kumari
stcnepal

लोकतन्त्रका शिशुपालहरु, राष्ट्रियताका कालहरू

राजन कार्की–
आमनागरिकलाई खोप छैन, रेमिटान्स नआए सरकारसँग नोट छैन, उद्योग छैन, रोजगारी छैन, मल छैन, सर्वत्र भ्रष्टाचार छ, न्याय छैन । बिकृति छ, सुशासन छैन, सत्ता छ, जवाफदेही कोही छैन । कसैले कसैप्रति जिम्मेवार हुनै नपर्ने यो कस्तो लोकतन्त्र हो ?महाभारतकालमा होस् कि आधुनिक कालमा होस्, शिशुपालहरू अहङ्कार देखाइरहन्छन्, गल्तीमाथि गल्ती गरिरहन्छन् । महाभारतकालमा श्रीकृष्ण थिए र यो पापकुण्डको मुण्डन गरिदिए । वर्तमान कालखण्डमा शिशुपालहरूमात्र छन्, यी शिशुपालहरू राष्ट्रिय अपराध गरेर राष्ट्रियताको काल बनिरहेका छन्, शिशुपाल प्रवृत्तिको मुण्डन गरिदिने कुनै श्रीकृष्ण छैनन् ।
श्रीकृष्णको काम संविधानले गर्नुपर्ने हो, अख्तियार अथवा अदालतले गर्नुपर्ने हो, बुद्धिजीवी–सञ्चार–नागरिक समाजले गर्नुपर्ने हो, तिनीहरू सबै दलीय भरिया बनेका छन् । यहीकारण शिशुपालहरू जाज्वल्यमान छन्, पापकुण्ड ५४ हजार बर्गमाइलको नेपालभरि अर्थात ७ सय ६१ सरकारमै व्याप्त भइरहेको छ ।
यही सब कारणले लोकतन्त्र बदनाम भइरहेको छ ।

महाभारतमा सय गल्तीपछि शिशुपालको संहार भयो । यो संहार अत्याचार, अनाचार, दूराचार, अधर्मको संहार थियो । वर्तमान कालखण्डमा नेपालभरि सिङ्जुरो उम्रिएको शिशुपालका अपराधको संहार गर्ने कसले ? लोकतन्त्र नामको पद्धति र यसका केही सञ्चालकहरु शिशुपाल बनेर जनता र देशमाथि घातक प्रहार गरिरहेका छन् । राजनीतिक धर्म बिनष्ट गरेर अधर्म फैलाइरहेका छन् । महाभारतमा सय भूललाई क्षमादान दिने कृष्ण थिए, आधुनिक नेपालमा हजार अधर्म भइसक्दा पनि शिशुपालका अवतारहरु कोरोनाभन्दा कडा मृत्यु बनेर देश र जनतामाथि जाइलागेका छन् । मान्छे र माटो याचना गरिरहेका छन्, याचना सुन्ने संविधान सडकमा आफै बलात्कृत भइरहेको छ ।
भएको राजतन्त्र कलमी गरियो ,भएको हिन्दुधर्मलाई धर्मनिरपेक्षताको बर्को ओढाइयो । सेना छ, १८१६ पछि युद्ध नलडेको सेना कहिले कहिले शान्ति सेनामा हतियार चलाउँछ, त्यसबाहेक हतियारमा तेललगाएर सुकाउँछ मात्रै । सेना भ्रष्टाचारमा बदनाम छैन, सेनाले देश र जनताका लागि बहादुर देखाउने अवसर पनि गुमाइरहेको छ । संविधानअनुसार चल्छु भन्छ, संविधान राजनीतिक पार्टीहरूको लगौंटी बनेको छ, त्यो संविधानले कहिले सेना परिचालन गर्ला र सेनाले सीमा रक्षा गर्ला, सेनाले भ्रष्टाचारीको घाँटी समाउला, सेनाले राष्ट्र र जनघातकलाई पाता फर्काउला ?

