राजतन्त्रको प्रतिकार गर्न गणतन्त्रवादी सडकमा
वि.सं.२०८१ चैत ६ बुधवार १३:३५
shares

राजन कार्की
गणतन्त्र छ, भ्रष्टाचार छ । गणतन्त्र छ नीति छैन, सिद्धान्त छैन, नैतिकता छैन, आचरण छैन । शेषनागका हजार जिब्रा र गणतन्त्रवादी उस्तै छन् । १९ वर्षको अवधिमा राष्ट्र कङ्गाल पार्ने यिनै हुन् । पौने २७ खर्ब ऋण भइसक्यो । बजेटको आकारभन्दा ठूलो व्यापार घाटा छ । उठ्ती हुने राजस्वले साधारण खर्च धान्न नसकिने अवस्था छ भनेर स्वयम् सरकार भन्छ । अमेरिकाले ठग भनेकाहरु गणतन्त्रवादी हुन् । यिनीहरु अब राजतन्त्रको प्रतिकार गर्ने दयनीय अवस्थामा पुगेको देखियो ।
गणतन्त्रवादी किन आफ्नो अनुहारको दाग ऐनामा हेर्दैनन् ?
कठै गणतन्त्रवादीहरु ?
भुइँमान्छेले राजा आउ देश बचाउ भने नारा के लगाए, भनेकोमा आत्तिएर प्रतिकारमा उत्रने कि गल्ती भएकै हो भनेर आत्मसमीक्षा गर्दै आइन्दा व्यवस्था र अवस्था दुबै सुधार्छौं भनेर जनतासँग क्षमा याचना गर्दै भुइँमान्छेले मन नपराएको संघीयता खारेज गर्दै के के सुधार गर्नुपर्ने हो, संविधानमा सुधार गर्न अग्रसर हुनुपर्ने हो ।
तर ठूला दलहरु भुइँमान्छेको आक्रोशको प्रतिकार गर्न उत्रनु भनेको द्वन्द्व चर्र्काउने साजिस हो । जो १९ यो पद्धतिका बाहक हुन्, पद्धतिलाई जनजीवनमय बनाउनुको साटो द्वन्द्वमा होम्नु भनेको राष्ट्रघात, राष्ट्रअपराध हो । स्थापित नेता र पार्टीहरुले भुइँमान्छेमा किन घृणा बढ्यो भन्ने मिमांसा गरेर सही निकासतिर लाग्नु उचित हुनेछ । अन्यथा सिरिया, श्रीलंका, बंगलादेशमा जे देखियो, त्यस्तो दुर्घटना नदोहोरियला भन्न सकिन्न ।
यतिबेलाको राष्ट्रको स्थिति भनेको घर साँढे, वन बिरालो भनेझै भएको छ नेपाल र नेपालीको जीवनमा । अब्राहम लिंकनले भनेका थिए– कुशल शासक भविष्यको चिन्ता गर्छन्, तर राजनीतिज्ञ आगामी चुनावको मात्र चिन्तामा हुन्छन् । हाम्रो देशका राजनीतिज्ञहरु घर साँढे, वन बिरालो पनि हुन् र पैसा भए चुनाव जित्न सकिन्छ, मनोनित हुन सकिन्छ, संवैधानिक पदमा किनेर पुग्न सकिन्छ भनेर जसरी पनि पैसा कमाउने व्यवसायमा लागेका छन् । राष्ट्रिय राजनीति व्यवसाय बनेको छ । राजनीतिको धर्म हुन्छ, जुन नष्ट भइसकेको छ ।
सुखद वर्तमान, सुन्दर भविष्यका खातिर जनताले सात राजनीतिक दलको परिवर्तनलाई स्वागत गरे, साथ दिए । तिनले गरेको हरेक निर्णयमा चुपचाप बसे । तर तिनले एकथान संविधान बनाउन ८ वर्ष लगाए । संविधान जारी भएपछिको पहिलो चुनावमा देशभक्त कम्युनिष्ट नै रहेछ, देशको रक्षा र जनताको सुरक्षा, समानता दिन्छ भन्ने विश्वास गरेर चुनाव जिताइदिए । कांग्रेस अथवा अरु दलभन्दा कम्युनिष्ट नै अब्बल भनेर लावण्यदेशमा हात्तीले राजा चुनेझैं तिनलाई नेपाली सत्ताधिकारी बनाए । तिनीहरु एकथान राजा फालेर हजारौं महाराजा पो बन्न थाले । नीतिको राजा राजनीति, दुर्गन्धित बनाइदिए । राजनीति र सुँगुरको खोर उस्तै उस्तै पो लाग्न थालेको छ । दोस्रो आवधिक निर्वाचनपछि पनि स्थितिमा कुनै सुधार आएन, ल्याउने प्रयत्न नेतृत्वले गरेनन् ।
विनोवाभावेले जो उपकार गर्नेलाई नीच मान्दछ, त्योभन्दा नीच अर्को कोही हुँदैन भनेको साबित हुनपुग्यो । जनताले कांग्रेस, राप्रपा, मधेशवादी र अन्य साना भरेटाकुरे दलहरु चरित्रहीन बने, तीभन्दा कम्युनिष्टलाई विश्वास गरेर सत्ताको बागडोर सुम्पने उपकार गरे । कम्युनिष्टको सूर्य, हँसिया, हथौडा जाज्वल्यमान बन्यो । तर कम्युनिष्टहरु पनि उही ड्याङका मूला निस्किए । कम्युनिष्ट पनि कानै चिरिएका जोगीजस्ता देखिए । कम्युनिष्ट कमाउनिष्ट बने र जनतालाई जुकाले चुसेजसरी चुसिरहेका छन् । करमाथि कर थोपरिरहेका छन् । जनताले तिरेको करबाट आफ्ना कार्यकर्ता पालिरहेका छन् । संघीयताका नाममा ७ सय ६१ सरकार छन् । ती सबै सरकारमा ३५ हजार ९ सय २४ जना चुनिन्छन्, त्यत्तिकै संख्यामा आउरेबाउरेहरु झिंगा भन्किएझैं भन्किएका हुन्छन् । ती सबैको खुवा खान्की भनेको जनताले तिरेको महँगो कर थुप्रिने राष्ट्रिय ढुकुटी नै हो । कांग्रेस र अन्य पार्टीहरु पनि यस्तै लूटतन्त्रमा रमाइरहेका छन् । कठै पद्धति र नेतृत्वको दयनीय अवस्था ।
चुनाव जिताएर उपकार गर्ने जनता, जनतालाई निचोर्ने जितुवा र तिनको दलबल । यो नीच कर्म नभए के हो ? कुनै प्रतिनिधि, स्थानीय–प्रदेश–संघीय सरकारका टाउके, सांसद अथवा मन्त्री–प्रधानमन्त्रीले कहिले सोधेको सुनियो– जनताको अपेक्षा के छ ? कहिले सम्मान गरेको देखियो– जनताको आवाज के हो ? जसले जितायो, ती जनतालाई सलाम गर्ने कोही भएनन्, जनताबाट सलाम खाने रहर र लहर सबैमा जाग्यो । गाउँपालिकाको अध्यक्ष होस् कि प्रधानमन्त्री वा राष्ट्रपति, कसैले जनअपेक्षाको कदर गरेको देखिएन । केही ठूला साना सच्चा कम्युनिष्ट नेताहरु भन्न थालेका छन्– नेकपा भन्न पनि लाज लाग्नथाल्यो । नेपाली कांग्रेस भन्न पनि शरम लाग्न थाल्यो । राष्ट्रपतिका छोरा बेलायतमा ९ थान घरका मालिक छन्, राष्ट्रपति देश लुटिरहेका छन् । अझै बिशिष्टहरुलाई सेवा र सुविधा थप्ने कानुन बनाइदैछ । देश चलाउने पैसा छैन, जो पदमा बसेर लुट्छन्, तिनलाई अवकाशपछि पनि जनताले नै पाल्नुपर्ने, सेवा गर्नुपर्ने । अमेरिकामा ४ सय भीभीआइपी छन्, नेपालमा ४ हजार ५ सय । यसैबाट थाहा हुन्छ, लोकतन्त्रको असली स्वरुप ठगी हो । अमेरिकाले त्यसै नेपाललाई ठग भनेको होइन ।
अन्तर्राष्ट्रिय सोसलिष्ट संगठनको सदस्य नेपाली कांग्रेसले नर्मस् भुल्यो, वीपीको सिद्धान्त बिर्सियो । प्रजातन्त्रको अगुवा कम्युनिष्टको पछुवा बन्यो । कम्युनिष्टकै कुरा गर्ने हो भने कार्लमाक्र्सले भनेका थिए– क्रान्तिपछि राजनीति एउटा सामाजिक विकास र पुनस्र्थापनाको साधन बन्न जान्छ । टाउकामाथि माक्र्सको फोटो झुण्ड्याउन गर्व गर्ने, आफूलाई माक्र्सवादी भन्नेहरुले कहिले माक्र्सको असली सिद्धान्तको पदमार्ग पछ्याए ? जनयुद्ध र जनआन्दोलन सफल भयो, राजतन्त्र र हिन्दुधर्म फालियो भनेर नाक फुलाउनेहरुले माक्र्सको सिद्धान्त पछ्याएर कुन चाहिं सामाजिक विकास र पुनस्र्थापनाको साधन बनेर देखाए ?
