, दुर्गन्ध फैलिन्छ फैलिन्छ । यिनले सिर्जना गरेका दुर्गन्धले यतिबेला देश दुर्गन्धपुर बन्न पुगेको छ । देश स्वच्छ र स्वस्थ बनाउन कुनै एकजना वीर त जन्मनै पर्ने भयो । अन्यथा हामीले आफ्नो अस्तित्व गुमाउनु पर्ने दिन टाढा छैन ।
कतिसम्म ढाँट्न जानेका यिनले । समानता र प्रगतिको गीत सुनाएर आफूचाहिं भ्वाइलिनमा निरो झुमेझैं भ्रष्टाचारमा झुमिरहेका छन् । लोकतन्त्रजस्तो पवित्र पद्धतिलाई यिनले कसरी फोहरको टुकुचा बनाइदिए । तैपनि यिनलाई पश्चाताप छैन । किनकि यिनीहरु पापकर्मलाई राजनीतिक धर्म सम्झिरहेका छन् । राजनीतिलाई व्यवसाय बनाइरहेका छन् ।
२०६३ सालदेखिको १५ वर्षमा देखिएको नेताको नैतिकहीनता हो । संविधान जारी गर्ने यिनै हुन्, संविधानको बलात्कार गर्ने बलात्कारी पनि यिनै हुन् । यसकारण त संविधान नाङ्गेझार भएर सिंहदरवारतिर, शितलनिवासतिर, रामशाहपथतिर रोइरहेको छ । ७ सय ६१ सरकारको परिकल्पना गरेको संविधान र सुखी नेपाली समृद्ध नेपालको सपना देखाउने नेताहरु अब पनि संविधानको कुरा गर्छन् । जबकि हरेक सरकार भ्रष्टाचारमा लिप्त छ । गाउँमा सिंहदरवार पु¥याउने भनेर भ्रष्टाचार पु¥याउने यिनै हुन् । यिनको कुरा पत्याएर अझै आमनागरिक यिनकै पछि लाग्छन् भने आफ्नो घुँडा आफै फोर्दैछन् । नेताहरू यति बाठा छन् कि जनताको मुड्की जनताकै काँध चढेर जनताको पीठमा ठोकिरहेका छन् ।
नेपालीले परिवर्तन खोजेका थिए सुशासनका लागि । जनयुद्ध रोक्न खोजेका थिए शान्तिका लागि । जनयुद्ध रोकियो, परिवर्तन आयो तर यो परिवर्तनले जनतालाई संवोधन गर्न सकेन । दुईपल्ट निर्वाचन भएर बनाएको संविधान जारी त भयो तर संविधानको सीमामा बनाउनेहरू नै बस्न मानेनन् । राज्यका हरेक सञ्जालमा राजनीतिकरण गरेर आफ्ना मान्छे भर्ति गर्ने र लाभ लिने व्यवस्थालाई यिनले लोकतन्त्रको जामा पहि¥याएका छन् । जामा त पुतलीलाई पनि लगाइन्छ । शासन व्यवस्था भनेको पुतलीको खेल थिएन, राजनीति गर्ने व्यवसायीहरुले संविधानलाई पुतली बनाइदिए, पुतलीनाच देखाइरहेका छन् ।
अनियमितता, नैतिकहीनता रोक्न नसक्ने पनि संविधान हुन्छ ? नेतालाई जवाफदेही बनाउन नसक्ने पनि संविधान हुन्छ ? चुनाव हुनु र सरकार बन्नुमात्र लोकतन्त्र होइन, लोकतन्त्रमा लोकअपेक्षा संवोधन हुनुपर्छ । त्यस्तो अवस्था कहीं छैन । योग्यताको कदर नहुने र राम्रा छाडेर अयोग्य हाम्रालाई जिम्मेवारी दिएर राष्ट्र बर्बाद भएको हेरिरहने पनि संविधान हुन्छ ?

आज जे जति बिग्रेको छ, संविधान असहाय भएकाले बिग्रिएको छ । संविधानको व्याख्या गर्ने अदालतसमेत भ्रष्टाचारको दलदल बनिसकेकाले यो संविधानले दिने भनेको अव्यवस्था र संकटमात्र हो । जुन संकट चुलिदै गएर देश भीरको चिण्डो उँभो न उँधो बन्न पुगेको छ । यो संविधान अझै राखिरहने हो भने यो संविधानले नेपालीको पहिचान र नेपालको अस्तित्व समाप्त पार्न लामो समय कुर्नुपर्ने छैन ।
यसकारण यो संविधानलाई छिटोभन्दा छिटो बिदा गर्नुपर्छ । लाटाले बाउ भन्न नपाएजस्तो संविधान कार्यान्वयन भयो भनेर गुड्डी हाँकेरमात्र केही हुन्न । संविधान कार्यान्वयन भएको भए लोककल्याणकारी राज्यका झलकहरू किन देखिदैनन् । जता पनि जनताको शोषण र नेताको मनपरी । यस्तो अवस्था लोकतन्त्र हुनसक्दैन । यो त भोरजूवा मात्र हो ।
देश अभिभावकविहीन हुनाले यस्तो संकट बेहोर्नु परेको हो । कसैले खबरदार नै नभनेपछि नेताहरू आपसमा मिल्ने र भागबण्डा लगाउने, खाने । यही सिण्डिकेट चलिरहेको छ । जब देशको बारेमा चिन्तन नै हुँदैन, नागरिक समाज र बुद्धिजीवी बर्गले समेत विवेकले बोल्दैनन् भने त्यो देशमा हुने बाँदर नाच नै हो । नेपालको वस्तुस्थिति बाँदरनाचभन्दा बढी केही छैन ।

पार्टी नेताहरू सबै जान्ने, तिनको खुशीमा पद्धति चल्नुपर्ने, तिनले चाहेको फैसला हुनुपर्ने, तिनले जे गरे पनि दण्डित हुनु नपर्ने, वास्तवमा नेपाल दण्डहीन मुलुक बनेको छ ।
यसकारण पनि देशलाई एउटा अभिभावक चाहियो । सवल संविधान चाहियो । जसले मानवीय र मूल्य र मान्यता, लोकतन्त्रका गरिमा र महिमालाई सीमावद्ध गर्न सकोस् । यतातिर सोच्न सकिएन भने नेपालकै जय नेपाल हुनेछ । चेतना भया ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports