kumari
stcnepal

No result found.

देश सङ्कटमा छ, सङ्कटका मुहान नेतृत्वबर्ग हुन्

3

 

राजन कार्की

इतिहास वीरको लेखिन्छ, त्याग र तपस्याको लेखिन्छ । नामर्द त कलङ्कमात्र हुन् ।
कसले सम्झाइदिने हाम्रा नेतृत्वबर्गलाई यो यथार्थ ?
देश सङ्कटमा छ । यो सङ्कटबाट मुक्ति मौजुदा नेतृत्व तहबाट सम्भव छैन । किनकि यी सङ्कटका कारखाना हुन् । देशमा आगो लगाएर खरानीको व्यापार गर्नेबाट सङ्कटको समाधान खोज्ने सपना अझै किन देखिरहेका छौं, आश्चर्य लाग्छ ।
सुगौली सन्धिले नेपालको सिमाना खुम्च्यायो, यही सन्धिले नेपाली युवाशक्तिलाई बृटिश गोरखा बनाउने ढोका खोल्यो । बृटिश गोर्खा, भारतीय गोर्खादेखि यतिबेला अनेक देशहरुको निर्माण र सुरक्षामा नेपाली युवा जागीर खाइरहेका छन् । ३ करोड जनसंख्या भएको देशका ६२ लाख युवायुवती वैदेशिक रोजगारीमा जानु भनेको देश कमजोर हुनु हो । जो देशमा छन्, ती पनि पार्टीका कार्यकर्ता बनेका छन् र विवेकी बन्न सक्दैनन् भने देश कति कमजोर भइसकेको होला ?
गोर्खा ब्रिगेड एसोसियसनको वेभसाइटका अनुसार पहिलो र दोस्रो विश्वयुद्धमा २ लाख ३८ हजार नेपाली युवाले विदेशीका लागि लडेछन्, आजसम्म विदेशीको सार्वभौमिकता बचाउन युवाहरु आफ्नो छाती थापिरहेका छन् । तिनै नेपाली असमानता र विभेदको जाँचोमा पिसिएका छन् । वैदेशिक रोजगारीबाट आउने रेमिटान्सले राज्य चलाउने लोकतन्त्रवादी शासकहरु नेपाली युवायुवतीको शोषण किन भइरहेको छ भनेर मुद्दा उठाउनै सक्दैन ।
अर्थात देश सङ्कटमा छ । परिवर्तनले सङ्कट ल्यायो । संविधानसभा, संविधान र निर्वाचनले पनि सङ्कट ल्यायो । अग्रगमन भन्ने र समृद्ध नेपाल सुखी नेपालीको सपना देखाउने जो कोहीले सङ्कटमात्र सिर्जना गरे । राज्यले दिनैपर्ने कुनै पनि सुविधा नागरिकले पाएका छैनन्, यो गम्भीर सङ्कट हो । एकता भाँडिनु र भ्रष्टाचारमात्र बढ्नु, न्यायको प्रत्याभूति हराउने सबैभन्दा ठूलो मानवाधिकारको सङ्कट हो । त्यसमाथि दण्डहीनता, सक्किगो नि । देश छ, देशमा हुनुपर्ने कुनै पनि विशेषता छैन । अर्थात सङ्कटको भीमा छ देश ।
इण्टरनेशनल क्राइसिस ग्रुपको एसिया रिपोर्टको पेज १३२ मा प्रचण्डको एउटा कथन उल्लेख छ । उनले भनेका रहेछन्–‘राजासहितको देशभक्त शक्तिहरूलार्य एकताबद्ध पारेर भारतीय हस्तक्षेपको खतरा रोक्न सकिन्छ ।’ १० वर्षअघिको प्रचण्डको त्यो भावजस्तै सोच आज हरेक दलभित्र अपारदर्शी रुपमा देखिन्छ । त्यो सोच यथार्थमा सत्य हो तर बोल्न कोही सकिरहेका छैनन् । सबै नेतालाई थाहा छ, उनीहरु अक्षम भइसकेका छन् । यो त उनीहरुको भाग्य हो कि जनता सोझा छन्, सहिरहेका छन् । युवाशक्ति पलायन भएका छन् र विद्रोह हुनसकेको छैन । जो छन्, तिनीहरु पार्टीको घेरावन्दीमा परेका छन् । देशमा सङ्कट बाक्लिदो छ ।
देशबारे सोच्ने नेतृत्व, पार्टीले हो । जनप्रतिनिधि र विचारकहरूले हो । कोही बोल्दैनन्, सोच्दैनन्, बहस गर्दैनन् । नीति र नैतिकता, सौहाद्रता र लज्जालाई लिलाम गर्ने ठूला पार्टीहरू महाधिवेशनमा लागेका छन्, सम्मेलन गरिरहेका छन् । यिनले गरेको महाधिवेशन, सम्मेलनमा कहीं पनि आमनागरिकका मुद्दा छैनन् । देशको मुद्दा पनि छैन । यिनले जानेको व्यक्तिवाद हो, जताततै व्यक्तिवाद छ, स्वार्थ र सत्तावाद मात्र छ ।
देश अन्धकारमय बनेको छ । अन्धाहरूले चलाएको देश महाभारतको धृतराष्ट्रमय बनेको छ । जे छ, स्वार्थ र सेटिङ छ । जे छ, भ्रष्टाचार र कुशासन छ । यसरी देश सङ्कटमा फस्दैछ र लोकतन्त्र नामको पद्धति असफल भइरहेको छ । तैपनि यी अन्धाहरू लोकतन्त्रको गीत गाएर थाक्दैनन् ।
जनता निराश छन् । निराश जनता असन्तुष्टि व्यक्त गरिरहेका छन् । संगठित असन्तुष्टि नभएकाले भ्रष्टाचारीहरु भ्रष्टाचार छोपचाप पार्ने कसरत गरिरहेछन् । यिनले किन बिर्सेका हुन्, गनाउने चिज जेसुकै वस्तुले छोप न, हावा दुर्गन्धित हुन्छ, दुर्गन्ध फैलिन्छ फैलिन्छ । यिनले सिर्जना गरेका दुर्गन्धले यतिबेला देश दुर्गन्धपुर बन्न पुगेको छ । देश स्वच्छ र स्वस्थ बनाउन कुनै एकजना वीर त जन्मनै पर्ने भयो । अन्यथा हामीले आफ्नो अस्तित्व गुमाउनु पर्ने दिन टाढा छैन ।
कतिसम्म ढाँट्न जानेका यिनले । समानता र प्रगतिको गीत सुनाएर आफूचाहिं भ्वाइलिनमा निरो झुमेझैं भ्रष्टाचारमा झुमिरहेका छन् । लोकतन्त्रजस्तो पवित्र पद्धतिलाई यिनले कसरी फोहरको टुकुचा बनाइदिए । तैपनि यिनलाई पश्चाताप छैन । किनकि यिनीहरु पापकर्मलाई राजनीतिक धर्म सम्झिरहेका छन् । राजनीतिलाई व्यवसाय बनाइरहेका छन् ।
२०६३ सालदेखिको १५ वर्षमा देखिएको नेताको नैतिकहीनता हो । संविधान जारी गर्ने यिनै हुन्, संविधानको बलात्कार गर्ने बलात्कारी पनि यिनै हुन् । यसकारण त संविधान नाङ्गेझार भएर सिंहदरवारतिर, शितलनिवासतिर, रामशाहपथतिर रोइरहेको छ । ७ सय ६१ सरकारको परिकल्पना गरेको संविधान र सुखी नेपाली समृद्ध नेपालको सपना देखाउने नेताहरु अब पनि संविधानको कुरा गर्छन् । जबकि हरेक सरकार भ्रष्टाचारमा लिप्त छ । गाउँमा सिंहदरवार पु¥याउने भनेर भ्रष्टाचार पु¥याउने यिनै हुन् । यिनको कुरा पत्याएर अझै आमनागरिक यिनकै पछि लाग्छन् भने आफ्नो घुँडा आफै फोर्दैछन् । नेताहरू यति बाठा छन् कि जनताको मुड्की जनताकै काँध चढेर जनताको पीठमा ठोकिरहेका छन् ।
नेपालीले परिवर्तन खोजेका थिए सुशासनका लागि । जनयुद्ध रोक्न खोजेका थिए शान्तिका लागि । जनयुद्ध रोकियो, परिवर्तन आयो तर यो परिवर्तनले जनतालाई संवोधन गर्न सकेन । दुईपल्ट निर्वाचन भएर बनाएको संविधान जारी त भयो तर संविधानको सीमामा बनाउनेहरू नै बस्न मानेनन् । राज्यका हरेक सञ्जालमा राजनीतिकरण गरेर आफ्ना मान्छे भर्ति गर्ने र लाभ लिने व्यवस्थालाई यिनले लोकतन्त्रको जामा पहि¥याएका छन् । जामा त पुतलीलाई पनि लगाइन्छ । शासन व्यवस्था भनेको पुतलीको खेल थिएन, राजनीति गर्ने व्यवसायीहरुले संविधानलाई पुतली बनाइदिए, पुतलीनाच देखाइरहेका छन् ।
अनियमितता, नैतिकहीनता रोक्न नसक्ने पनि संविधान हुन्छ ? नेतालाई जवाफदेही बनाउन नसक्ने पनि संविधान हुन्छ ? चुनाव हुनु र सरकार बन्नुमात्र लोकतन्त्र होइन, लोकतन्त्रमा लोकअपेक्षा संवोधन हुनुपर्छ । त्यस्तो अवस्था कहीं छैन । योग्यताको कदर नहुने र राम्रा छाडेर अयोग्य हाम्रालाई जिम्मेवारी दिएर राष्ट्र बर्बाद भएको हेरिरहने पनि संविधान हुन्छ ?

आज जे जति बिग्रेको छ, संविधान असहाय भएकाले बिग्रिएको छ । संविधानको व्याख्या गर्ने अदालतसमेत भ्रष्टाचारको दलदल बनिसकेकाले यो संविधानले दिने भनेको अव्यवस्था र संकटमात्र हो । जुन संकट चुलिदै गएर देश भीरको चिण्डो उँभो न उँधो बन्न पुगेको छ । यो संविधान अझै राखिरहने हो भने यो संविधानले नेपालीको पहिचान र नेपालको अस्तित्व समाप्त पार्न लामो समय कुर्नुपर्ने छैन ।
यसकारण यो संविधानलाई छिटोभन्दा छिटो बिदा गर्नुपर्छ । लाटाले बाउ भन्न नपाएजस्तो संविधान कार्यान्वयन भयो भनेर गुड्डी हाँकेरमात्र केही हुन्न । संविधान कार्यान्वयन भएको भए लोककल्याणकारी राज्यका झलकहरू किन देखिदैनन् । जता पनि जनताको शोषण र नेताको मनपरी । यस्तो अवस्था लोकतन्त्र हुनसक्दैन । यो त भोरजूवा मात्र हो ।
देश अभिभावकविहीन हुनाले यस्तो संकट बेहोर्नु परेको हो । कसैले खबरदार नै नभनेपछि नेताहरू आपसमा मिल्ने र भागबण्डा लगाउने, खाने । यही सिण्डिकेट चलिरहेको छ । जब देशको बारेमा चिन्तन नै हुँदैन, नागरिक समाज र बुद्धिजीवी बर्गले समेत विवेकले बोल्दैनन् भने त्यो देशमा हुने बाँदर नाच नै हो । नेपालको वस्तुस्थिति बाँदरनाचभन्दा बढी केही छैन ।

पार्टी नेताहरू सबै जान्ने, तिनको खुशीमा पद्धति चल्नुपर्ने, तिनले चाहेको फैसला हुनुपर्ने, तिनले जे गरे पनि दण्डित हुनु नपर्ने, वास्तवमा नेपाल दण्डहीन मुलुक बनेको छ ।
यसकारण पनि देशलाई एउटा अभिभावक चाहियो । सवल संविधान चाहियो । जसले मानवीय र मूल्य र मान्यता, लोकतन्त्रका गरिमा र महिमालाई सीमावद्ध गर्न सकोस् । यतातिर सोच्न सकिएन भने नेपालकै जय नेपाल हुनेछ । चेतना भया ।

 

footer