साह्रै गनायो गणतन्त्र, साह्रै गनाए नेताहरू
वि.सं.२०८२ वैशाख १८ बिहीवार १७:४९
shares

राजन कार्की
लोकतान्त्रिक गणतन्त्र नेतामा बाँचेको छ, जनतामा मरेको छ । जनता राष्ट्र हो, राष्ट्रमा मरेको गणतन्त्र गनाउनु स्वभाविक हो । यो गन्दकीको परिवर्तन अवश्यम्भावी हुनथालेको छ ।
२०६३ साल वैशाख ११ गते सात राजनीतिक दल र राजावीच जुन सहमति भएको थियो, त्यसको दलहरुले उल्लंघन गरे । यो परिवर्तनपछिको १७ वषएको अध्याय पल्टाउने हो भने आङ कन्याएर छारो उडाउनु मात्र हुनेछ । गणतान्त्रिक लोकतन्त्रको यो कालखण्ड आलु खाएर पेडाको धाक लगाउनु जत्तिकै छ । जनताका लागि हलाहल, विष बराबर भएको छ यो गणतन्त्र ।
लोकतान्त्रिक गणतन्त्र ल्यायौं भन्नेहरुले नैतिकता गुमाउँदा, सिद्धान्त र नीति गुमाउँदा यिनीहरु आफै हलाको हल भएझैं राजनीतिक मृत्यु बरण गरिरहेका छन् ।
किनभने संविधान बन्यो, संसदीय अभ्यास सुरु भयो, ७ सय ६१ सरकार बने, २ पल्ट त आवधिक चुनाव पनि भइसक्यो । नेतृत्वको मुखैमा झुण्डिएको छ– लोकतन्त्र संस्थागत भयो र संविधान कार्यान्वयन भयो । यो अवधिमा भएका २ पल्टको संविधानसभा, २ पल्टको आवधिक चुनाव, संविधान, संसद, राष्ट्रपतिको व्यवस्था केहीले पनि जिवन्त काम गर्न सकेन । देश असफल हुँदै गएको छ ।
लोकतान्त्रिक गणतन्त्र आविष्कार त भयो, आविष्कारकहरुको अन्त्य यिनकै भ्रष्ट चरीत्र, हलाको हल भएजस्तो भयो । देशमा न लोकतान्त्रिक चरित्र छ, न गणतान्त्रिक विशेषता । देशमा अनीति छ, अपराधिक कृयाकलाप छ, सिद्धान्तहीनता छ, जवाफदेहीता छैन ।
पहिलोपल्ट प्रधानमन्त्री हुँदा एमालेका केपी ओलीले भनेका थिए– जुत्ता नमिले खुट्टा ताछ्नुपर्छ । उनको यो अभिव्यक्ति उत्तर प्रदेशबाट डाक्टरको डिग्री लिएर आएपछिका थियो । दोस्रोपल्ट प्रधानमन्त्री बनेपछि उनले युनिभर्सल फाउण्डेशनको एकलाख डलर सुशासन पुरस्कार लिएनन् मात्रै, मुनको बीउ हालेको पवित्र जलसमेत पिएका थिए । अहिले तेस्रोपल्ट प्रधानमन्त्री बनेका छन्, ओली भन्छन्– अब हृदयन्द्र शाहले राजा हुने सपना नदेखे हुन्छ, सपना देखे के होला के नहोला ।
अर्थात केपी ओली बादशाह हुन् । उनी र कांग्रेस तथा माओवादीका अध्यक्ष मिलेर सहमति गरेका छन्– यही जनताले घृणा गरेको लोकतान्त्रिक गणतन्त्र बचाउन एक भएका छौं । अर्थात् हलहरु एक भएका छन् र महादेवले सतिदेवीको शब बोकेझैं यो गनाइसकेको पद्धतिको शब बोकेर आफै पनि हलाहल भइरहेका छन् ।
कांग्रेस समाजवाद भन्छ, एमाले र माओवादी सर्वहारावाद मान्छ तर शिरमा नेपाल निर्मातालाई राख्दैनन्, गान्धी, लेनिनलाई राख्छन् । लोकतान्त्रिक गणतन्त्रवादीहरुले देशमा कुशासन र अपराधतन्त्र चलाएर जनतालाई सकस दिइरहेका छन्, देशलाई लथालिङ्ग पारिरहेका छन् । तमासा भएको छ यो पद्धति । यो शासन व्यवस्था ।
सुख, शान्ति, समृद्धि यिनको भाषणबाजी हो । जनतामा न सुख छ, न शान्ति, समृद्धि त अँध्यारो भएको छ । अब आर्थिक क्रान्ति गर्नुपर्छ भनेको १७ वर्ष भयो, अर्थतन्त्रको मेरुदण्ड नै भाँचिएको छ । अर्थतन्त्र चलायमान छैन । नेतृत्वको चरित्र खुट्टा ताछेर जुत्ता लगाउने कुराजस्तै भएको छ । राजतन्त्र फाले, आफै इम्परर न्यूक्लोथ बने । गौरव, स्वाधीनता र सार्वभौमिकता मासेर देशलाई अभरमा पनि पारे ।
राष्ट्र छटपटीमा छ । छटपटी सडकभरि देखिन्छ । यो छटपटीको कारण यही पद्धति, यिनै नेता हुन् ।
चेतनशील बर्ग छन्, थिङ्क टैंक पनि छन्, तर सबै मौनब्रत बसेकाजस्ता लाग्छन् । पहिले लोकतन्त्र, गणतन्त्र भनेर बर्बराउनेहरु अहिले मुखबुजो लगाएर देश असफल भएको, नेतृत्वको अनीति टुलुटुलु हेरेर बसेका छन् । विवेकशीलको योभन्दा मानसिक असन्तुलन, गैह्रजिम्मेवारी के हुनसक्छ ?
लोकतान्त्रिक गणतन्त्र ओलीले भनेझैं हावाबाट विजुली निकाल्ने, हिन्द महासागरमा पानी जहाज चलाउने, भान्छा भान्छामा ग्यासको पाइप पु¥याइदिने, केरुङ काठमाडौं, दिल्ली काठमाडौं रेल चलाएरै देखाउने सपना मात्र हो । सपना देख्नुपर्छ, सपना साकार पार्न इच्छाशक्ति र नैतिक चरीत्र पनि चाहिन्छ । घुस्याह, गुण्डा, डन, माफियाको घेरा तोड्न नसक्ने गणतान्त्रिक नेताहरुले देखेको सपना सपनामात्र हो, १७ वर्षमा १५ थरिका सरकार बनाउनेहरु भनेको अराजकता र अस्थिरतामात्र हो । यिनमा लोकतान्त्रिक गणतन्त्र चलाउने ल्याकत नै छैन ।
यिनले जानेको भनेको युवा निकासी गर्ने, तिनले पठाएको रेमिटान्सबाट अर्थतन्त्र धान्ने र भ्रष्टाचार गर्नेमात्र हो । १८ खर्ब चानचुनको बजेट छ, २६ खर्ब ऋण नाघिसक्यो, ब्यापारघाटा झण्डै बजेटबराबर पुगिसक्यो । आर्थिक अवस्था झन झन दयनीय बनेर जाँदोछ । लोकतान्त्रिक गणतन्त्रले राजनीति, अर्थनीति, समाजनीतिमात्र होइन, कूटनीति पनि असफलताको भीरमा पु¥याइसक्यो । कुनबेला पहिरो जान्छ र देशलाई अभरमा पार्छ, भन्न सकिन्न ।
युवाहरु राजनीतिको टुकुचाबाट उम्किन खोज्दैछन्, रोजगारी नपाएपछि जुन जुन मुलुकमा रोजगारी पाइन्छ, ती ती मुलुकमा हामफालिरहेका छन् । झण्डै ८० लाख नेपाली बैदेशिक रोजगारीमा गएका छन्, सरकारसँग यकिन तथ्याङ्क छैन । हजारौं अलपत्र परेका छन्, हजारौं जेलमा सडिरहेका छन् । हजारौं अन्याय भोगिरहेका छन् । अभिभावक बन्नुपर्ने राज्य तिनका लागि पराइ बनेको छ ।
जनताका लागि आधारभूत आवश्यकता भनेको शिक्षा र स्वास्थ्य, सर्वसुलभ सेवा हो । केही पनि छैन । घूस नदिई कहीँ केही पनि काम हुँदैन । गणतन्त्र जनताका लागि गलगाँड बनेको छ ।
भूकम्पले धरहरा ढल्यो, फेरि उठाइयो । नेतृत्व बर्गको नैतिकता र आचरण ढल्यो, उठ्न सकेन । गणतन्त्र यस्तो व्यवस्था भयो, जहाँ आफन्त र परिवारका लागि सेटिङ गर्न संस्था बन्छ, सरुवा बढुवा हुन्छ । संवैधानिक निकायहरुमा नोटको गड्डी हेरेर नियुक्ती गरिन्छ । न्यायाधीशहरु न्यायालयलाई मन्दिर भन्छन् र राजनीतिक नेताको ढोकामा चाकरी गर्न पुग्छन् । कानुन छ, चरालाई तर्साउन उभ्याइएको बुख्याँचाजस्तो, सानालाई ऐन, ठूलालाई चैन भएको छ । नेतृत्व घूस खाएर डकार्छन् । अदालत परिसरमा सोझाहरु न्याय खोज्न घडीको रालो जसरी दशौं बिसौं बर्ष हल्लिरहेका देखिन्छन् ।
सरकार छ, संविधान छ, संसद छ, राज्यसञ्जाल छ तर सुशासन छैन । गणतन्त्र चलाउने नैतिक आधार पनि छैन । जनविश्वास गुमाएकाहरु गणतन्त्र चलाइरहेका छन् । लोकतन्त्रमा हुनैपर्ने विशेषता भनेको नैतिक चरीत्र हो, त्यो गणतन्त्रवादीले गुमाइसके । यिनले जानेको गणतन्त्र भनेको नङ्गा नाचे हजार दाउ हो ।
अफ्रिका अँध्यारो महादेश भनेर चिनिन्थ्यो । अहिले अफ्रिका धेरै उज्यालो हुनथाल्यो । जन्मजात जेठो मुलुक, स्वतन्त्र मुलुक नेपाल सधैं उज्यालो मुलुक थियो, गणतन्त्रले अँध्यारो पार्दै लगेको छ ।
दक्षिण अफ्रिकाका शिक्षकहरुले उज्यालो ल्याएका हुन्, स्वाधीनता बचाएका हुन् । नेपालमा जनयुद्ध र जनआन्दोलनमा शिक्षक पनि आविष्कारक बने लोकतन्त्रको । तर त्यो आविष्कार हलाको हलजस्तै दिनदिनै आत्महत्या गरिरहेको छ । २९ दिन सडक आन्दोलन गरेपछि शिक्षकले केही माग पूरा गर्न पाएका छन् र असार १५ सम्ममा शिक्षा ऐन दिने सरकारको बाचा छ । परिवर्तन ल्याउने शिक्षक, तिनको कुरा सुनाउन देशभरिका शिक्षकले २९ दिनसम्म माइतीघरको सडकमा घामले सुक्नुप¥यो । चेतना दिने शिक्षक अब चेते होलान् ।
हो, एउटा राजा फाल्यो आविष्कारले । दर्जनौं महाराजा जन्मायो आविस्कारले ।
हो, लोकतन्त्र, गणतन्त्र ल्यायो आविष्कारले ।
लोकतन्त्रले लोकलज्जा थाम्न सकेन, गणतन्त्रले इमान थेग्न सकेन ।
बिधि बसाल्न नैतिकता चाहिन्छ, नैतिकता, सिद्धान्त गुमायो गणतान्त्रिक लोकतन्त्रले ।
वीरहरुले बनाएको देश हो यो । बहादुरको देशमा फिरङ्गी र भिरङ्गीको बोलवाला छ । उज्यालो आयो भनेको त, झन चुक घोप्ट्याएजस्तो अँध्यारो भयो देश ।
यसैले प्रश्न उठेको छ– अमृत हो लोकतन्त्र, नेपालमा रोपिएको यो लोकतन्त्रमा किन विषालुपन बढेर गयो ? लोकतन्त्रलाई अमृत बनाउने प्रयत्न कुन नेताले गरेका छन् ?
































