सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राजतन्त्रको प्रतिकार गर्न गणतन्त्रवादी सडकमा

741
shares

 

राजन कार्की
गणतन्त्र छ, भ्रष्टाचार छ । गणतन्त्र छ नीति छैन, सिद्धान्त छैन, नैतिकता छैन, आचरण छैन । शेषनागका हजार जिब्रा र गणतन्त्रवादी उस्तै छन् । १९ वर्षको अवधिमा राष्ट्र कङ्गाल पार्ने यिनै हुन् । पौने २७ खर्ब ऋण भइसक्यो । बजेटको आकारभन्दा ठूलो व्यापार घाटा छ । उठ्ती हुने राजस्वले साधारण खर्च धान्न नसकिने अवस्था छ भनेर स्वयम् सरकार भन्छ । अमेरिकाले ठग भनेकाहरु गणतन्त्रवादी हुन् । यिनीहरु अब राजतन्त्रको प्रतिकार गर्ने दयनीय अवस्थामा पुगेको देखियो ।
गणतन्त्रवादी किन आफ्नो अनुहारको दाग ऐनामा हेर्दैनन् ?
कठै गणतन्त्रवादीहरु ?
भुइँमान्छेले राजा आउ देश बचाउ भने नारा के लगाए, भनेकोमा आत्तिएर प्रतिकारमा उत्रने कि गल्ती भएकै हो भनेर आत्मसमीक्षा गर्दै आइन्दा व्यवस्था र अवस्था दुबै सुधार्छौं भनेर जनतासँग क्षमा याचना गर्दै भुइँमान्छेले मन नपराएको संघीयता खारेज गर्दै के के सुधार गर्नुपर्ने हो, संविधानमा सुधार गर्न अग्रसर हुनुपर्ने हो ।
तर ठूला दलहरु भुइँमान्छेको आक्रोशको प्रतिकार गर्न उत्रनु भनेको द्वन्द्व चर्र्काउने साजिस हो । जो १९ यो पद्धतिका बाहक हुन्, पद्धतिलाई जनजीवनमय बनाउनुको साटो द्वन्द्वमा होम्नु भनेको राष्ट्रघात, राष्ट्रअपराध हो । स्थापित नेता र पार्टीहरुले भुइँमान्छेमा किन घृणा बढ्यो भन्ने मिमांसा गरेर सही निकासतिर लाग्नु उचित हुनेछ । अन्यथा सिरिया, श्रीलंका, बंगलादेशमा जे देखियो, त्यस्तो दुर्घटना नदोहोरियला भन्न सकिन्न ।
यतिबेलाको राष्ट्रको स्थिति भनेको घर साँढे, वन बिरालो भनेझै भएको छ नेपाल र नेपालीको जीवनमा । अब्राहम लिंकनले भनेका थिए– कुशल शासक भविष्यको चिन्ता गर्छन्, तर राजनीतिज्ञ आगामी चुनावको मात्र चिन्तामा हुन्छन् । हाम्रो देशका राजनीतिज्ञहरु घर साँढे, वन बिरालो पनि हुन् र पैसा भए चुनाव जित्न सकिन्छ, मनोनित हुन सकिन्छ, संवैधानिक पदमा किनेर पुग्न सकिन्छ भनेर जसरी पनि पैसा कमाउने व्यवसायमा लागेका छन् । राष्ट्रिय राजनीति व्यवसाय बनेको छ । राजनीतिको धर्म हुन्छ, जुन नष्ट भइसकेको छ ।
सुखद वर्तमान, सुन्दर भविष्यका खातिर जनताले सात राजनीतिक दलको परिवर्तनलाई स्वागत गरे, साथ दिए । तिनले गरेको हरेक निर्णयमा चुपचाप बसे । तर तिनले एकथान संविधान बनाउन ८ वर्ष लगाए । संविधान जारी भएपछिको पहिलो चुनावमा देशभक्त कम्युनिष्ट नै रहेछ, देशको रक्षा र जनताको सुरक्षा, समानता दिन्छ भन्ने विश्वास गरेर चुनाव जिताइदिए । कांग्रेस अथवा अरु दलभन्दा कम्युनिष्ट नै अब्बल भनेर लावण्यदेशमा हात्तीले राजा चुनेझैं तिनलाई नेपाली सत्ताधिकारी बनाए । तिनीहरु एकथान राजा फालेर हजारौं महाराजा पो बन्न थाले । नीतिको राजा राजनीति, दुर्गन्धित बनाइदिए । राजनीति र सुँगुरको खोर उस्तै उस्तै पो लाग्न थालेको छ । दोस्रो आवधिक निर्वाचनपछि पनि स्थितिमा कुनै सुधार आएन, ल्याउने प्रयत्न नेतृत्वले गरेनन् ।
विनोवाभावेले जो उपकार गर्नेलाई नीच मान्दछ, त्योभन्दा नीच अर्को कोही हुँदैन भनेको साबित हुनपुग्यो । जनताले कांग्रेस, राप्रपा, मधेशवादी र अन्य साना भरेटाकुरे दलहरु चरित्रहीन बने, तीभन्दा कम्युनिष्टलाई विश्वास गरेर सत्ताको बागडोर सुम्पने उपकार गरे । कम्युनिष्टको सूर्य, हँसिया, हथौडा जाज्वल्यमान बन्यो । तर कम्युनिष्टहरु पनि उही ड्याङका मूला निस्किए । कम्युनिष्ट पनि कानै चिरिएका जोगीजस्ता देखिए । कम्युनिष्ट कमाउनिष्ट बने र जनतालाई जुकाले चुसेजसरी चुसिरहेका छन् । करमाथि कर थोपरिरहेका छन् । जनताले तिरेको करबाट आफ्ना कार्यकर्ता पालिरहेका छन् । संघीयताका नाममा ७ सय ६१ सरकार छन् । ती सबै सरकारमा ३५ हजार ९ सय २४ जना चुनिन्छन्, त्यत्तिकै संख्यामा आउरेबाउरेहरु झिंगा भन्किएझैं भन्किएका हुन्छन् । ती सबैको खुवा खान्की भनेको जनताले तिरेको महँगो कर थुप्रिने राष्ट्रिय ढुकुटी नै हो । कांग्रेस र अन्य पार्टीहरु पनि यस्तै लूटतन्त्रमा रमाइरहेका छन् । कठै पद्धति र नेतृत्वको दयनीय अवस्था ।
चुनाव जिताएर उपकार गर्ने जनता, जनतालाई निचोर्ने जितुवा र तिनको दलबल । यो नीच कर्म नभए के हो ? कुनै प्रतिनिधि, स्थानीय–प्रदेश–संघीय सरकारका टाउके, सांसद अथवा मन्त्री–प्रधानमन्त्रीले कहिले सोधेको सुनियो– जनताको अपेक्षा के छ ? कहिले सम्मान गरेको देखियो– जनताको आवाज के हो ? जसले जितायो, ती जनतालाई सलाम गर्ने कोही भएनन्, जनताबाट सलाम खाने रहर र लहर सबैमा जाग्यो । गाउँपालिकाको अध्यक्ष होस् कि प्रधानमन्त्री वा राष्ट्रपति, कसैले जनअपेक्षाको कदर गरेको देखिएन । केही ठूला साना सच्चा कम्युनिष्ट नेताहरु भन्न थालेका छन्– नेकपा भन्न पनि लाज लाग्नथाल्यो । नेपाली कांग्रेस भन्न पनि शरम लाग्न थाल्यो । राष्ट्रपतिका छोरा बेलायतमा ९ थान घरका मालिक छन्, राष्ट्रपति देश लुटिरहेका छन् । अझै बिशिष्टहरुलाई सेवा र सुविधा थप्ने कानुन बनाइदैछ । देश चलाउने पैसा छैन, जो पदमा बसेर लुट्छन्, तिनलाई अवकाशपछि पनि जनताले नै पाल्नुपर्ने, सेवा गर्नुपर्ने । अमेरिकामा ४ सय भीभीआइपी छन्, नेपालमा ४ हजार ५ सय । यसैबाट थाहा हुन्छ, लोकतन्त्रको असली स्वरुप ठगी हो । अमेरिकाले त्यसै नेपाललाई ठग भनेको होइन ।
अन्तर्राष्ट्रिय सोसलिष्ट संगठनको सदस्य नेपाली कांग्रेसले नर्मस् भुल्यो, वीपीको सिद्धान्त बिर्सियो । प्रजातन्त्रको अगुवा कम्युनिष्टको पछुवा बन्यो । कम्युनिष्टकै कुरा गर्ने हो भने कार्लमाक्र्सले भनेका थिए– क्रान्तिपछि राजनीति एउटा सामाजिक विकास र पुनस्र्थापनाको साधन बन्न जान्छ । टाउकामाथि माक्र्सको फोटो झुण्ड्याउन गर्व गर्ने, आफूलाई माक्र्सवादी भन्नेहरुले कहिले माक्र्सको असली सिद्धान्तको पदमार्ग पछ्याए ? जनयुद्ध र जनआन्दोलन सफल भयो, राजतन्त्र र हिन्दुधर्म फालियो भनेर नाक फुलाउनेहरुले माक्र्सको सिद्धान्त पछ्याएर कुन चाहिं सामाजिक विकास र पुनस्र्थापनाको साधन बनेर देखाए ?
यिनीहरु कांग्रेसलाई साथ लिएर अझै पनि द्वन्द्व चर्काउन अग्रसर छन् ।
वर्तमान नेपालमा जनयुद्धकालीन लडाका हुन् कि जनआन्दोलनकालका जनता हुन्, सबै असन्तुष्ट छन् । नेताहरुलाई गाला चड्काएर, जुत्ता हानेर आक्रोश पोखिरहेका छन् । राम्रो काम गरेनौं, तिमीहरु नैतिकहीन हौ भनेर सन्देश दिइरहेका छन् । अचम्म, झलनाथ खनालले झापड खाए, प्रधानमन्त्री बने । प्रचण्डले झापड खाए, प्रधानमन्त्री बने । प्रचण्ड तीनपल्ट प्रधानमन्त्री भएपछि तेस्रोपल्ट जुत्ता खाए, उनको पुतला जलाइयो । प्रचण्डजस्ता डाइनामिक नेताको यो कन्तबिजोग । अरु नेताको के कुरा गर्नु ? परिवर्तनले सार गुमायो ।
लोकतन्त्रले निर्माण गरेको मोनमेन्ट भनेको भ्रष्टाचारको दल दल हो । यिनले स्थापित गरेको मान्यता भनेको नैतिकहीनता हो । यिनले देखाएको व्यवहार भनेको आफन्तवाद, सिद्धान्तहीन राजनीतिक सर्वोच्चता हो । राज्य सञ्जालमा अपराधिकरण फैलाएको हो । यही महारोगको महामारीले आज देशलाई सन्निपात हुनपुगेको छ ।
लोकतन्त्रमा ठूला नेता, तिनका परिवार र आफन्त सम्भ्रान्त सम्भ्रान्त बने । जनताको गाँस, बास, कपास, पानी, शिक्षा, उपचारमा राजनीतिक व्यवसाय चलाइरहेका छन् । मार्सी चामल, कार, हेलिकोप्टर, महल, सुखसुविधा सबैमा कांग्रेस, कम्युनिष्टको एकछत्र राज छ । हरेक नेता मुखले समाजवाद, सर्वहारावाद भनेर भाषण गरे पनि तिनको चरित्र पुँजीवादी छ ।
यो बुद्ध जन्मेको देश । बुद्धले भनेका थिए– नैतिकता नै धर्म हो, धर्म नै नैतिकता हो । नैतिकता छैन भने धर्म पनि छैन । लोकतन्त्रमा नैतिकता रहेन, धर्मनास भयो । यसकारण यो पद्धतिप्रति जनाक्रोश दिनहुँ बढ्दै गएको छ ।
बिगत १९ वर्षमा नेपाली राजनीतिमा नैतिकता भनेको स्यालको सिङ हराए जसरी हराएको छ । हरेक पार्टीमा नैतिकहीनताका अचाक्ली दृष्टान्तहरु देखिन्छन् ।
राजनीतिको धर्म हुन्छ जनसेवा । राजनीतिको अर्को नाम नै जनसेवा, राष्ट्रभक्ति हो । तर नेपालको राजनीति भनेको तिल्के मारवाडीको झिल्के व्यापार हुनपुगेको छ । लोटा बोकेर आएकाहरु शासनलाई खोटा बनाएर रातारात सम्पन्नताको कोठाचोटा जोड्छन् । राजनीति यस्तै बनेको छ । राजनीतिक दल भनेका हाटबजार हो । हाटबजारमा जहाँ रमाइलो प्रशस्त देख्न पाइन्छ । जिम्मेवारी र जवाफदेहीताविहीन राजनीति भनेको गाईजात्रा हो, नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र अर्थात शीतल निवास, सिंहदरवारदेखि गाउँपालिकासम्म गाईजात्रा चलेको छ । गाईजात्रामा जात्रा हुन्छ, जात्रामा हाँसो र मनोरञ्जन बढी हुन्छ । हुन्छ, व्यङ्ग पनि हुन्छ तर त्यो व्यङ्ग, परिस्थितिप्रतिको परिहास देखेर सुनेर जिम्मेवारहरु लज्जाहीन भएर हाँस्छन् । वर्तमान नेपालका शासकहरु यस्तै परिहासकहरु हुन् ।
शेक्सपियरले लेखेका छन्– बदलाको भाव साहस होइन, बरु त्यसलाई सहनु साहस हो । माओले नै भनेका थिए– हजारौं माइलको यात्रा एक पाइलाबाट सुरु हुन्छ । रिचार्ड निक्शनले उहिल्यै बोलेका थिए– राजनीतिमा कहिले पनि पूर्ण विजय हुँदैन । शेक्सपियर, माओ, रिचार्ड निक्शन तिनै जनाको मान्यता र नेपाली शासनको आसनमा रहेका पक्ष विपक्षहरुको बिधि व्यवहारमा कतै मेल खाँदैन । माओले त सांस्कृतिका क्रान्तिपछि कमीकमजोरी भएको स्वीकार गरेका थिए र जनताका सामु घुँडा टेकेर माफी माँगेको इतिहास छ । समाजवादी हुँ भन्नेहरुले जयप्रकाश नारायणको पदचाप छाडिसकेका छन् । जनताको सर्वहारावाद, जनताको शासन भन्ने हुन् अथवा गाई र माईका कुरा गर्नेहरु हुन्, राजतन्त्रको वकालत गर्नेहरु समेत नैतिकपतनका अनेक रोगबाट ग्रस्त भएकै छन् ।
सबैले सहअस्तित्व र नैतिक हुने हो भने देश बाँच्छ, प्रजातन्त्र पनि बाँच्छ, समृद्ध नेपाल र सुखी नेपालीको सपना पनि साकार पार्न सकिन्छ । मात्र शर्त छ– इमानको परिपालना । सहमति र सहकार्यको राजनीति । विभेद र निषेधको परित्याग ।
पेटको भोकभन्दा भावनाको चोट गहिरो हुन्छ भन्ने सत्यको स्वीकार गर्ने हो भने नेपाल र नेपाली मनोभावनामा लाग्नुसम्मको चोट लागेको छ । त्यो चोटको उपचार भनेको अगुवाहरुको चारित्रिक सुधार हो, प्रजातन्त्रका गरिमा र महिमाको पालना हो । प्रजातान्त्रिक संवैधानिक राजतन्त्रको व्यवस्था पुनस्र्थापना हो ।
मूल सुफा भए पानी सफा हुन्छ, मानव सभ्यताको पहिचान हरेक तह र तप्काका अगुवाको सफा मन हो, समताभाव हो, नैतिक धरातल हो । यत्ति बुझे नेपाल बाँच्छ । स्वाभिमानले देश बाँच्छ । द्वन्द्व नचर्काऔं, सहमतिको राजनीतिको सुरुआत गरौं ।
बोका देखाएर कुकुरको मासु बेच्ने लोकतन्त्रलाई हटाऔं ।
अन्तमा ः मातृभूमि धर्मभन्दा ठूलो हुन्छ ।
आफ्नो देशमाथि हमला गर्ने अंग्रेज फौजलाई महारानी लक्ष्मीवाईले हराइन् । अंग्रेजहरु भागेर कोही मस्जिद, कोही मन्दिरमा लुक्न पुगे । अंग्रेजलाई विश्वास थियो, मुसलमानले मस्जित र हिन्दुले मन्दिरमाथि हमला गर्दैनन् ।
तर रानीका मुसलमान सिपाहीले हे अल्लाह, माफी पाउँ, देशका लागि मैले मस्जिदमा तोप हान्नुप¥यो, यति भनेर मुसलमानले तोप हान्यो, मस्जिदमा लुकेका दुश्मनलाई खरानी बनाइदियो ।
उता रानीका हिन्दु सिपाहीले मन्दिरमा लुकेका दुश्मन फौजलाई मार्न तोप हान्न सकेनन् । रानी लक्ष्मीवाई आफै अगाडि आइन् र सिपाहीहरुको साहस बढाउँदै भनिन्– मातृभूमि धर्मभन्दा ठूलो हुन्छ भनेर तोप दागिन् र दुश्मनलाई खरानी बनाइदिइन् । यो हो मातृभूमिप्रतिको धर्म ।
भुइँमान्छेले सलह जसरी सडकमा निस्केर निर्णय लिनुप¥यो– अब बोका देखाएर कुकुरको मासु बेच्न पाइदैन । भुइँमान्छेलाई यो स्वीकार छैन ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports