सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गणतन्त्र कुहियो, लोकतन्त्र तुहियो, राष्ट्र नुहियो

559
shares

 

राजन कार्की
श्री ३ भन्दा निरंकूश बनेका छन् गणतन्त्र महाराजहरु । राजा फाल्यौं भन्नेहरू नवबास्सा बनेका छन् । गणतन्त्रमा गण छैनन्, गणजति सडकमा छन् । लोकतन्त्रमा विधि छैन, विधिजति राज्यसत्ताको फर्मानमा छ । राज्यसञ्जाल यिनकै छ, मनलागीतन्त्र पनि यिनकै छ ।
नेपालमा लोकतन्त्र छ भनिरहेका छन्, कसैले पत्याउँदैनन् ।
नेपालमा संविधान, संसद, सरकार छ, जनप्रतिनिधि छन् भन्छन्, आमनागरिकले पत्याउँदैनन् । गणतान्त्रिक लोकतन्त्र स्थापना भएको १७ वर्षमा राजनीतिक, कानुनी अव्यवस्था उस्तै छ । सडकमा डाक्टर, शिक्षक, कर्मचारीदेखि आमनागरिक बिद्रोह गरिरहेका छन् । गणतान्त्रिक लोकतन्त्र कान थुनेर बसेको छ ।
लाटो, बहिरो, कानो छ गणतन्त्र । लोकतन्त्र ।
नीति, विधि र विवेक मरेपछि राष्ट्र मरेतुल्य हुनेरहेछ । राष्ट्र जिवन्त छैन । भ्रष्ट र अनैतिक नेता जिवन्त छौं भनेर चलमलाईरहेछन् । यथार्थमा कायरहरु यसैगरी जिउँदै मर्छन्, जसले जनविश्वास र आस्था गुमाएका हुन्छन् ।
प्रकृतिले किन जनावरलाई आवाजमात्र दियो, मान्छेमा नवरस, नवरङ्ग र नवस्वरका वाणीहरु विद्यमान छन् ? यत्ति कुरा राजनीतिमा लाग्ने कुनै पनि दलका, कुनै पनि विचारका र कुनै पनि तह र तप्काका अगुवाहरुले बुझेनन् । हामीमा असभ्यता मौलाउनु र मानवताको हत्या भइरहनुको जरो यही हो । त्यसैले त समस्या बहुला कुकुर भएर घर, समाज, देश र हाम्रो सभ्यतालाई लेखटिरहेछ, समस्यासँग जुध्ने जब्बर साहस हामीमा कहिले पनि आएन । समस्याले हामीलाई टोकिरहेछ र हामी रगताम्मे भएर भागिरहेका छौं ।
हामी अवला नागरिक, जुनसुकै तह र तप्काका हाम्रा प्रतिनिधि पात्रहरु हुन्, तिनीहरुले कहिल्यै न्यायको पक्षमा उभिएनन् । जति अन्याय, विभेद, निषेध, समाजविरोधी क्रियाकलाप बढेका छन्, तिनका मूलद्वारा तिनै प्रतिनिधि पात्रहरु हुन् । चाहे ती नागरिक समाज, न्यायदाता, शासक, प्रशासक हुन् अथवा नीति निर्माता । बुद्धिजीवी र विचारक हुन् ।
यस्ताबाट हामीले सुशासनको अपेक्षा गर्ने ?
कुशासन र भ्रष्टाचार, यो टेन्सन, राष्ट्रिय रोग हो ।
००७ साल अघि सम्म देशमा राणा शासन थियो, डा. महेन्द्रप्रसाद श्रीवास्तव डाक्टर भएर स्वदेश आए । श्री ३ पद्मशमशेरले थाहा पाए र उनलाई लिन ६ घोडे बग्गी पठाएका थिए । डाक्टर श्रीवास्तवले महाराजको जय होस् भनेर दर्शन गरेपछि पद्मशमशेरले नाडी तेस्र्याएर सोधेछन— मलाई जाँच त ? के भएछ हेर त?
डाक्टरलाई फसाद प¥यो । उनले नाडी समातेर भनिदिए— सरकारलाई टेन्सन छ ।
श्री ३ महाराजले भोलिपल्ट डाक्टर सिद्धिमणि आदी र डा.महेन्द्रप्रसाद दुबैलाई दरवारमा हाजिर हुन फर्मान जारी गरे । दुबै डाक्टर आएपछि श्री ३ महाराजले सोधे— ए डाक्टर सिद्धिमणि, महेन्द्रे त मलाई टेन्सन छ भन्छ नि । तिमीले मलाई किन नभनेको ?
माफ बक्सियोस् महाराज, टेन्सन बढेको छैन, ठीक हुन्छ ।
ज्यान बाँच्यो, समस्या ट¥यो ।
आज सिंहदरवार र शीतल निवासका श्री ६ महाराज, महारानीलाई कसरी रजगज गरिरहने, कसरी आफ्नो गुट बलियो पार्ने, कसरी बढीभन्दा बढी प्रभावशाली बनेर सुख भोग्ने टेन्सन छ । यो टेन्सन (तनाव) ले राजनीतिलाई गल्लीको भट्टीजस्तो, अर्धपागल नगरवधुजस्तो बनाइरहेको छ । सत्य बताइदिने कुनै डाक्टर महेन्द्रप्रसाद श्रीवास्तवहरू छैनन् । विवेक सबैमा छ, आवाज सबैको छ तर कसैभित्रको वाणी बोल्दैन, चेतना कोही खोल्दैनन्, लोकतन्त्र तुहियो । गणतन्त्र कुहियो । राष्ट्र नुहियो ।
गणतन्त्रमा गण निराश छन् । लोकले लोकका लागि ल्याएको लोकतन्त्र नेता र प्रभावशालीहरूले खोरिया र मौजा बनाएपछि खेर गयो लोकतन्त्र । लोकतन्त्र अघि पनि शोक, पछि पनि शोक बन्यो । जनताले पशुको जस्तो चिल्ला र चर्का बोलीलाई मीठो मसिनो भनिदिनुपर्ने भयो । मान्छेको जस्तो वाणी सुन्न पाइदैन लोकतन्त्रमा । मान्छेको जस्तो शासन छैन पद्धतिमा । दुर्दिनले पिछा छाडेन । नेतातन्त्रले निरंकूशता बढायो ।
अयोग्य शासक प्रशासकको आसनबाट गरेको शासन कसरी फलिभूत हुनसक्छ ? लोकोक्ति छ— माफ बार बार गर तर विश्वास एकबार गर । जनताले आफ्ना नेताहरूलाई बार बार विश्वास पनि गरे, माफ पनि गरे । फलतः नेता पुलपुलिन पुगे । लोकतन्त्र— अघिपछि अन्त चैतमा जन्त भयो । होस हराएका नेताको शासनले राष्ट्रले पहिचान हराउँदैछ । राष्ट्र बिफल हुँदैछ ।
छाडा पशुआवाज सुनिन्छ, लोकतन्त्रमा किन लोक आवाज कतै सुनिदैन ।
नेता छन्, नेतामा हुनैपर्ने नीति—शिक्षा, नैतिक—शिक्षा, सैन्य—शिक्षा, व्यूह—शिक्षा, राजनीतिक—शिक्षा शून्य छ । अशिक्षितको नेतृत्वमा दुर्गन्ध छ, सुनौलो पद्धति दुर्गन्धित हुनपुग्यो । अपरम्पार महत्वको माटोमाथि नेताहरू गन्धे झारमात्र छन् । ऐंजेरूले राष्ट्रको अस्तित्व समाप्त पारिदिन लाग्यो ।
३ करोड जनसंख्या भएको नेपाल, ६२ लाख नागरिक रोजी रोटी, अवसरका लागि विदेशीएका छन् । २ करोड ३८ लाख जनसंख्याका लागि ७ सय ६१ सरकार छन् । तीन तहको संरचना छ र हजाऔं साना राजाहरू छन् । पहिले ७० जना विशिष्ट थिए, अहिले ४ हजार ८ सय ६० पुगेछन् । यो लोकतन्त्र हो कि जोकतन्त्र ?