राजनीतिक अनुशासनहीनता र अराजकताबारे सेना अनभिज्ञ छैन तर प्रमाण भएर पनि चलमलाउँदैन । प्रत्येक नेपालीलाई थाहा छ– नमकको सोझो गर्ने व्यवसायिक सेना हो नेपालको । यति धेरै नमकको सोझो गर्ने हरिलठ्ठपन पनि के काम ? जसले नमक खुवाउनेमाथिको अत्याचार पनि हेर्छ मात्र ? खबरदार गर्न सक्दैन । अर्थात श्रीकृष्णको अवतार लिनुपर्ने सेनाले थियो जसले राष्ट्रिय धर्मको रक्षा सुरक्षा गर्नुपर्छ, थाहा छैन, अरु कति अत्याचारपछि यो शक्तिले सुदर्शन चक्र जागृत गर्लान् ?
हो, चुनाव आसन्न छ । यो चुनावमा सुदर्शन चक्र जनताले पनि चलाउन सक्छन् । जनताले गलत नेतृत्व परिवर्तन गर्न सके भने स्थिति सुध्रिन सक्छ । तर चलाख पार्टीहरुले जनतालाई आफू आफुमा विभाजन गरिदिएका छन् । विभाजित जनताले सही नेतृत्व चयन गर्न सक्नेछैनन् । २०४६ सालपछिको ३२ वर्षमा यस्तै देखिएको छ । उही नेतृत्व पार्टीमा छन्, उही नेतृत्व शासनमा । चुनावपछि पनि परिदृश्य फेरिनेछैन, शिशुपाल प्रवृत्तकै पुनरोदय हुने पक्का छ । यसकारण सेनाको भूमिका जरुरी छ । १८१६ पछि निदाएको सेना निदाएरै बस्ने हो भने लोकतन्त्र लुटतन्त्रबाट माथि उठ्न सक्ने छैन । पद्धति जतिसुकै राम्रो भएर के गर्ने, सञ्चालक ‘चोर’ भएपछि ।

समय गतिशील हुन्छ । मान्छेले परिवर्तन नगरे पनि, समयानुकूल हुनुपर्ने परिवर्तन हुन्छ हुन्छ । जसरी ऋतु परिवर्तन हुन्छ । पञ्चायतले नसुधारिदा बहुदल आयो । बहुदलले बहुलातन्त्र चलाउँदा शाही शासनकाल आयो । शाही शासनकाल दक्षिणी छिमेकीलाई अपच भयो, उसको ठूलो लगानीका साथ जनयुद्ध र जनआन्दोलनको बाँध फुटाएर बाढी ल्याइयो र लोकतन्त्र स्थापित गरियो । लोकतन्त्रमा स्वार्थ हावी भयो, विदेशी हावी भए । लोकपार्टी, लोकमत, लोक सम्मतिले लोक आवाज होइन, सत्तामा जाने लालसा देखाए, लोकवादीहरू विधिवादीहविदेशीको पाउ परे । शक्ति केन्द्रहरुमा ध्रुविकरण बढ्दा नेता नेताबीच, पार्टी पार्टीबीच हरेक दिन साँढे जुधाइ चलिरहेको छ । सत्तामा, संसदमा, सरकारमा मात्र होइन, विदेशी राजधानीसम्म नेपालको राजनीतिले महत्व पाइरहेको छ । लोकतन्त्र अपराधको प्रयोगशाला बन्यो, अपराधको परीक्षण भइरहेको छ ।
हो, विदेशी एजेण्डामा उभिने कि नउभिने भनेर परीक्षण भइरहेको छ । नेपाल उत्तरी एजेण्डा, दक्षिणी प्रभाव, पश्चिमा रणनीति अथवा इसाइकरणको मार्गमा उभिनुपर्ने बाध्यात्मक अवस्था सिर्जना गरिदैछ । नेपालको आफ्नै पहिचान, नीति र अडान थियो, त्यसमा डगमगाउन थालेको देखिन्छ । नेतृत्वमा आफै उभिनसक्ने आत्मबल भएन भने राष्ट्र कसरी समुद्री डुङ्गा ढलपलाएझैं हुनेरहेछ, यतिबेला बीआरआई, एमसिसी र धर्मनिरपेक्षताका सवालले नेपालका शासकहरूको दयनीयतामा जनताले मूल्य चुकाउनु परिरहेको छ ।
दशा आउँछु भनेर आउने होइन रहेछ । लोकतन्त्रजस्ता विश्वले मानेको प्रगतिशील पद्धतिमा छौं ।

हाम्रो नेतृत्वतहको यतिराम्रो पद्धति चलाउने ढङ्ग पुगेन । बेढङ्गी पाराले चलाउँदा लोकतन्त्र न हाँसको चालमा छ, न कुखुराको चालमा । नारा साह्रै चित्ताकर्षक लाग्छन्, व्यवहार शिशुपालको भन्दा गए गुज्रेको असामाजिक छ । यसकारण शिशुपालरुपी अपराधी प्रवृत्तिको नास वर्तमान कालखण्डको नेपालमा अपरिहार्य भयो । प्रश्न यत्तिमात्र छ कि यो शिशुपाल प्रवृत्तिको नास गर्ने कसले ? सेनाले कि अर्को कुनै युगपुरुषको उदय हुन्छ ?

०४६ सालमा हामी जनता उरालियौं, १२ वर्षमै चेत्यौं । शत्रुले अभिभावकको हत्या गरिदिएपछि हाम्रा हातमा पश्चाताप मात्र रहेका थिए । कपाल खौरेर किरिया ग¥यौं । त्यसपछि राजतन्त्रकै अन्त्य, सनातन हिन्दुराष्ट्र थियो, त्यसलाई पनि छाडिदियौं । अग्रगमन अग्रगमन भन्दा भन्दै पश्चगमनमा छौं । हामी नयाँ नेपाल बनाउन सक्ने रहेनछौं, भएको नेपाल नबिगारिदिए हुन्छ भन्ने अवस्थामा समेत आइसक्यौं । जनताको सहनशीलताको नराम्ररी दुरुपयोग गरे जनताको हौं पार्टीनेता भन्नेहरूले ।

कोरोनाको अदृश्य आक्रमणले घाँटी कसरी अठ्याउँछ, श्वास फेर्न नसकेर मुटु कसरी निसासिन्छ । हनहनी ज्वरो आएर कसरी बेहोस पार्छ, रुघाखोकीले कसरी जीवनलाई शिथिल पार्छ । यो पीडा धेरैले भोगिसकेका छन् । मर्ने मरेर गए, बाँच्नेहरु तेश्रो लहरको ओमिक्रोनको आक्रमणबाट प्रताडित भइरहेका छन् । कोरोनाजस्तो भाइरसको आक्रमणबाट मर्ने बाँच्ने ठेगान नभएको ३ वर्षमा जनताका नेता हुँ भन्नेले गर्नुसम्म भ्रष्टाचार गरे । जनताका नाममा लुट्नुसम्म लुटे । विभेद र निषेधका अनेक श्रृङ्खला देखाए । एकपल्ट फेरि नेपाल महामारीको चपेटामा परिसकेको छ । यतिबेला पनि खोप चार्ने, कालोबजारी गर्ने, आफन्तलाई पोस्ने, अनेक वितण्डा देखाइदैछ । वास्तवमा नेपालमा लोकतान्त्रिक शासन व्यवस्था छैन, यहाँ त लुटशासन चलिरहेका छन् ।
आमनागरिकका लागि लोकतन्त्र छैन, संघीयता छैन, सरकार छैन, जनप्रतिनिधि छैन, सिंहदरवार छैन, शितल निवास छैन । स्वास्थ्य, शिक्षा, सुरक्षा, खाना केही पनि छैन । आमनागरिकका लागि म छु, हामी छौं भन्ने कोही छैन । संविधान फेल भइसक्यो, पद्धति फेल भइसक्यो । नेता फेल भइसके । देश फेल भइसक्यो ।

footer