यिनीहरु कांग्रेसलाई साथ लिएर अझै पनि द्वन्द्व चर्काउन अग्रसर छन् ।
वर्तमान नेपालमा जनयुद्धकालीन लडाका हुन् कि जनआन्दोलनकालका जनता हुन्, सबै असन्तुष्ट छन् । नेताहरुलाई गाला चड्काएर, जुत्ता हानेर आक्रोश पोखिरहेका छन् । राम्रो काम गरेनौं, तिमीहरु नैतिकहीन हौ भनेर सन्देश दिइरहेका छन् । अचम्म, झलनाथ खनालले झापड खाए, प्रधानमन्त्री बने । प्रचण्डले झापड खाए, प्रधानमन्त्री बने । प्रचण्ड तीनपल्ट प्रधानमन्त्री भएपछि तेस्रोपल्ट जुत्ता खाए, उनको पुतला जलाइयो । प्रचण्डजस्ता डाइनामिक नेताको यो कन्तबिजोग । अरु नेताको के कुरा गर्नु ? परिवर्तनले सार गुमायो ।
लोकतन्त्रले निर्माण गरेको मोनमेन्ट भनेको भ्रष्टाचारको दल दल हो । यिनले स्थापित गरेको मान्यता भनेको नैतिकहीनता हो । यिनले देखाएको व्यवहार भनेको आफन्तवाद, सिद्धान्तहीन राजनीतिक सर्वोच्चता हो । राज्य सञ्जालमा अपराधिकरण फैलाएको हो । यही महारोगको महामारीले आज देशलाई सन्निपात हुनपुगेको छ ।
लोकतन्त्रमा ठूला नेता, तिनका परिवार र आफन्त सम्भ्रान्त सम्भ्रान्त बने । जनताको गाँस, बास, कपास, पानी, शिक्षा, उपचारमा राजनीतिक व्यवसाय चलाइरहेका छन् । मार्सी चामल, कार, हेलिकोप्टर, महल, सुखसुविधा सबैमा कांग्रेस, कम्युनिष्टको एकछत्र राज छ । हरेक नेता मुखले समाजवाद, सर्वहारावाद भनेर भाषण गरे पनि तिनको चरित्र पुँजीवादी छ ।
यो बुद्ध जन्मेको देश । बुद्धले भनेका थिए– नैतिकता नै धर्म हो, धर्म नै नैतिकता हो । नैतिकता छैन भने धर्म पनि छैन । लोकतन्त्रमा नैतिकता रहेन, धर्मनास भयो । यसकारण यो पद्धतिप्रति जनाक्रोश दिनहुँ बढ्दै गएको छ ।
बिगत १९ वर्षमा नेपाली राजनीतिमा नैतिकता भनेको स्यालको सिङ हराए जसरी हराएको छ । हरेक पार्टीमा नैतिकहीनताका अचाक्ली दृष्टान्तहरु देखिन्छन् ।
राजनीतिको धर्म हुन्छ जनसेवा । राजनीतिको अर्को नाम नै जनसेवा, राष्ट्रभक्ति हो । तर नेपालको राजनीति भनेको तिल्के मारवाडीको झिल्के व्यापार हुनपुगेको छ । लोटा बोकेर आएकाहरु शासनलाई खोटा बनाएर रातारात सम्पन्नताको कोठाचोटा जोड्छन् । राजनीति यस्तै बनेको छ । राजनीतिक दल भनेका हाटबजार हो । हाटबजारमा जहाँ रमाइलो प्रशस्त देख्न पाइन्छ । जिम्मेवारी र जवाफदेहीताविहीन राजनीति भनेको गाईजात्रा हो, नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र अर्थात शीतल निवास, सिंहदरवारदेखि गाउँपालिकासम्म गाईजात्रा चलेको छ । गाईजात्रामा जात्रा हुन्छ, जात्रामा हाँसो र मनोरञ्जन बढी हुन्छ । हुन्छ, व्यङ्ग पनि हुन्छ तर त्यो व्यङ्ग, परिस्थितिप्रतिको परिहास देखेर सुनेर जिम्मेवारहरु लज्जाहीन भएर हाँस्छन् । वर्तमान नेपालका शासकहरु यस्तै परिहासकहरु हुन् ।
शेक्सपियरले लेखेका छन्– बदलाको भाव साहस होइन, बरु त्यसलाई सहनु साहस हो । माओले नै भनेका थिए– हजारौं माइलको यात्रा एक पाइलाबाट सुरु हुन्छ । रिचार्ड निक्शनले उहिल्यै बोलेका थिए– राजनीतिमा कहिले पनि पूर्ण विजय हुँदैन । शेक्सपियर, माओ, रिचार्ड निक्शन तिनै जनाको मान्यता र नेपाली शासनको आसनमा रहेका पक्ष विपक्षहरुको बिधि व्यवहारमा कतै मेल खाँदैन । माओले त सांस्कृतिका क्रान्तिपछि कमीकमजोरी भएको स्वीकार गरेका थिए र जनताका सामु घुँडा टेकेर माफी माँगेको इतिहास छ । समाजवादी हुँ भन्नेहरुले जयप्रकाश नारायणको पदचाप छाडिसकेका छन् । जनताको सर्वहारावाद, जनताको शासन भन्ने हुन् अथवा गाई र माईका कुरा गर्नेहरु हुन्, राजतन्त्रको वकालत गर्नेहरु समेत नैतिकपतनका अनेक रोगबाट ग्रस्त भएकै छन् ।
सबैले सहअस्तित्व र नैतिक हुने हो भने देश बाँच्छ, प्रजातन्त्र पनि बाँच्छ, समृद्ध नेपाल र सुखी नेपालीको सपना पनि साकार पार्न सकिन्छ । मात्र शर्त छ– इमानको परिपालना । सहमति र सहकार्यको राजनीति । विभेद र निषेधको परित्याग ।
पेटको भोकभन्दा भावनाको चोट गहिरो हुन्छ भन्ने सत्यको स्वीकार गर्ने हो भने नेपाल र नेपाली मनोभावनामा लाग्नुसम्मको चोट लागेको छ । त्यो चोटको उपचार भनेको अगुवाहरुको चारित्रिक सुधार हो, प्रजातन्त्रका गरिमा र महिमाको पालना हो । प्रजातान्त्रिक संवैधानिक राजतन्त्रको व्यवस्था पुनस्र्थापना हो ।
मूल सुफा भए पानी सफा हुन्छ, मानव सभ्यताको पहिचान हरेक तह र तप्काका अगुवाको सफा मन हो, समताभाव हो, नैतिक धरातल हो । यत्ति बुझे नेपाल बाँच्छ । स्वाभिमानले देश बाँच्छ । द्वन्द्व नचर्काऔं, सहमतिको राजनीतिको सुरुआत गरौं ।
बोका देखाएर कुकुरको मासु बेच्ने लोकतन्त्रलाई हटाऔं ।
अन्तमा ः मातृभूमि धर्मभन्दा ठूलो हुन्छ ।
आफ्नो देशमाथि हमला गर्ने अंग्रेज फौजलाई महारानी लक्ष्मीवाईले हराइन् । अंग्रेजहरु भागेर कोही मस्जिद, कोही मन्दिरमा लुक्न पुगे । अंग्रेजलाई विश्वास थियो, मुसलमानले मस्जित र हिन्दुले मन्दिरमाथि हमला गर्दैनन् ।
तर रानीका मुसलमान सिपाहीले हे अल्लाह, माफी पाउँ, देशका लागि मैले मस्जिदमा तोप हान्नुप¥यो, यति भनेर मुसलमानले तोप हान्यो, मस्जिदमा लुकेका दुश्मनलाई खरानी बनाइदियो ।
उता रानीका हिन्दु सिपाहीले मन्दिरमा लुकेका दुश्मन फौजलाई मार्न तोप हान्न सकेनन् । रानी लक्ष्मीवाई आफै अगाडि आइन् र सिपाहीहरुको साहस बढाउँदै भनिन्– मातृभूमि धर्मभन्दा ठूलो हुन्छ भनेर तोप दागिन् र दुश्मनलाई खरानी बनाइदिइन् । यो हो मातृभूमिप्रतिको धर्म ।
भुइँमान्छेले सलह जसरी सडकमा निस्केर निर्णय लिनुप¥यो– अब बोका देखाएर कुकुरको मासु बेच्न पाइदैन । भुइँमान्छेलाई यो स्वीकार छैन ।
































