सावधान कांग्रेस–एमालेबीच दाहालको षड्यन्त्र जारी ?
वि.सं.२०८२ वैशाख १८ बिहीवार १७:४५
shares

काठमाडौ । पछिल्लो समयमा मुलुक नै आन्दोलनमय बनेको छ । विगतको दाहाल सरकारको क्रियाकलापकै कारण आन्दोलन भइरहेका छन् । खास गरेर शिक्षक महासंघले गरेको झण्डै एक महिने राजधानी केन्द्रीत आन्दोलनले गर्दा विद्यार्थीहरुको पढाई नराम्रोसँग विथोलिएको छ भने परीक्षा समेत स्थगित भएका छन् । यसैबीच सरकार र शिक्षक महासंघ बीच बैशाख १७ गते ९ बुँदे सहमति भएको छ भने अब नियमित रुपमा पठन पाठन हुने भएको छ । ठुला साना आन्दोलनले गर्दा प्रत्येक दिन सडक तातिँदै गएको छ ।
राजावादीहरुको आन्दोलन, सहकारी पिडितहरुका आन्दोलन, आवासीय चिकित्सकहरुको आन्दोलन, लघुवित्त पिडितहरुको आन्दोलन भईरहेका बेला निजामित कर्मचारीहरुले समेत आन्दोलनकोे धम्की दिइरहेका छन् । यसरी मुलुक नै आन्दोलनमय भइरहेका बेला संघीय संसदको प्रमुख विपक्षी दल माओवादी केन्द्र भन्ने आन्दोलनको फाइदा उठाउन लागि परेको छ भने अर्को विपक्षी दल एकीकृत समाजवादी समेत शिक्षक महासंघको आन्दोलनमा सहभागि भएर पार्टीगत स्वार्थ पूरा गर्न लागि परेको बेला शिक्षकहरुले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, झलनाथ खनालसहितका नेताहरुलाई बैशाख १५ गते आन्दोलनमा सहभागि हुन गएकाले उनीहरुका विरुद्ध चर्को नारा लगाएर उनीहरुलाई शिक्षकहरुले लखेटेका थिए । माधव नेपालको पार्टी भनेको दाहालको सहायक पार्टी मात्र जस्तो देखिएको छ ।
माओवादी केन्द्रले भने शिक्षक आन्दोलनलाई अझ उग्र बनाएर र आन्दोलन नछोड्न शिक्षक महासंघलाई आग्रह गरिरहेको थियो । माओवादी केन्द्रले शिक्षक महासंघको आन्दोलनलाई केपी ओली नेतृत्वको सरकार ढाल्ने हतियारको रुपमा प्रयोग गरेको थियो भने उसलाई एकीकृत समाजवादीले साथ दिएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी सरकारबाट बाहिर रहनु परेको पिडा पोख्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न आग्रह गरिरहेका र देउवाको नेतृत्वको सरकारलाई माओवादी केन्द्रले सरकार बाहिरै बसेर समर्थन गर्ने वा देउवाले चाहेको खण्डमा सरकारमा सहभागि हुन सक्ने अभिव्यक्ति दिँदै आएको छ । पुष्पकमल दाहाल र माधव नेपालको एक मात्र चाहना भनेको नेकपा एमालेलाई एक्ल्याउनु नै हो । दाहाल सरकारबाट बाहिरिनु परेको पिडा र छटपटी तराई मधेश जागरण हुलाकी मार्ग अभियान लिएर विभिन्न ठाउँमा पुग्दा देखाइरहेका छन् । सरकारबाट आफ्नो पार्टी बाहिरिरहँदा आफूलाई फाइदा भएको उनको उद्घोष शत् प्रतिशत झुठ रहेको छ । माओवादी केन्द्रकै अर्को नेता वर्षमान पुनले सरकार परिवर्तनका लागि आफ्नो पार्टीको प्रयास गरेको र कांग्रेसका सभापति शेरबहादुर देउवासँग विभिन्न तहमा वार्ता भइरहेको उद्घोष गरिरहेका हुनाले दाहालले सरकार छाड्दा आफ्नो पार्टीलाई फाइदा भएको भन्ने अभिव्यक्ति झुठको खेतीमात्र रहेको प्रष्ट भएको छ ।
संघीय संसदमा रहेका दलहरुमध्ये नेपाली कांग्रेस सबैभन्दा ठुलो पार्टी भएपनि सरकार सञ्चालनको लागि उसँग बहुमत नभएकाले गर्दा कांग्रेसले कसैसँग गठबन्धन गर्नुपर्ने बाध्यता रहेको छ । संसदको दोस्रो ठुलो पार्टी नेकपा एमाले रहेको हुनाले कांग्रेस–एमालेबीचमा गत असार १७ गते ७ बुँदे सहमति गरेर एमाले अध्यक्ष केपी प्रधानमन्त्री बनेका छन् ।
अबको १४ महिनापछि कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने र उनैको नेतृत्वको सरकारले २०८४ मा संघीय संसदको निर्वाचन गराउने सहमति कांग्रेस–एमालेबीचमा भएकाले माओवादी केन्द्रलाई छटपटी बढेको हो । पुष्पकमल दाहाल तीन पटक प्रधानमन्त्री भैसकेका र उनको पार्टी २०६२÷६३ पछि सबैभन्दा बढी सरकारमा सहभागि भएको भएपनि पार्टीगत स्वार्थ र दाहालको व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न नसकेकाले गर्दा नै २०७९ मंसिरमा भएको निर्वाचनमा कांग्रेससँग गठबन्धन गर्दा पनि प्रत्यक्षतर्फ जम्मा १८ सिटमा मात्र जित हाँसिल गर्न सकेको थियो ।
पछिल्लो समयमा दाहालले नागरिक उन्मुक्ति र जनमत पार्टी एकीकरण भएर नयाँ पार्टी गठन हुने प्रक्रियाप्रति पनि विरोध जनाउँदै जेलमा रेशम चौधरीलाई आफूले जेलबाट छुटाएको तर अहिले उसले थारु समुदायलाई विर्सिएको आरोप लगाउँदै त्यस पार्टीका कार्यकर्ताहरुलाई आफ्नो पार्टीमा आउन आग्रह समेत गरेका छन् । जनमत र नागरिक उन्मुक्ति पार्टी एक भएपछि मधेशमा माओवादी केन्द्र संकटमा पर्ने डर दाहाललाई रहेको छ । कतै २०८४ को निर्वाचनमा कांग्रेस–एमालेले गठबन्धन गर्ने हो कि भन्ने डर दाहालमा देखिएको छ ।
मधेशमा नागरिक उन्मुक्ति र जनमतको नयाँ पार्टीले राम्रो मत ल्याउने र कांग्रेस–एमालेले गठबन्धन गरेर निर्वाचनमा गएको खण्डमा माओवादी केन्द्रलाई खोज्नुपर्ने अवस्था आउन सक्ने आंकलन दाहालले गरेका हुनाले उनी जुनसुकै सर्तमा पनि कांग्रेस–एमालेको गठबन्धन तोड्ने प्रयासरत रहेका छन् । त्यसका लागि उनले कांग्रेसका केही नेताहरुलाई प्रयोग गर्न सक्ने सम्भावना समेत रहेकाले कांग्रेस–एमाले सतर्क रहनु आवश्यक रहेको छ ।
कांग्रेस–एमालेको गठबन्धनको सरकारले अहिले भएका विभिन्न आन्दोलनलाई समाधान गर्दै जनताको हितमा काम गर्न सकेको खण्डमा माओवादीलाई नराम्रो झड्का लाग्न सक्छ । त्यही कारणले दाहाल जनतालाई झुक्याउँदै हिडेका छन् । सावधान कांग्रेस–एमाले ।



































