kumari
stcnepal

गणतन्त्रले देश नै खाइदिने खतरा

राजन कार्की
गणतन्त्रमा गण कम, विदेशी बढी देखिन थाल्यो । गणतन्त्रमा राष्ट्र काम विदेशी चलखेल बढी हुनथाल्यो । यसकारण संशय उत्पन्न भयो कि गणतन्त्रले देश नै खाइदिने त होइन ?
१९७५ तिर यस्तै हालत थियो सिक्किमको । ३२ जना निर्वाचित सांसद थिए, ३१ जनाले भारतको प्रान्त हुन मञ्जुर छ भनेर प्रस्ताव नै पारित गरिदिए । अनि सिक्किम भारतमा बिलय भयो ।

वर्तमान नेपालमा त्यही खतरा बढिरहेको छ । एकातिर उत्तर, दक्षिण, अर्कोतिर पश्चिमाहरुको पेलान बढिरहेको छ । नेपाली जनबल, जनमत पाएका जननेताहरु माटोमा सतिसाल भएर उभिन सकेका छैनन् । उनीहरु स्पष्ट बोल्न सक्दैनन् आखिर उनीहरुले बनाउने नयाँ नेपालको खाका के हो ? कस्तो हो ? यतिमात्र होइन, नेपालको गृह र परराष्ट्रनीति कस्तो हो ? यो पनि देखाउन सक्दैनन् । हरेक दलका आआफ्नै नीति छन् । दलपिच्छेको नीतिले राष्ट्र चल्दैन । यसकारण नेपाल अस्तित्वको संकटतिर धकेलिन थालेको छ । भन्ने विश्लेषकहरु त नेपाल अफगानिस्तानजस्तो बन्ने खतरा पनि देखाउन थालेका छन् । राष्ट्रलाई आश्वस्त पार्ने एकजना नेतृत्व पनि उभिएर बोल्दैनन् । हरेक नेताका दुई चार जिब्रा देखिन थालेका छन् । मौसमअनुसारका ट्यूनिक लगाएका पनि देखिन्छन्, जुन राष्ट्रिय अस्तित्वका लागि सबैभन्दा खतरनाक हो ।
गाउँ गाउँमा सिंहदरवार बनाउँछु भन्ने गणतन्त्रवादी खरानी भइसके, अब उड्न के बेर ? यिनले त देशैलाई दाउमा पो पारिदिए ।
मुर्खता बराबर घोच्ने अर्को कुनै काँडा हुँदैन । कुनै विद्वानले भनेझैं मुर्खसँग स्वर्गमा बस्न पनि डरमर्दो हुँदैछ ।
यति राम्रो राष्ट्र नेपाललाई हामीले विश्वास गरेकै नेतृत्वले जोखिममा पारिसके । १५ वर्षदेखि यिनले मिलिभगत शासन गरिरहेका छन् । जनतालाई भ्रम छरेर मूर्ख बनाइरहेका छन् । यसकारण राष्ट्र जोखिममा पर्दै गएको हो ।

निश्चित रुपमा आवधिक चुनावबाट आएका नेताले गरेको गल्तीको दूरगामी असर पर्छ । मुलुक र मुलुकवासीले लामो समयसम्म त्यसको मूल्य चुकाइरहनु पर्छ । यतिबेला नेपाल अफगानिस्तान हुने कि असंलग्न नीतिमा अडिग रहने भन्ने गम्भीर मत बाझाबाझ भइरहेको छ । यसमा निकास निकाल्ने र एउटा मार्ग दिन कुनै राजनीतिक दल तैयार छैन ।
पन्द्र वर्ष भयो, जनयुद्ध र जनआन्दोलन मिस्सिएर आएको परिवर्तन । हरेक दिन जनताले हारिरहेछन्, हरेक पल देशले हारिरहेछ । देशले हार्ने पनि अग्रगमन हुन्छ ? व्यवस्था फेरियो, चरित्र फेरिएन । व्यक्ति फेरिए व्यवहार फेरिएन ।

जनताले मतदान गरेर संविधानसभा निर्माण भयो, त्यही संविधानसभाले जनताको सुझावलाई बेवास्ता गरिदियो । धोक्राका धोक्रा जनतलो बुझाएका सुझावहरू यतिबेला संसद सचिवालयमा रद्दीको कागज बनाएर फालिएका फोटाहरू हालै सार्वजनिक भए । जनताका सुझाव रद्दीको टोकरीमा हाल्ने कि संविधानमा समावेश गर्ने ? नगर्दाको परिणाम देश आज पनि लोकतान्त्रिक सुविधामा छैन, के गर्ने के नगर्ने दुविधामा रुमलिएको छ ।
जनबल, जनमत र जनसाथको धक्कु लगाउने ठूला दलहरूलाई अलिकति पनि लज्जावोध हुन्न । उनीहरू रामका कुरा गर्छन्, पशुपतिमा जलहरि चढाउँछन्, दशैं मान्छन् र दशा हटोस् भनेर भैंसी पूजासमेत गर्छन् । अनि भन्छन्– नेपाल धर्मनिरपेक्ष राष्ट्र हो । यस्तै स्वार्थप्रेरित हावादारी नीति र सिद्धान्तले देशलाई मर्माहत पारिरहेको छ ।

जनताका नेता हुँ भन्ने हरेकले जनतालाई, देशलाई अझै ढाँटिरहेका छन् । ढाँट राजनीतिका कारण राष्ट्रमा समस्यापछि समस्या थपिदो छ ।
हाम्रा यिनै नेता हुन्, जो भनिरहेछन्– नेपाललाई स्वीट्जरलेण्ड बनाउँछौं । ५५ जनाले स्वीस वैंकमा ५२ं अर्व लुकाएको खुलासा विकिलिक्सले गरिदियो । कतिपय सामान्य व्यक्तिका नामसमेत स्वीस वैंकमा पैसा थुपार्नेमा आयो । स्वीट्जरलेण्ड बनाउने भनेको स्वीस वैंकमा कालोधन थुपार्ने हो ? होइन भने सरकारले यसमा छानबिन किन गर्दैन, पैसा फिर्ता ल्याउन किन कम्मर कसेर लाग्दैन ? एमसीसीको रकम ठूलो हो भने यो रकम पनि ठूलै हो । एनसेलले तिर्नुपर्ने ६२ अर्व उठाउने हो भने पनि विकासका ठूलै योजना बन्न सक्छन् ।
आमनागरिकले थाहा पाउनुपर्छ– ०४६ सालमा नेपालीको आम्दानी ८ सय ६० डलर थियो थियो, आज प्रतिव्यक्ति ऋणभार ५२ हजार पुगिसक्यो । आजका दिनमा स्वीटजरलेण्डमा प्रतिव्यक्ति आय ८६ हजार डलरभन्दा माथि छ । विकृतिको भारी बोकेर नेपाल कहिले बन्ने स्वीट्जरलेण्ड ? सपना हो सपना । यद्यपि हाम्रा नेता यति चङ्ख छन् कि उनीहरु अझै पनि सोझा नेपालीलाई सपना बेचिरहेछन् । दुई छाक मासुभात खान दिएर चुनाव जित्छन् र ५ वर्ष आँखा चिम्लेर तिनै जनतालाई लुट्छन् ।

परिवर्तन भूकम्पले बेस्सरी हल्लाएर चिराचिरा परेर भत्किन ठिक्क परेको घरजस्तो लाग्छ । जुन घरलाई टेको दिएर अड्याइएको छ । यस्तो कमजोर अवस्थामा पुगिसकेको व्यवस्थालाई पनि यिनीहरु भनिरहेछन्– लोकतन्त्र संस्थागत भयो । यो त हामी दाह्रा सिंह हौं, हामीले चलाएको लोकतन्त्र हामीजस्तै बलियो छ भनेजस्तो भएन र ? पद्धति बलियो हुन जनविश्वास चाहिन्छ । यो व्यवस्था चलाउने सबैप्रति जनताको विश्वास समाप्त भइसकेको छ । जनताका लागि यी नेता भनेका दयापात्र मात्र हुन् ।

हो, वर्तमान नेपालकोजस्तै बेहाल थियो थाइलेण्डमा, ताइवानमा र दक्षिण कोरियामा । जनता रछ्यानको भातका सिता टिपेर खाने अवस्थामा पुगिसकेका थिए । अन्तमा, युवाहरू अघि सरे, देशवासीमा स्वाभिमान जगाए, स्वावलम्बन बन्ने सूत्र अँगालेर मेहनत गरे । आज थाइलेण्ड कहाँ पुग्यो, ताइवान सम्पन्न छ । दक्षिण कोरिया त नेपाली युवायुवतीको आकर्षक गन्तव्य बनिसकेको छ । ४२ हजारभन्दा बढी नेपाली दक्षिण कोरियाको रोजगारीमा छन् । यसबाट थाहा हुन्छ, कथित नेता होइन, सवल नेतृत्व चाहिन्छ । आफ्नो स्वार्थ होइन, देशको सुदूर भविष्य देख्ने र त्यो सोचका लागि त्याग गर्न तम्सिने जनप्रतिनिधि चाहिन्छ ।
जनआन्दोलनले जित्यो तर देशले हा¥यो ? देशले हार्ने लोकतन्त्र र लोकतान्त्रिक नेता खोटा भएका छन् । खोटा सिक्का र खोटा नेता भनेका बगरका ढुङ्गा हुन् । जनताले यस्ता खोटा ढुङ्गालाई किनारा लगाइदिनुपर्छ अब ।

देशले किन हा¥यो, समीक्षा गरौं र एउटा मार्ग समातौं । खोटा जेजति छन्, तिनलाई मिल्काइदिऊँ । तबमात्र निर्माणको सुरुआत हुनेछ, नेपाल किन पछि प¥यो भन्ने जिज्ञासा समाधानको मार्ग पहिल्याउन सकिनेछ । देशमा गणतन्त्र छ चल्दैन, यस्तो नचल्ने मुखुण्डो उतारौं । देशमा नेता छन्, खोटा छन्, खोटा नेता पन्छाइदिऊँ । अझै प्रचण्ड भन्छन्– सांस्कृतिक परिवर्तन मबाटै सुरु हुन्छ । देउवा भन्छन्– समाजवाद स्थापित गराइन्छन् । ओली भन्छन्– एमालेले सबैलाई लतार्छ । माधव नेपाल भन्छन्– एमाले चुनाव पछि सिला खोज्नुपर्छ । अचम्म, देश लथालिङ्ग भइसक्यो, कसरी समाल्ने भन्ने योजना कुनै नेता वा पार्टीमा छैन । अब जनताले निर्णय गर्नुपर्छ कि चुनावका माध्यमबाट राम्रा मानिसलाई जिम्मा दिनुपर्छ, कि विद्रोह बोल्नुपर्छ । जनताले निर्णय गरुन् । यही नै अहिलेको आवश्यकता हो ।

footer