सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

साह्रै गनायो गणतन्त्र, साह्रै गनाए नेताहरू

754
shares

 

राजन कार्की
लोकतान्त्रिक गणतन्त्र नेतामा बाँचेको छ, जनतामा मरेको छ । जनता राष्ट्र हो, राष्ट्रमा मरेको गणतन्त्र गनाउनु स्वभाविक हो । यो गन्दकीको परिवर्तन अवश्यम्भावी हुनथालेको छ ।
२०६३ साल वैशाख ११ गते सात राजनीतिक दल र राजावीच जुन सहमति भएको थियो, त्यसको दलहरुले उल्लंघन गरे । यो परिवर्तनपछिको १७ वषएको अध्याय पल्टाउने हो भने आङ कन्याएर छारो उडाउनु मात्र हुनेछ । गणतान्त्रिक लोकतन्त्रको यो कालखण्ड आलु खाएर पेडाको धाक लगाउनु जत्तिकै छ । जनताका लागि हलाहल, विष बराबर भएको छ यो गणतन्त्र ।
लोकतान्त्रिक गणतन्त्र ल्यायौं भन्नेहरुले नैतिकता गुमाउँदा, सिद्धान्त र नीति गुमाउँदा यिनीहरु आफै हलाको हल भएझैं राजनीतिक मृत्यु बरण गरिरहेका छन् ।
किनभने संविधान बन्यो, संसदीय अभ्यास सुरु भयो, ७ सय ६१ सरकार बने, २ पल्ट त आवधिक चुनाव पनि भइसक्यो । नेतृत्वको मुखैमा झुण्डिएको छ– लोकतन्त्र संस्थागत भयो र संविधान कार्यान्वयन भयो । यो अवधिमा भएका २ पल्टको संविधानसभा, २ पल्टको आवधिक चुनाव, संविधान, संसद, राष्ट्रपतिको व्यवस्था केहीले पनि जिवन्त काम गर्न सकेन । देश असफल हुँदै गएको छ ।
लोकतान्त्रिक गणतन्त्र आविष्कार त भयो, आविष्कारकहरुको अन्त्य यिनकै भ्रष्ट चरीत्र, हलाको हल भएजस्तो भयो । देशमा न लोकतान्त्रिक चरित्र छ, न गणतान्त्रिक विशेषता । देशमा अनीति छ, अपराधिक कृयाकलाप छ, सिद्धान्तहीनता छ, जवाफदेहीता छैन ।
पहिलोपल्ट प्रधानमन्त्री हुँदा एमालेका केपी ओलीले भनेका थिए– जुत्ता नमिले खुट्टा ताछ्नुपर्छ । उनको यो अभिव्यक्ति उत्तर प्रदेशबाट डाक्टरको डिग्री लिएर आएपछिका थियो । दोस्रोपल्ट प्रधानमन्त्री बनेपछि उनले युनिभर्सल फाउण्डेशनको एकलाख डलर सुशासन पुरस्कार लिएनन् मात्रै, मुनको बीउ हालेको पवित्र जलसमेत पिएका थिए । अहिले तेस्रोपल्ट प्रधानमन्त्री बनेका छन्, ओली भन्छन्– अब हृदयन्द्र शाहले राजा हुने सपना नदेखे हुन्छ, सपना देखे के होला के नहोला ।
अर्थात केपी ओली बादशाह हुन् । उनी र कांग्रेस तथा माओवादीका अध्यक्ष मिलेर सहमति गरेका छन्– यही जनताले घृणा गरेको लोकतान्त्रिक गणतन्त्र बचाउन एक भएका छौं । अर्थात् हलहरु एक भएका छन् र महादेवले सतिदेवीको शब बोकेझैं यो गनाइसकेको पद्धतिको शब बोकेर आफै पनि हलाहल भइरहेका छन् ।
कांग्रेस समाजवाद भन्छ, एमाले र माओवादी सर्वहारावाद मान्छ तर शिरमा नेपाल निर्मातालाई राख्दैनन्, गान्धी, लेनिनलाई राख्छन् । लोकतान्त्रिक गणतन्त्रवादीहरुले देशमा कुशासन र अपराधतन्त्र चलाएर जनतालाई सकस दिइरहेका छन्, देशलाई लथालिङ्ग पारिरहेका छन् । तमासा भएको छ यो पद्धति । यो शासन व्यवस्था ।
सुख, शान्ति, समृद्धि यिनको भाषणबाजी हो । जनतामा न सुख छ, न शान्ति, समृद्धि त अँध्यारो भएको छ । अब आर्थिक क्रान्ति गर्नुपर्छ भनेको १७ वर्ष भयो, अर्थतन्त्रको मेरुदण्ड नै भाँचिएको छ । अर्थतन्त्र चलायमान छैन । नेतृत्वको चरित्र खुट्टा ताछेर जुत्ता लगाउने कुराजस्तै भएको छ । राजतन्त्र फाले, आफै इम्परर न्यूक्लोथ बने । गौरव, स्वाधीनता र सार्वभौमिकता मासेर देशलाई अभरमा पनि पारे ।
राष्ट्र छटपटीमा छ । छटपटी सडकभरि देखिन्छ । यो छटपटीको कारण यही पद्धति, यिनै नेता हुन् ।
चेतनशील बर्ग छन्, थिङ्क टैंक पनि छन्, तर सबै मौनब्रत बसेकाजस्ता लाग्छन् । पहिले लोकतन्त्र, गणतन्त्र भनेर बर्बराउनेहरु अहिले मुखबुजो लगाएर देश असफल भएको, नेतृत्वको अनीति टुलुटुलु हेरेर बसेका छन् । विवेकशीलको योभन्दा मानसिक असन्तुलन, गैह्रजिम्मेवारी के हुनसक्छ ?
लोकतान्त्रिक गणतन्त्र ओलीले भनेझैं हावाबाट विजुली निकाल्ने, हिन्द महासागरमा पानी जहाज चलाउने, भान्छा भान्छामा ग्यासको पाइप पु¥याइदिने, केरुङ काठमाडौं, दिल्ली काठमाडौं रेल चलाएरै देखाउने सपना मात्र हो । सपना देख्नुपर्छ, सपना साकार पार्न इच्छाशक्ति र नैतिक चरीत्र पनि चाहिन्छ । घुस्याह, गुण्डा, डन, माफियाको घेरा तोड्न नसक्ने गणतान्त्रिक नेताहरुले देखेको सपना सपनामात्र हो, १७ वर्षमा १५ थरिका सरकार बनाउनेहरु भनेको अराजकता र अस्थिरतामात्र हो । यिनमा लोकतान्त्रिक गणतन्त्र चलाउने ल्याकत नै छैन ।
यिनले जानेको भनेको युवा निकासी गर्ने, तिनले पठाएको रेमिटान्सबाट अर्थतन्त्र धान्ने र भ्रष्टाचार गर्नेमात्र हो । १८ खर्ब चानचुनको बजेट छ, २६ खर्ब ऋण नाघिसक्यो, ब्यापारघाटा झण्डै बजेटबराबर पुगिसक्यो । आर्थिक अवस्था झन झन दयनीय बनेर जाँदोछ । लोकतान्त्रिक गणतन्त्रले राजनीति, अर्थनीति, समाजनीतिमात्र होइन, कूटनीति पनि असफलताको भीरमा पु¥याइसक्यो । कुनबेला पहिरो जान्छ र देशलाई अभरमा पार्छ, भन्न सकिन्न ।
युवाहरु राजनीतिको टुकुचाबाट उम्किन खोज्दैछन्, रोजगारी नपाएपछि जुन जुन मुलुकमा रोजगारी पाइन्छ, ती ती मुलुकमा हामफालिरहेका छन् । झण्डै ८० लाख नेपाली बैदेशिक रोजगारीमा गएका छन्, सरकारसँग यकिन तथ्याङ्क छैन । हजारौं अलपत्र परेका छन्, हजारौं जेलमा सडिरहेका छन् । हजारौं अन्याय भोगिरहेका छन् । अभिभावक बन्नुपर्ने राज्य तिनका लागि पराइ बनेको छ ।
जनताका लागि आधारभूत आवश्यकता भनेको शिक्षा र स्वास्थ्य, सर्वसुलभ सेवा हो । केही पनि छैन । घूस नदिई कहीँ केही पनि काम हुँदैन । गणतन्त्र जनताका लागि गलगाँड बनेको छ ।
भूकम्पले धरहरा ढल्यो, फेरि उठाइयो । नेतृत्व बर्गको नैतिकता र आचरण ढल्यो, उठ्न सकेन । गणतन्त्र यस्तो व्यवस्था भयो, जहाँ आफन्त र परिवारका लागि सेटिङ गर्न संस्था बन्छ, सरुवा बढुवा हुन्छ । संवैधानिक निकायहरुमा नोटको गड्डी हेरेर नियुक्ती गरिन्छ । न्यायाधीशहरु न्यायालयलाई मन्दिर भन्छन् र राजनीतिक नेताको ढोकामा चाकरी गर्न पुग्छन् । कानुन छ, चरालाई तर्साउन उभ्याइएको बुख्याँचाजस्तो, सानालाई ऐन, ठूलालाई चैन भएको छ । नेतृत्व घूस खाएर डकार्छन् । अदालत परिसरमा सोझाहरु न्याय खोज्न घडीको रालो जसरी दशौं बिसौं बर्ष हल्लिरहेका देखिन्छन् ।
सरकार छ, संविधान छ, संसद छ, राज्यसञ्जाल छ तर सुशासन छैन । गणतन्त्र चलाउने नैतिक आधार पनि छैन । जनविश्वास गुमाएकाहरु गणतन्त्र चलाइरहेका छन् । लोकतन्त्रमा हुनैपर्ने विशेषता भनेको नैतिक चरीत्र हो, त्यो गणतन्त्रवादीले गुमाइसके । यिनले जानेको गणतन्त्र भनेको नङ्गा नाचे हजार दाउ हो ।
अफ्रिका अँध्यारो महादेश भनेर चिनिन्थ्यो । अहिले अफ्रिका धेरै उज्यालो हुनथाल्यो । जन्मजात जेठो मुलुक, स्वतन्त्र मुलुक नेपाल सधैं उज्यालो मुलुक थियो, गणतन्त्रले अँध्यारो पार्दै लगेको छ ।
दक्षिण अफ्रिकाका शिक्षकहरुले उज्यालो ल्याएका हुन्, स्वाधीनता बचाएका हुन् । नेपालमा जनयुद्ध र जनआन्दोलनमा शिक्षक पनि आविष्कारक बने लोकतन्त्रको । तर त्यो आविष्कार हलाको हलजस्तै दिनदिनै आत्महत्या गरिरहेको छ । २९ दिन सडक आन्दोलन गरेपछि शिक्षकले केही माग पूरा गर्न पाएका छन् र असार १५ सम्ममा शिक्षा ऐन दिने सरकारको बाचा छ । परिवर्तन ल्याउने शिक्षक, तिनको कुरा सुनाउन देशभरिका शिक्षकले २९ दिनसम्म माइतीघरको सडकमा घामले सुक्नुप¥यो । चेतना दिने शिक्षक अब चेते होलान् ।
हो, एउटा राजा फाल्यो आविष्कारले । दर्जनौं महाराजा जन्मायो आविस्कारले ।
हो, लोकतन्त्र, गणतन्त्र ल्यायो आविष्कारले ।
लोकतन्त्रले लोकलज्जा थाम्न सकेन, गणतन्त्रले इमान थेग्न सकेन ।
बिधि बसाल्न नैतिकता चाहिन्छ, नैतिकता, सिद्धान्त गुमायो गणतान्त्रिक लोकतन्त्रले ।
वीरहरुले बनाएको देश हो यो । बहादुरको देशमा फिरङ्गी र भिरङ्गीको बोलवाला छ । उज्यालो आयो भनेको त, झन चुक घोप्ट्याएजस्तो अँध्यारो भयो देश ।
यसैले प्रश्न उठेको छ– अमृत हो लोकतन्त्र, नेपालमा रोपिएको यो लोकतन्त्रमा किन विषालुपन बढेर गयो ? लोकतन्त्रलाई अमृत बनाउने प्रयत्न कुन नेताले गरेका छन् ?

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports