सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बोकाको टाउका जोडेको दक्षप्रजापतिजस्तो भयो लोकतन्त्र

780
shares

 

राजन कार्की
लोकतन्त्रमा नागाबाबाजस्तो नाङ्गो राजनीतिचलिरहेछ । नागाबाबा पनि आफ्नो बशमा बस्छन् । लोकतन्त्रका नेताहरु आफ्नो बशमा छैनन् । अरुले चलाउँछन्, अरुले नचाउँछन् । लोकतन्त्रका नागाबाबाहरु अर्काकै ताल र चालमा नाच्छन् ।
लोकतन्त्र खाईसार कि लाइसार, मरेपछि लम्पसार भन्ने उखानभन्दा पनि अघि बढ्यो । राजनीति नामका नेताहरु खानकै लागि जन्मेका खन्चुवाजस्ता भए । यिनलाई वर्तमान र भावि पुस्ताले के भन्लान् भन्ने अलिकति पनि चिन्ता छैन । खतिको बेला मति आउँदैन भन्ने उखान छ हाम्रो समाजमा लोकतन्त्रवादी नेताहरुले देश र जनतालाई त्यही अवसरवादी नीयतिको भुङ्ग्रोमा होमिदिए । नेपाली राष्ट्रवाद, सुशास, विधिको शासन र समृद्धि जुवाडेको थर्की बन्यो, राजनीति नेताहरुका लागि राणाकालको दीव्यदेवको चारै ठाडा, चौका हुन पुगेको छ ।
बरु राणाहरुले अंग्रेजलाई रिझाएर १८५७ मा नयाँ मुलुक फिर्ता लिएका थिए । सन १९५० मा मोहनशमशेरले भारतसँग सन्धि गरेर प्रतिगामी पाइला के चाले आजसम्म नेपाल त्यो दलदलबाट उम्कन सकेको छैन । १९५० मै भारतसँग सन्धि गर्ने सिक्किमले त राष्ट्र नै गुमायो । त्यसअघि नै १९४९ मा भारतसँग सन्धि गरेर परराष्ट्र र सुरक्षानीतिमा पराधीन बनेको भुटान आज नेपालभन्दा आर्थिक र कूटनीतिक पक्षमा दह्रिलो छ । एउटा चुङ्खा आयोजनाले भुटानी जनताको कायापलट नै गरिदिएको छ ।
राजनीतिको प्राथमिकता राष्ट्र भएको भए ब्राजिलपछिको जलस्रोतको धनी नेपालमा दशवटा चुङ्खा योजना बनिसकेको हुनेथियो । देशमा राजनीतिक इच्छाशक्ति सधैं खट्कियो । एउटा मेलम्चीका लागि ३२ वर्ष खर्चियौं, ६२ अर्वभन्दा बढी भ्रष्टाचार भइसकेको छ । तैपनि मेलम्चीको पानी राजनीतिले पिउन पाइन्छ भन्ने प्रत्याभूति दिन सकेन । हरेक दिनजसो राजधानीका सडकमा मेलम्चीको पाइप फुटेर दिउँसै भेलबाढी बग्ने गरेको छ । यो भेलबाढी होइन, भ्रष्टाचार बाढी हो । यो भन्दा नाङ्गो शासन के हुनसक्छ ? देशको प्राथमिकताको योजनाको यो हाल छ, विकास आयोजना भनेका चाल्नो हुन्, चाल्नोबाट चुहिनेबाहेक अरु के नै हुन्छ र ? नेताहरुले समृद्धशाली कस्तुरीजस्तो देशलाई सुनको थालमा माँगेर बाँच्ने पुङमाङे बनाइदिए ।
यथार्थ यही हो ।पुङमाङे नेता भएको देशमा केको शान्ति, केको समृद्धि, के को सुशासन, विधि र सुखको कुरा ? राजनीतिमा राजनेता नभएकाले नै नाइजेरिया बनेको हो नेपाल । नेपालमा राजनीति भनेको चुनाव हो, चुनाव जित्नुमात्र हो । चुनाव जितेर मनलाग्दी शासन, प्रशासनमा रजगज गर्नु लोकतन्त्र हो भन्ने भ्रम छरपस्ट भएको छ ।
नागरिकलाई कम्बल ओढाएर बाँकी दुनियासँग अलग राख्ने उत्तरकोरिया अमेरिकासँग आमनेसामने कुरा गर्ने हैसियतमा पुगिसक्यो । उत्तरकोरियामा लोकतन्त्र छैन तर राष्ट्रतन्त्र मजबुत छ । मजबुत राष्ट्रतन्त्रमा लोकले चाहेको कुनै पनि तन्त्र कुनै पनि बेला स्थापित गर्न सकिन्छ । स्वाभिमानको अभिमानले देश उठाउँछ । हामीसँग लोकतन्त्र छ, स्वाभिमान मैनबत्ती पग्लिएजसरी दिनदिनै पग्लिदै गएको छ ।स्वाभिमान नभएकाले नै देश भ्रष्टाचारतन्त्र बन्न पुगेको हो । लथालिङ्ग भएको हो ।
समाजमा अहिले पनि चर्चा गरिन्छ, तत्कालीन राणाकालमा चारखालमा जूवा फुक्थ्यो । राणाका तर्फबाट दीव्यदेव कौडा हान्थे । दीव्यदेवको चमत्कारिक कौडा सकुनीको भन्दा खतरनाक हुन्थ्यो । दीव्यदेव कहिले हार्दैनथे । हार्न थाले भने कौडा हान्नासाथ राणाहरुले मार्रा भनेर जीउ र टाउकाले छोप्थे र जनताको पैसा सोहोर्थे । लोकतन्त्र ठूला दल र धेरै नेताका लागि दीव्यदेवको कौडा बनेको छ । हरेक पार्टीका अरिंगालहरु हातले, खुट्टाले, सबै तरिकाले देशव्यापी भ्रष्टाचार गरिरहेका छन् । जनताको रगत पसिना सोहोरिरहेका छन् ।जनताको थाप्लोमा हात छ, मुहार उदासिन छ, सुस्केरामा छ ।
राणाकालमा जुवा फुक्नु र लोकतन्त्रमा भ्रष्टाचार फुक्नु बराबर भएको छ । यिनलाई न कानुनले, न राज्यसञ्जालले, कसैले पनि छुन सक्दैन । त्यसैले त भ्रष्टाचारी र अपराधीहरु देशका शासकभन्दा बलिया देखिएका छन् । राजनीतिमा अपराधिकरण भएपछि हुने जंगलराज नै हो ।
नेपालीनेताहरु विदेशीका तोक आदेशमा चल्ने विश्वासिला खरदार बनेका छन् । परिवर्तन भयो भनेर मूलाजत्रो नाक फुलाएर के गर्ने ? लोकतन्त्र आयो भनेर धक्कु लगाएर के गर्ने ? कुन दिन नेपालको दण्डहीनता जेनेभाको मुद्दा बन्नसक्ने खतरा बढेको छ । सोझा जनतालाई झुक्याएर त्रिदेव– ब्रम्हा, विष्णु, महेश्वर हामी नै ह्वौ भनेर गुड्डी हाँक्नेहरु नेताहरुको जनताको सेवक हुनुपर्ने हो, विदेशी मालिकका भरिया पो बनिरहेका छन् । आफू आफूमै सत्ता, शक्ति र लूटको प्रतिस्पर्धा गरिरहेका छन् । जनजिविका उनीहरुको एजेण्डा नै छैन ।
विधि र लोकतन्त्र अगाडि छ, राजनीति पछाडि हेर्छ । लाटोकोसेरो अँध्यारोमा देख्छ, हाम्रो राजनीति उज्यालोलाई अँध्यारो पार्छ । छातीमा देश र नेपाली भेष भएको भए, मुखमा लोकतन्त्र र व्यवहारमा शक्तिको भोकतन्त्र नदेखाएको भए, भाषणमा क्रान्तिकारिता र कृयाकलापमा दासता प्रदर्शन नगरेको भए, नेताहरु दक्षप्रजापतिको बोको टाउकेजस्तो बन्ने थिएनन् । जनताले श्रीखण्ड भनेर टीका लगाए, नेताहरुले जनता, जनमत, जनबल र जनअपेक्षालाई कुल्चिए । चम्कने बस्तु सबै हीरा हुँदैनन् भनेको सही साबित भएको छ । लोकतन्त्र नाममा सिमित हुनपुग्यो ।
प्रजातन्त्रका नायक अब्राहम लिंकनले भनेका थिए– कुशल शासक भविष्यको चिन्ता गर्छन् राजनीतिज्ञ आगामी चुनावको मात्र चिन्ता गर्छन् । हाम्रो राजनीति र नेता राजनीतिमात्र गरिरहेका छन् । यिनलाई भविष्यको चिन्ता छैन । जसरी पनि लुट्न पाए भविष्य उज्यालो हुन्छ भन्ने भ्रममा बाँचेका छन् । गणतान्त्रिक लोकतन्त्र आएपछि देशले कोल्टे फेर्ने जनआशा असफल हुनुको कारण यही हो ।
लोकतन्त्रको विश्वसनीयता सत्तलसिंह महाराजको कथा बनिसक्यो । लोकतन्त्रले देश बेच्यो कि बेचेन भन्ने यक्ष प्रश्न खडा छ । नासिर र नासूरमा अन्तर नदेख्ने अझै भ्रमको सदबिज छर्दैछन् । जनताले थाहा पाइसकेका छन्– वीरका सन्तान नेताहरु खाँटी भूमिपुत्रसम्म बन्न सकेनन् । नेपाली मारेर आफू धनाध्ये हुने, शक्तिशाली बन्ने र विदेशी पोस्ने यिनको नीति रह्यो । यही नीति लिने नेताहरु नेपालका सराप हुन् ।
राजनीति जिवन्त हुनुपर्ने हो, बर्तमानमा मूर्दा राजनीति छ ।
राष्ट्र भनेको जनता हुन् । नेता होइनन् । राष्ट्र र राजनीति मै हुँ भन्छन् यिनीहरु ।यी देश होइनन् देशका दशा हुन्, सराप हुन् । दलीय स्वार्थभन्दा माथि उठ्न नसक्नेहरु सपनामा छन् । यिनीहरुको अनुहारमा छर्लङ्गै देखिन्छ– गणतान्त्रिक लोकतन्त्रको भ्रष्टाचारी क्यान्सर लागेको ख्याउटे र मरञ्च्याँसे चरित्र । मृत्युनिकट पुगिसकेको यो चरित्रले हाँकेको लोकतन्त्रले न स्वर्गको सुख दिन्छ, वर्तमानलाई नै सुख दिनसक्छ ।
अमेरिका नेपालभन्दा कान्छो हो, विश्वशक्ति बनेको छ । जेठो नेपाल, कहिल्यै उपनिवेश नबनेको नेपाल भिखारीबाट माथि उठ्न सकेको छैन । नेपालभन्दा धेरै पछिमात्र खुलापनको बाटोमा हिंडेको स्वीट्जरलैण्ड कहाँ पुग्यो ? चमत्कारको प्रतिक्षालय भेट्न नेपाल बामे सर्दैछ । बामे सर्दासर्दै समाप्त नहोस् ।
लिम्पियाधुरा, लिपुलेक, कालापानी क्वाप्प खाइसकेको भारत नेपाली सीमामा गाउँ बसाल्न, बाँध बाँध्न र राजमार्ग निर्माण गरेर कैलाश मानसरोवर धार्मिक यात्रा सुरु गराइसक्यो । भारतलाई चीनले साथ दियो, नेपालको सम्मान गर्ने चीनले नेपालको अपमान गर्दा पनि कोही बोलेको छैन । सीमाबारे एउटै बुद्धिनारायण श्रेष्ठ, बिधिबारे भीमार्जुन आचार्य, संविधानबारे गणेशराज शर्मा, नागरिकताबारे बालकृष्ण न्यौपाने, मानवाधिकारबारे गौरी प्रधान, सुशासनबारे उमेश मैनालीको प्रश्नको जवाफ दिने क्षमता राज्यसञ्चालकहरुसँग देखिन्न । आन्दोलन र जनयुद्ध उचाल्न सक्ने हातले भ्रष्टाचार उचाले, देश उचालेनन् भन्ने प्रमाण हो यो । राजतन्त्रको अन्त्यपछि ‘जुबिलियन’ हुनुपर्ने शक्तिहरु निचोरेको कागती अनुहारमा देखिन्छन् । कठै, नेपाली लोकतन्त्रको दयनीय हालत ?
भएको राजा फालेर हजारौं महाराजा बनाउनुको मूल्य नेपाल र नेपालीले चुकाइरहेका छन् । विनोवाभावेले जो उपकार गर्नेलाई नीच मान्दछ, त्योभन्दा नीच अर्को कोही हुँदैन भनेको नेपालमा साबित हुनपुग्यो । जनता सोझा भएकाले भ्रष्ट नेताले हेपेका हुन् । जनता अव सालिक बन्नुहुन्न । बुझकीहरु भन्छन्– जनता जुन स्तरका छन्, तिनले त्यही स्तरको नेता पाउनेछन् । नेपाली जनता सोझा भएकाले नेताहरु राजनीतिलाई व्यवसाय बनाउन सकेका हुन् । जनता सचेत छन्, बुझ्छन् तर प्रतिवाद गर्दैनन् । यसकारण पनि जनतामाथि राजनीतिले अत्याचार दिनदिनै बढाउँदै लगेको छ ।
१८ वर्षदेखि लोकतन्त्रमा जुवा फुकेको छ । राणाका तर्फबाट दीव्यदेवले कौडा हानेझैं दलका नेता र कार्यकर्ता भ्रष्टाचार गरिरहेका छन् र भ्रष्टाचार सदाचार बन्दै गएको छ । जनताले सहदा सहदा अब अतिसार भइसक्यो ।
जनता जागेका छन्, बिद्रोह गर्ने मूडमा सडकमा उत्रन थालेका छन् । जनविद्रोहले यो भ्रष्टाचारी शासनलाई किनारा लगाउने छाँटकाँट देखिदैछ ।
बोकाको टाउका जोडेको दक्षप्रजापतिजस्तो भयो लोकतन्त्र धेरै दिन चल्न सक्दैन । जनता अन्तिम निर्णायक हुन्, लोकतन्त्रको सत्य यही हो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports