बहुमत ल्याउन कुनै न कुनै पार्टीसँग मिल्नु पर्ने बाध्यता : देउवा
वि.सं.२०८१ चैत ६ बुधवार १७:५९
shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमत ल्याउन कुनै न कुनै पार्टीसँग मिल्नु पर्ने बाध्यता रहेको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार आयोजित कार्यक्रममा सभापति देउवाले संविधानमा रहेको व्यवस्थाका कारण कुनै एक दलले बहुमत ल्याउन नसक्ने बताएका हुन् ।संविधानको यही व्यवस्थाको कारण धेरै मिहिनेत गर्दा पनि कांग्रेसले बहुमत ल्याउन नसकेको उनको भनाइ छ ।
‘कुनै पनि पार्टीको बहुमत आउन धेरै गारो छ । त्यसैले कुनै न कुनै पार्टीसँग मिल्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘त्यसैले हाम्रो पार्टीले धेरै मिहिनेतका बाबजुद सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको छ । तर, बहुमत ल्याउन सकेको छैन ।’उनले कुनै पनि दलको बहुमत नआउनुमा पार्टीको दोष नभई संविधानमा रहेको व्यवस्थालाई कारण बताए । तै पनि जुझारु भएर बहुमत ल्याउने प्रयत्न गर्नुपर्ने उनले बताए ।





































