यो कस्तो लोकतन्त्र हो, नेता जति खुशी, लोक दुःखी ?
वि.सं.२०८२ वैशाख ११ बिहीवार १२:२७
shares

राजन कार्की
यो कस्तो गणतन्त्र हो, नेता र तिनका परिवारजन खुशी, गण दुःखी ?
यो कस्तो संघीयता हो, पार्टीका मान्छेजतिले जसरी कमाए पनि हुने, लोकले करमात्र तिर्नुपर्ने, पाउनुपर्ने नैसर्गिक अधिकार केही पनि नपाउने ?
यो कस्तो लोकतन्त्र हो, जुन तन्त्रमा लघुबित्त पीडित खान नपाएर मर्नुपर्ने, सहकारी पीडितले औषधि गर्न नपाएर मर्नुपर्ने, आफ्नै बचत पनि फिर्ता नपाउने, ठूला अपराधी ठगलाई भगाउने, राजनीतिक प्रतिषोध साधेर जनतालाई मूर्ख बनाउने ।
यो कस्तो पद्धति हो, जहाँ आमनागरिकले घूस नख्वाई सामान्य सेवा पनि नपाउने ? घूस खानेले तक्मा, बढुवा, सरुवा सबै सुविधा पाउने ?
हरेक नेताका परिवार सम्भ्रान्त छन्, विदेशमा बस्छन् । अधिकांश नेतासँग विदेशीको पीआर छ । हरेक अवकाश प्राप्त कर्मचारी विदेशमा बस्छन्, पेन्सन बुझ्न आउँछन् । हरेक विशिष्ट श्रेणीका कर्मचारी, पूर्व राष्ट्रपति, उपराष्ट्रपति भत्तामाथि भत्ता थपेर राज्यको हण्डीमा बाँच्छन्, आफ्ना अकूत सम्पत्ति बढाउँछन् ।
यो कस्तो लोकतान्त्रिक गणतन्त्र हो, जुन प्रणालीमा पदमा बसेर राज्यको उच्च पदमा बस्छन्, लाभ लिन्छन् । पदबाट हटेपछि पार्टी राजनीतिमा आउँछन्, नेता बन्छन् ? लोकलज्जा, नैतिक आचरण कुनै नेतामा पनि देखिदैन ।
जता पनि पार्टीकरण, जता पनि अपराधिकरण, जता पनि अन्याय, जता पनि लूटतन्त्र ?
यहीकारण जनताले असन्तुष्ट भएका हुन् । असन्तुष्ट पनि माष्टर, प्राध्यापक, डाक्टर, कलाकार, कर्मचारी, सबै यी नेता र यिनले राम्रो भनेको संघीय लोकतान्त्रिक गणतन्त्रप्रति घृणा व्यक्त गरिरहेका छन् ।
लोकले अपनत्व नलिएको पनि संघीय गणतान्त्रिक लोकतन्त्र अर्थात पद्धति हुन्छ र ? तर नेपालमा राज्यमाथि पार्टीहरुको दोहन चलिरहेको छ । यो सबै देखेर ओली, देउवा र प्रचण्ड, ३ नेताको तन्त्र हो भन्ने आरोप लागेको हो । यी तीन नेतामाथि जतिसुकै भ्रष्टाचारका आरोप लागे पनि यिनीहरुमाथि छानबिन हुँदैन । सिङ्गो राज्य, प्रणाली, नीति यिनको राजनीतिक घेराबन्दीमा परेको छ ।
राजनीति गर्ने, राजनीतिमा लागेका कुनै नेता, सांसद दुःखी छैनन् । कारण उनीहरूले गणतन्त्रबाट आवश्यकताभन्दा बढी लाभ लिइरहेका छन्, पदको दुरूपयोग गरिरहेका छन् । एकजना राजालाई किनारा लगाएर आफै राजा बनेका छन् । राष्ट्रिय राजनीतिक मुद्दाको अन्त्य गर्न सकेनन्, जसका कारणले यिनले जारी गरेको संविधान नै असफल हुनपुग्यो । सडकमा असन्तुष्टिमात्र प्रकट भइरहेको छ ।
जनतालाई भ्रमित पारेर संविधान संशोधन गरेपछि ठिक हुन्छ भनिरहेका छन् । यो बहसको अन्तर्य भनेको भ्रम छर्नु हो । किनकि जिवन्त बन्न नसकेको संविधानको सुधार गरेर राष्ट्रिय मुद्दाहरू संवोधन हुनेछैन । यस्तै बिकृति र बिसंगति झन बढेर जानेछ ।
राजनीति प्रतिषोधपूर्ण रुपमा चलिरहेको छ । आफ्ना बिरोधी र राजालाई ठेगान लगाउने प्रतिषोधको अभिव्यक्ति, व्यवहार र अहंकारकै कारण गणतन्त्रको बालिग हुँदा पनि देशमा उज्यालो आउन सकेन । यी नेता र यिनको प्रतिषोधपूर्ण व्यवहारले गणतन्त्रलाई नाली नै बनाइसके । नाली गनाउने नै भयो । राणाभन्दा निरंकूश बनेका छन् गणतन्त्रे महाराजहरू । राजा फाल्यौं भन्नेहरू नवबास्सा बनेका छन् । गणतन्त्रमा गण छैनन्, यी गणपति बनेका छन् । गण सडकमा छन् । लोकतन्त्रमा विधि छैन, विधिजति राज्यसत्ताको फर्मानमा छ । राज्यसञ्जाल यिनकै छ, मनलागीतन्त्र पनि यिनकै छ । तीन नेताको मनलागीतन्त्र गणतन्त्र भनेर ढाँट्ने काम भइरहेको छ । यसैले यो तन्त्र ठगी हो, यी नेता ठग हुन् ।
संविधान, संसद, सरकार छ, जनप्रतिनिधि छन् भन्छन्, जनता पत्याउँदैनन् । यो तन्त्र लाटो, बहिरो, कानो छ । नीति, विधि र विवेक मरेपछि राष्ट्र मरेतुल्य हुनेरहेछ । राष्ट्र जिवन्त छैन । भ्रष्ट र अनैतिक नेता जिवन्त छौं भनेर चलमलाईरहेछन् । यथार्थमा कायरहरू यसैगरी जिउँदै मर्छन्, जसले जनविश्वास र आस्था गुमाएका हुन्छन् । हाम्रा नेता बाँचेको र जिवन्त राजनीति गरेको भ्रममा छन् । यथार्थमा नेताहरु जनताको घृणामा बाँचिरहेका छन् ।
नागरिकले सुशासनको अपेक्षा गरे, यिनले र्ने ? गणतन्त्र भनेको बोको देखाएर कुकुरको मासु बेचेजस्तै देखियो ।
कुशासन र भ्रष्टाचार, यो क्षय, राष्ट्रिय रोग हो । यो रोगको निदान भनेको न्यायिक छानबिन र भ्रष्टहरुमाथि दण्ड सजाय हो । सबै राजनीतिक शक्तिहरुको सहमतिमा राष्ट्रिय सरकार हो । तबमात्र प्रजातान्त्रिक नेपालको गौरव कायम हुनेछ ।
३ करोड जनसंख्या भएको नेपाल, ८२ लाख नागरिक रोजी रोटी, अवसरका लागि विदेशीएका छन् । लूटतन्त्र चलाउन ७ सय ६१ सरकार छन् । तीन तहको संरचना छ र हजारौं साना राजाहरू छन् । पहिले ७० जना विशिष्ट थिए, अहिले झण्डै ५ हजार बिशिष्ट पुगेछन् । विश्व नजरमा यो जोकतन्त्र हो ।
लाखेनाचको रमिता बन्यो लोकतान्त्रिक गणतन्त्र नेपाल ।
गणतन्त्र इम्परर न्यूक्लोथको बादशाहजस्तो, राजनीति जत्ति नाङ्गिए हुन्छ, जसले जसलाई जत्ति नङ्ग्याए हुन्छ । न राजकाजमा नीति छ, न राजनीतिमा नैतिकता ? भ्रष्टाचारी टाउको उठाएर हिड्छ, दुराचारी आफै पुरिनेगरी माला लगाएर घुम्छ, मान्छेदेखि माटोसम्मका बलात्कारीहरूको मान सम्मान हुन्छ, जयजयकार गर्ने हामी नै हौं, हामी दास नभए के हौं ? अब हामी बदलिने बेला आयो । आफ्ना लागि आफैले निर्णय लिने बेला आयो ।
