सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जनताका आँखाका कसिङ्गर बन्यो नेतृत्वपंक्ति

780
shares

 

राजन कार्की
हालैको भारत पाकिस्तानको युद्धमा चीनले पाकिस्तानलाई सहयोग गरेको विमानले विश्वकै अत्याधुनिक मानिएको र त्यही लडाकु विमानको अभिमानमा उफ्रेको भारतले आक्रामणका लागि उडाएको राफेललाई धरासायी बनाइदिएपछि रातारात अमेरिकी सम्पर्कमा भारतले युद्धविराम गर्न बाध्य भयो । यतिबेला भाजपाका नेता जोली नेपालमै आएर भन्न भ्याएका छन्– भारत युद्ध चाहदैन । भारतलाई युद्धका लागि उकास्ने काम नगरौं ।
पाकिस्तानलाई सिध्याइदिने भारतको यो टोन चेन्जले भन्छ– बिस्तारवाद टिक्दैन । भारतलाई शिक्षा भयो, नेपालले शान्तिका लागि आह्वानसमेत गर्न सकेन । आतंकवादको विरुद्धमा उभिएको वक्तव्य दिएर प्रम ओलीले भनेका थिए– नेपालले भारत पाकिस्तानको युद्ध रोकिदियो । प्रम ओली हाँसोका पात्र बने, टिप्पणीकारको टिप्पणी थियो– हुटिट्याउँको खुट्टी हेर्दै चाल पाइयो । सार्कको अध्यक्षको नातासमेत निभाउन नसक्नेको फुइँकी ठूलो ।
चीनको विकासको एकमात्र सूत्र भनेको सुशासन, इमान र देशप्रतिको निष्ठा हो । यी ३ सुत्रले चीनलाई आज संसारकै चमत्कारिक प्रगतिको देशका रुपमा स्थापित गरिसकेको छ ।
२०७५ सालको एमाले माओवादीको दुई तिहाई राष्ट्रका लागि सराप बन्यो । २०८१ को एमाले कांग्रेसको दुई तिहाई पनि सरापबाट मुक्त देखिएन ।
सतीको सरापबाट अभिशप्त छ राष्ट्र । सराप मोचनका लागि जनताले बिद्रोह गर्नुपर्ने अवस्था आउनु भनेको लोकतान्त्रिक गणतन्त्र असफल भयो, नेतृत्व गैह्रजिम्मेवार भएपनि राष्ट्र हार्दो रहेछ भन्ने उदाहरण हो ।
कुनै पनि दल, सरकार र संसदले सुशासन, सम्बृद्धि र विधिको शासनमा कटिवद्धता देखाउन सकेनन् । राजनीति देशका लागि मृत्युघण्ट बन्नु पद्धति निकम्मा हुनु हो । नेतृत्व कति काँचो रहेछ भन्ने दृष्टान्त हो । भ्रष्टाचार गर्दैनौं त भने तर भ्रष्टाचारको जगमा उभिन पुगे । गणतन्त्रको जरा कुहियो, रुख ढल्नेवाला छ । मिसन ०८४ भन्छन्, भएको संसद सफल पार्न नसक्नेका लागि केको मिसन ०८४ ?
१७ वर्षम ाबनेको १५ प्रकारका सरकारले सुशासन र सम्बृद्धिका लागि काम गर्छु भन्ने कबुल गरेकै थिए । जनताको नजरमा घृणित बन्नपुगेका छ्न । देशको मामिला, जनताको अपेक्षामा आफूलाई ढाल्नु र सेवकका रुपमा प्रस्तुत हुन सकेनन् । वर्तमान एमालेको नेतृत्वमा बनेको कांग्रेस सहितको सरकारले आफ्नो बाटो बिराइरहेको छ ।
संक्रमणकालीन मुद्दाको फस्र्यौटदेखि सुशासन र सम्बृद्धिमा देखिएका अवरोधहरुको सामना गर्न सकेन यो संसद र सरकारले । भ्रष्टाचार प्रवृत्तिको नेतृत्वले याँली ब्याँली गरेर समय बिताइरहेको छ । २०६३ सालको परिवर्तन र २०७२ सालको संविधान तथा संविधानको कार्यान्वयनले तात्वीक अन्तर केही ल्याउन सकेन । भ्रष्टाचार र दण्डहीन मुलुक बन्नपुग्यो नेपाल ।
देश विकास कुरिरहेको छ, जनता जीवनस्तरको सहजता खोजिरहेका छन् । देश र जनतालाई यति ठूला ठूला सपना बाँडिएको छ कि सपनाको त खातै लागिसक्यो । पहिले देखाएका सपना पूरा भएका छैनन्, अव जलमार्ग र रेलमार्गका सपना देखाइएका छन्, समृद्धका अनेक सपना देखाइएको छ । अग्रगमनमा लाग्ने र यथास्थितिवादी र प्रतिगामीलाई परास्त गर्ने डिङ हाँकिरहेका छन् । यी दलीय महाराजाहरुका चटके भाषणमा आमनागरिक अब भ्रमित नहुने ठहरमा पुगेकैले सडक बिद्रोहले तात्न थालेको छ ।
अर्को परिवर्तनलाई रोकेर रोक्न नसकिने वातावरण बन्दै गएको छ ।
राष्ट्रमा समस्या र लथालिङ्गे चाला कुनै एक क्षेत्र वा संस्थामा मात्र छैन । शिक्षा क्षेत्र पुरै राजनीतिकरण भएको छ भने स्वास्थ्यक्षेत्रमा अराजकता छ । न्यायदेखि परराष्ट्रसम्म, व्यापारदेखि उद्यमसम्म, राज्यका सबै तह र तप्का, सञ्जालभरि सिण्डिकेटको जञ्जाल नभएको र सेटिङमा कानुन मिच्ने र राज्यदोहन गर्ने काम रोकिएको छैन । युवा निकासी गर्ने र यही नाममा मानव बेचबिखनसम्मका अपराध खुलेआम भइरहेका छन् । हिजो सिंहदरवारबाट हुने गरेको भ्रष्टाचार अव स्थानीय ७ सय ५३, ७ प्रदेश सरकार र १ केन्द्रीय सरकारसहित ७ सय ६१ सरकारमा क्यान्सरको किटाणुझैं फैलिएका छन् । भ्रष्टाचार र अपराधिकरणको महामारी चम्किएको छ राष्ट्रमा ।
नेताहरु राजनीतिक क्रान्ति सकियो भनेर बुर्लुक बुर्लुक उफ्रनेहरुकै मुखबाट अव आर्थिक क्रान्ति गर्ने समय आएको उद्घोष गरिरहेकै छन् । राजनीतिक क्रान्ति सकिएको हो भने फेरि मुलुक त्यही राजनीतिक द्वन्द्वको भूमरीमै किन फन्को मारिएको छ । आर्थिक क्रान्तिको समय आएको हो भने आर्थिक क्रान्ति सुरु गर्नका लागि किन भद्रो हेरिरहनु प¥यो । स्वदेशी लगानी बाहिरिदै छ, विदेशी लगानी आकर्षित पार्न सकिएको छैन । किन यस विषयमा बिषद छलफल गरेर राष्ट्रिय नीति तय गर्न किन सरकार सक्रिय छैन । कारण एउटै छ, यो पद्धतिका सञ्चालकहरुमा राष्ट्रनिर्माणको भिजन नै छैन । यिनले जानेको जसरी पनि शक्ति, सम्पत्ति र सत्ता हातपार्नुमात्र हो ।
हिजो भाषण थियो, आज पनि भाषण छ । हिजो राजनीतिक बिबाद थियो, आज पनि बिबाद छ । हिजो भ्रष्टाचारमय शासनमा सुशास्न ल्याउने कुरा गरियो, आज पनि त्यही कुरा गरिदैछ । फरक के भयो ? फरक के गरियो ? नतिजा शून्य छ । यसमा मनन गर्न जरुरी छ ।
कडा प्रश्न गर्ने हो भने– हेर्दा डरलाग्दो देखिने कछुवाको दाँत नै हुँदैनन् । सानो जीव हो, लामखुट्टे त्यसका १७ ओटा दाँत हुन्छन् । दुई तिहाई बहुमत भएको यो सरकार हेर्दा डरलाग्दो छ, तर यसको गति साह्रै सुस्त देखिन्छ । सानो जीवन लामखुट्टेको १७ ओटा दाँत हुन्छ, राज्य संयन्त्र लामखुट्टे जस्तै बनेको छ र १७ तिरबाट देश र जनतालाई टोकिरहेको छ । यो सरकार लामखुट्टेको जुनीबाट माथि उठ्ने कहिले ? यो क्वेशन अफ टाइम हो ।
विवेकहीनका लागि यस्तो उदाहरण र सुझाव तीतो लाग्छ ।
१० वर्षे जनयुद्ध जनआन्दोलनमा मिसिएपछि सफल भयो, यसका साना नेपोलियन थिए– प्रचण्ड । भारतले नाकावन्दी गर्दा भारतका सामु झुक्न नमान्ने बाध्यतामा परेर राष्ट्रवादी नायक बनेका अर्का साना नेपोलियन थिए– ओली । जनआन्दोलनमा अर्का प्रजातन्त्रवादी नेपोलियन मिसिए देउवा । यी तीन नेपोलियन १७ वर्षदेखि सत्ता र राजनीतिको केन्द्रमा छन् । यिनीहरु पटक पटक प्रधानमन्त्री बनिसकेका छन् । अहिले पनि सत्ता यिनकै मुठ्ठीमा छ । यिनलाई अव के प्राप्त गर्नु छ र यिनीहरु देशभित्रका महामारीविरुद्ध निर्मम निर्णय गरेर निगरानी गर्न छाडेर ङारङार ङुरङुर गरिरहेका छन् ? जनतालाई शक्तिशाली बनाउने माध्यम जनता नै हुन् भन्ने नेपोलियनको मान्यता यिनमा देखिदैन । आफू शक्तिशाली हुन सके राजनीतिक बिजेता भइन्छ भन्ने गलत मान्यता बोक्दा यिनको ओह्रालो यात्रा सुरु भएजस्तो देखिदैछ । अहंकार बुद्धिमा र खिया फलाममा लाग्ने हो, काई ढुंगामा लाग्छ, ओली र प्रचण्ड दिशाहीन बन्दैछन्, राजनेता बन्न चाहदैनन् ।
मामाको हत्या गरेर अलाउद्दीन खिल्जी दिल्लीका सम्राट बनेको इतिहास छ । तिनै खिल्जी चित्तौढका राजा रत्नसेनकी महारानी पद्मिनी हासिल गर्ने महत्वाकांक्षामा लाग्दा उनले चित्तौढ त जिते, पद्मिनी हासिल गर्न सकेनन् । पद्मिनीले जौहर गरेर प्राण त्यागिन् । भष्मासुरको कथा र खिल्जीको इतिहास उस्तै छ । एमाले र माओवादीले भारत र क्रिश्चियन हतियारको आडमा राजतन्त्र र हिन्दुधर्मको हत्या गरेर सत्ता हासिल गरे । यिनले हासिल गर्न खोजेको पद्मिनीरुपी आलोपालो र निरन्तरको शासनसत्ता यही चाल र तालले हासिल गर्नसक्ने देखिदैन । यिनलाई काम गर्नेभन्दा पनि एकता गर्ने, फेरि फेरि चुनाव जित्ने वातावरण बनाउने अहंकारले छोपेको छ । यिनीहरु भष्मासुरे प्रवृत्तिमा लीन भइसकेका छन् । नेतामा हुनैपर्ने राजनीतिक धर्म भएन भने न विवेक रहन्छ, न नैतिकता । यी गुण नभएकाका लागि स्वाधीनता र सार्वभौमिकता न धोती हो, न टोपी ?
यसकारण नेतृत्व जनताको आँखामा कसिङ्गर बनेका हुन् ।
होइन भने भ्रष्टाचारले देशभित्र पिलो पाकिसकेको छ । चिरफार गरेर खिल निकाल्न जनताले कम्मरकस्न नपरोस् । त्यसो भयो भने बंगलादेश र श्रीलंकामा के भयो, हेक्का राखुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports