जनताका आँखाका कसिङ्गर बन्यो नेतृत्वपंक्ति
वि.सं.२०८२ जेठ ८ बिहीवार ११:५७
shares

राजन कार्की
हालैको भारत पाकिस्तानको युद्धमा चीनले पाकिस्तानलाई सहयोग गरेको विमानले विश्वकै अत्याधुनिक मानिएको र त्यही लडाकु विमानको अभिमानमा उफ्रेको भारतले आक्रामणका लागि उडाएको राफेललाई धरासायी बनाइदिएपछि रातारात अमेरिकी सम्पर्कमा भारतले युद्धविराम गर्न बाध्य भयो । यतिबेला भाजपाका नेता जोली नेपालमै आएर भन्न भ्याएका छन्– भारत युद्ध चाहदैन । भारतलाई युद्धका लागि उकास्ने काम नगरौं ।
पाकिस्तानलाई सिध्याइदिने भारतको यो टोन चेन्जले भन्छ– बिस्तारवाद टिक्दैन । भारतलाई शिक्षा भयो, नेपालले शान्तिका लागि आह्वानसमेत गर्न सकेन । आतंकवादको विरुद्धमा उभिएको वक्तव्य दिएर प्रम ओलीले भनेका थिए– नेपालले भारत पाकिस्तानको युद्ध रोकिदियो । प्रम ओली हाँसोका पात्र बने, टिप्पणीकारको टिप्पणी थियो– हुटिट्याउँको खुट्टी हेर्दै चाल पाइयो । सार्कको अध्यक्षको नातासमेत निभाउन नसक्नेको फुइँकी ठूलो ।
चीनको विकासको एकमात्र सूत्र भनेको सुशासन, इमान र देशप्रतिको निष्ठा हो । यी ३ सुत्रले चीनलाई आज संसारकै चमत्कारिक प्रगतिको देशका रुपमा स्थापित गरिसकेको छ ।
२०७५ सालको एमाले माओवादीको दुई तिहाई राष्ट्रका लागि सराप बन्यो । २०८१ को एमाले कांग्रेसको दुई तिहाई पनि सरापबाट मुक्त देखिएन ।
सतीको सरापबाट अभिशप्त छ राष्ट्र । सराप मोचनका लागि जनताले बिद्रोह गर्नुपर्ने अवस्था आउनु भनेको लोकतान्त्रिक गणतन्त्र असफल भयो, नेतृत्व गैह्रजिम्मेवार भएपनि राष्ट्र हार्दो रहेछ भन्ने उदाहरण हो ।
कुनै पनि दल, सरकार र संसदले सुशासन, सम्बृद्धि र विधिको शासनमा कटिवद्धता देखाउन सकेनन् । राजनीति देशका लागि मृत्युघण्ट बन्नु पद्धति निकम्मा हुनु हो । नेतृत्व कति काँचो रहेछ भन्ने दृष्टान्त हो । भ्रष्टाचार गर्दैनौं त भने तर भ्रष्टाचारको जगमा उभिन पुगे । गणतन्त्रको जरा कुहियो, रुख ढल्नेवाला छ । मिसन ०८४ भन्छन्, भएको संसद सफल पार्न नसक्नेका लागि केको मिसन ०८४ ?
१७ वर्षम ाबनेको १५ प्रकारका सरकारले सुशासन र सम्बृद्धिका लागि काम गर्छु भन्ने कबुल गरेकै थिए । जनताको नजरमा घृणित बन्नपुगेका छ्न । देशको मामिला, जनताको अपेक्षामा आफूलाई ढाल्नु र सेवकका रुपमा प्रस्तुत हुन सकेनन् । वर्तमान एमालेको नेतृत्वमा बनेको कांग्रेस सहितको सरकारले आफ्नो बाटो बिराइरहेको छ ।
संक्रमणकालीन मुद्दाको फस्र्यौटदेखि सुशासन र सम्बृद्धिमा देखिएका अवरोधहरुको सामना गर्न सकेन यो संसद र सरकारले । भ्रष्टाचार प्रवृत्तिको नेतृत्वले याँली ब्याँली गरेर समय बिताइरहेको छ । २०६३ सालको परिवर्तन र २०७२ सालको संविधान तथा संविधानको कार्यान्वयनले तात्वीक अन्तर केही ल्याउन सकेन । भ्रष्टाचार र दण्डहीन मुलुक बन्नपुग्यो नेपाल ।
देश विकास कुरिरहेको छ, जनता जीवनस्तरको सहजता खोजिरहेका छन् । देश र जनतालाई यति ठूला ठूला सपना बाँडिएको छ कि सपनाको त खातै लागिसक्यो । पहिले देखाएका सपना पूरा भएका छैनन्, अव जलमार्ग र रेलमार्गका सपना देखाइएका छन्, समृद्धका अनेक सपना देखाइएको छ । अग्रगमनमा लाग्ने र यथास्थितिवादी र प्रतिगामीलाई परास्त गर्ने डिङ हाँकिरहेका छन् । यी दलीय महाराजाहरुका चटके भाषणमा आमनागरिक अब भ्रमित नहुने ठहरमा पुगेकैले सडक बिद्रोहले तात्न थालेको छ ।
अर्को परिवर्तनलाई रोकेर रोक्न नसकिने वातावरण बन्दै गएको छ ।
राष्ट्रमा समस्या र लथालिङ्गे चाला कुनै एक क्षेत्र वा संस्थामा मात्र छैन । शिक्षा क्षेत्र पुरै राजनीतिकरण भएको छ भने स्वास्थ्यक्षेत्रमा अराजकता छ । न्यायदेखि परराष्ट्रसम्म, व्यापारदेखि उद्यमसम्म, राज्यका सबै तह र तप्का, सञ्जालभरि सिण्डिकेटको जञ्जाल नभएको र सेटिङमा कानुन मिच्ने र राज्यदोहन गर्ने काम रोकिएको छैन । युवा निकासी गर्ने र यही नाममा मानव बेचबिखनसम्मका अपराध खुलेआम भइरहेका छन् । हिजो सिंहदरवारबाट हुने गरेको भ्रष्टाचार अव स्थानीय ७ सय ५३, ७ प्रदेश सरकार र १ केन्द्रीय सरकारसहित ७ सय ६१ सरकारमा क्यान्सरको किटाणुझैं फैलिएका छन् । भ्रष्टाचार र अपराधिकरणको महामारी चम्किएको छ राष्ट्रमा ।
नेताहरु राजनीतिक क्रान्ति सकियो भनेर बुर्लुक बुर्लुक उफ्रनेहरुकै मुखबाट अव आर्थिक क्रान्ति गर्ने समय आएको उद्घोष गरिरहेकै छन् । राजनीतिक क्रान्ति सकिएको हो भने फेरि मुलुक त्यही राजनीतिक द्वन्द्वको भूमरीमै किन फन्को मारिएको छ । आर्थिक क्रान्तिको समय आएको हो भने आर्थिक क्रान्ति सुरु गर्नका लागि किन भद्रो हेरिरहनु प¥यो । स्वदेशी लगानी बाहिरिदै छ, विदेशी लगानी आकर्षित पार्न सकिएको छैन । किन यस विषयमा बिषद छलफल गरेर राष्ट्रिय नीति तय गर्न किन सरकार सक्रिय छैन । कारण एउटै छ, यो पद्धतिका सञ्चालकहरुमा राष्ट्रनिर्माणको भिजन नै छैन । यिनले जानेको जसरी पनि शक्ति, सम्पत्ति र सत्ता हातपार्नुमात्र हो ।
हिजो भाषण थियो, आज पनि भाषण छ । हिजो राजनीतिक बिबाद थियो, आज पनि बिबाद छ । हिजो भ्रष्टाचारमय शासनमा सुशास्न ल्याउने कुरा गरियो, आज पनि त्यही कुरा गरिदैछ । फरक के भयो ? फरक के गरियो ? नतिजा शून्य छ । यसमा मनन गर्न जरुरी छ ।
कडा प्रश्न गर्ने हो भने– हेर्दा डरलाग्दो देखिने कछुवाको दाँत नै हुँदैनन् । सानो जीव हो, लामखुट्टे त्यसका १७ ओटा दाँत हुन्छन् । दुई तिहाई बहुमत भएको यो सरकार हेर्दा डरलाग्दो छ, तर यसको गति साह्रै सुस्त देखिन्छ । सानो जीवन लामखुट्टेको १७ ओटा दाँत हुन्छ, राज्य संयन्त्र लामखुट्टे जस्तै बनेको छ र १७ तिरबाट देश र जनतालाई टोकिरहेको छ । यो सरकार लामखुट्टेको जुनीबाट माथि उठ्ने कहिले ? यो क्वेशन अफ टाइम हो ।
विवेकहीनका लागि यस्तो उदाहरण र सुझाव तीतो लाग्छ ।
१० वर्षे जनयुद्ध जनआन्दोलनमा मिसिएपछि सफल भयो, यसका साना नेपोलियन थिए– प्रचण्ड । भारतले नाकावन्दी गर्दा भारतका सामु झुक्न नमान्ने बाध्यतामा परेर राष्ट्रवादी नायक बनेका अर्का साना नेपोलियन थिए– ओली । जनआन्दोलनमा अर्का प्रजातन्त्रवादी नेपोलियन मिसिए देउवा । यी तीन नेपोलियन १७ वर्षदेखि सत्ता र राजनीतिको केन्द्रमा छन् । यिनीहरु पटक पटक प्रधानमन्त्री बनिसकेका छन् । अहिले पनि सत्ता यिनकै मुठ्ठीमा छ । यिनलाई अव के प्राप्त गर्नु छ र यिनीहरु देशभित्रका महामारीविरुद्ध निर्मम निर्णय गरेर निगरानी गर्न छाडेर ङारङार ङुरङुर गरिरहेका छन् ? जनतालाई शक्तिशाली बनाउने माध्यम जनता नै हुन् भन्ने नेपोलियनको मान्यता यिनमा देखिदैन । आफू शक्तिशाली हुन सके राजनीतिक बिजेता भइन्छ भन्ने गलत मान्यता बोक्दा यिनको ओह्रालो यात्रा सुरु भएजस्तो देखिदैछ । अहंकार बुद्धिमा र खिया फलाममा लाग्ने हो, काई ढुंगामा लाग्छ, ओली र प्रचण्ड दिशाहीन बन्दैछन्, राजनेता बन्न चाहदैनन् ।
मामाको हत्या गरेर अलाउद्दीन खिल्जी दिल्लीका सम्राट बनेको इतिहास छ । तिनै खिल्जी चित्तौढका राजा रत्नसेनकी महारानी पद्मिनी हासिल गर्ने महत्वाकांक्षामा लाग्दा उनले चित्तौढ त जिते, पद्मिनी हासिल गर्न सकेनन् । पद्मिनीले जौहर गरेर प्राण त्यागिन् । भष्मासुरको कथा र खिल्जीको इतिहास उस्तै छ । एमाले र माओवादीले भारत र क्रिश्चियन हतियारको आडमा राजतन्त्र र हिन्दुधर्मको हत्या गरेर सत्ता हासिल गरे । यिनले हासिल गर्न खोजेको पद्मिनीरुपी आलोपालो र निरन्तरको शासनसत्ता यही चाल र तालले हासिल गर्नसक्ने देखिदैन । यिनलाई काम गर्नेभन्दा पनि एकता गर्ने, फेरि फेरि चुनाव जित्ने वातावरण बनाउने अहंकारले छोपेको छ । यिनीहरु भष्मासुरे प्रवृत्तिमा लीन भइसकेका छन् । नेतामा हुनैपर्ने राजनीतिक धर्म भएन भने न विवेक रहन्छ, न नैतिकता । यी गुण नभएकाका लागि स्वाधीनता र सार्वभौमिकता न धोती हो, न टोपी ?
यसकारण नेतृत्व जनताको आँखामा कसिङ्गर बनेका हुन् ।
होइन भने भ्रष्टाचारले देशभित्र पिलो पाकिसकेको छ । चिरफार गरेर खिल निकाल्न जनताले कम्मरकस्न नपरोस् । त्यसो भयो भने बंगलादेश र श्रीलंकामा के भयो, हेक्का राखुन् ।
