रमिता बन्यो गणतान्त्रिक नेपाल । जता पनि लाखेनाच ।
नेपाली युवाहरू अधिकांश मजदुर, यौनशोषणमा पार्न निर्यात गर्ने र तिनको शवलाई स्वागत गर्ने मुलुक भयो । पहिले बम्बैमा बेचिन्थे, अहिले कंगोसम्म बेश्यावृत्ति गर्न पु¥याइएका छन् । नारीहरू शरीरका छालाका लागि समेत तस्करी भइरहेका छन् । मानौं, नेपाल दासको मुलुक हो । संविधान भन्ने कागजको खोस्टो भइसक्यो । म्यारिज खेलको मालजस्तो जसले जसरी पनि अथ्र्याए हुने । यस्तो संविधानले सुखी नेपाली, समृद्ध नेपाल बनाउने ? आठौं आश्चर्य हो यो, जुन कहिल्यै पूरा हुन्न । नेपालको गौरव धुलिसात हुनपुग्यो ।
इम्परर न्यूक्लोथको बादशाहजस्तो, राजनीति जत्ति नाङ्गिए हुन्छ, जसले जसलाई जत्ति नङ्ग्याए हुन्छ । न राजकाजमा नीति छ, न राजनीतिमा नैतिकता ? संविधान अनैतिक किराले कोपरेको दस्तावेज बन्यो ।
सिद्धान्तहीन, निष्ठाहीन नेताहरू भन्छन्— लोकतन्त्र ल्यायौं, लोकतन्त्र आयो । कहाँ छ लोकतन्त्र ? कहाँ छन् लोक ? भाषण गर्नेलाई लोकको हित के हो, लोकका लागि गर्नुपर्ने दायित्व के हो ? अत्तोपत्तो छैन । देखिन्छ, नेतृत्वको स्वार्थमात्र देखिन्छ ।
सर्वहारावाद, समाजवादको सपना देख्नेहरू, सोम शर्मा बनिरहेका छन् । जो संसदलाई बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो भन्थे, आफूलाई प्रजातन्त्रको बिडा उठाउने पार्टी मान्थे, ती सबै बोकाको टाउको देखाएर कुकुर बेचिरहेका छन् ।
यिनलाई जनता मूर्ख भन्ने लागेको होला । आजका जनतालाई सधैं झुक्याउन सकिदैन ।
केही नागरिकले सडकमा असन्तुष्टि पोखे, नेतृत्वले टियरग्यास नै दाग्यो । गोली ठोक्यो । जसलाई पनि पक्रने र थुन्ने, मुद्दामा फसाएर जनता तर्साउने काम राज्यको बहादुर बन्न पुगेको छ ।
राज्यले बुझ्नैपर्छ, लोकको मुख थुनेर लोकतन्त्र देखिदैन । राज्य जिम्मेवार भएको भए आज सडकभरि लोक असन्तुष्टि पोखिरहेका छन् । भोलि भोलि आमनागरिक नै सडकमा उत्रिए भने राज्यले थाम्न सक्ला ?
परिवर्तनपछिका १७ वर्ष हेरेरै बिते । सहेरै बिते । जङ्गलीतन्त्र फस्टाइरह्यो । राजदरवार शितल निवास र सिंहदरवारमा स¥यो, सिंहदरवार र शितल निवास दिल्ली पुगेको छ । देशको शासक नेपालीले चुन्नसक्ने हैसियत समाप्त भइसक्यो ।
यसकारण त अन्तर्राष्ट्रिय विश्वास समाप्त भएको ग्रेलिष्टमा नेपाल परिसक्यो, गणतान्त्रिक लोकतन्त्र भन्नेहरुलाई कतै बिझेको छैन ।
बुझ्नेका लागि समुद्र शान्त हुन्जेल, रमाइलो लाग्छ । जब समुद्र उर्लिन्छ, सुनामी चल्छ र बितण्डा मच्चाउँछ । जनसमुद्र २०६३ सालमा उर्लेको थियो, उराल्नेको ठूलो लगानीले शान्त पा¥यो र आफ्नै लागि सिंचाइ गरेर फसल फलाउँदैछन् । भोका नेपालीका लागि लोकतन्त्र कौवालाई बेल पाकेभन्दा भिन्न रहेन । यिनै लोक फेरि सडकमा निस्कन थालेका छन् । आमनागरिकको समुद्र उर्लियो भने के होला ?

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports