सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

लोकतन्त्रका शिशुपालहरु, राष्ट्रियताका कालहरू

468
shares

राजन कार्की–
आमनागरिकलाई खोप छैन, रेमिटान्स नआए सरकारसँग नोट छैन, उद्योग छैन, रोजगारी छैन, मल छैन, सर्वत्र भ्रष्टाचार छ, न्याय छैन । बिकृति छ, सुशासन छैन, सत्ता छ, जवाफदेही कोही छैन । कसैले कसैप्रति जिम्मेवार हुनै नपर्ने यो कस्तो लोकतन्त्र हो ?महाभारतकालमा होस् कि आधुनिक कालमा होस्, शिशुपालहरू अहङ्कार देखाइरहन्छन्, गल्तीमाथि गल्ती गरिरहन्छन् । महाभारतकालमा श्रीकृष्ण थिए र यो पापकुण्डको मुण्डन गरिदिए । वर्तमान कालखण्डमा शिशुपालहरूमात्र छन्, यी शिशुपालहरू राष्ट्रिय अपराध गरेर राष्ट्रियताको काल बनिरहेका छन्, शिशुपाल प्रवृत्तिको मुण्डन गरिदिने कुनै श्रीकृष्ण छैनन् ।
श्रीकृष्णको काम संविधानले गर्नुपर्ने हो, अख्तियार अथवा अदालतले गर्नुपर्ने हो, बुद्धिजीवी–सञ्चार–नागरिक समाजले गर्नुपर्ने हो, तिनीहरू सबै दलीय भरिया बनेका छन् । यहीकारण शिशुपालहरू जाज्वल्यमान छन्, पापकुण्ड ५४ हजार बर्गमाइलको नेपालभरि अर्थात ७ सय ६१ सरकारमै व्याप्त भइरहेको छ ।
यही सब कारणले लोकतन्त्र बदनाम भइरहेको छ ।

महाभारतमा सय गल्तीपछि शिशुपालको संहार भयो । यो संहार अत्याचार, अनाचार, दूराचार, अधर्मको संहार थियो । वर्तमान कालखण्डमा नेपालभरि सिङ्जुरो उम्रिएको शिशुपालका अपराधको संहार गर्ने कसले ? लोकतन्त्र नामको पद्धति र यसका केही सञ्चालकहरु शिशुपाल बनेर जनता र देशमाथि घातक प्रहार गरिरहेका छन् । राजनीतिक धर्म बिनष्ट गरेर अधर्म फैलाइरहेका छन् । महाभारतमा सय भूललाई क्षमादान दिने कृष्ण थिए, आधुनिक नेपालमा हजार अधर्म भइसक्दा पनि शिशुपालका अवतारहरु कोरोनाभन्दा कडा मृत्यु बनेर देश र जनतामाथि जाइलागेका छन् । मान्छे र माटो याचना गरिरहेका छन्, याचना सुन्ने संविधान सडकमा आफै बलात्कृत भइरहेको छ ।
भएको राजतन्त्र कलमी गरियो ,भएको हिन्दुधर्मलाई धर्मनिरपेक्षताको बर्को ओढाइयो । सेना छ, १८१६ पछि युद्ध नलडेको सेना कहिले कहिले शान्ति सेनामा हतियार चलाउँछ, त्यसबाहेक हतियारमा तेललगाएर सुकाउँछ मात्रै । सेना भ्रष्टाचारमा बदनाम छैन, सेनाले देश र जनताका लागि बहादुर देखाउने अवसर पनि गुमाइरहेको छ । संविधानअनुसार चल्छु भन्छ, संविधान राजनीतिक पार्टीहरूको लगौंटी बनेको छ, त्यो संविधानले कहिले सेना परिचालन गर्ला र सेनाले सीमा रक्षा गर्ला, सेनाले भ्रष्टाचारीको घाँटी समाउला, सेनाले राष्ट्र र जनघातकलाई पाता फर्काउला ?

राजनीतिक अनुशासनहीनता र अराजकताबारे सेना अनभिज्ञ छैन तर प्रमाण भएर पनि चलमलाउँदैन । प्रत्येक नेपालीलाई थाहा छ– नमकको सोझो गर्ने व्यवसायिक सेना हो नेपालको । यति धेरै नमकको सोझो गर्ने हरिलठ्ठपन पनि के काम ? जसले नमक खुवाउनेमाथिको अत्याचार पनि हेर्छ मात्र ? खबरदार गर्न सक्दैन । अर्थात श्रीकृष्णको अवतार लिनुपर्ने सेनाले थियो जसले राष्ट्रिय धर्मको रक्षा सुरक्षा गर्नुपर्छ, थाहा छैन, अरु कति अत्याचारपछि यो शक्तिले सुदर्शन चक्र जागृत गर्लान् ?
हो, चुनाव आसन्न छ । यो चुनावमा सुदर्शन चक्र जनताले पनि चलाउन सक्छन् । जनताले गलत नेतृत्व परिवर्तन गर्न सके भने स्थिति सुध्रिन सक्छ । तर चलाख पार्टीहरुले जनतालाई आफू आफुमा विभाजन गरिदिएका छन् । विभाजित जनताले सही नेतृत्व चयन गर्न सक्नेछैनन् । २०४६ सालपछिको ३२ वर्षमा यस्तै देखिएको छ । उही नेतृत्व पार्टीमा छन्, उही नेतृत्व शासनमा । चुनावपछि पनि परिदृश्य फेरिनेछैन, शिशुपाल प्रवृत्तकै पुनरोदय हुने पक्का छ । यसकारण सेनाको भूमिका जरुरी छ । १८१६ पछि निदाएको सेना निदाएरै बस्ने हो भने लोकतन्त्र लुटतन्त्रबाट माथि उठ्न सक्ने छैन । पद्धति जतिसुकै राम्रो भएर के गर्ने, सञ्चालक ‘चोर’ भएपछि ।

समय गतिशील हुन्छ । मान्छेले परिवर्तन नगरे पनि, समयानुकूल हुनुपर्ने परिवर्तन हुन्छ हुन्छ । जसरी ऋतु परिवर्तन हुन्छ । पञ्चायतले नसुधारिदा बहुदल आयो । बहुदलले बहुलातन्त्र चलाउँदा शाही शासनकाल आयो । शाही शासनकाल दक्षिणी छिमेकीलाई अपच भयो, उसको ठूलो लगानीका साथ जनयुद्ध र जनआन्दोलनको बाँध फुटाएर बाढी ल्याइयो र लोकतन्त्र स्थापित गरियो । लोकतन्त्रमा स्वार्थ हावी भयो, विदेशी हावी भए । लोकपार्टी, लोकमत, लोक सम्मतिले लोक आवाज होइन, सत्तामा जाने लालसा देखाए, लोकवादीहरू विधिवादीहविदेशीको पाउ परे । शक्ति केन्द्रहरुमा ध्रुविकरण बढ्दा नेता नेताबीच, पार्टी पार्टीबीच हरेक दिन साँढे जुधाइ चलिरहेको छ । सत्तामा, संसदमा, सरकारमा मात्र होइन, विदेशी राजधानीसम्म नेपालको राजनीतिले महत्व पाइरहेको छ । लोकतन्त्र अपराधको प्रयोगशाला बन्यो, अपराधको परीक्षण भइरहेको छ ।
हो, विदेशी एजेण्डामा उभिने कि नउभिने भनेर परीक्षण भइरहेको छ । नेपाल उत्तरी एजेण्डा, दक्षिणी प्रभाव, पश्चिमा रणनीति अथवा इसाइकरणको मार्गमा उभिनुपर्ने बाध्यात्मक अवस्था सिर्जना गरिदैछ । नेपालको आफ्नै पहिचान, नीति र अडान थियो, त्यसमा डगमगाउन थालेको देखिन्छ । नेतृत्वमा आफै उभिनसक्ने आत्मबल भएन भने राष्ट्र कसरी समुद्री डुङ्गा ढलपलाएझैं हुनेरहेछ, यतिबेला बीआरआई, एमसिसी र धर्मनिरपेक्षताका सवालले नेपालका शासकहरूको दयनीयतामा जनताले मूल्य चुकाउनु परिरहेको छ ।
दशा आउँछु भनेर आउने होइन रहेछ । लोकतन्त्रजस्ता विश्वले मानेको प्रगतिशील पद्धतिमा छौं ।

हाम्रो नेतृत्वतहको यतिराम्रो पद्धति चलाउने ढङ्ग पुगेन । बेढङ्गी पाराले चलाउँदा लोकतन्त्र न हाँसको चालमा छ, न कुखुराको चालमा । नारा साह्रै चित्ताकर्षक लाग्छन्, व्यवहार शिशुपालको भन्दा गए गुज्रेको असामाजिक छ । यसकारण शिशुपालरुपी अपराधी प्रवृत्तिको नास वर्तमान कालखण्डको नेपालमा अपरिहार्य भयो । प्रश्न यत्तिमात्र छ कि यो शिशुपाल प्रवृत्तिको नास गर्ने कसले ? सेनाले कि अर्को कुनै युगपुरुषको उदय हुन्छ ?

०४६ सालमा हामी जनता उरालियौं, १२ वर्षमै चेत्यौं । शत्रुले अभिभावकको हत्या गरिदिएपछि हाम्रा हातमा पश्चाताप मात्र रहेका थिए । कपाल खौरेर किरिया ग¥यौं । त्यसपछि राजतन्त्रकै अन्त्य, सनातन हिन्दुराष्ट्र थियो, त्यसलाई पनि छाडिदियौं । अग्रगमन अग्रगमन भन्दा भन्दै पश्चगमनमा छौं । हामी नयाँ नेपाल बनाउन सक्ने रहेनछौं, भएको नेपाल नबिगारिदिए हुन्छ भन्ने अवस्थामा समेत आइसक्यौं । जनताको सहनशीलताको नराम्ररी दुरुपयोग गरे जनताको हौं पार्टीनेता भन्नेहरूले ।

कोरोनाको अदृश्य आक्रमणले घाँटी कसरी अठ्याउँछ, श्वास फेर्न नसकेर मुटु कसरी निसासिन्छ । हनहनी ज्वरो आएर कसरी बेहोस पार्छ, रुघाखोकीले कसरी जीवनलाई शिथिल पार्छ । यो पीडा धेरैले भोगिसकेका छन् । मर्ने मरेर गए, बाँच्नेहरु तेश्रो लहरको ओमिक्रोनको आक्रमणबाट प्रताडित भइरहेका छन् । कोरोनाजस्तो भाइरसको आक्रमणबाट मर्ने बाँच्ने ठेगान नभएको ३ वर्षमा जनताका नेता हुँ भन्नेले गर्नुसम्म भ्रष्टाचार गरे । जनताका नाममा लुट्नुसम्म लुटे । विभेद र निषेधका अनेक श्रृङ्खला देखाए । एकपल्ट फेरि नेपाल महामारीको चपेटामा परिसकेको छ । यतिबेला पनि खोप चार्ने, कालोबजारी गर्ने, आफन्तलाई पोस्ने, अनेक वितण्डा देखाइदैछ । वास्तवमा नेपालमा लोकतान्त्रिक शासन व्यवस्था छैन, यहाँ त लुटशासन चलिरहेका छन् ।
आमनागरिकका लागि लोकतन्त्र छैन, संघीयता छैन, सरकार छैन, जनप्रतिनिधि छैन, सिंहदरवार छैन, शितल निवास छैन । स्वास्थ्य, शिक्षा, सुरक्षा, खाना केही पनि छैन । आमनागरिकका लागि म छु, हामी छौं भन्ने कोही छैन । संविधान फेल भइसक्यो, पद्धति फेल भइसक्यो । नेता फेल भइसके । देश फेल भइसक्यो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports