पूर्वराजाले राष्ट्र जोगाउन जनताको साथ खोजे
वि.सं.२०८१ फागुन ८ बिहीवार १२:३५
shares

राजन कार्की
जहिर शाह बन्ने कि नरोद्दम सिंहानुक ? यो प्रश्न उठिरहेका बेलामा गत फागुन ७ गते प्रजातन्त्र दिवसका दिन पूर्वराजाले आह्वान गरेका छन्– राष्ट्र जोगाउने हो भने हामीलाई साथ दिनुहोस् । ०६३ पछिका १८ वर्ष चाउरिएर बसेका पूर्वराजाले पर्व पर्वका सन्देश र अभिनन्दन समारोहमा समेत जनताको कुरा गर्दै आएका थिए । आफू अग्रसर भएको सन्देश दिएका थिएनन् । यसपल्ट भने पूर्वराजा राष्ट्र जोगाउन अग्रसर भएका छन् । पूर्वराजाको ऐतिहासिक सन्देश यस्तो छ –
नेपाली दिदीबहिनी तथा दाजुभाइहरु,
नेपालमा प्रजातन्त्रको मिरमिरे विहानी उदय भएको फागुन ७ गतेको शुभ सन्दर्भमा हामी सबै नेपालीलाई हार्दिक शुभकामना व्यक्त गर्दछौं । प्रजातन्त्र स्थापनाका निम्ति उदारता दर्शाइबक्सने हाम्रा जिज्यू बुबाज्यू राष्ट्रपिता श्री ५ त्रिभूवनको सम्झना गर्दै यो अवसरमा मौसुफप्रति हामी श्रद्धासुमन अर्पण गर्दछौं । जनता र राजा मिलेर प्रजातन्त्रलाई सबल बनाउन लागि परेको इतिहास साक्षी छ । त्यसैले, प्रजातन्त्रका निम्ति जीवन दान दिने ज्ञात अज्ञात शहीदहरु र प्रजातन्त्रका लागि कृयाशील रहने सबैपात्रहरुप्रति पनि हामी उच्च सम्मानभाव राख्दछौं ।
“प्रजातन्त्र” आजको युगको उत्तम शासन पद्धति हुनु पर्ने हो । आम जनताको मन, मगज र मतका आधारमा देशको विधी व्यवस्था तथा मान्यता अनुसार राज्य संचालन गर्ने – सर्वमान्य आर्दश पनि हुन पथ्र्यो । यसबाट हामी कोही विमुख छैनौं । राष्ट्र भित्रका हरेकवर्ग, समूह वा व्यक्तिको हक अधिकारको संरक्षण गर्दै, प्रतिष्ठा तथा प्रगति अघि बढाउने प्रजातन्त्र – सबैको प्रिय व्यवस्था हुनु पर्दथ्यो । यसमा कहिं कसैको शंका हुन सक्दैन ।
प्रजातन्त्रको कुरा गर्दा हामीले यसलाई बाद विवाद, द्वन्द विग्रह वा विरोध प्रतिरोधको अर्थले मात्र बुझ्नु हुँदैन । यस प्रणालीलाई हामीले समाजमैत्री र जनहितैषिको रुपमा पनि हेर्नु पर्दछ । सुन्दर शब्द, आकर्षक आर्दशले मात्र प्रजातन्त्र सार्थक हुने होइन। कर्म र व्यवहारमा प्रजातन्त्रलाई उर्ताने सेवाभाव र सही प्रजातान्त्रिक आचरण हुनु पर्दछ । सबैको पहिचान हुनु पर्दछ, सबैको अस्तित्व सुरक्षित हुनु पर्दछ । निषेधको दृष्टिकोण राख्ने राजनीतिले प्रजातन्त्रलाई बलियो बनाउँदैन । पक्ष विपक्षको अहंकार, आ–आफ्नै खालको स्वार्थ तथा हठवादले पनि प्रजातन्त्रलाई गतिशील बनाउन सक्दैन ।
आज देशको इतिहास मेटिदै गएको छ । नेपालको अस्तित्व नासिदै गएको छ । नेपालका होनहार जनशक्ति दिनहुँ ताँती लागेर देशबाट बाहिरिदै गएका छन् । नेपालीको पसिना आफ्नो माटोमा होइन, अन्तै पोखिरहेको छ । जन्मदै नेपालीको शिरमा हजार होइन लाखको ऋणभारको बोझ छ । हाम्रा कलकारखाना, व्यापार व्यवसाय निरन्तर धरासायी बन्दै छ । हुँदा हुँदा हाम्रा शिक्षालयहरुमा समेत शिक्षक र विद्यार्थीहरु पातलिदै गएका छन् । नेपालको पद्धति, नीति र गतिविधी ठीक छैन, यहाँ बसेर केही हुँदैन । श्रम, शीप चेतना र ज्ञान भएका हाम्रा नागरिकहरुमा त्यस प्रकारको भाष्य चलि रहेको छ । यस्ता कुराले प्रजातन्त्रलाई शोभनीय बनाउँदैन ।
प्रजातन्त्र आशा जगाउने प्रणाली हुनु पर्दछ । जनताको भरोसा बढाउने प्रणाली हुनु पर्दछ । प्रजातन्त्र फल्दै फुल्दै जाँदा हामी सबैको भाग्य र भविष्य चम्कन्छ भन्ने भावना जाग्रत गराउने हुनु पर्दछ, तर तीन दशक यताको हाम्रो स्थिति यस्तो छैन । आम जनताको मुहारमा मुस्कान ल्याउने, जनतालाई खुशी र सुखी बनाउने, सबैले खोजेको र हामीले चाहेर रोजेको पनि त्यही प्रजातान्त्रिक व्यवस्था हो । व्यवस्था बदलियो भन्नेहरुले अवस्था राम्ररी बदल्न नसक्नु दुःखको कुरा हो ।
हाम्रो यो नेपाल देश, भक्त पुर्खाहरुले फलाएको र फुलाएको सुन्दर राष्ट्र हो । यो राष्ट्रमा कुनै संकट नआओस् भन्ने हाम्रो परिकल्पना हो । त्यसैले राष्ट्रको हितमा हामीले उदारता राख्दै आयौं । त्यत्ति मात्र होइन हामीले जनताको भलो होस भनेर आफ्नो ओहदा र सुख सुविधालाई पनि त्याग गरेका हौं । त्यागले कसैको कद सानो हुने होइन, र त्यस्तो भावलाई कसैले पनि कमजोरी ठान्नु हुँदैन । कतै कुनै पन पक्ष नगरी सबैलाई समेटेर जाने हाम्रो अभिलाषा हो । हाम्रो त्यागको अर्थ र आसय पनि त्यही नै हो । हाम्रो इतिहासलाई नास गरेर र पहिचानको अपमान गरेर हामी उभो लाग्दैनौ भन्ने कुराको हेक्का राखेर हामी अघि बढौं । विगतका कमीकमजोरी तथा आफ्नो प्रकृति र संस्कृति विरुद्धका त्रुटी सच्याएर अघि बढ्ने चेतना हामीलाई प्राप्त होस ।
देशका निम्ति र राष्ट्रका खातिर हाम्रो समर्पण, निष्ठा सदैब हुनेछ । राष्ट्र रक्षाको निम्ति सबैको अनुशासन र इमान्दार प्रयत्न हुनु पर्दछ । हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस भनेर त्याग गरेका हौं । अब नेपालको उन्नतिको लागि हामीबाट अरु के के त्याग गर्नु पर्ने हो, हामी तयार छौं । अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशबासीहरूलाई आह्वान गर्दछौं । श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।जय नेपाल
२०८१ साल फागुन ७ गते
भन्नेहरु भन्छन्– जनविद्रोह, चुनावमा दुई तिहाइ बहुमत, सैनिक कु अर्थात जुन विदेशी शक्तिले किनारा लगायो, उसैले अग्रसरता लिएर राजतन्त्र पुनस्र्थापना गर्न गराउन सक्छ । पूर्वराजाको यो अग्रसरतामा यी सबै बिकल्पहरु समाहित भएको अर्थमा विश्लेषण हुनथालेको छ ।
०६३ सालदेखि नै राजतन्त्र नेपालको राजनीतिक मुद्दा बनेको छ । २०६५ साल जेठ १५ गते गणतन्त्र कार्यान्वयन गर्नेहरू नै यो मुद्दामा अल्झिन पुगेका छन्, गणतन्त्र कार्यान्वयन गर्न असफल शिद्ध भइसकेका छन् । आमनागरिकले राजाको आह्वान गरिरहेका समयमा पूर्वराजाले यो अग्रसरता देखाएका हुन् । अब जनता उल्टिनुपर्छ । विद्रोहमा जुट्नुपर्छ । राजा र जनता एक भएको देखिनुपर्छ ।
अफगानिस्तानका राजा जहिर शाहलाई किनारा लगाएपछि उनी फर्केर आएनन्, अफगानिस्तान बम बारूदको धुवाँमा रङ्मङ्गिरहेको छ । कम्बोडियामा नरोदम सिंहानुकले पुनरागमन गरेपछि शान्ति र समृद्धिको मार्गमा लागिरहेको छ । १८ वर्ष भयो राजतन्त्र फालिएको, अराजकताको रोगले नछाडेले नेपालमा सिंहानुकको चर्चा सुरू भएको छ । किनकि राजा आउ देश बचाउ भन्दै देशैभरिका नागरिक सडकमा निस्कन थालेका छन् । नागरिक राष्ट्र हो । राष्ट्र सडकमा निस्कदा बहदुल आयो, लोकतन्त्र आयो, राजतन्त्र गयो, राजतन्त्र फेरि आउँछ । आउने तरखरमा जुटेको छ ।
सन १९५३ मा स्वतन्त्र भएपछि १७ वर्ष राजतन्त्र रहेको कम्बोडियामा राजा थिए नरोदम सिंहानुक । उनीमाथि ठूलो षडयन्त्र गरेर १९७० देखि ७५ सम्म खमेरूजको आतंकपूर्ण शासन चल्यो । राजा लखेटिए । १९७५ देखि १९९३ सम्म जनगणतन्त्र कम्बोडिया बनेर चल्यो र लाखौंलाख जनता काटिए, मारिए, लुटिए । अन्तमा जनताले नै बिद्रोह गरेपछि १९७३ मा पुनःराजतन्त्र स्थापित भयो र कम्बोडिया आफ्नै तरिकाले शान्तिपूर्ण सुशासन र स्वाधीतामा फर्किएको छ । तर, १९७३ मा अफगानिस्तानबाट राजा जहिर शाह लखेटिए । त्यसपछिका ४८ वर्ष अर्थात आजसम्म पनि कावुल आतंकको छायाँमा छ । बैधानिक र अवैधानिक शासनवीच आतंककारी साँढे जुधाइ जारी छ । अमेरिकनदेखि अनेक देशका सैनिकले अफगानिस्तानमा अड्डा जमाउँदा पनि अफगानिस्तानमा शान्ति हुनसकेन । हरेक दिन बम पड्किरहेका छन्, मान्छे मार्नेक्रम जारी छ । अफगानिस्तानको भाग्य र भविष्य बमगोला पड्किनु र मृत्युको समाचार बनिरहनुमा सिमित हुनपुगेको छ । चीनबाहेक विश्वले अझै अफगानिस्तानको तालिवानी शासन स्वीकारिसकेको अवस्था छैन ।
अफगानिस्तानमा झैं नेपालमा पनि २०६५ साल जेठ १५ गते ‘ह्वाइट कू’ भयो । राजतन्त्र किनारा लाग्यो । तर नेपालमा हिन्दुधर्म र राजतन्त्रको मुद्दा उठिरहेकै छ र यतिबेला त आमनागरिक राजतन्त्र पुनःस्र्थापना गर्न सडक आन्दोलनमा निस्किएका छन् । साथसाथै पूर्वराजा पनि जनतासँग उभिन पुगेका छन् । पूर्वराजाको आह्वान छ– मिलेर राष्ट्रिय संकट दूर गरौं, सहमतिको राजनीति गरौं । उनको आवाज दलहरूको बेवास्ता गरेपछि जनताको साथ खोजेका छन् ।
पूर्वराजाले निर्णय गरेर यो सन्देश दिएको हुनुपर्छ । सिंहानुक बन्ने साहस गरेको हुनुपर्छ । पूर्वराजाको यो आह्वानलाई जनताले स्वागत गरेका छन् । जो असफल छन्, ती नेताहरु असिन पसिन हुनपुगेका छन्, धम्कीको भाषा ओकल्न थालेका छन् । सिंहानुकले आफूलाई पदच्यूत गर्नेहरू विरूद्ध राष्ट्रिय अन्तर्राष्ट्रिय समर्थन गुहारे, चीनमा बसे र आमनागरिकसँग जुटिरहेका थिए, अन्नत १९९३ मा २३ वर्षपछि सिंहासन पुनः हासिल गर्न सफल भए । उनले देश र जनताप्रति नतमस्तक भएको बरदानमा पाएको सफलता थियो त्यो ।
नेपालमा पनि अवैधानिक रूपमा हिन्दुराष्ट्र र राजतन्त्र किनारा लगाएको १८ वर्षपछि पूर्वराजा नागरिकका साथ उभिने साहस गरेका छन् । पुर्षाको भार थाम्ने पूर्वराजा ज्ञानेन्द्र शाहको यो साहस स्वागतयोग्य छ ।
स्मरणीय छ, १७७६ मा स्वतन्त्र भएको अमेरिका आज विश्वशक्ति बनेको छ । बेलायतमा राजा जोनको कार्यकाल । जनताले दुःख पाएको उनले कहिल्यै देखेनन् वा देखेर पनि बेवास्ता गरे । अति भएपछि जनताले रन्निमिड भन्ने ठाउँमा गएका बेलामा राजा जोनलाई घेरा हालेर छाड्दै छाडेनन् । सन १२१५ को जुन १५ को दिन थियो, यही दिनमा जनताले राजालाई झुकाए र जनअधिकार अर्थात म्याग्नाकार्टामा सही गर्न बाध्य पारे । यही म्याग्नाकार्टा आज पनि बेलायतको संविधानसरह संसद, अदालत, प्रशासन सबैतिर सर्वमान्य छ । रोबर्ट ब्ल्याकबर्न यो पद्धतिको ब्याख्याता हुन् । इमान, नैतिकता र लोकलज्जाको भय र जनताप्रतिको जवाफदेहीता नै बेलायतको संविधान हो ।
नेपालमा ७ थान संविधान जारी भइसक्यो । अब राजा र जनता एक भएर देश अघि बढ्ने आशा जागेको छ ।
