जनताका लागि यो तन्त्र कौवालाई बेल पाकेसरह बन्यो । सर्वहारावाद, समाजवादको सपना देख्नेहरू, सोम शर्मा बनिरहेका छन् । जो संसदलाई बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो भन्थे, आफूलाई प्रजातन्त्रको बिडा उठाउने पार्टी मान्थे, ती सबै बोकाको टाउको देखाएर कुकुर बेचिरहेका छन् । यिनलाई जनता मूर्ख भन्ने लागेको होला । आजका जनतालाई सधैं झुक्याउन सकिदैन । जनताले सबै बुझिसकेका छन् ।
नेताहरुले बुझुन्– लोकको मुख थुनेर लोकतन्त्र बच्नेवाला छैन । राज्य जिम्मेवार भएको भए आज सडकभरि लोक असन्तुष्टि पोख्ने थिएनन् ।
जनताका लागि लोकतन्त्ररूपी कालो पोते नपाउनेलाई तिलहरिको धोको मात्र हो । संवैधानिक शासन भनेर झ्याली पिट्नेहरू पिटिरहेका छन्, इन्टरनेशनल क्राइसिस ग्रुपले ब्रसेल्सबाट नेपालमाथि नै प्रश्नचिन्ह लागेको रिपोर्ट सार्वजनिक गरेको पढ्दैनन्, वल्र्ड बैंक र एडीबीको कहालीलाग्दा अर्थव्यवस्था र जनजीवनबारेको तथ्य पनि पढ्दैनन्, वैदेशिक रोजगारीमा गएका नेपाली युवायुवतीमाथि दासजस्तो व्यवहार गरिन्छ भन्ने विभिन्न निकायको रिपोर्ट पनि पढ्दैनन् । लोक सरकारको दृष्टिमा लोक भए न पढ्ने हो, सत्ता र सम्पत्ति माथि मात्र नजर गाड्नेहरूलाई नागरिक जतासुकै मरून्, के मतलव ?
राष्ट्र असफलताको भीरमा पुगिसक्यो । यसकारण त अन्तर्राष्ट्रिय विश्वास समाप्त भएको ग्रेलिष्टमा नेपाल परिसक्यो, गणतान्त्रिक लोकतन्त्र भन्नेहरूलाई कतै बिझेको छैन ।
बुझ्नेका लागि समुद्र शान्त हुन्जेल, रमाइलो लाग्छ । जब समुद्र उर्लिन्छ, सुनामी चल्छ र बितण्डा मच्चाउँछ । जनसमुद्र २०६३ सालमा उर्लेको थियो, उराल्नेको ठूलो लगानीले शान्त पा¥यो र आफ्नै लागि सिंचाइ गरेर फसल फलाउँदैछन् । भोका नेपालीका लागि लोकतन्त्र कौवालाई बेल पाकेभन्दा भिन्न रहेन । यिनै लोक फेरि सडकमा निस्कन थालेका छन् । आमनागरिकको समुद्र उर्लियो भने के होला ?
नेतातन्त्रको अहंकार अति भयो । राजनीति गर्ने र राजकाज चलाउनेहरूले नाकलाई फोहरको गन्दे नालीमा धेरै जोते । गणतन्त्रमा टुकुचा गनाउन थाल्यो । हैजा संक्रमित फोहरी नाक बोकेर नेपाल कतिदिन विश्व समुदायमा सभ्य भएर उभिन सक्छ ? यस्तो निर्लज्जता, अमानवीय, असभ्य आतङ्क अब रोकिनुपर्छ । किन ०१७ साल आयो, सबैले बुझ्नुपर्छ, पढ्नुपर्छ । महादेवले पागलजस्तो भएर सतीदेवीको शव बोकेर हिँडेजसरी संविधानको शब बोकेर बोकेर कतिदिन हिडिरहने ? संविधानको शबको गन्दकीले सिङ्गो नेपाल दुर्गन्धित भइरहेको छ । नेताहरू दुर्गन्धलाई गणतन्त्रको सुगन्ध भनिरहेका छन् । जुन कुरा गणले पत्याउन छाडेका छन् ।
अब अर्को परिवर्तनका लागि समयले नागरिकलाई घच्घच्याएको आहट सुन्न थालिएको छ । जनता राष्ट्र हो, जनता निर्णायक हुन् भन्ने सबैले बुझुन् ।
































