लोकतन्त्र नेपाली जनतालाई बोझ हुँदै गएको हो त ?
वि.सं.२०८१ मंसिर १४ शुक्रवार ०९:१७
shares

राजन कार्की
पञ्चायत, बहुदलले समाज परिवर्तन भएन, समानता ल्याएन, समृद्धि आएन भनेर लोकतन्त्र ल्याइयो, लोकतन्त्र झिकिदे गाँडभन्दा थपिदे गाँड हुनपुग्यो ।
यसको मूल कारण भनेको चरित्र हो । राजनीति समाज परिवर्तनको साधन हुनुपर्ने, नेतृत्वको चरित्रहीनताले गर्दा व्यापार बन्यो, ठगी बन्यो, अपराधीकरण भयो, माफियातन्त्र चल्यो । यहाँसम्म कि मान्छे निर्यात गरेर पनि पैसा कमाउने साधन बन्यो ।
यहीकारण हो, लोकतन्त्र असफल भयो । लोकतन्त्रले राष्ट्रिय अस्तित्व समाप्त पार्ने खतरा बन्यो । किनकि व्यापारीको देश हुँदैन । नेपालको राजनीति व्यापारिकरण भयो । नीति, निष्ठा, सिद्धान्त, चरित्र केही पनि नभएकाहरु देशको बागडोर सम्हालेर रजगज गरिरहेका छन् । यस्ताबाट आशा गर्नु मूर्खता हुनपुग्यो ।
देश बचाउने हो भने अब जनताले मोर्चा कस्नै पर्छ । देशभाँडाहरुलाई किनारा लगाउनै पर्छ ।
जनताका सामु एकमात्र बिकल्प छ, शिर उठाएर बाँच्ने कि यसैगरी चरित्रहीनहरुको शासनमा मूर्दा भएर बस्ने ? जनताले निर्णय गर्ने बेला आयो ।
पुरानो व्यवस्था फालेर बहुदल आयो, जनयुद्ध भयो, बहुदलको ठाउँमा लोकतन्त्र भनियो, अनेक वि२वंश भए, रगत बग्यो, मान्छे मरे, यसरी स्थापित लोकतन्त्रमा परिवर्तनको विश्वास थियो, विश्वासघात भयो, आशा थियो निराशा छायो । भरोसा थियो, तुषारापात भयो । यी सबैको कारण नेतृत्व हो । नेतृत्वमा जनताले भरोसा गरे, गल्ती गरे ।
परिवर्तन कौवालाई बेल पाकेसरह भयो ।
दोष यस्ता नेतालाई जनताले नचिन्नु हो । यस्तालाई पटक पटक विश्वास गर्नु हो । नानीदेखि लागेको बानी, नेतृत्वले हरेकपल्ट जनतालाई धोका दिंदै गए । परिवर्तनपछि कुनै अल्झो अथवा तगारा थिएनन् । जे निर्णय गर्न पनि नेतृत्व स्वतन्त्र थियो । शान्ति, समृद्धि, समानताका लागि जनताले गर्नुसम्म समर्थन गरेका हुन्, दिनुसम्म मत दिएका हुन् । तर कुनै नेता, कुनै पार्टीले जनमतको आदर गर्न सकेनन् । लोकतन्त्रले बालिग उमेर पार गरिसक्यो, जनताको अपमान भइरहेकै छ । लोकतन्त्र भनेको परिवारवाद, स्वार्थसिद्ध हो भन्ने मान्यता स्थापित भयो, जुन अलोकतान्त्रिक हो । अलोकतन्त्रलाई लोकतन्त्र हो भन्नेहरू नेपाली शासन र प्रशासनमा हावी भएका छन् । लोकतन्त्रजस्तो उदार र विधिमा चल्ने पद्धतिलाई बाहुबली बनाएर चलाएका छन् । लोकतन्त्रमा हुनुपर्ने विधि छैन, जे छ, मनलागीतन्त्रमात्र छ ।
शान्ति, प्रगति र सुशासन दिने जिम्मेवार हुनुपर्नेहरूमा आचरण, विवेक र नैतिकता नभएका कारण देश अधोगतितिर उन्मुख छ । राजनीतिलाई व्यवसाय बनाएपछि के हुन्छ भन्ने ताजा दृष्टान्त नेपालको परिदृश्य हो । साधन, स्रोत र समयको अभाव छैन । तर पद्धति, विधि र अनुशासन कतै पनि कायम रहेन । कारण एउटै हो, सिद्धान्तमा कोही अडेनन्, नैतिकतामा कोही रहेनन् । नयाँ नेपाल निर्माण गर्छौं भन्नेहरू हुँडार र लुटारजस्तामात्र साबित भए । जो अगुवा उही बाटो ….भएपछि के लाग्छ ?
परिवर्तनपछि सत्तामा ढलीमली गरेका नेताहरुमा इमान भएन । तिनलाई जन्मेको माटोभन्दा लाहुरको बढी चिन्ता लाग्छ ? आम लाहुरेले जन्मेको माटो, सन्तान, माया बिर्सिएनन् । राजनीतिक लाहुरेहरू त स्वदेशलाई भन्दा लाहुरको बढी चिन्ता गर्छन् । यसकारण त यिनलाई चुच्चे नक्सा दुख्दैन, नेपाली माटो सस्तो लाग्छ, नेपालीपनमा भन्दा बढी विदेशी स्वार्थमा लुटपुटिन रमाइलो लाग्छ । यिनले राष्ट्रलाई असफलताको भीरमा पु¥याए । यिनले लोकतन्त्र सफल भयो भन्ने कुरा अब लाटाले पनि विश्वास गर्दैन ।
पहिले सिपाहीहरू लाहुर जान्थे, पछि रोजगारी खोज्दै लाहुर जान थालियो । लोकतन्त्र आएपछि त खाडीदेखि सयौं मुलुकमा नेपाली लाहुरेहरू भेटिन्छन् । अवसरको खोजी, गाँसवासको बन्दोवस्त गर्दै लाहुर जाने भीड हरेक दिन एयरपोर्टमा देख्न सकिन्छ । लुकेर लुकाएर लाने मान्छेका व्यापारीहरू मान्छे बेचिरहेकै छन् । नेपाल मान्छे बेचिने बजार बन्यो । नेपाल लाहुरे उत्पादन गर्ने देश बन्यो । नेपाल मर्सिनरी पाइने बजार बन्यो । विश्वकै जेठो देश आज दण्डहीन, मर्सिनरीको देश भनेर बदनाम छ ।
नेतृत्व छाडा भयो । राजनीति शिवरात्रिमा भारतबाट आउने नागाबाबाजस्तो देखिन्छ । लज्जा पनि लज्जित हुनेगरी लोकका नेता कति नाङ्गिन सकेका ? जय नेपाल, लाल सलाम भन्नेहरूले लगौंटी पनि बाँकी राखेनन् । सहारा र सल्लाहका लागि वर्षको चालिसचोटी दिल्ली वा लैनचौरदेखि वाशिङ्टनमा छलाङ्ग लगाउनेहरूले घुमाएर कान समाएको शैलीमा अव ‘जय हिन्द’ ‘यस सर’ नै भन्न थाले । लाग्छ, लोकतन्त्रवादी नामधारीहरूले अरू केही जानेकै छैनन् । यिनको लोकतन्त्र एक्सप्रेसको गति–मतिको बेगले नेपालीत्व सखाप हुँदैछ । गौरवपूर्ण नेपाल हाइटीजस्तो असफल राष्ट्र बन्दैछ । भारत र चीनको वीचमा महत्वका साथ रहेको नेपाललाई विश्वका कुनै मुलुकले पनि महत्व दिन छाडेका छन् । सतित्व गुमाएकी नारी र नेपाल उस्तै उस्तै उजाड लाग्छन् ।
यिनीहरु लोकतन्त्र भनुन् कि समाजवाद, यिनले कहिले विश्लेषण गरेनन्, नेपालको खास समस्या र समाधान के हो ? यिनलाई जहिले पनि स्वार्थको लुते धन्दाले पिरोलिरह्यो । त्यसैले त यिनले बनाएको संविधान यतिबेला सडकमा, संसदमा, व्यवहारमा, अदालतमा कहीं पनि काम गरिरहेको छैन ।
यिनले बनाएको नयाँ नेपाल, अब ऋणको भारीले थिचिन पुगेको छ । नेताहरूलाई हीनताबोध हुँदैन । हिजो कृषि प्रधान देश थियो, अहिले नेपालले ७० अर्बको चामल आयात गर्छ । त्यसपछि हरियो बन नेपालको धन भनियो । वन फाँडेर कार्यकर्ता राखिएको छ । राजनीति र कुशासनको भ्रष्टाचारले कृषि र बन धरासायी भएपछि प्रकृति र पर्यटनलाई नेपालका लागि बरदानको आधार मानियो । जनयुध्द र अस्थिरताको प्रहारले राष्ट्र छिया–छिया भएपछि जलस्रोतलाई सेतो सुन भनिदैछ । त्यो पनि विदेशीले झोलामा खोला हालेर हिडेको देख्दा नेपालका शासकहरू लजाउँदैनन् । आफ्नो असफलतामा लज्जाबोध नगर्ने नेता भनेको दलाल प्रवृत्ति हो । विधि मिचिएको हाइटी र विधिको नाममा निरंकूशता चलेको छ नेपालमा ।
हिजो इमान र योग्यताको कदर भएन, आज पनि बेइमानहरूको रजगज चलिरहेको छ । चरित्रहीनताभन्दा डरलाग्दो केही नहुने रहेछ । ९३ प्रतिशत बिपन्न, कमैया, कमलरी, सुकुम्बासी, बेरोजगार, असहायहरूलाई सपनाको व्यापार गर्ने सस्तो लोकतान्त्रिक बजार हो नेपाल । यहाँ सपना बेचेर कानुनको घोडा चढ्न सकिन्छ । सत्ता र शक्तिमा बुर्कुसी मार्न सकिन्छ । जयप्रकाश मल्लले वर्षको एकपल्ट गाईजात्रा देखाएर शोकमा परेकी महारानीलाई मनोरञ्जन दिने गर्थे, हाम्रा नेताहरूले बाह्रैमास गाईजात्रा देखाइरहेका छन् । हामी गाईजात्रे, हाम्रो देश गाईजात्रे, लोकतन्त्र– अर्को गाइजात्रा हो । मध्ययुगीन तमासाहरू एकपछि अर्को देखिदैछन् । मान्छेले मान्छेको अपमान गर्नु सामान्य हुनथालेको छ । ज्यानमारा संस्कार बढ्नु भनेको जंगलराज हो । जंगलराजलाई नेतृत्व लोकतन्त्र लोकतन्त्र भनेर झ्याली पिटिरहेको छ । समस्या योग्यताको कदर छैन । राम्रो कामा गर्नेलाई पुरस्कार र खराव आचरण देखाउनलाई दण्डविधि छैन । संविधानको पालना कोही गर्दैन । सबैलाई आआफ्नो स्वार्थ प्यारो छ । जहाँ स्वार्थ बलवान हुन्छ, त्यहाँ लोकतन्त्र मर्छ । नेपालमा लोकतन्त्रको शब छ, जीवन छैन ।
जनबिद्रोहपछि जनताले खोजेकै हुन् परिवर्तन भने लौ त भनेर राजा ज्ञानेन्द्रले राजपाठ छाडिदिए । जालीहरूले जाल गरे, जनताको खोज र राजाको सोच पुरा भएन । महाभारतका दृष्टिहीन राजा र लोकतन्त्रका विवेकहीन नेताहरूमा भिन्नता देखिन छाडेको छ । यति हुँदा पनि सुकुलगुण्डाहरूमा चेत पलाएको छैन । नकचरोको ओखती हुन्न भनेको यही हो । लोकतन्त्रको जप गर्ने नेताहरू लोकतन्त्रमा हुनैपर्ने विधिलाई कुल्चेर लोकतन्त्र भनिरहेका छन् । देशभाँडाहरु अझै देश बनाउँछौं भनेर लुटिरहेका छन् ।
स्वराजको कुरा गर्ने हो भने भेटिकनदेखि भुटानसम्म, बंगलादेशदेखि बर्मासम्म विश्वसमुदायमा समान छन् । नेपालमात्र छिमेकी र विश्वशक्तिको सामु मुखले बोल्न सक्दैन, नाकले सुघ्छ र पुच्छर हल्लाईरहन्छ । अब बेइजिङ, वाशिङ्टन र रूस पनि शक्ति र सामलका साथ नेपालमा प्रभावकारी रूपमा छिरेपछि नेपालको राजनीति अन्यौलमा धकेलिएको छ । भूराजनीतिक चक्कल बढेको छ । यो अन्यौलको अँध्यारोमा टुकी बाल्ने परराष्ट्रनीतिले हो । यो नीति हाँक्ने अब्बल पात्रहरू पछाडि परेका छन् । अगाडि जो छन्, मौसमअनुसारको ट्यूनिक लगाउनेहरूमात्र देखिन्छन् । नेपाल नीतिहीन अवस्थातिर उन्मुख छ । अर्थात आत्मशक्ति गुमाएर घ्राणशक्तिमा पुगेको छ नेपाल । जब राजनीति व्यवसाय बन्छ, काला व्यापारीहरूले टाउको उठाउँछन् । पार्टीहरू अपराधीलाई चोख्याउने चोखो तीर्थस्थल बन्छ, भ्रष्टहरूको सेटिङ्मा चल्छ, देश महिनौं फोहर नउठाएको महानगरको कन्टेनर बन्नु स्वभाविक हो ।
यो अवस्थालाई अब यो व्यवस्थाले सुधार्न सक्दैन । यसकारण जनताले मोर्चा कसेर देश बिगार्ने, इमान र चरित्र नभएकाहरुलाई जनताले नै दण्ड दिनुपर्ने बेला आयो ।


























